कम्युनिस्ट पार्टीहरूमा नेतृत्वप्रति आलोचना निषेध गर्ने प्रवृत्तिले आन्तरिक संघर्षलाई विभाजनको स्थितिमा पुर्याएको छ ।
What you should know
काठमाडौँ — संसदीय लोकतन्त्रको सिद्धान्त अँगालेका नेपालका कम्युनिस्ट पार्टीहरूको आन्तरिक कार्यशैली भने अनुदारवादी रहँदै आएको छ । नेतृत्वमाथि सकभर प्रश्न उठ्नै नदिने, कसैले प्रश्न तेर्स्याए किनारामै पार्न खोज्ने प्रवृत्ति प्रायः सबै नेपाली कम्युनिस्ट पार्टीमा अब नौलो रहेन ।
संसद्को तेस्रो र कम्युनिस्ट पार्टीमध्ये दोस्रो ठूलो दल माओवादी केन्द्रमा चलिरहेको अन्तरसंघर्ष केही समययता चासो र चर्चामा छ । पार्टीभित्र नेतृत्वको कार्यशैलीप्रति आलोचना र नेतृत्व हस्तान्तरणको माग गर्दै आएका उपमहासचिव जनार्दन शर्माले उल्टै प्रश्न सामना गर्नु परिरहेको छ । जारी स्थायी समिति बैठकमा अधिकांशले उनलाई पार्टीको विधिबाहिर गएर नेतृत्वको आलोचना गरेको भन्दै आत्मालोचना गर्नुपर्ने बताइरहेका छन् ।
माओवादीभन्दा डेढ दशकअघि नै संसदीय राजनीतिमा आएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउन पहिलो साता भएको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति एवं पार्टीकै पूर्वउपाध्यक्ष विद्या भण्डारीका पक्षमा बोले कारबाही हुने चेतावनी दिएका थिए । पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा बनाउने निर्णयको आलोचना गर्दा गत वर्ष स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन नै गरिएको थियो । महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका र नेतृत्वमाथि निरन्तर आलोचना गर्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गर्यो ।
एमाले विभाजन गर्नुको औचित्य पुष्टि नभएको धारणा राखेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अध्यक्ष माधव नेपालले ‘पार्टी छाड्नु उपयुक्त हुने’ प्रतिक्रिया दिएका छन् । अध्यक्ष नेपालले शुक्रबार विराटनगरमा भने, ‘उहाँले पार्टी फुटाएको औचित्य पुष्टि नभएको बताउनुभएछ । नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु ।’ अन्य कम्युनिस्ट पार्टीमा पनि नेतृत्वमाथि प्रश्न र आलोचना निषेधकै जस्तो अवस्था छ । आन्तरिक रूपमा समेत निर्धक्क विचार राख्न, छलफल गर्न नदिने नेतृत्वको यस्तै अलोकतान्त्रिक प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीहरू धेरै टुटफुट हुने गरेको विश्लेषकहरू बताउँछन् ।
माओवादीका सचिव राम कार्की कम्युनिस्ट पार्टीमा दुई लाइन संघर्ष अप्रिय भए पनि अपरिहार्य रहेको बताउँछन् । ‘यो औषधि हो । तितो भए पनि रोग निको पार्न लिनैपर्छ,’ उनी भन्छन्, ‘दुई लाइन संघर्ष भएन भने पार्टी जीवन समाप्त हुन्छ ।’ नेतृत्वमाथि प्रश्न उठाएकै भरमा कारबाहीको बाटो अपनाउनुभन्दा समाधानतिर जानु उचित हुने उनको भनाइ छ ।
माओवादीमा नेतृत्वमाथि प्रश्न उठेको यो पहिलो पटक होइन । तर यसअघि ज–जसले प्रश्न उठाए, उनीहरू प्रायः सबै कालान्तरमा पार्टीबाटै अलग भए । दसवर्षे सशस्त्र द्वन्द्व हाँकेका पुष्पकमल दाहाल र बाबुराम भट्टराई आज बेग्लाबेग्लै दलमा छन् । सशस्त्र द्वन्द्वका बेला माघ २०६१ मा रुकुमको लावाङमा अध्यक्ष दाहालको कार्यशैलीप्रति प्रश्न उठाएपछि तत्कालीन वरिष्ठ नेता भट्टराईलाई जिम्मेवारीबाट हटाइएको थियो । त्यति मात्र होइन, उनलाई लडाकुको घेराबन्दीमै राखिएको थियो । साउन २०६२ मा मात्र भट्टराई जिम्मेवारीमा पुनर्स्थापित भए । दाहालसँग कहिले सुषुप्त र कहिले चर्को अन्तरसंघर्ष गर्दै आएका भट्टराईले २०७२ मा संविधान जारी भएपछि माओवादी नै छाडे ।
मोहन वैद्य पक्षले असार २०६९ मा शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान निर्माण गर्ने पार्टी लाइनमा असहमति जनाउँदै माओवादी छाडेर छुट्टै पार्टी नै गठन गरे । पुराना सहयात्री नेत्रविक्रम चन्द, सीपी गजुरेल, रामबहादुर थापा लगायतका नेता पनि अहिले दाहाल नेतृत्वको माओवादीमा छैनन् । माओवादीको इतिहासले भन्छ– ३६ वर्षदेखि पार्टीको नेतृत्वमा रहेका दाहालमाथि प्रश्न उठाएका अरू नेताहरूले एकपछि अर्कौ गर्दै पार्टी छाडेका छन् ।
भट्टराई, वैद्यलगायत नेता बाहिरिएपछि माओवादीमा अन्तरसंघर्ष ठप्प प्रायः भएका बेला उपमहासचिव शर्माले दुई वर्षयता पार्टीभित्र दुई लाइन संघर्ष चलाएका छन् । तर उनलाई पनि अप्ठ्यारो पारिँदै छ । स्थायी समिति बैठकमा अधिकांश नेताले अध्यक्ष दाहालमाथि प्रश्न उठाउन गलत भएको बताएका छन् । बैठकको सुरुमै शुक्रबार अध्यक्ष दाहालले नेतृत्व परिवर्तन गर्ने नै हो भने महाधिवेशनमा अघि सर्न शर्मालाई चुनौती दिएका थिए ।
उपमहासचिव शर्माले भने आफूले मात्र आत्मालोचना गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै पार्टी बिग्रिएकामा अध्यक्षले जिम्मा लिनुपर्ने तर्क गरेका छन् । ‘म देश र जनताका लागि आत्मालोचना मात्र होइन, जुनसुकै त्याग गर्न पनि तयार छु । अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँले लिनुपर्छ,’ उनले बैठकमा भने ।
२०६४ मा माओवादीले ३१ लाख मत पाएकामा अहिले ११ लाख आइपुग्नुमा मुख्य नेतृत्वको जिम्मा भएको शर्माको भनाइ थियो । ‘३१ लाखको मत ११ लाखमा आइपुग्नुमा कारण र दायित्व मेरै हो भने म जिम्मा लिन्छु, आत्मालोचना पनि गर्छु,’ उनले बैठकमा भने । विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि, पद्धतिसहितको स्थायी संरचना, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात् गर्न विशेष महाधिवेशन जरुरी रहेको पनि उनले उल्लेख गरे ।
एमालेमा दुई लाइन संघर्ष ठप्प
माधव नेपाल नेतृत्वको समूह बाहिरिएपछि एमालेमा दुई लाइन संघर्ष ठप्प बनेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले गत महिना पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि ध्रुवीकरण सुरु भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष बन्ने आकांक्षासहित राजनीतिमा फर्कन चाहेकी थिइन् । तर अझै एक कार्यकाल अध्यक्ष बन्ने आकांक्षा राखेका केपी शर्मा ओलीले भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय केन्द्रीय कमिटी बैठकबाटै गराए ।
अध्यक्ष ओलीले भण्डारीका पक्षमा नबोल्न चेतावनी दिए पनि करिब एक दर्जन नेता जोखिम मोलेर भण्डारीका पक्षमा खुलेका थिए । ओलीको चेतावनी आउनुअघि अरू धेरै केन्द्रीय सदस्यले धारणा राख्ने तयारी गरेका थिए । एमालेले तल्ला समितिलाई पनि भण्डारीका विषयमा बहस नगर्न निर्देशन दिएको छ । भण्डारीको पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा अध्यक्ष ओलीको निगरानीमा रहेको एक पदाधिकारीले बताए ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउनु गलत भएको तर फरक विचारप्रति पार्टी नेतृत्व अनुदार हुन नहुने बताउँछिन् । पार्टी सुदृढीकरणका लागि विधि, पद्धति र कार्यक्रम राम्रो बनाउन फरक मतलाई सुन्नुपर्ने उनको भनाइ छ । ‘पार्टीभित्र आफूलाई लागेको विचार मत राख्नुपर्छ । आफ्नो कुरा राख्न डराउनु हुँदैन । अन्तर पार्टी संघर्ष चलाउनुपर्छ,’ उनी भन्छिन्, ‘पार्टीभित्र कुरा राख्न नपाए बाहिर छरपस्ट हुन्छ । नेतृत्वले फरक विचार प्रस्तुत गर्ने सहज वातावरण बनाइदिनुपर्छ । राजनीतिक, वैचारिक विषयमा जति छलफल भयो, त्यति पार्टी बलियो हुन्छ ।’
एकीकृत समाजवादीमा प्रश्न गर्दा स्पष्टीकरण
पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नैतिकताको प्रश्न उठाउँदै विशेष महाधिवेशनको माग गर्दा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्पष्टीकरण नै दिनुपरेको छ । उनले पार्टीलाई स्पष्टीकरण बुझाएपछि कारबाही भने रोकिएको छ । तर यतिले अन्तरसंघर्ष साम्य भएको छैन । सम्मानित नेता झलनाथ खनालले नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् ।
अध्यक्ष नेपालले ‘पार्टी छाड्नु उपयुक्त हुने’ प्रतिक्रिया दिएको सन्दर्भमा खनाल समाजवादी पार्टी छोड्ने कल्पना पनि गर्न नसकिने बताउँछन् । ‘मैले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ भनेको हो । अहिलेसम्म एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नहुनु नेतृत्वको अयोग्यताको परिणाम हो,’ उनले भने, ‘कम्युनिस्ट पार्टी विधि, नीति र सिद्धान्तमा चल्नुपर्छ । जे मन लाग्यो, त्यो गर्न पाइँदैन ।’ यसअघि उनले काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर भएपछि नैतिकताका आधारमा अध्यक्ष नेपालले जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।
खनालले पार्टी नेतृत्वमाथि प्रश्न उठाएको भन्दै बैठकमै यसबारे छलफल गर्ने तयारी एकीकृत समाजवादीको छ । उपाध्यक्ष बेदुराम भुसालले पार्टी विभाजनका विषयमा खनालबाट व्यक्त प्रतिक्रिया गम्भीर भएको बताए । ‘उहाँ (झलनाथ) ले विभिन्न सम्मेलनमा नेता तथा कार्यकर्तालाई निरुत्साहित गर्ने कुरा गर्दै आउनुभएको छ । अहिले त झन् पार्टीको औचित्य छैन भन्न थाल्नु भएको छ । यो गम्भीर विषय हो,’ उनले भने, ‘यस विषयमा पार्टी कमिटीमा छलफल हुन्छ । पार्टी बनाउनुको औचित्य पुष्टि भएन भनेर महाधिवेशनमा लिएर जानुपर्थ्यो ।’ समाजवादी पार्टीको औचित्य छैन भनेर हिँड्ने हो भने पार्टीमा बस्नुको औचित्य नरहने उनले बताए ।
