किन आवश्यक छ काठमाडौंमा द्रुत बस यातायात प्रणाली ?

आजको मुख्य प्रश्न धेरै गाडी गुडाउनु होइन, बरु धेरै मानिसलाई सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा गन्तव्यसम्म पुर्‍याउनु हो । अब द्रुत यातायात प्रणालीजस्तो व्यवस्थित सार्वजनिक यातायातको आवश्यकता थप स्पष्ट हुँदै छ ।

जेष्ठ २६, २०८३

अलिशा खनाल, माधव जोशी, निर्मल तामाङ, विश्वास लामिछाने

Why is a rapid bus transport system necessary in Kathmandu?

What you should know

कलंकी, कोटेश्वर वा चाबहिलको ट्राफिकमा केही समय बिताएका जोकोहीलाई एउटा कुरा सहजै महसुस हुन्छ, काठमाडौंको यातायात प्रणाली दिन प्रतिदिन थप दबाबमा परिरहेको छ । उपत्यकामा सवारीसाधनको संख्या निरन्तर बढिरहेको छ, सडकहरू जामले भरिँदै गएका छन् । र, दैनिक यात्रा धेरैका लागि तनावपूर्ण, अनिश्चित अनि कहिलेकाहीँ असुरक्षित अनुभवसमेत बन्न थालेको छ ।

विगतका वर्षमा काठमाडौंले सडक फराकिलो बनाउने, फ्लाइओभर निर्माण गर्ने वा भौतिक पूर्वाधार विस्तार गर्ने उपायबाट ट्राफिक समस्यालाई सहज बनाउने प्रयास गर्‍यो । रिङरोड विस्तारजस्ता परियोजनाले केही समयका लागि सुधारको अनुभूति गराए पनि केही वर्षमै जाम पुनः उस्तै अवस्थामा फर्किएको अनुभव धेरैले गरेका छन् । यस्तो अवस्था काठमाडौंमा मात्रै होइन, विश्वका धेरै सहरले भोगेका छन् । यातायात योजनासम्बन्धी विभिन्न अध्ययनले देखाएका छन्– सडक थप विस्तार गर्दा दीर्घकालीन रूपमा निजी सवारीको प्रयोग अझ बढ्ने प्रवृत्ति देखिन्छ, जसलाई ‘प्रेरित माग’ का रूपमा चिनिन्छ । अमेरिकी यातायात अनुसन्धानकर्ता जिल दुरान्तो र म्याथ्यु टर्नरको चर्चित अध्ययन ‘द फन्डामेन्टल ल अफ रोड कन्जेस्चन’ (२०११) ले सडक क्षमता बढेसँगै सवारी चाप पनि लगभग समान अनुपातमा बढ्ने निष्कर्ष प्रस्तुत गरेको छ । त्यसैले आजको मुख्य प्रश्न केवल धेरै गाडी गुडाउनु होइन, बरु धेरै मानिसलाई सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा गन्तव्यसम्म पुर्‍याउनु हो । यही सन्दर्भमा बस द्रुत यातायात प्रणाली (बीआरटी) जस्तो व्यवस्थित सार्वजनिक यातायातको आवश्यकता थप स्पष्ट हुँदै गएको छ ।

बीआरटी केवल ‘बस लेन’ होइन

नेपालमा धेरैले बीआरटी भनेपछि बसका लागि छुट्याइएको एउटा लेनको मात्रै कल्पना गर्छन् । तर, अन्तर्राष्ट्रिय अभ्यासमा यसलाई साधारण बस सेवाभन्दा फरक, सतहमा सञ्चालन हुने ‘मेट्रो–जस्तो’ सार्वजनिक यातायात प्रणालीका रूपमा बुझिन्छ । यसमा छुट्टै बस लेन, व्यवस्थित स्टेसन, छिटो चढ्ने–ओर्लने व्यवस्था, एकीकृत टिकट प्रणाली र स्मार्ट ट्राफिक व्यवस्थापनलाई एउटै संरचनाभित्र समेटिएको हुन्छ ।

यसले बसलाई ट्राफिकभन्दा प्राथमिकता दिन्छ, जसकारण यात्रुहरूले अहिलेको सार्वजनिक यातायातमा अनुभव गर्ने अनिश्चितता र ढिलाइ उल्लेखनीय रूपमा घटाउन सकिन्छ । अहिले जस्तै यात्रु खोज्दै अनियमित रूपमा रोकिने, अत्यधिक भीड हुने वा असंगठित प्रतिस्पर्धामा आधारित प्रणालीको सट्टा बीआरटीले समयतालिका, सुरक्षा र यात्रुको सहजतालाई प्राथमिकतामा राख्छ ।

समथर चढ्ने–ओर्लने स्टेसनहरूले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र बालबालिकासहितका परिवारलाई सहज पहुँच उपलब्ध गराउन मद्दत गर्छन् । ट्रान्जिट सिग्नल प्राथमिकता (टीएसपी) जस्ता प्रविधिले बसलाई ट्राफिक सिग्नलमा कम समय रोक्न सहयोग पुर्‍याउँछन् । छुट्टै बस लेनले यात्रा समयलाई थप भरपर्दो बनाउँछ । सायद सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, बीआरटीले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको सम्मानलाई केन्द्रमा राख्छ ।

काठमाडौंलाई व्यवस्थित सार्वजनिक यातायात किन आवश्यक छ ?

