नेपालको आर्थिक विरोधाभास

जबसम्म कानुन, नीति र कर्मचारीतन्त्र जस्ता राज्यका औपचारिक संस्थाहरू र समाजको वास्तविक शक्ति संरचनाबीच सामञ्जस्य हुादैन, तबसम्मका नीतिगत सुधार केवल कागजी मनोरथमा सीमित रहन्छन् ।

वैशाख २२, २०८३

गणेशप्रसाद पाण्डेय, चक्रपाणि आचार्य

Nepal's economic paradox

What you should know

एउटा समय थियो, जब काठमाडौंका कर्पोरेट बैठकदेखि चियापसलसम्म एउटै स्वर प्रतिध्वनित हुन्थ्यो– ‘पुँजीको लागत उच्च भयो, जसले उत्पादनको सामर्थ्यलाई थिच्यो । यदि ब्याजदर एकल अंकमा झर्ने हो भने नेपालमा लगानीको बाढी आउनेछ र अर्थतन्त्रले विकासको नूतन क्षितिज चुम्नेछ ।’ निजी क्षेत्रको यो दाबी दशकौंसम्म नेपाली अर्थतन्त्रको मुख्य भाष्य बनिरह्यो । उनीहरूको तर्क थियो— पुँजीको उच्च लागत नै आर्थिक विकासको मुख्य बाधक हो । 

आज त्यो माग पूरा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार (२०८२ फागुनसम्म) कर्जाको ब्याजदर ६.९० प्रतिशत बिन्दुमा झरेको छ । निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत तथा औसत अन्तरबैंक दर २.६८ प्रतिशतमा सीमित छ । बैंकिङ प्रणालीमा रु. ७७ खर्ब ४५ अर्ब निक्षेप रहँदा रु. ५७ खर्ब ४१ अर्ब मात्र कर्जा प्रवाह भएको छ । निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.७ प्रतिशत रहेको छ । यसबाट के पुष्टि हुन्छ भने पुँजीको प्रचुरता त छ तर आन्तरिक उत्पादन, माग र लगानीमा व्यापक सुस्तता देखिन्छ । उद्यमशीलता र साहसको अनिकाल देखिन्छ । उद्यमीहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । 

बजारको यो सन्नाटाको संकेत हो– नेपालको अर्थतन्त्र आज एक जटिल र बहुआयामिक संरचनागत पासोमा जेलिएको छ । अर्थशास्त्रीय भाषामा यसलाई तरलताको पासो भनिए पनि यो केवल मौद्रिक क्षेत्रको समस्या मात्र होइन । यो त सम्पूर्ण आर्थिक पारिस्थितिकीय प्रणालीको संरचनात्मक र प्रणालीगत संकट हो । यस आलोकमा प्रस्तुत लेखमा नेपालको अर्थतन्त्रले सामना गरिरहेका संरचनात्मक चुनौतीहरूको विश्लेषण र लुकेका अवसरको खोजी गर्ने प्रयत्न गरिएको छ ।

विश्वासको संकट : नीतिगत अन्योल

नेपालको विद्यमान मौद्रिक तरलताको पासोले एउटा कठोर यथार्थलाई उजागर गरेको छ— आर्थिक विकासको कथा केवल पुँजी परिचालनमा सीमित हुँदैन, यो त राज्यका संयन्त्रहरूप्रति लगानीकर्ताको अविचल विश्वास र राज्यद्वारा लगानी संरक्षणको असन्दिग्ध प्रत्याभूतिमा आधारित रहन्छ । आर्थिक विकासको सरल चक्र— पुँजी, लगानी, रोजगारी र उत्पादन— जस्ता परम्परागत व्याख्याहरू परिवर्तित सन्दर्भमा निष्प्रभावी सावित भएका छन् ।

वास्तवमा, नेपालमा लगानीको समस्या अर्थशास्त्रको प्राविधिक गणितभन्दा बढी अर्थ–राजनीतिक पारिस्थितिकीय प्रणालीको जटिल मुद्दा बनेको छ । अर्थतन्त्रका बहुआयामिक समस्यालाई कुनै एकल कारक सिद्धान्तका आधारमा निदान गर्न असम्भवप्रायः छ । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक मुस्ताक खानको राजनीतिक विन्यास (पोलिटिकल सेटलमेन्ट) को सिद्धान्तले यसै वस्तुगत यथार्थलाई पुष्टि गर्छ । उनको तर्क छ— कुनै पनि मुलुकको आर्थिक प्रगति त्यहाँका शक्तिशाली समूहबीचको वास्तविक शक्ति सन्तुलन र लाभको वितरणको यथार्थमा निर्भर हुन्छ । जबसम्म कानुन, नीति र कर्मचारीतन्त्र जस्ता राज्यका औपचारिक संस्थाहरू र समाजको वास्तविक शक्ति संरचनाबीच सामञ्जस्य हुँदैन, तबसम्मका नीतिगत सुधार केवल कागजी मनोरथमा सीमित रहन्छन् ।

आज नेपालमा लगानीका क्षेत्रमा देखिएका समस्याहरूको मूल कारण राज्य संयन्त्रका विभिन्न संस्थाहरूबीचको शक्तिको असन्तुलन नै हो । लगानीकर्ताको प्राथमिक चिन्ता पुँजीको लागतभन्दा बढी लगानीको सुरक्षा र नीतिगत निरन्तरतामा केन्द्रित हुन्छ । तर राज्यका संस्थाहरूले औद्योगिक लगानीलाई उत्पादक शक्तिमा रूपान्तरण गर्नुको सट्टा दोहनको माध्यम मात्र बनाइरहेका छन् ।

राज्यका संस्थाहरूप्रति लगानीकर्ताको विश्वासको आधारस्तम्भ कमजोर भएको छ, फलस्वरूप लगानीका चक्रहरू स्वस्फूर्त चलायमान हुन सकेनन् । पुँजीको प्रचुरतालाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न राज्यले लगानीकर्तालाई केवल लगानी संरक्षणको कागजी आश्वासन दिएर पुग्दैन । लगानीको सुरक्षा र प्रतिफलको विश्वसनीय प्रत्याभूति दिनु अनिवार्य छ । यो प्रत्याभूति नै मृतप्रायः रहेको लगानीको परिवेशमा पुनः प्राण–सञ्चार गर्ने सञ्जीवनी हुन सक्छ ।

अपरिपक्व वि–औद्योगिकीकरणको पासो

नेपालको आर्थिक पारिस्थितिकीय प्रणालीको अर्को संरचनात्मक विडम्बना औद्योगिक विकासको परिपक्वता व्यतीत नगरी कृषिबाट उत्तर औद्योगिक सेवामूलक अर्थतन्त्रमा छलाङ मार्नु हो । ऐतिहासिक रूपमा सफल मानिएका भियतनाम र बंगलादेश जस्ता उदीयमान अर्थतन्त्रहरूले कृषिबाट विस्थापित जनशक्तिलाई सिधै सेवा क्षेत्रमा होइन, उत्पादनमूलक उद्योगको सिँढीमार्फत आर्थिक रूपान्तरण गराए । परिणामतः आज भियतनामको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान करिब २४ प्रतिशत र बंगलादेशको झन्डै २२ प्रतिशत पुगिसकेको छ । छिमेकी राष्ट्र भारतले समेत यसलाई १४ प्रतिशतभन्दा माथि पुर्‍याउँदै औद्योगिक आधारलाई सुदृढ तुल्याइरहेको छ । 

तर हामीले औद्योगिक विकासको महत्त्वपूर्ण खुड्किलो गुमाएका छौं । कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १२.९ प्रतिशत देखिए पनि त्यसभित्रको वास्तविक मेरुदण्ड मानिने शुद्ध उत्पादनमूलक क्षेत्रको हिस्सा केवल ४.४ प्रतिशतमा संकुचित छ । सेवा क्षेत्रको हिस्सा करिब ६२ प्रतिशत पुगेको छ । यसले के पुष्टि गर्छ भने अर्थतन्त्रको बलियो खम्बा मानिने उद्योगको आधारशीला निर्माण नगरी सेवा क्षेत्रमा हाम फाल्दा पुँजीलाई उत्पादनको साधनका रूपमा सोस्न सक्ने आन्तरिक इन्जिन नै विकसित हुन पाएन । 

उद्योगको अंश यसरी न्यून बिन्दुमा झर्नु भनेको अदक्ष र अर्धदक्ष श्रमिकका लागि स्वदेशमा रोजगारीको ढोका अवरुद्ध हुनु हो । प्रख्यात अर्थशास्त्री दानी रोड्रिकले यस्तो अवस्थालाई अपरिपक्व वि–औद्योगिकीकरण (प्रिम्याचुअर डी–इन्डस्ट्रियलाइजेसन) उपमा दिएका छन् । उनको तर्क छ– कुनै पनि अर्थतन्त्रले पर्याप्त औद्योगिकीकरणबिना सेवा क्षेत्रमा फड्को मार्दा दीर्घकालीन आर्थिक वृद्धिको आधारभूत सामर्थ्य नै गुमाउन पुग्छ ।

वास्तवमा, औद्योगिक क्षेत्रको विकास दिगो र समावेशी अर्थतन्त्रको मेरुदण्ड मात्र होइन, पुँजीलाई दीर्घकालीन उत्पादनमा रूपान्तरण गर्ने मुख्य आधार पनि हो । अर्थशास्त्री निकोलस कालडोरको दाबी छ कि उद्योग आर्थिक वृद्धिको इन्जिन हो । औद्योगिक विकासले नै श्रमशक्तिको ठूलो हिस्सालाई उत्पादकत्वको सिँढी प्रदान गर्छ । बौद्धिक र प्रविधिमा आधारित आधुनिक सेवा क्षेत्रले उच्च सीप भएका सीमित व्यक्तिलाई मात्र समेट्न सक्छ, तर व्यापक जनशक्तिलाई उत्पादन प्रक्रियामा जोड्ने र दिगो रोजगारी सिर्जना गर्ने सामर्थ्य केवल औद्योगिक क्षेत्रमा मात्र हुन्छ । 

यसै संरचनात्मक विफलताको दुष्परिणाम स्वरूप आज नेपालमा कृषिबाट विस्थापित श्रमिकहरू उच्च उत्पादकत्व हुने कलकारखानामा समाहित हुन नसकी न्यून उत्पादकत्वको अनौपचारिक व्यापार वा वैदेशिक रोजगारीमा पलायन हुन बाध्य छन् । जसका कारण हाम्रो अर्थतन्त्रको आधेय (सेवा क्षेत्र र उपभोग) त ठूलो भयो, तर त्यसलाई थाम्ने आधार (औद्योगिक उत्पादन) अत्यन्त कमजोर भयो । आधारशिला बिनाको यस्तो आर्थिक संरचना नै ‘तरलताको पासो’ बाट बाहिर निस्कन बाधक बन्यो ।

'डच डिजिज’को जोखिम : श्रम निर्यात तथा उपभोगको दुश्चक्र

प्राकृतिक स्रोतको आकस्मिक प्राप्ति वा वैदेशिक मुद्राको अत्यधिक प्रवाहका कारण स्थानीय मुद्रा अधिमूल्यित भई निर्यातजन्य उद्योग र कृषि क्षेत्र शिथिल बन्ने आर्थिक अवस्थालाई ‘डच डिजिज’ भनिन्छ । विकास अर्थशास्त्रको दृष्टिबाट नियाल्दा नेपाल आज यस्तो विप्रेषण–उपभोगको जालमा फसेको छ, जहाँ राष्ट्रको आर्थिक इन्जिन आन्तरिक उत्पादनबिनाको उपभोग संस्कृतिमा निर्भर छ । हाम्रो जीवनशैली स्वदेशी मूल्य सिर्जनाबाट होइन, बरु खाडी र मलेसियाको मरुभूमिमा पोखिएको नेपाली श्रमको जगमा उभिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२४ मा विप्रेषणको आयतन कुल गार्हस्थ्य उत्पादनको करिब २८.२ प्रतिशत बराबर पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण ३७.७ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ४९ अर्ब पुग्नुले बाह्य क्षेत्रमा सामयिक राहत त प्रदान गरेको छ । तर यसले गम्भीर संरचनागत जोखिम पनि निम्त्याएको छ । विप्रेषणले अल्पकालीन रोजगारी, गरिबी न्यूनीकरण र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको यथार्थलाई उपेक्षा गर्न सकिँदैन, तर यसले दीर्घकालमा स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको आधारशिला नै खलबलाउने गम्भीर जोखिम पैदा गरेको छ ।

उच्च विप्रेषण प्रवाहले वैदेशिक मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढाए पनि यसले निम्त्याएको मुद्राको क्रयशक्तिको असन्तुलनले स्वदेशी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता कमजोर बनाएको छ । यसको प्रत्यक्ष प्रमाण सन् २००० मा कुल गार्हस्थ्य उत्पादनको १५.४ प्रतिशत रहेको वस्तु निर्यात २०२५ मा केवल ४.५ प्रतिशतमा खुम्चिनु हो । हाम्रो वैदेशिक व्यापारको अवस्था यस्तो दयनीय भएको छ कि सिंगो राष्ट्रको वर्षभरिको निर्यात आम्दानीले सवारीसाधनको इन्धन आयात खर्चसमेत धान्न सक्दैन । विप्रेषणको अर्को अदृश्य कुप्रभाव स्वदेशको श्रम बजारमा देखिएको छ । युवा जनशक्तिको व्यापक बहिर्गमनले कृषि तथा उद्योग क्षेत्रमा श्रमिकको चरम अभाव र ज्यालादरमा कृत्रिम वृद्धि गराएको छ । नेपालको श्रम उत्पादकत्व भारत र बंगलादेशको तुलनामा न्यून रहे पनि ज्यालादर भने ती मुलुकको तुलनामा उच्च हुनुले नेपाली उत्पादनलाई आयातित वस्तुको तुलनामा महँगो बनाएको छ । यसले हाम्रो औद्योगिक प्रतिस्पर्धी क्षमतालाई क्षीण तुल्याएको छ ।

संस्थागत अक्षमता : सामर्थ्यको संकट

नेपालको वर्तमान आर्थिक संकटको अर्को प्रमुख कारक राज्यको संस्थागत सामर्थ्यमा परिलक्षित चरम ह्रास हो । प्रख्यात अर्थशास्त्री डारोन असिमोग्लु र जेम्स रबिन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा उल्लेख गरेझैं राष्ट्रको अधोगति तब सुरु हुन्छ, जब त्यहाँका संस्थाहरू समावेशी हुनुको सट्टा दोहनकारी बन्न पुग्छन् । नेपालको वर्तमान अर्थतन्त्र पनि यस्तै दोहनकारी राजनीतिक र आर्थिक संस्थाहरूको चपेटामा जेलिएको छ । राज्यका संयन्त्रहरू बृहत्तर राष्ट्रिय हित र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा केन्द्रित हुनुको साटो सीमित समूहको स्वार्थ रक्षा र शक्ति सन्तुलनको व्यवस्थापनमै अल्झिएका छन् । 

यही संस्थागत क्षयीकरणको प्रतिबिम्ब नेपालको वित्तीय नीतिमा पनि स्पष्ट देखिन्छ । हाम्रा नीति–निर्माताहरू कठोर संरचनात्मक सुधारको जोखिम मोल्नुभन्दा नीतिगत आत्ममुग्धतामा लीन देखिन्छन् । विप्रेषण र भन्सारको सजिलो कमाइबाट सरकारको खर्च जेनतेन टर्नु नै आज नेपालको आर्थिक विकास र औद्योगिक क्रान्तिको मार्गमा प्रमुख व्यवधान बनेको छ । ‘उत्तम नै महानताको शत्रु हो’ भनेझैं, विप्रेषणले धानेको ठिकैको अर्थतन्त्रमा चित्त बुझाउँदा हामीले वास्तविक आर्थिक रूपान्तरणको बाटो नै बिर्सिएका छौं । राज्यको यही अकुशलतालाई चालु आर्थिक वर्षको तथ्यांकले थप पुष्टि गर्छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म लक्ष्यको मात्र ३९ प्रतिशत राजस्व संकलन हुनु र पुँजीगत खर्च १२.१ प्रतिशतमा खुम्चिनुले राज्य सञ्चालनको इन्जिन नै अकर्मण्य भएको संकेत गर्छ । विगतका दस वर्षमा पनि पुँजीगत खर्च ६० प्रतिशतको वरिपरि रहँदासमेत त्यसलाई सन्तोषजनक मान्ने अल्पदृष्टि सरकारी संयन्त्रको चरम उदासीनता र विफलताको पराकाष्ठा हो ।

