देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक 

जेन-जी आन्दोलन पछिको प्रदर्शनका क्रममा घाइते भएर स्वास्थ्य उपचार गराइरहेका देउवा आफैंले पहिलोपल्ट पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेका हुन् ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Deuba called a meeting of officials and former officials

What you should know

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । 

जेन-जी आन्दोलनको क्रममा घर डढेपछि देउवा भाडाको घरमा बस्दै आएका छन् । तर, पदाधिकारी बैठक आफू बसेकै घरमा बोलाउने वा कहाँ भन्नेबारेमा खुलाएका छैनन् ।

सम्बन्धित पदाधिकारीलाई बैठक ललितपुरको होटल हिमालयमा बस्ने जानकारी गराइएको तर सार्वजनिक रुपमा बैठक कहाँ बस्ने भन्नेबारे खुलाइएको छैन । ‘बैठक बस्ने कुरा तय भएको छ तर कहाँ बस्ने भन्ने कुरा भोलि बिहान मात्रै थाहा होला,’ पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए । 

जेन-जी आन्दोलनपछि पार्टीभित्र सभापति देउवालाई नेतृत्व छोड्न व्यापक दबाब छ । अहिलेसम्म कार्यवाहक सभापतिसमेत नदिएर आफैं नेतृत्व लिइरहेकाले महामन्त्रीद्वयको पहलमा दसैं अगाडिदेखि नै विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि हस्ताक्षर संकलनसमेत भएको छ । दुई महामन्त्रीले तत्काल पार्टी पुनर्गठनको आवश्यक रहेको भन्दै आगामी मंसिरभित्र नियमित महाधिवशेन गर्ने, नियमित महाधिवेशनका लागि तयार नहुँदा विशेष अधिवेशनको तयारीमा जुट्ने योजना बनाएर अघि बढिरहेका छन् । 

जेन-जी आन्दोनलको क्रममा घाइते भएर स्वास्थ्य उपचार गराइरहेका देउवा आफैंले पहिलोपल्ट पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेका हुन् । केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । ‘बैठक बस्नुअघि सबै नेताहरुको छलफल गरी सहमतिबाटै पास हुने गरेर एजेन्डा तय गर्ने परम्परा रहेको छ, त्यही परम्पराअनुसार एजेन्डाका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने । 

एक पदाधिकारीका अनुसार पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत छलफल गरी पार्टीको संस्थागत धारणा बनाउने तयारी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully