काठमाडौँ — ग्वार्को ओभरपासमा कालोपत्र गर्ने तयारी थालिएको छ । अहिले भने निर्माणको कामले गति लिएको छ । निर्माण जेठभित्र सक्नेगरी काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दिप बाराहिले बताए । उनका अनुसार कोटेश्वरतर्फ प्राइम कोट (कालोपत्र गर्नु अघिको तयारी) गर्ने काम बिहीबारबाट भएको छ । आइतबार उक्त खण्डमा कालोपत्र गर्ने तयारी भएको केन्द्रले जनायो ।
सातदोबाटोतर्फ भने कालोपत्र गर्नका लागि वेस राख्ने काम भइरहेको छ । निर्माण प्रगति ८५ प्रतिशत पुगेको छ । 'अहिले धमाधम काम भइरहेको छ,' निर्देशक बाराहिले भने, 'जेठभित्र निर्माणको काम सकेर सवारी सन्चालन गर्ने तयारीमा छौं ।' २०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिएको थियो । तर अहिलेसम्म सकिएको छैन । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो ।
सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । तर काम सकिएन । अहिले निर्माण कम्पनीलाई जरिवाना लगाएर काम गराइएको केन्द्रले जनायो । तर निर्माण व्यवसायीले भने घाटा सहेर काम गरिरहेको बताउँदै आएका छन् ।आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ ।
र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत मात्र छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए ।
![Dhamdham Guarco Overpass Work [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gwarkoflyovergwarko202505223040-2252025044851-1000x0.jpg&w=1001&h=0)
![Dhamdham Guarco Overpass Work [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gwarkoflyovergwarko202505223043-2252025044932-1000x0.jpg&w=1001&h=0)
![Dhamdham Guarco Overpass Work [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gwarkoflyovergwarko202505223041-2252025044903-1000x0.jpg&w=1001&h=0)
![Dhamdham Guarco Overpass Work [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gwarkoflyovergwarko202505223039-2252025044837-1000x0.jpg&w=1001&h=0)