नागरिक उन्मुक्ति छोडेपछि रास्वपाका उम्मेदवार बने डा. लेखजंग थापा

को हुन् रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बनेका डा. लेखजंग थापा ?

भाद्र १५, २०८२

घनश्याम गौतम

Dr. became the candidate of RSVP after giving up civil immunity. Lekhjung Thapa

What you should know

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक १७ मा हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रास्वपाले उम्मेदवारका लागि आवेदन दिएका ९ जनामध्येबाट प्राइमेरी इलेक्सनमार्फत थापालाई उम्मेदवार बनाउने घोषणा आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

रास्वपाको प्राइमेरी इलेक्सनबाट उम्मेदवार छनोट भएका डाक्टर थापा यसअघि भने नागरिक उन्मुक्ति पार्टीका सदस्य थिए । उनी वैशाख अन्तिम सातासम्म नाउपाको समानुपातिकको बन्दसूचीका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सूचीमा परेका हुन् । आयोगको विवरण अनुसार उनको नाम प्राथमिकता क्रमको पाँचौं नम्बरमा थियो । रूपन्देही–३ मा उपचुनाव हुने भएपछि उनी नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपातिर लागेका थिए । 

रास्वपाका लुम्बिनी प्रदेशका नेताहरूका अनुसार वैशाख दोस्रो साता नाउपाबाट राजीनामा दिएर बन्द सूचीबाट आफ्नो नाम हटाउन आग्रह गरेका थिए । उनको राजीनामा अध्यक्ष रञ्जिता श्रेष्ठले स्वीकृत गरेपछि नाउपाकै पत्रको आधारमा निर्वाचन आयोगले साउन २१ गते थापालाई बन्द सूचीबाट हटाइएको थियो । 

उम्मेदवारका लागि पार्टीबाट स्वीकृति पाएका डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्यूरोलोजीमा एमडी गरेका वरिष्ठ न्यूरोलोजिस्ट हुन् । उनी काठमाण्डौं महाराजगंजस्थित नेसनल न्यूरो सेन्टरमा कार्यरत चिकित्सक हुन् ।

सिद्धार्थनगर नगरपालिका–१० भैरहवाको अञ्चलपुरका थापा सामान्य परिवारका व्यक्ति हुन् । आमा गृहिणी र बाबु कानुनका साक्षर व्यक्ति थिए ।

थापाले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका छन् ।

४८ वर्षीय उनले प्राथमिक तहको शिक्षा भैरहवाको लुम्बिनी शिशु सदन स्कुलबाट पूरा गरेका हुन् । २०४९ सालमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनले नेपाल साइन्स क्याम्पसबाट आईएस्सी गरेका थिए । पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन् ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल  मेडिसिनमा एमडी गरे । एमडी सकेपछि न्युरोलोजीमा डिएम (डाक्टर अफ मेडिसिन) गर्ने उनको सपना थियो । तर, त्यतिबेला नेपालमा न्युरोलोजीमा डिएम सुरु भइसकेको थिएन । त्यसका लागि विदेश जानुपर्ने थियो । तर, घरपरिवारलाई छोडेर उनी विदेश जान तयार थिएनन् । त्यति नै बेला उनले भारतका न्युरोलोजिस्ट प्रा.डा. पीबीएस राणाले नेपालमै न्यूरोलोजी इन डिएम सुरु गर्न खोजिरहेको जानकारी पाए । प्रा. डा. राणाको सम्पर्कमा पुगेपछि उनले कलेज अफ मेडिकल साइन्सेज चितवनमा डिएम न्युरोलोजी अध्ययन सुरु गरेर सन् २०१३ मा डिएम न्युरोलोजी अध्ययन पूरा गरेका थिए । डा. थापाले अमेरिकाको प्रसिद्ध हावार्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसीप एन्ड इर्न्फमेटिभ’ विषयमा ग्राजुएट पनि गरेका छन् । उनी सन् २०२४ मा हावार्डबाट ग्राजुएट भएका हुन् । 

काठमाडौँमा कार्यरत रहँदा नै डा. थापाले सन् २०१४ मा भैरहवामा न्यूरो एलाइड मेडिकल सेन्टर सञ्चालनमा ल्याएका थिए । उनी त्यसमा अहिले पनि हरेक हप्ता शुक्रबार र शनिबार क्लिनिकमै आएर उपचार प्रदान गर्ने गरेका छन् । उनको भैरहवास्थित क्लिनिकमा सुदूरपश्चिमदेखि भारतको पटनासम्मका बिरामी आउने गर्छन् । पछिल्लो समय सामाजिक अभियानकर्ताका रुपमा समेत युवापुस्तामा परिचय बनाइरहेका छन् । चिकित्सा सेवा र सामाजिक अभियन्ताको प्रभावले उनलाई चिकित्सकदेखि राजनीतिक यात्रामा रास्वपाको उम्मेदवारसम्म पुर्‍याएको छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully