माओवादी स्थायी समिति बैठक : आत्मालोचना गर्न उपमहासचिव शर्मामाथि दबाब

शर्माले अध्यक्ष दाहालमाथि सार्वजनिक रूपमा प्रश्न उठाएर विधि उल्लंघन गरेको नेताहरूको भनाइ

श्रावण १७, २०८२

गंगा बीसी

Maoist Standing Committee Meeting: Pressure on Deputy General Secretary Sharma to self-criticize

What you should know

काठमाडौँ — सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्न उठाएका उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न दबाब बढेको छ । स्थायी समितिको शनिबारको बैठकमा २५ नेताले विधि उल्लंघन गरी सार्वजनिक मञ्चमा अध्यक्ष दाहालको आलोचना गरेकाले शर्माले आत्मालोचना गर्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा पार्टीले अघि सारेको समाजवादी बाटो, वामपन्थी एकता, प्रमुख प्रतिपक्षले खेल्नुपर्ने भूमिका, आगामी कार्यक्रम, नेतृत्व सबल बनाउन महाधिवेशनको आवश्यकतामाथि सुझाव दिन स्थायी समिति सदस्यलाई आग्रह गरिएको थियो । तर अधिकांशले अध्यक्ष दाहालमाथि सार्वजनिक रूपमा प्रश्न उठाएको भन्दै उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्षले नेतृत्व हस्तान्तरण गर्दै विशिष्ट पद लिएर बस्नुपर्छ, आलोपालो नेतृत्व गर्ने विधि बनाउनुपर्छ

- राम कार्की, सचिव, माओवादी

बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष दाहालले सार्वजनिक रूपमा आलोचना गरेको भन्दै शर्मालाई सचेत गराएका थिए । तर, शनिबार बोल्ने दाहालनिकट नेताहरूले शर्मालाई कारबाही प्रक्रिया अघि बढाउने कोणबाट धारणा राखेको एक स्थायी समिति सदस्यले बताए । ‘जनार्दनजीले बाहिर बोलेको आधारमा आत्मालोचना गर्न लगाउने, त्यसपछि कारबाही प्रक्रिया अघि बढाउने कोणबाट धेरैले धारणा राखे,’ ती नेताले भने, ‘जनार्दनजीले स्थायी समितिमा धारणा राखेपछि स्थायी समितिको बहुमतले कुनै न कुनै कारबाही प्रक्रिया अघि बढाउने संकेत देखिन्छ ।’

शर्माले ६ साउनमा एक सार्वजनिक कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीमा आन्तरिक लोकतन्त्र (जनवाद) को अभ्यास कमजोर भएको बताएका थिए । तर उनले आफूले अध्यक्षलाई केन्द्रित नगरी कम्युनिस्ट पार्टीको प्रवृत्तिबारे धारणा राखेको बताउँदै आएका छन् ।

जनार्दनजीले पार्टीको विधिभन्दा बाहिर बोल्नु ठीक भएन । फरक मत छ भने पार्टीभित्रै राख्न सकिन्छ

- वर्षमान पुन, उपमहासचिव, माओवादी

सरकारमा हुँदा र प्रमुख प्रतिपक्ष भइसकेपछि पनि दाहालको नेतृत्वमा राम्रो काम भएको भन्दै उपमहासचिव वर्षमान पुनले मुख्य नेतृत्व कमजोर बनाउन नहुने टिप्पणी गरे । मुख्य नेतृत्व कमजोर हुँदा पार्टीलाई चारैतिरबाट प्रहार हुने भएकाले अध्यक्ष दाहाललाई बलियो बनाएर आन्तरिक एकता कायम गर्नुपर्नेमा उनले जोड दिए । ‘जनार्दनजीले पार्टीको विधिभन्दा बाहिर बोल्नु ठीक भएन । फरक मत छ भने पार्टीभित्रै राख्न सकिन्छ,’ पुनको भनाइ थियो, ‘यसबारे जनार्दनजीले समीक्षा गर्नुपर्छ । सरकारमा हुँदा र प्रतिपक्षमा गएको बेला मुख्य नेतृत्वबाट राम्रो काम भएको छ । कमजोर पार्ने काम गर्नु हुँदैन ।’

बैठकमा सचिव राम कार्कीले मात्र दाहालले प्रणाली बनाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् । दाहाल पक्षीय नेताहरूले भने कम्युनिस्ट पार्टीमा विधि, पद्धतिमा रहेर फरक मत राख्नुपर्ने बताएका थिए । उनले आलोपालो नेतत्व गर्ने गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरी आफू विशिष्ट पदमा बस्न दाहाललाई आग्रह गरे । स्थायी समितिमा अधिकांशले अध्यक्ष दाहालको प्रशंसा गरेपछि कार्कीले त्यसले नेतृत्वलाई फाइदा नपुर्‍याउने बताए । ‘अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्दै विशिष्ट पद लिएर बस्नुपर्छ । कार्यकारी अधिकार हस्तान्तरण गरी आलोपालो नेतृत्व गर्ने विधि बनाउनुपर्छ,’ उनले भने ।

अर्का सचिव देवेन्द्र पौडेलले पार्टीको नेतृत्व रातारात नबन्ने भन्दै अध्यक्ष दाहालको नेतृत्व तत्काल फेर्न नसकिने तर्क गरे । ‘पार्टीभित्र समस्या छन् भने महाधिवेशनबाट समस्या सम्बोधन गरौं । जनार्दनजीले महाधिवेशनमा आफ्नो विचार ल्याउनुपर्छ । बहस गरौं । समाजवादी बाटोमा अघि बढ्न एउटा टिम बनाऔं,’ उनले भने ।

केही नेताले पुस २०७८ को महाधिवेशनले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन् । स्थायी समिति सदस्य अन्जना बिशंखेले महाधिवेशनपछि पार्टी पुनर्निर्माण हुन नसकेको बताइन् । ‘दलित महिलाको, पिछडिएको वर्गको जगमा बनेको पार्टी हो । उनीहरूका मुद्दा कमजोर भए । हामी वैचारिक रूपमा स्खलित भयौं,’ उनले भनिन् ।

स्थायी समिति सदस्य कमला रोकाले विधि र प्रक्रिया सबैले पालना गरे मात्र पार्टी बलियो हुने बताइन् । ‘प्रभाकर (जनार्दन) को अभिव्यक्ति वैचारिक रूपमा आत्मकेन्द्रित, व्यवहारमा अराजकता देखियो,’ उनले भनिन्, ‘नेतृत्व भनेको आवश्यकताले जन्मिने हो । कसैको चाहनाले निर्माण हुने होइन ।’ नेता गणेशमान पुनले उपमहासचिव शर्माले सार्वजनिक रूपमा बोलेकोमा आत्मालोचना गरी कमजोरी स्वीकार गर्नुपर्ने धारणा राखे । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष दाहालको प्रस्तावलाई सबै नेताको समर्थन रहेको बताए ।

साउन २०८१ मा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठको लिखित मत राख्दै पार्टी प्रणाली लोकतान्त्रिक नभएको, नेतृत्व हस्तान्तरण हुनुपर्ने, वैचारिक नीति स्पष्ट हुनुपर्ने माग गरेका थिए । उनको मतमाथि सातै प्रदेशमा ‘परामर्श बैठक’ गरी छलफल भएको थियो । त्यसलाई माओवादीले आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास भनेको थियो । दाहाल र शर्माबीच लामो छलफलपछि माघ २०८१ को स्थायी समिति बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको थियो ।

गंगा

Link copied successfully