पार्टी एकताका लागि माओवादी र एकीकृत समाजवादीबीच गृहकार्य

एकीकृत समाजवादी र माओवादी केन्द्रका शीर्ष नेताहरू प्रदेश इन्चार्जसँग सहकार्यको आधार बनाउँदै एकताका लागि निरन्तर संवादमा छन्।

श्रावण २७, २०८२

गंगा बीसी

Homework between Maoists and Unified Socialists for party unity

What you should know

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकता गर्ने लक्ष्यसहित संवादलाई तीव्रता दिएका छन् । साउनमा मात्र उनीहरूबीच चारपटक संवाद भइसकेको छ । पछिल्लोपटक मंगलबार दुई अध्यक्षले सातै प्रदेशका इन्चार्जसहित छलफल गरेका हुन् ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि आधार बनाउन संवाद चलिरहेको हो । पार्टी एकता गर्नुअघि बलियो सहकार्य हुनुपर्ने र त्यसपछि मात्र एकता गर्न सकिने भन्दै उनीहरू गृहकार्यमा लागेका छन् ।

समाजवादी मोर्चामा रहेका यी दुई दल शीर्ष नेतृत्वले सातै प्रदेशका इन्चार्जसहित निरन्तर छलफल अघि बढाएका छन् । 

मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहयोगी नेताहरूसहित सम्बन्ध बलियो बनाउनेबारे छलफल भएको नेताहरूको भनाइ छ । छलफलमा केन्द्रदेखि प्रदेश तहसम्म सहकार्यलाई बलियो बनाउने, त्यसका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउन निर्णय भएको छ । तर निरन्तर सहकार्यबाट पार्टी एकताको आधार बन्ने उनीहरूको विश्लेषण छ ।

प्रतिनिधिसभामा माओवादीका ३२ र समाजवादीका १० सांसद छन् । 

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई काभ्रेको पतञ्जली जग्गा हिनामिनामा मुद्दा दायर भएपछि अप्ठ्यारोमा परेका छन् । पार्टीभित्र अध्यक्ष पद छाड्नुपर्ने दबाब छ भने उनीमाथि लागेको मुद्दा जित्ने आधार तय गर्नुछ । त्यसका लागि उनले तेस्रो दल माओवादीसँग तत्काल सहकार्य र केही समयपछि पार्टी एकता गर्न चाहेको समाजवादीका एक पदाधिकारीले बताए ।

दाहाल र नेपालले दुवै दलका प्रदेश इन्चार्जहरूबाट दुई दलको सहकार्य र पार्टी एकताका लागि आधार बन्न सक्ने/नसक्नेबारे धारणा बुझेको एक नेताले बताए । प्रदेश इन्चार्जहरूले पहिलो चरणमा सहकार्य बलियो बनाएर पार्टी एकताको आधार बन्न सक्ने सुझाव दिएका उनले बताए । 

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले पहिलो चरणमा दुई दलबीच सहकार्य बलियो बनाउनेबारे निरन्तर छलफल भएको बताए । ‘दुई दलबीच सम्बन्ध सुधारका लागि निरन्तर छलफल भइरहेको छ,’ उनले भने, ‘सहकार्य गर्दै जाँदा बलियो आधार तयार भए पार्टी एकतासम्म जान सकिन्छ भन्ने कोणबाट कुराकानी भएको छ ।’ 

दुई दलका शीर्ष नेता दाहाल र नेपालले मधेशबाहेक ६ प्रदेशका इन्चार्जसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । ‘पहिलो चरणमा सहकार्यलाई जोड दिन सुझाव छ । त्यसपछि पार्टी एकताको बाटोमा अघि जान सकिन्छ भन्ने छ,’ उपाध्यक्ष भुसालले भने, ‘प्रदेश अनुसार छलफल सकिएपछि अर्को चरणमा छलफल सुरु हुनेछ ।’

माओवादी महासचिव देव गुरुङले समाजवादी विचार भएका दलसँग छलफल भएको उल्लेख गर्दै तत्काल एकीकृत समाजवादीसँग एकताको टुंगो नभएको बताए । ‘अहिले समाजवादी मोर्चाका हिसाबले सम्बन्ध सुदृढ गर्न छलफल भइरहेको छ । एकताको टुंगो लागिसकेको छैन,’ उनले भने ।

मंगलबारको बैठकमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेलले दुई दलबीच संसद् र सडकमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे कुराकानी भएको बताए । ‘अहिले पार्टी एकता गरिहाल्ने भन्ने होइन । दुई दलबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल हो,’ उनले भने ।

माओवादी र समाजवादीबीच गत साता समाजवादीको केन्द्रीय कार्यालयमा यस्तै छलफल भएको थियो ।

माओवादीको साउन २० मा बसेको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसँग एकता र समाजवादी मोर्चालाई विस्तार गर्ने निर्णय गरेको थियो ।

‘हालै समाजवादी मोर्चा, नेपालको बैठक बसी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने निर्णय एवं सातै फ्रदेशमा अन्तर्त्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय सही रहेको निष्कर्ष निकालियो,’ माओवादीको निर्णयमा उल्लेख छ, ‘बैठकले चन्द नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने र त्यसका लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरेको छ ।’

‘समाजवादी मोर्चामा आबद्ध पार्टीहरूलगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णय पनि’ माओवादीले गरेको छ । 

उता एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवादीसँग एकता गर्नुभन्दा आफ्नै पार्टी बलियो बनाउने पक्ष्माँ छन् । 

‘पार्टी विभाजन गरी नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गर्नुछ । पहिले हाम्रै पार्टी बनाउनुपर्छ,’ खनालले भने । माओवादीसँग निरन्तर भएको संवादमा खनाल र भुसाल सहभागी छैनन् । 

२०८१ मंसिरमा भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले माओवादीसँग एकता गर्न नहुने प्रतिवेदन नै पेस गरेका थिए । केन्द्रीय कमिटीले पारित गरेको प्रतिवेदनमा पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिइएको छ ।

‘निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन् । जसले गर्दा कतिपयमा एमालेसँग सामीप्य खोज्ने, अरू कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन ।’

उनले सत्ता स्वार्थ केन्द्रित एकता दिगो नहुने पनि बताए । ‘तर कम्युनिस्ट आन्दोलनको भविष्यभन्दा ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएर गरिएको पार्टी एकताले परिणाम दिएन,’ भुसाल भन्छन्, ‘अब एकीकृत समाजवादी ठोस राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक अरू कुनै पनि गठबन्धन गर्दैन भन्नेमा आफैं पनि स्पष्ट हुनुपर्छ ।’

गंगा बीसी

Link copied successfully