सिन्धुपाल्चोक — चीनसँग जोड्ने बाह्रबिसे-तातोपानी (२६ किलोमिटर) सडकमा पर्ने खाग्दल बजारमा रहेको बेलिब्रिज बाढीले बगाएको छ । खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाउँदा तातोपानी-बाह्रबिसेको सडक सर्म्पक टुटेको छ ।
यहाँका स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीकाअनुसार सोमबार रातको दुई बजे खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पुर्याएको छ ।
नदी घरटहराभित्र पसेर लेदोले पुरेपछि यहाँका स्थानीय हैरान छन् । 'अब यो दुई महिना कसरी जोगिने होला हे भगवान् ! यहाँ बर्खापिच्छै यही अवस्था र जोखिम हुने भो,' स्थानीय सुविन श्रेष्ठले दुःखेसो गरे ।
खाग्दलसहित कोदारी राजमार्गको खण्डपिच्छै विभिन्न स्थानमा बाढीपहिरो गएपछि सडक भएको छ । घटना भएलगत्तै पुगेका जनप्रतिनिधि बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेत, उपमेयर मंञ्जु तामाङले तत्कालै पीडित जनतालाई सहज बनाउन लागि पर्ने प्रतिबद्धता गरेका छन् । 'तत्काल सडक सरसफाई भइरहेको छ, अन्य हामीले गर्न सक्ने सबै काम गर्नेछौं,' मेयर बस्नेतले भने ।



