अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले साउन ३० मा वर्तमान सरकारलाई पूर्णकालीन समर्थन रहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएकी थिइन् तर नाउपाका सांसद भने प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चबाट सोधेका छन्- सिंहदरबारमा कृषि मन्त्रालय छ कि छैन ?
What you should know
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद संसद्मा स्पष्ट देखिएको छ । अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ चौधरीले साउन ३० मा वर्तमान सरकारलाई पूर्णकालीन समर्थन रहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएकी थिइन् तर नाउपाका सांसद भने प्रतिनिधिसभामा प्रतिपक्षी बेन्चबाट सोधेका छन्- सिंहदरबारमा कृषि मन्त्रालय छ कि छैन ?
प्रतिनिधिसभाको बुधबारको बैठकमा नाउपाका सांसद गंगाराम चौधरीले सरकारलाई किसानको पक्षमा काम गर्न भन्दै प्रश्न गरेका हुन् । उनी साउन ३० सम्म नाउपाको संसदीय दलको नेता थिए ।
प्रतिपक्षी बेन्चबाट सांसद गंगाराम चौधरीले बुधबारको बैठकमा सोधे, 'सिंहदरबारमा नेपाल सरकारको कृषि मन्त्रालय छ कि छैन ? छैन भन्ने महसुस किसानहरूले गरेका छन् । वास्तविक किसानको मन्त्री हुनुहुन्छ भने किसानको पीडा बुझ्न जरुरी छ ।'
सरकारले उखु किसान, फलफूल तथा तरकारी उत्पादक, दुग्ध किसान, धान बाली किसान, पशु तथा मत्स्य किसानका पीडा सरकारले बुझ्नुपर्ने गंगारामको भनाइ थियो । उनले सोधे, 'सरकारकारले किसानलाई मात्र किन पीडा दिइरहेको छ ? यसको जवाफ चाहिएको छ । यसपालि किसानले धान बाली अवधिभर मल पाएनन् ।'
कृषिमन्त्री रामनाथ अधिकारीले अबको १० दिनभित्र किसानले मलखाद पाउछन् भनेको समय सकिन लाग्दा पनि पूरा नभएको गंगारामको भनाइ थियो । 'खै मलखाद ? कहाँ छ मलखाद ? कहाँ हरायो मलखाद ? यसको जिम्मेवारी कसले लिने ? यसको जिम्मेवारी कृषि मन्त्रालय र कृषिमन्त्रीले लिनुपर्छ,' उनले भने ।
सांसद चौधरीले किसानहरूलाई आन्दोलनमा लाग्न बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् ।
