आन्तरिक कलह र पार्टीको नेतृत्वकर्तामाथि नै भ्रष्टाचार मुद्दा लागे पनि नेकपा एकीकृत समाजवादी आफ्नो अस्तित्व बचाउन संघर्षरत छ ।
What you should know
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको पटक-पटक दोहोर्याउँछन् । तर, एमालेबाट विभाजन भएको चार वर्ष बिते पनि नेकपा एसलाई त्यो ‘विद्रोह’ को औचित्य पुष्टि गर्न हम्मेहम्मे परेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको नेतृत्वमा गठन भएको नेकपा एस यो दौडानमा अस्तित्वका लागि संघर्षरत देखिन्छ । पार्टी विभाजन भएको डेढ वर्षपछि एस कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरी निर्वाचनमा सहभागी भएको थियो । गठबन्धन गरे पनि राष्ट्रिय पार्टी बन्न सकेन । उसले २ लाख ९८ हजार ३९१ मत ल्याएको थियो । राष्ट्रिय पार्टी हुन कुल सदर मतको तीन प्रतिशत ल्याउनुपर्ने व्यवस्था भए पनि नेकपा एसले त्यो मापदण्ड पुर्याउन सकेन ।
चुनावमा गठबन्धन गरे पनि प्रतिनिधिसभामा २७५ सिटमध्ये १०, सातै प्रदेशसभाका ५५० सिटमध्ये २४ र ७५३ पालिकामध्ये २० प्रमुख र २२ उपप्रमुख एसले जितेको छ । राष्ट्रिय सभामा ५९ सिटमध्ये एसका ८ सदस्य छन् ।
एमाले पृष्ठभूमिबाट अलग भएर गठन भएको नेकपा एसको मुख्य चुनौती नै एमाले र माओवादीभन्दा फरक देखाउनु हो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र एसका अध्यक्ष नेपाल एकअर्काका दुस्मनजस्ता देखिन्छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको रुचिमा बनेको समाजवादी मोर्चाको एक सदस्य नेकपा एस पनि हो । यसरी यो पार्टी माओवादीको रोडम्यापमा चलिरहेझैं देखिन्छ ।
पछिल्लो समय पार्टी र आफ्नो अस्तित्वका लागि एसका अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकताको प्रस्ताव अघि सारेका छन् । अघि सारेका छन् । माओवादी र एसको आन्तरिक द्वन्द्वले दुई दलबीच एकताको सामान्य आधार समेत तयार हुन सकेको छैन ।
पछिल्लो समय काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनी झन् संकटमा छन् । यो विषयमा माओवादी अध्यक्ष दाहालले खुलेर उनलाई साथ दिएका छन् । राजनीतिक प्रतिशोधका कारण उनीमाथि मुद्दा अघि बढाएको भन्दै दाहालले प्रतिवाद गरेका छन् ।
नेकपा एस ७० नाघेका तीन नेताको 'होल्ड'मा छ । अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता बामदेव गौतम एसको मूल नेतृत्वमा छन् । एमालेमा रहँदा मूल नेतृत्वविरुद्ध संघर्ष गरेका समाजवादीका महासचिव घनश्याम भुसाल ‘घुम्ने मेच’ मा बसेका छन् । उनले पार्टीमा आफ्नो नीति तथा कार्यक्रम लागू गर्न सकेका छैनन् । बरु बेलाबेला नेपाल र खनालबीच हुने द्वन्द्वमा पर्दै आएका छन् ।
केही दिनअघि उनले बेलाबेला पार्टीमा ‘ऐँठन’ परेकाले ब्युँताएर गति दिन कठिन भएको बताएका थिए । ‘पार्टीलाई बेलाबेला ऐँठन पर्छ । कहिलकाहीँ आफै ऐँठनमा परेजस्तो हुन्छ,’ उनले भने, ‘तर पार्टी पुननिर्माण गर्ने हाम्रो कोसिस जारी छ ।’
नेतृत्वमा ‘परम्परागत’ विचार र शैली बोकेका नेतासँग सोचेअनुसार काम गर्न भुसाललाई सकस छ । पार्टी केन्द्रीय कमिटीलगायत संगठनमा नेपालकै ‘होल्ड’ भएकाले पनि भुसालहरु फरक विचार लिएर अघि बढ्न सकेका छैनन् ।
एक नेताका अनुसार भुसालले सुशासन, कृषि र रोजगारको मुद्दा अघि बढाउने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव केन्द्रीय कमिटीले पारित गरिसकेको थियो । तर अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि त्यो कार्यक्रम अघि बढ्न सकेको छैन ।