साना कम्युनिस्ट पार्टीमा उही समस्या
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट साउन २०८१ मा अलग भएर नेता धर्मेन्द्र बाँस्तोलाले नेकपा बहुमत गठन गरेका थिए । अहिले नेकपा बहुमत नै फुटको संघारमा पुगेको छ । बहुसंख्यक सदस्यहरूको विरोधका बाबजुद जबर्जस्त रूपमा निरंकुशता, निषेधात्मक, स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र देखाएको आरोप नेता शरद रसाइली पक्षले लगाइरहेको छ ।
‘केही जिम्मेवार कमरेडमाथि मिथ्या आरोप लगाउँदै कथित निष्कासन र निलम्बनको वक्तव्य जारी गर्नु विखण्डन मानसिकताको उपज हो,’ रसाइलीले विज्ञप्तिमार्फत भनेका छन् । महासचिव बाँस्तोलामा चरम फुटवादी, विखण्डनकारी, निषेधात्मक प्रवृत्ति भएको आरोप उनले लगाएका छन् ।
नेकपा बहुमतका नेता गुणराज लोहनीले पार्टीभित्रको समाधान गर्ने प्रयास भइरहेको बताए । ‘वैचारिक विवाद होइन, केही प्राविधिक कुरा हो । समाधान गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
राजनीतिकशास्त्रका प्राध्यापक कृष्ण पोखरेल कम्युनिस्ट पार्टीका मुख्य नेतृत्वले फरक विचारलाई सम्मान गर्नुपर्ने बताउँछन् । 'पहिलो कुरा, कम्युनिस्ट पार्टीमा नेतृत्वले दुई नाउमा खुट्टा राखेका छन् । एकातिर लोकतन्त्रको हिमायती ठान्छन् । अर्कोतिर हिजोको कम्युनिस्ट हृयाङओभर छ,’ उनले भने, 'कम्युनिस्ट पार्टीको मान्यताअनुसार नेताहरुको फरक विचार आयो भने निषेध गर्ने होइन । बहुमत विचार लागू गरी वैकल्पिक विचार सम्पत्तिको रुपमा राख्नुपर्छ । पहिलो विचार काम लागेन भने दोस्रो विचार अँगाल्नुपर्छ ।’
मुख्य नेतृत्वलाई चुनौती दियो भने व्यक्तिलाई ‘टार्गेट’ गर्ने गलत अभ्यास रहेको उनको भनाइ छ ।
०००
'मूल नेतृत्वले फरक विचार राख्न सहज बनाइदिनुपर्छ'
- अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, एमाले
एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन किन रोकियो ?
विद्या भण्डारीले पार्टीमा सरसल्लाह गर्नुभएन । पहिले अध्यक्षसँगै मिलेरै राजनीति गर्नुभएको हो । एकैचोटि उहाँको सदस्यता विवादमा परेपछि राम्रो भएन । सम्मानित व्यक्ति सक्रिय राजनीतिमा आउन हुँदैनथ्यो ।
पछिल्लो समय फरक मतलाई निषेध गरिएको माननुहुन्छ ?
पार्टीमा फरक मत राख्नुपर्छ । राख्न पाउनुपर्छ । नेताहरुले आफ्नो मत राख्न डराउनु हुन्न । पार्टीभित्र आफ्नो कुरा राख्न नपाए बाहिर छरपस्ट हुन्छ । मूल नेतृत्वले फरक विचार राख्न सहज बनाइदिनुपर्छ । पार्टीमा राजनीतिक वैचारिक जति छलफल भयो, त्यति राम्रो हुन्छ । पार्टीलाई बलियो बनाउन पनि फरक मत आवश्यक पर्छ ।
तर पछिल्लो समय फरक मत राख्यो कि कारबाहीमा पर्ने डर छ ?
नेपालका कम्युनिस्ट पार्टीहरुको राजनीतिक नेतृत्व अलि वैचारिक भएन । पद्धति, प्रणाली स्थापित भएन । गुटगत प्रवृत्ति बढी भयो । नेतृत्व संकर्ण सोच हटाउनुपर्छ । त्यसपछि मात्र पार्टी प्रणाली बलियो हुन्छ । पार्टी विशाल संगठन हो । सबैलाई आत्मगौरव हुने वातावरण हुनुपर्छ । अहिले पार्टी सामु धेरै चुनौती छन । गर्नुपर्ने काम विशाल छन् । अनुदार भएर पार्टी विशाल हुन सक्दैन । पार्टीभित्र बोल्न पाएन भने लोकतन्त्रको अर्थ रहदैन । हामीमा अझै सामान्ति चिन्तन बाँकी छ । पार्टीमा लोकतान्त्रिक संस्कार विकास गरेर जानुपर्छ । त्यसले पार्टी झन् बलियो बनाउँछ ।
०००
'दुई लाइन संघर्ष भएन भने पार्टी जीवन समाप्त हुन्छ'
- राम कार्की, सचिव, माओवादी
पछिल्लो समय दुई लाइन संघर्ष निषेध गरिएको हो ?
दुई लाइन संघर्ष अप्रिय कुरा हो । आफ्नै कमरेडसँग लड्नुपर्छ । साथीहरुलाई गलत साबित गर्नुपर्ने हुन्छ । तर यो औषधि हो । तितो भए पनि लाभ लिर्नैपर्छ । दुई लाइन संघर्ष भएन भएन पार्टी जीवन समाप्त हुन्छ । अन्तरसंघर्ष भएन भने व्यक्ति विशेषको कम्पनी जस्तो हुन्छ ।
ओलीले मबिनाको एमालेको कल्पना नगर भनेको सुनिन्छ । मान्छे मरणशील छ । पाटी पनि सँगै मर्ने त ? नेता विशेष रहिरने पार्टी नेतृत्व अपरिहार्य होइन । प्रतिभाशाली नेता छ भने अर्को आउनुपर्छ भनने होइन । उस्तै नेतृत्व भएन भने सामूहिक नेतृत्वमा जान सकिन्छ ।
नेतृत्वको आलोचनामा माओवादी किन अनुदार देखिन्छ ?
नेतृत्वको सैद्धान्तिक, वैचारिक आलोचना भयो परिमार्जित हुन मद्दत गर्छ । अधिभूतवादी प्रशंसाले फाइदा गर्दैन । कुनै पनि परिवर्तनलाई समाजशास्त्रीय वैद्यता प्रदान गर्नुपर्छ । हामीले हामीले इतिहासको पुनर्लेखन गर्नुपर्थ्यो । कांग्रेस, माले, एमाले माओवादीले खेलेको भूमिका इतिहासको विषय बन्नुपर्थ्यो । शैक्षिक संस्थाको पाठयक्रम परिवर्तन गर्नुपर्थ्यो । फेसबुकबाट गरेको प्रशंसाले नेता स्थापित हुन्छ ? अध्यक्ष प्रचण्डको नेपालमा लामो इतिहास छ । त्यो स्थापित गर्न हामी चुक्यौं । वैद्यता दिनुपर्थ्यो । त्यो दिएनौं । व्यक्तिगत रुपमा गुणगान गाएर नेता स्थापित हुँदैन । हरेक मान्छे आफ्नो प्रणालीसँग बाधिनुपर्छ । पार्टीको कार्यदिशा, कार्यक्रम उद्देश्य पनि त्यस्तै हुनुपर्छ । उद्देश्य राम्रो छ भने अनुशासन कायम हुन्छ । बाहिर गनाएको छ भने छोपेर छेकिन्न ।
माओवादीको अन्तरविरोध कसरी समाधान हुन्छ ?
अन्तरविरोधलाई रुपान्तरण गर्न सकिन्छ । अहिलेको अन्तरविरोधमा अलिअलि व्यक्तिगत कुरा छन् । महाधिवेशनको मिति तय गरेर खुला बहस सुरु गर्नुपर्छ । अहिलेको सानो अन्तरविरोधलाई उच्च रुपमा लैजानुपर्छ । कसले कसलाई कारबाही गर्ने ? आलोचना गर्ने कि अधिभूतवादी प्रशंसा गर्नेलाई ? विधि र पद्धतिबाट महाधिवेशनबाट जानुपर्छ ।
कम्युनिस्टमा अनुदारवादी नेतृत्व हाबी हुँदै गएको हो ?