आशाका किरण : तुलनात्मक लाभका क्षेत्र तथा स्तरोन्नतिको मार्ग

संरचनात्मक जडताका बादलबीच केही रणनीतिक क्षेत्रमा देखिएका हरियाली संकेतले आशाका किरण जगाएका छन् । सूचना प्रविधि क्षेत्र नेपालको अर्थतन्त्रमा तुलनात्मक लाभको नवीन आधारस्तम्भका रूपमा उदय भएको छ । सन् २०२२ को आईआईडीएस र नास–आईटीको अध्ययनअनुसार वार्षिक ६४.२ प्रतिशतको उच्च वृद्धिसहित ५१५ मिलियन अमेरिकी डलर बराबरको सफ्टवेयर र डिजिटल सेवा निर्यात भएको थियो । डिजिटल सेवाको यो फड्कोले नेपाललाई भौतिक पूर्वाधारको संकुचित सीमाबाट मुक्त गराउन सक्ने आभास दिएको छ । यसबाट हाम्रा उच्च सीपयुक्त जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने तथ्य वस्तुगत रूपमा प्रमाणित भएको छ ।

ऊर्जा क्षेत्र अर्को गेम–चेन्जर सावित भएको छ । पछिल्ला पाँच आर्थिक वर्षमा विद्युत् उत्पादनमा भएको वार्षिक औसत २०.५ प्रतिशतको क्षेत्रगत मूल्य अभिवृद्धि र भारत तथा बंगलादेशसँगको दीर्घकालीन ऊर्जा सम्झौताले नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा केन्द्रका रूपमा स्थापित गर्दै व्यापार घाटा न्यूनीकरणको मार्ग प्रशस्त गरेको छ । यसले प्रविधिमा आधारित विकास र हरित ऊर्जाको प्रवर्द्धनमार्फत नेपाललाई श्रम निर्यातकबाट सेवा र वस्तु निर्यातक राष्ट्रमा रूपान्तरण गर्न सकिने सम्भावनालाई उजागर गरेको छ ।

यसैगरी सन् २०२६ नोभेम्बरमा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नति नेपालका लागि एउटा रणनीतिक अवसर हो । यसलाई केवल व्यापारिक सुविधा कटौतीको जोखिमका रूपमा मात्र हेरिनु हुँदैन । बरु, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख बढाउनेछ र विश्व समुदायलाई नेपाल लगानीका लागि परिपक्व र सुरक्षित राष्ट्र भएको स्पष्ट सन्देश दिनेछ । यो स्तरोन्नति सहायतामुखी अर्थतन्त्रबाट लगानीमुखी अर्थतन्त्रमा परिणत गर्ने वास्तविक प्रस्थानबिन्दु बन्न सक्नेछ ।

निष्कर्ष : विश्वास, न्याय र संस्थाको त्रिवेणी

नेपालको आर्थिक भविष्य केवल विचारको बौद्धिक बहस जितेर वा राज्य व्यवस्थाका बाह्य अवयवहरूमा सतही परिवर्तन गरेर सुनिश्चित हुन सक्दैन । प्रणालीगत रूपान्तरण तब मात्र सार्थक हुन्छ, जब राज्य संयन्त्रले नीति कार्यान्वयनमा अनुशासनको पूर्ण प्रत्याभूति गर्छ । राजनीतिक–अर्थशास्त्रको लेन्सबाट नियाल्दा आर्थिक उद्यमको अन्तिम आधार विश्वास हो । विश्वासको आधार न्याय हो । न्यायको मूर्तरूप सुदृढ संस्था हो । वास्तवमा विश्वास, न्याय र संस्थाको त्रिवेणी नै राष्ट्रको आर्थिक जीवनको प्राणवायु हो । 

यस त्रिविध सन्तुलनलाई मजबुत तुल्याउन सके मात्र तीव्र आर्थिक वृद्धिको वास्तविक प्रस्फुटन र समावेशी विकासको नयाँ अध्याय सुरु हुनेछ । अत्यधिक जनअभिमतको विशिष्ट जनादेशसहित गठन हुने आसन्न नयाँ सरकारलाई समृद्ध राष्ट्र निर्माण गर्ने एक अपूर्व ऐतिहासिक अवसर प्राप्त भएको छ । केवल आकर्षक आर्थिक घोषणापत्र मात्र पर्याप्त हुँदैन, यस्तो संरचनागत सुधार अपरिहार्य छ, जहाँ विश्वास, न्याय र संस्थाका आधारभूत अवयवहरू स्वतःस्फूर्त रूपमा पल्लवित हुन पाऊन् । आशा छ, नयाँ सरकार नेपालीको अर्थतन्त्रको पुनर्जन्मको वास्तविक प्रस्थानबिन्दु हुनेछ ।

गणेशप्रसाद पाण्डेय नेपाल सरकारका पूर्वसचिव हुन् । 

चक्रपाणि आचार्य राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक हुन् ।

Link copied successfully