गत असारको महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई चयन गरेको थियो । त्यसबेला धेरैको अपेक्षा थियो, भुसालको विचार, दृष्टिकोण अनुसार पार्टीले नयाँ गोरटो कोर्छ । तर परम्परागत विचार, शैली बोकेका मूल नेतृत्वको ‘भुमरी’ मा परेका कारण उनको विचार, शैली खुम्चिएको छ ।
युवाहरुमा लडाकु छवि बनाएकी रामकुमारी झाँक्री पनि पार्टीको जिम्मेवारी लिएर सहजै मैदानम उत्रन पाइनन् । अध्यक्ष नेपाललाई भ्रष्टाचार मुद्दा दायर भएपछि नैतिकताको प्रश्न उठाएपछि उनलाई स्पष्टीकरण सोधियो । हाल उनी खुलेर बोल्न र राजनीतिक मैदानमा उत्रन सक्ने अवस्थामा छैनन् ।
नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वाला भनेमहाधिवेशन अघि र त्यसपछिको अवस्थालाई विश्लेषण गर्दा पार्टी निर्माणको औचित्य पुष्टि हुने बताए । ‘पार्टीको महाधिवेशन अघिको अवस्थामा हामी संविधानको संरक्षण, दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गरेका थियौ । हामीले त्यो उद्देश्य पनि पूरा गर्यौं,’ उनले भने, ‘गत वर्ष महाधिवेशनपछि सुशासन, रोजगारीको अभियानसहित संगठन निर्माणमा लाग्नुपर्ने थियो । त्यो अपेक्षा अनुसार प्रभावकारी हुन सकेन ।’
पार्टी निर्माणका लागि संघर्ष गर्ने नीति लिए पनि माओवादीको मुद्दामा सदन र सडकमा हिँड्नु पार्टीका लागि घातक हुने एसका नेताहरुको भनाइ छ । गत केन्द्रीय कमिटीमा महासचिव भुसालले कहिले माओवादी र कहिले एमालेतिर ढल्किँदा पार्टी निर्माण हुन नसकेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।
‘पार्टीको कार्यदिशा मिल्दा एकताको ढोका खुला राख्नुपर्छ भन्ने हाम्रो नीति हो,’ ज्वालाले भने, ‘वाम एकता अहिलेको आवश्यकता हो ।’
२०७८ भदौ २ मा निर्वाचन आयोगमा निवेदन दिएको नेकपा एसले भदौ ९ मा मान्यता पाएको थियो । पार्टी चौथो वर्ष पुगेको अवसरमा अध्यक्ष नेपालले ‘दक्षिणपन्थी नीति, व्यक्तिबाद, अहंकारवाद स्वेच्छाचारिता’ jlरुद्ध विद्रोह गरेको उल्लेख लक्ष्यमा पुग्न धेरै बाँकी रहेको बताएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत गठन भएको हो । यसले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ,’ नेपालले भनेका छन्, ‘हाम्रो पार्टीले सदैव जनताका पक्षमा अडिग रहँदै समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको छ ।’
उनले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौं विकृति र विसंगति विद्यमान भएकाले त्यसकाविरुद्ध व्यापक जनतालाई समेत सचेत एवं गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोट’ गरेका छन् ।
एमालेबाट ‘विद्रोह’ गरेपछि समाजवादीले एमाले दक्षिणपन्थी बाटोमा गएको भन्दै क्रान्तिकारी धार निर्माण गर्ने दाबी गरेको थियो । 'केपी ओली गुटले नेकपा (एमाले) लाई दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेकाले नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा डुब्नबाट जोगाउँदै क्रान्तिकारी धारको रक्षा र विकास गर्न,’ त्यसबेला नेकपा एसले भनेको थियो, ‘मार्क्सवाद–लेनिनवादका मूलभूत सिद्धान्तको (द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोण) केपी ओली गुटले परित्याग गरेकाले तिनीहरूको रक्षा र सिर्जनात्मक प्रगोग गर्न’ नयाँ पार्टी स्थापना भएको हो ।
तर, एमाले पृष्ठभूमिबाट अलग भएर नयाँ पार्टीका रुपमा जन्मिएको एस न गुटमुक्त हुन सक्यो न त विद्रोहको औचित्य नै पुष्टि भयो ।