आगामी नीति समाजवादलाई हेर्दा पार्टी बिर्सने, पार्टी हेर्दा समाजवाद बिर्सने गर्नुहुँदैन । पुरानो प्रणाली मर्दै गएको तर नयाँ नजन्मिएको अवस्था छ । त्यो स्थिति तनावपूर्ण हुन्छ । यस्तो बेला ठूला साना विग्रह देखिन्छ । परिवारले मात्र खोलेको पार्टीमा विग्रह हुन्छ । समाजको अन्तरविरोधमा पार्टीमा अभिव्यक्त भएको छ । हामीले माओवादीको मात्र कुरा होइन, समाजको कुरा हो । कुनै कमरेडलाई व्यक्ति कारबाहीको कुरा गरेर समाधान हुँदैन । व्यक्तिको प्रश्नै होइन । विधि र प्रणाली मुख्य कुरा हो ।
माओवादीमा नेतृत्व हस्तान्तरण सम्भवै छैन ?
अध्यक्ष प्रचण्ड स्वस्थ हुँदै थिति बसाइहाल्नुपर्छ । सम्मानजनक ठाउँमा बसेर विधि बसालेर युवालाई नेतृत्व दिनुपर्छ । द्वन्द्ववादी भएर हेर्यो भने अन्तरविरोध समाधान हुन्छ । हामी सबै बिग्रिएको भन्ने होइन । सबै बिग्रिएको भए सबै खतम भइहाल्थ्यो । जनार्दन वा अरु व्यक्ति समस्या होइन । समस्या समाज, कार्यदिशा र कार्यक्रममा छ । अध्यक्षलाई धेरै गाली गर्नु पनि जायज होइन । धेरै प्रशंसा गर्नु पनि राम्रो होइन । आलोचनात्मक समर्थन गर्नुपर्छ ।
०००
'झलनाथजी कुन विधिअनुसार चल्नुभएको छ ?'
- बेदुराम भुसाल, उपाध्यक्ष, एकीकृत समाजवादी
पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले फुटाउनुको औचित्य साबित भएन भन्नुभएको छ नि ?
उहाँले यो पार्टी बनाउनु भूल थियो भन्नु कति जायज छ? मैले भनेअनुसार मान्नुपर्छ भनेर हुन्छ र ? उहाँले गरेको कुरा कुन विधिअनुसार भयो त ? पार्टी कमिटीमा नरोखेर पार्टी बनाउनु गलत थियो भन्नु नैतिकता हो त ? उसो भए के गर्दा पुष्टि हुन्थ्यो ? ठूलो पार्टी भएर मात्र हुने औचित्य पुष्टि हुने हो र ? महाधिवेशनमा राजनीतिक दस्ताबेज सर्वसम्मत तरिकाले पास भएको हो । त्यसबेला चुप बस्नुभयो । त्यतिबेला माधव नेपालको नेतृत्वमा चल्नुपर्छ भन्नुभएको हो । झलनाथजीले समर्थन गर्ने मान्छे जुटाएर नेतृत्व लिन सक्नुपर्थ्यो नि । पार्टी बनाउनुको औचित्य छैन भनेर हिँड्ने हो भने गम्भीर विषय बन्छ ।
अध्यक्ष नेपालको अनुदारवादी शैलीका कारण झलनाथ खनाल असन्तुष्टि हुनुभएको हो ?
हामीले नेतृत्वका लागि महाधिवेशनमा खुला गरेको हो । त्यसबेला नेतृत्व लिन्छु भन्न सक्नुपर्छ । सुरुदेखि नै उतारचढाव छ उहाँमा । उहाँले विभिन्न सम्मेलनमा नेता तथा कार्यकर्तालाई निरुत्साहित गर्ने कुरा गर्नुभएको छ ।
