खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला तथा बालबालिकामन्त्री नवलकिशोर सुडीको स्थानमा रञ्जुकुमारी झालाई ११ भदौभित्र नियुक्त गर्न जसपाले अल्टिमेटम दिएको छ। श्रममन्त्री शरतसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउन लोसपाको दबाब छ।
What you should know
काठमाडौँ — सत्तारूढ जसपा र लोसपाले आफ्नो पार्टीका मन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएका छन् । जसपाको शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ मन्त्री नियुक्ति गर्ने निर्णय गरेको हो । मन्त्री बदल्न जसपाले प्रधानमन्त्री ओलीलाई ११ भदौसम्म ‘अल्टिमेटम’ नै दिएको छ ।
जसपाका प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् । यादवको ठाउँमा वीरेन्द्र महतो र सुडीको ठाउँमा रञ्जुकुमारी झाको नाम प्रधानमन्त्रीलाई बुझाइएको छ । मन्त्री यादवले उक्त निर्णयमा आपत्ति जनाउँदै पदबाट नहट्ने बताएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठकबाटै निर्णय गरेर प्रधानमन्त्री ओलीलाई मन्त्री बदल्न अल्टिमेटम दिएको हो ।
कांग्रेससँगको समीकरण बन्नुअघि एमाले–माओवादी गठबन्धनको तीन महिनाको कार्यकालसमेत जोडेर एक वर्षका लागि मन्त्री बन्ने भनिएको जसपा सांसद महतोले बताए । ‘त्यसअनुसार मन्त्रीका लागि पार्टीले नाम पनि दियो । तर, हालसम्म परिवर्तन नभएपछि पार्टीले अल्टिमेटम दिनुपरेको हो,’ उनी भन्छन्, ‘११ भदौसम्म हाम्रा मन्त्री परिवर्तन नभए सरकारलाई विश्वासको मत कायम राख्दै त्यसै दिन राजीनामा दिने निर्णय पार्टीले गरेको छ ।’
लोसपाले पनि पार्टीबाट श्रममन्त्री भएका शरदसिंह भण्डारीको ठाउँमा सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउन गत ५ साउनमै प्रधानमन्त्री ओलीलाई नाम बुझाएको थियो । नाम बुझाएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्रीले मन्त्री नफेर्दा लोसपा अध्यक्ष महन्थ ठाकुरले केही दिनअघि प्रधानमन्त्री ओलीलाई भेटेरै दबाब दिएका थिए । एक वर्षअघि पार्टीबाट कसलाई मन्त्री पठाउने भन्ने निर्णय शुक्लकै निवासमा भएको थियो । ‘मेरै निवासमा भएको बैठकमा महन्थजीले एक वर्षका लागि भण्डारीजी जाने र त्यसपछि मलाई पठाउने भद्र समझदारी भएको हो,’ शुक्लले भने, ‘पार्टीभित्र झगडा भएर होइन, प्रधानमन्त्रीले ढिलाइ गरेर रोकिएको हो ।’
प्रधानमन्त्री ओली भने सबै सहयोगी दलबाट एकैसाथ मन्त्री फेर्ने योजनामा थिए । सरकारलाई थप बलियो बनाउन र पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्न मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गर्ने उनको तयारी थियो । एमालेबाट नै कम्तीमा चार मन्त्री फेर्ने योजनामा प्रधानमन्त्री ओली थिए । तर, कांग्रेसले आफ्ना मन्त्री परिवर्तन गर्न अस्वीकार गरेपछि मन्त्रिपरिषद् हेरफेर रोकिएको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जसपा र लोसपाबाट मन्त्री बदल्न सुझाव आएको स्विकारे । ‘उनीहरू (जसपा र लोसपा) ले भनेपछि त्यसअनुसार गर्नुपर्ने हुन्छ । कुरा भइरहेको होला । सन्दर्भ हेर्नुभएको होला । अरू पार्टीको कुरामा प्रधानमन्त्रीले अडान लिने कुरा हुन्न । सकभर एकैचोटि गर्दा राम्रो हुन्छ भन्ने लागेको होला । हाम्रो पार्टीको निर्णय गर्दा पनि अध्यक्षले गर्नुहुन्छ । अरू पार्टीको कुरा पनि त्यही हो,’ गुरुङले भने ।
