डा. लेखजंग थापाले परिस्थिति अनुसार दुई पटक विवाह गरेको र पहिलो श्रीमतीसँगको सम्बन्ध विच्छेदको सत्यताका बारेमा खुलासा गरेका छन्।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३, को उपनिर्वाचनका लागि चयन गरेका उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भएको कागज सार्वजनिक गरेका छन् । बहुविवाह गरेको भन्दै समाचार प्रकाशित भएपछि डा. थापाले रूपन्देही जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको आदेश नै सार्वजनिक गरेका हुन् ।
सार्वजनिक कागजअनुसार थापाले पहिलो श्रीमतीसँग २०७९ माघ १५ गते सम्बन्ध विच्छेदको प्रक्रिया पूरा गरेका हुन् ।
परिस्थितिजन्य कारणले आफूले जीवनमा दुई पटक विवाह गरेको डा. थापाले बताएका छन् । 'परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो,' उनले भनेका छन् ।
सम्बन्ध विच्छेद भए पनि पहिलो श्रीमतीसँग आफ्नो सम्बन्ध राम्रो रहेको डा. थापाले जनाएका छन् । उनी भन्छन्, 'सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहार्दपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानि छैन। सम्बन्ध विच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन, म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।'
लामो प्रक्रिया पुर्याएर आइतबार साँझ भैरहवाका न्युरो चिकित्सक डा. लेखजंग थापालाई रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको थियो । रास्वपाले अघिल्ला निर्वाचनमा प्रारम्भिक निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनोट गरेको थियो । तर, यस पटक नमुना सर्वेक्षणका लागि भन्दै मिश्रित निर्वाचन प्रणाली अपनाएको थियो । जसमा पचास प्रतिशत प्रारम्भिक निर्वाचन र पचास प्रतिशत लिडरसिप एकेडेमी, पोल्टिकल प्रोग्जेमिटी र समावेशितालाई आधार बनाएर उम्मेदवार छनोट विधि बनाएको थियो । उम्मेदवार छनोटमा अन्य दलको भन्दा फरक प्रक्रिया अपनाएको रास्वापले ‘डे वान’ देखिकै आन्तरिक तथा बाहिरी गतिविधि सामाजिक सञ्जाल र पार्टीको आधिकारिक माध्यमबाट सार्वजनिक गर्दै आएको थियो ।
रास्वपाका प्रवक्ता मनिष झाले भने उम्मेदवारका रूपमा अघि सारिएका थापा कानुनी रूपमा सही भएको बताए । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बिहान रुपन्देहीका सञ्चारकर्मीसित कुरा गर्दै थापाका दुईवटा श्रीमती नभएको स्पष्ट पारेका थिए । ‘डा.थापाले बहुविवाह गरेको भनेर हामीलाई पनि केही साथीले भन्नुभएको थियो,’ महामन्त्री बुर्लाकोटीले भने, ‘यस विषयमा उम्मेदवार घोषणा गर्नुपूर्व हामीले सबै तरिकारले भेरिफाइ गरिसकेका छौं । अहिले उहाँसँग दुईवटी श्रीमती हुनुहुन्न ।’ थापाको पहिली श्रीमतीसित सम्बन्ध विच्छेद भइसकेको कागजात पार्टीसित रहेको उनले दाबी गरे ।
