रुपन्देही- ३ को उपनिर्वाचन : किन अन्योलमा पर्‍यो मधेशी मोर्चा ? 

साझा उम्मेदवार बनाउने भनिएको नागरिक उन्मुक्ति पार्टी उपनिर्वाचनका लागि आयोगमा दर्ता नै हुन नपाएपछि मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा समस्यामा परेको छ ।

भाद्र ३, २०८२

राजेश मिश्र

By-election of Rupandehi-3: Why is the Madhesi Morcha confused?

What you should know

काठमाडौँ — मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कसलाई उम्मेदवार बनाउने विषयलाई लिएर अप्ठ्यारोमा परेको छ । मोर्चाले यसअघि उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई साझा बनाउने निर्णय गरेको थियो । 

तर, उपनिर्वाचनका लागि निर्वाचन आयोगले निकालेको दल दर्ताको सूचीमा नागरिक उन्मुक्ति नअटाएपछि मोर्चा समस्यामा परेको छ । आयोगले मागे अनुसारको डकुमेन्ट पुर्‍याउन नसक्दा उक्त पार्टी दल दर्ताको सूचीमा परेन । आयोग प्रवक्ता निता पोखरेलले नागरिक उन्मुक्ति पार्टी दल दर्ता प्रयोजनका लागि निवेदन दिएपनि आवश्यक कागजात पुर्‍याउन नसक्दा दर्ता हुन नसकेको बताए । ‘आयोगले कागजात पुर्‍याउन समय दिएको र त्यो समयभित्र पनि आवश्यक डकुमेन्ट सम्बिन्धित पार्टीले ल्याउन नसक्दा दल दर्ता सूचीमा नपरेको हो,’ उनले भनिन् । आगामी कात्तिक १७ गते रुपन्देही–३ मा तोकिएको प्रतिनिधिसभा उपनिर्वाचन प्रयोजनका लागि आयोगले साउन २१ देखि साउन २७ गतेसम्म दल दर्ताको समय दिएको थियो । 

नाउपाभित्र लामो समयदेखि आन्तरिक विवाद चलिरहेको छ । आधिकारिकताको विवादमा निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा निर्णय दिइसकेको छ । रेशम चौधरी पक्षले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी पार्टी अध्यक्षबाट हटाउने निर्णय गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी आयोगलाई गराएको थियो । तर, अयोगले त्यसलाई अस्वीकार गर्दै श्रेष्ठको अध्यक्षतालाई कायम राखिदियो । दुवै पक्षले अलग अलग दल दर्ताका निवेदन आयोगमा दिएका थिए । तर, चौधरी पक्षले आधिकारिकता नै पाएन । श्रेष्ठ पक्षले आवश्यक कागजात पुर्‍याउन सकेन । पार्टीको आन्तरिक विवादकै कारण उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुन सकेन ।  

रुपन्दही–३ नाउपालाई दिने निर्णय गरेको मोर्चाले अब के गर्छ त ? मोर्चाका नेता जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी नाउपाको उम्मेदवारलाई मोर्चाको साझा उम्मेदवार बनाउने निर्णयमा फेरबदल भइनसकेको बताउँछन् । ‘तर, निर्वाचन प्रयोजनका लागि दल नै दर्ता नभएकाले केही समस्या उत्पन्न भएको छ,’ उनले भने ‘त्यसै विषयमा छलफल गर्न बुधबार मोर्चाको बैठक बोलाइएको छ ।’ मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी, नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आबद्ध छन् । तर, नाउपाका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने विषयमा जनमत पार्टी सुरूदेखि नै सहमत छैन । उसले चुनावी गठबन्धनका लागि मोर्चा नबनेको भन्दै आफ्नो उम्मेदावार छुट्टै रहने घोषणा पहिले नै गरिसेकेको थियो । मोर्चामा भएको सहमति अनुसार नाउपा बाहेक अन्य दल उपनिर्वाचन प्रयोजनका लागि दर्ता प्रक्रियामै गएनन् । तर, जनमतले दल दर्ता गराएको छ । 