कांग्रेस मन्त्री परिवर्तन गरिहालौं भन्ने पक्षमा अहिले नरहेको उनले बताए । ‘सकभर सँगै परिवर्तन गर्ने भन्ने प्रधानमन्त्रीको कुरा हो । भएन भने जसपा र लोसपाको भए पनि हुन्छ,’ मन्त्री गुरुङले भने । कांग्रेस तयार नभएकाले एमाले पनि रोकिएको भन्नेमा सत्यता नरहेको उनको भनाइ छ । ‘एमाले आफ्ना मन्त्री बदल्ने कि नबदल्ने भन्नेमा सार्वभौम छ । कांग्रेसको नहुनेबित्तिकै एमालेको पनि नहुने भन्ने होइन । सँगसँगै गर्दा राम्रो हुन्छ भन्ने कुरा मात्रै हो,’ उनले भने ।
मन्त्री बदल्ने विषयले जसपाभित्र अध्यक्ष राई र पार्टी उपमहासचिव तथा खानेपानीमन्त्री यादवबीच मतान्तर बढेको छ । यादवले मन्त्री नछाडेमा विवाद बढ्ने सांसद महतो बताउँछन् । ‘आशा छ, प्रधानमन्त्रीले जसपाबाट भएका मन्त्री परिवर्तन गर्नुहुन्छ । नत्र हाम्रो पार्टीभित्र ठूलै समस्या आउने देखिन्छ,’ उनले भने, ‘पार्टी नै विभाजन गर्ने त हिम्मत नहोला । तर, विवाद बढ्छ ।’
प्रतिनिधिसभामा जसपाका ७ सांसद छन् । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजित भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको थियो । मन्त्री फेर्न दबाब दिइरहेको अर्को पार्टी लोसपाका चार सांसद छन् । यी दुईमध्ये कुनै एकले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
पार्टीको आन्तरिक विवादका कारण सरकारमा सहभागी नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएर प्रतिनिधिसभामा विपक्षमा बसेको थियो । पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले पद नछोडेको र पार्टीको अध्यक्षमा फेरि रञ्जिता श्रेष्ठ चौधरी नै वैधानिक भएपछि नागरिक उन्मुक्ति सत्तापक्षमा सहभागी भएको छ । उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको थियो ।
तर, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया नथालेर नागरिक उन्मुक्तिले फेरि सरकारलाई समर्थन गर्ने अवस्थासम्म कुरेका थिए । हाल समर्थन
फिर्ताको पत्र अध्यक्ष श्रेष्ठले फिर्ता लिएर नागरिक उन्मुक्ति सत्तापक्षमा आएकाले विश्वासको मत लिनुपर्ने बाध्यताबाट ओलीलाई राहत मिलेको छ । तर, जसपा र लोसपाले मन्त्री फेर्न दिएको अल्टिमेटम र कांग्रेसले मन्त्री फेर्न देखाएको अरुचिले ओलीलाई दबाब परेको छ ।
‘१ वर्षमा मन्त्री फिर्ता हुने सहमति भएको छैन’
तपाईंहरू मन्त्री बनेको १ वर्ष पुगेको छ । पार्टीबाट सहभागी मन्त्री फेर्नुपर्ने दबाब बढेको छ । यस्तो अवस्थामा के गरिरहनुभएको छ ?
सरकारलाई सफल र प्रधानमन्त्रीलाई बलियो बनाउन कम्मर कसेर लागिपरेका छौं । इमानदारीपूर्वक काम गरिरहेका छौं । तर केही व्यक्ति राजनीतिलाई व्यापार बनाउन खोजिरहेका छन् । तिनीहरूको उद्देश्यले यो सरकारलाई केही फरक पर्दैन ।
सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने भनी पार्टीले निर्णय गरेको छ नि ?
हामीलाई थाहा छैन ।
मन्त्री फेर्न भदौ ११ सम्म अल्टिमेटम दिइएको छ, अब पार्टी कसरी अघि बढ्छ ?
पार्टीमा के निर्णय भयो भन्ने हामीलाई जानकारी छैन । बाँकी कुरा पछि गर्छौं ।
तपाईंहरू मन्त्री बन्ने बेला १ वर्षमा फिर्ता भएर अर्को सांसदलाई मन्त्री बनाउने सहमति भएको थियो ?
त्यस्तो कुनै सहमति भएको छैन ।
सरकारमा बसेर निरन्तर काम गर्नुपर्छ र कुनै बाधा ल्याउनु हुन्न भन्ने तपाईंको धारणा हो ?
जनताको काम गर्ने थलो सरकार हो । केही मान्छेले राजनीतिलाई व्यापार बनाउन खोजेका छन् । हाम्रो पार्टीभित्र पनि यस्ता मान्छे छन् । मन्त्री परिवर्तन हुनेबारे प्रधानमन्त्रीले केही भन्नुभएको छैन । मैले सुतेको मन्त्रालय जगाएर काम गरेर देखाएको छु ।