आज हजारौं काठमाडौंवासी दैनिक रूपमा सार्वजनिक यातायातमा निर्भर छन् । तर, हालको प्रणाली अझै धेरै हदसम्म खण्डित र अव्यवस्थित छ । यात्रुहरूले भीडभाड, अनियमित समयतालिका, असुरक्षित चढ्ने–ओर्लने अवस्था र लामो प्रतीक्षाको अनुभव गरिरहेका छन् ।

यद्यपि यी चुनौती छन्, सार्वजनिक यातायात अझै विद्यार्थी, श्रमिक, ज्येष्ठ नागरिक र न्यून आय भएका समुदायका लागि मुख्य यातायात माध्यम बनेको छ । बीआरटीको उद्देश्य केवल नयाँ बस थप्नु होइन– सार्वजनिक यातायातलाई व्यवस्थित, भरपर्दो र मानिसकेन्द्रित प्रणालीका रूपमा विकास गर्नु हो । यदि सहरका अधिकांश नागरिक निजी मोटरसाइकल र कारमै निर्भर हुने अवस्था बढ्दै गयो भने काठमाडौंजस्तो सीमित सडक संरचना भएको सहर दीर्घकालीन रूपमा सञ्चालन गर्न झन् कठिन हुन सक्छ । व्यवस्थित सार्वजनिक यातायातमा लगानी नगर्ने हो भने जाम, प्रदूषण, इन्धन खपत र समयको क्षति थप बढ्ने सम्भावना रहन्छ ।

Why is a rapid bus transport system necessary in Kathmandu?

एक प्रभावकारी बीआरटी प्रणालीले निजी सवारीको व्यावहारिक विकल्प प्रदान गर्दै सहरको समग्र जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउन सक्छ । आधुनिक बीआरटी करिडोरहरूमा प्रायः सुरक्षित फुटपाथ, साइकल लेन, सडक सौन्दर्यीकरण र पहुँचमैत्री पूर्वाधारसमेत समावेश गरिने अभ्यास देखिन्छ ।

दक्षिण एसियाका सहरहरूबाट सिक्ने अवसर

काठमाडौंले सबै कुरा शून्यबाट सुरु गर्नुपर्ने अवस्था छैन । दक्षिण एसियाका धेरै सहरले बीआरटीमार्फत सहरी यातायात सुधार गर्ने प्रयास गरिसकेका छन् । भारतको अहमदाबादस्थित ‘जनमार्ग’ प्रणालीले छुट्टै बस करिडोर र व्यवस्थित सञ्चालनमार्फत सार्वजनिक यातायातप्रति जनविश्वास बढाएको उदाहरणका रूपमा चर्चा गरिन्छ । इन्दौरको ‘आइबस’ ले अव्यवस्थित बस प्रणालीलाई थप संरचित र प्रभावकारी नेटवर्कमा रूपान्तरण गर्ने प्रयास गरेको छ । त्यस्तै पाकिस्तानमा इस्लामाबाद–रावलपिण्डी मेट्रोबसले दुई व्यस्त सहरबीचको यात्रा समय घटाउन सहयोग पुर्‍याएको मानिन्छ भने पेसावर बीआरटीले सहरी यातायात, सुरक्षा र वातावरणीय अवस्थामा सकारात्मक प्रभाव पारेको विभिन्न अध्ययनले उल्लेख गरेका छन् । यी उदाहरणले बीआरटी यातायात परियोजना मात्रै नभई जनजीवन, आर्थिक गतिविधि र वातावरणीय दिगोपनसँग पनि जोडिएको विषय हो भन्ने देखाउँछन् ।

अक्सर काठमाडौंको सन्दर्भमा मोनोरेल वा मेट्रो रेलको बहस पनि उठ्ने गर्छ । केही सहरमा सफल भए पनि घना सहरी संरचना, निर्माण लागत, भूगोल र आर्थिक क्षमताजस्ता पक्ष विचार गर्दा ती प्रणाली काठमाडौंका लागि तत्काल व्यावहारिक विकल्प बन्न कठिन हुन सक्छन् भन्ने तर्क विभिन्न अध्ययनले प्रस्तुत गरेका छन् । विश्व बैंक तथा यातायात तथा विकास नीति संस्थान (आईटीडीपी) का विभिन्न सहरी यातायात अध्ययनले उच्च लागत भएका एलिभेटेड रेल वा मोनोरेल प्रणालीहरूको तुलनामा बीआरटीले तुलनात्मक रूपमा कम लागतमा उच्च यात्रु क्षमता दिन सक्ने उल्लेख गरेका छन् । आईटीडीपीको बीआरटी स्ट्यान्डर्ड तथा ‘मोर डेभलपमेन्ट फर यर ट्रान्जिट डलर’ जस्ता अध्ययनले विशेषगरी विकासशील सहरहरूमा बीआरटीलाई ‘कम लागतमा उच्च क्षमता दिने सार्वजनिक यातायात प्रणाली’ का रूपमा व्याख्या गरेका छन् ।

भूमिगत मेट्रो वा एलिभेटेड रेल प्रणालीको तुलनामा बीआरटी अपेक्षाकृत सस्तो, छिटो कार्यान्वयन गर्न सकिने र चरणबद्ध रूपमा विस्तार गर्न मिल्ने विकल्पका रूपमा धेरै सहरले अपनाएका छन् ।

काठमाडौंका लागि व्यावहारिक दृष्टिकोण

हाम्रो स्वतन्त्र अनुसन्धानअन्तर्गत हामीले काठमाडौं रिङरोडमा आधारित बीआरटी करिडोरको सम्भावना अध्ययन गरेका छौं, जसले प्रमुख आवासीय, शैक्षिक, व्यावसायिक र रोजगार केन्द्रहरूलाई जोड्न सक्छ ।

यस अवधारणाको मुख्य उद्देश्य अव्यवस्थित ट्राफिक व्यवस्थापन मात्र होइन, यात्रुलाई प्राथमिकता दिने भरपर्दो सार्वजनिक यातायात प्रणाली निर्माण गर्नु हो । रिङरोडमा छुट्टै बस लेन र आधुनिक स्टेसनको माध्यमबाट काठमाडौंले दैनिक लाखौं यात्रुलाई सेवा दिन सक्ने सार्वजनिक यातायातको आधारभूत संरचना विकास गर्न सक्छ ।

Why is a rapid bus transport system necessary in Kathmandu?

भविष्यमा यही प्रणाली भक्तपुर, बूढानीलकण्ठ, थानकोट, ललितपुरजस्ता क्षेत्रतर्फ विस्तार हुँदै क्षेत्रीय नेटवर्कको रूप लिन सक्ने सम्भावना पनि देखिन्छ । यसका लागि पुल सुधार, ट्राफिक व्यवस्थापन र सडक क्षेत्रको पुनःसंरचना आवश्यक पर्न सक्छ । तर, यी सुधारहरू काठमाडौंजस्तो घना सहरी क्षेत्रमा भूमिगत रेल निर्माणको तुलनामा तुलनात्मक रूपमा कम जटिल र कम खर्चिला हुन सक्छन् ।

जनचेतना पनि उत्तिकै आवश्यक 

पूर्वाधार मात्रै पर्याप्त हुँदैन । जनविश्वास र जनचेतना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । व्यवस्थित सार्वजनिक यातायात प्रणाली लागू गर्दा सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो– मानिसले सार्वजनिक यातायातलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु । अझै पनि धेरैले बसलाई अन्तिम विकल्पका रूपमा हेर्ने प्रवृत्ति देखिन्छ ।

हाम्रो उद्देश्य वर्तमान यातायात व्यवसायी वा प्रणालीको आलोचना गर्नु होइन । बरु काठमाडौं कसरी सुरक्षित, सफा र व्यवस्थित यातायाततर्फ अघि बढ्न सक्छ भन्ने विषयमा सकारात्मक संवाद सुरु गर्नु हो ।

मानिसले भरपर्दो, पहुँचयोग्य, सुरक्षित र सहज यातायात पाउनुपर्छ । विद्यार्थीले हरेक दिन असुरक्षित यात्रा गर्न बाध्य हुनु हुँदैन । कामदारले ट्राफिकमा अनावश्यक घण्टौं गुमाउनु नपरोस् । परिवारहरू निजी सवारीबिनै सहज यात्रा गर्न सक्षम बनून् ।

व्यवस्थित बीआरटी प्रणालीले सार्वजनिक यातायातप्रति पुनः विश्वास निर्माण गर्न सहयोग गर्न सक्छ ।

यो बहस केवल हाम्रो होइन

हामीलाई थाहा छ, काठमाडौंमा व्यवस्थित सार्वजनिक यातायात वा बीआरटीको अवधारणा नयाँ होइन । यसबारे सरकारी निकाय, योजना विज्ञ, सहरी अभियन्ता र विभिन्न संस्थाहरूले विगतदेखि नै छलफल गर्दै आएका छन् ।

हामी आफूलाई नेपालमा बीआरटीको अवधारणा ल्याउने पहिलो व्यक्ति भनेर प्रस्तुत गर्न खोजिरहेका छैनौं । बरु, हामी अमेरिकामा विभिन्न यातायात तथा पूर्वाधार परियोजनामा कार्यरत केही नेपाली ट्रान्जिट पेसाकर्मी र उत्साहीहरूको समूह हौं, जसले आफूले हासिल गरेको प्राविधिक ज्ञान र अनुभव नेपालसँग साझा गर्न चाहन्छौं । 

आजको मुख्य समस्या विचारको कमी होइन, कार्यान्वयनको चुनौती हो । काठमाडौंले वर्षौंदेखि दिगो यातायातबारे छलफल गरिरहेको छ तर यात्रुहरूले अझै अव्यवस्थित र अविश्वसनीय सार्वजनिक यातायात भोगिरहेका छन् ।

त्यसैले जनचेतना अत्यन्त आवश्यक छ । जब नागरिकले व्यवस्थित, भरपर्दो र सम्मानजनक सार्वजनिक यातायातको माग गर्न थाल्छन्, तब परिवर्तन सम्भव हुन सक्छ । हामीलाई विश्वास छ कि यस्ता छलफलले बीआरटी किन आवश्यक, व्यावहारिक र सम्भव विकल्प हुन सक्छ भन्ने विषयमा जनसमझदारी बढाउन मद्दत गर्नेछन् ।

काठमाडौंको यातायात समस्या कुनै एक समूहले मात्रै समाधान गर्न सक्दैन । यसका लागि सरकार, यातायात व्यवसायी, योजनाविद्, प्राविधिक र सर्वसाधारणबीच सहकार्य आवश्यक छ । तर, खुला संवाद र ज्ञान आदानप्रदानबाट सुरुवात भने अवश्य गर्न सकिन्छ ।

मानिसकेन्द्रित भविष्यतर्फ

विश्वका धेरै सफल सहरले एउटा महत्त्वपूर्ण परिवर्तन गरिसकेका छन्– उनीहरूले गाडीभन्दा मानिसलाई प्राथमिकता दिन थालेका छन् । काठमाडौंले पनि अब त्यही दिशामा सोच्ने समय आएको छ ।

यदि हामीले सडक विस्तार र निजी सवारी वृद्धिलाई मात्रै समाधान ठानिरह्यौं भने जाम र प्रदूषण झन् बढ्न सक्छ । तर, यदि व्यवस्थित, प्रभावकारी र दिगो सार्वजनिक यातायातमा लगानी गर्न सकियो भने काठमाडौं अझ बस्नयोग्य, जोडिएको र स्वच्छ सहर बन्न सक्छ ।

बीआरटी सम्पूर्ण समाधान होइन । तर, अहिलेको अवस्थामा काठमाडौंले लिन सक्ने सबैभन्दा व्यावहारिक, सम्भव र प्रभावकारी कदममध्ये एक भने अवश्य हुन सक्छ । काठमाडौंको यातायात बहस अब केवल सडकको बहसमा सीमित रहनु हुँदैन । यो मानिस, पहुँच, सुरक्षा र जीवनस्तरको बहस पनि हो । त्यसैले काठमाडौंका लागि बीआरटीको बहस महत्त्वपूर्ण छ । 

अलिशा यातायात तथा सिभिल इन्जिनियर अलिशा खनालले सार्वजनिक यातायात, दिगो पूर्वाधार विकास र सहरी मोबिलिट योजनामा विशेषज्ञता हासिल गरेकी छन् ।

माधव सिभिल इन्जिनियर तथा अनुसन्धानकर्ता माधव जोशी हाल संयुक्त राज्य अमेरिकास्थित वायोमिङ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनरत छन् । 

निर्मल यातायात तथा ट्रान्जिट पूर्वाधारमा केन्द्रित सिभिल इन्जिनियर निर्मल तामाङ हाल संयुक्त राज्य अमेरिकामा सडक, बीआरटी, लाइट रेल ट्रान्जिट, युटिलिटी तथा सहरी पूर्वाधारसम्बन्धी परियोजनामा संलग्न छन् ।

विश्वास सिभिल इन्जिनियर विश्वास लामिछानेसँग यातायात तथा ट्रान्जिट पूर्वाधार विकासको क्षेत्रमा करिब तीन वर्षको व्यावसायिक अनुभव छ ।

Link copied successfully