जनमत बाहेक मोर्चामा आबद्ध अन्य सबै दल नाउपाको उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए । तर, अहिले नाउपा दल नै दर्ता नभएपछि अब के गर्ने भन्ने अप्ठ्यारो उनीहरूका अगाडि आएको छ । त्रिपाठीले विभिन्न विकल्पहरू रहेको भन्दै त्यस विषयमा मोर्चामा छलफल हुने बताए । नाउपाकै तर्फबाट अघि सारिने स्वतन्त्र उम्मेदवारलाई साझा बनाएर जान सकिने उनको भनाई छ । 

‘रुपन्देही ३ मा हामी बलियो छौं । म भर्खरैपनि त्यो क्षेत्रमा केही समय बिताएर आएको छु,’ उनले भने ‘साझा उम्मेदवार दिएर गयौं भन्ने हामी जित्ने छौं ।’ उनले त्यही भएर साझा उम्मेदवार बनाउने पुरानो निर्णय अनुसार मोर्चा अघि बढ्ने बताए । लोकप्रिय व्यक्ति चयन गरेर स्वतन्त्रबाट उम्मेदवार बनाएर जान सकिने छलफल मोर्चाका नेताहरूबीच सुरू भएको छ । 

२०७९ को निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधनका कारण त्यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बालकृष्ण खाँडले ३४ हजार ३६ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेली ५ हजार ७ सय ९६ मत ल्याएर तेस्रो स्थान ल्याएको थियो । समानुपातिक तर्फ नागरिक उन्मुक्ति पार्टीले चौथो स्थान ल्याएको थियो । मोर्चामा आबद्ध दलहरू मध्ये नाउपाले बढी मत ल्याएकाले उसको उम्मेदवारलाई साझा उम्मेदवार बनाउने मोर्चाको निर्णय थियो । नाउपा, जसपा नेपाल, लोसपा सहित मोर्चामा आबद्ध दलहरूले पाएको मत समानुपातिक तर्फको मत १६ हजार ४ सय थियो । त्यसबाहेक जनमतले पाएको मत ३ हजार ७ सय ३२ थियो । सबै मत जोड्दा समानुपातिक तर्फ मोर्चा दोस्रो स्थानमा देखिने रहेछ । त्यही भएर पनि साझा उम्मेदवार दिए चुनाव परिणाम आफ्नो पक्षमा पार्न सकिने रणनीतिमा मोर्चा देखिएको हो । तर, जनमत पहिले नै नाउपालाई समर्थन दिने विषयमा सहमत नहुनु र अहिले नाउपाले उपनिर्वाचन प्रयोजनका लागि योग्य नै नहुनुले मोर्चाका अगाडि चुनौती थपिएको छ । 

मोर्चाका अर्का नेता तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल नागरिक उन्मुक्ति पार्टीलाई चुनावभन्दा बाहिर रोक्नुमा षडयन्त्र देख्छन् । ‘मोर्चा एक भएर जाँदा त्यहाँ जित्ने सम्भावना छ । त्यही भएर सत्ताधारी दलद्वारा त्यसविरूद्ध षडयन्त्र गरिएको हो,’ उनले भने ‘निर्वाचनमा जान चाहने दललाई यो पुगेन त्यो पुगेन भन्दै दल दर्ता रोक्नुभन्दा आयोगले विकल्प दिनुपर्नेमा त्यसो नगरिएको पाइयो । आयोगको निर्णयले समस्या आएको छ ।’ आपसी समझदारीमा शंका उत्पन्न नहोस् भनेर मोर्चाका अन्य दलहरूले अयोगमा दल दर्ताका लागि नगएको उनले बताए । स्वतन्त्र उम्मेदवार उठाउने वा मोर्चामा आबद्ध जनमत पार्टी दर्ता रहेकाले त्यसको उम्मेदवारलाई सहयोग गरेर जाने विकल्प मोर्चाका अगाडि देखिएको छ । ‘मोर्चा एकजुट भएर चुनाव लड्ने छ, लालले भने ‘मोर्चा बैठकले आवश्यक उपाय निकाल्ने छ ।’ 

उपनिर्वाचन प्रयोजनका लागि २६ दल दर्ता 

रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनर्विाचन प्रयोजनका लाग निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जनमत पार्टी दर्ता भएका छन् । त्यसबाहेक मंगोल नेसनल अर्गनाइजेसन, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा दर्ता भएका छन् । त्यस्तै, जनप्रजातान्त्रिक पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी(पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), नेकपा(माले), राप्रपा नेपाल, नेसन रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा नेपाल दर्ता छन् । 

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully