अहिलेको जनमतले खोजेको परिवर्तन हाम्रा गाउँहरू फेरि भरिभराउ हुन्, खेतबारीमा हरियाली फर्कियोस् र हाम्रा छोराछोरीले विषादीरहित स्वस्थ खाना खान पाऊन् भन्ने हो । यो परिवर्तन ल्याउने साहस र दृढता तपाईंको नेतृत्वमा सम्भव छ ।
What you should know
प्रिय माननीय बालेनज्यू,
निर्वाचनमार्फत प्राप्त जनमत र तपाईंको नेतृत्वमा बन्ने सरकारप्रति आमनेपाली नागरिकमा ठूलो आशा छ । विशेषगरी, ‘युग परिवर्तन’ को नारा घन्काइरहेको नयाँ पुस्ता, दशकौंदेखि माटोमा पसिना बगाइरहेका श्रमिक तथा किसानले तपाईंको नेतृत्वमा बन्ने अबको सरकारबाट परम्परागत राजनीतिक आश्वासन मात्रै होइन, जीवन पद्धतिमै आमूल सुधार ल्याउने ठोस कदमको अपेक्षा गरेका छन् । ‘मधेशको छोरो काठमाडौं घुम्न जाने हो, अधिकार माग्न होइन भन्ने’ उद्घोष मधेशले मात्र होइन, सबै नेपालीले गर्व गर्न लायक छ ।
नेपाली जनजीविकाको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्र यति बेला अत्यन्तै नाजुक र अप्ठ्यारो घुम्तीमा छ । हाम्रो अर्थतन्त्र, खानपान, रोजगारी र आत्मसम्मानको मुख्य आधार कृषि औद्योगिक उपनिवेशको चपेटामा परेर धराशायी बनेको छ । यस पत्रमार्फत हामी नेपाली कृषिका विशिष्टता, वर्तमान संकटका कारण र त्यो समाधान गर्ने मार्गचित्रबारे छोटो विवेचना गर्दै यहाँको ध्यानाकर्षण गर्न चाहन्छौं ।
नेपाली कृषिको मौलिकता र विशिष्ट पहिचान
नेपालको भूगोल र समाजको चरित्र संसारका अन्य मुलुकभन्दा भिन्न र विविधतापूर्ण छ । हाम्रो कृषि तथा खाद्य प्रणाली हिमालय शृंखलाको छातामुनि रहेको हिमाल, पहाड र तराईको अन्योन्याश्रित विशिष्ट पर्यावरणीय अन्तरसम्बन्धबाट बनेको विविध वातावरण र त्यसमा निर्मित विविध संस्कृतिमा आधारित छ । हाम्रो संस्कृति, चाडपर्व र जीवनदर्शन एकआपसमा जोडिएका मात्रै छैनन्, एकआपसमा जेलिएका पनि छन् । यसको विविधता सुन्दर फूलबारीजस्तै रंगीन छ ।
प्रकृतिको यो रंगीन फूलबारी जैविक विविधता र सूक्ष्म जलवायुले भरिएको छ । नेपालमा हिमालदेखि तराईसम्म हजारौं सूक्ष्म जलवायु क्षेत्र छन् । हाम्रो भूगोलले नै हामीलाई केन्द्रीकृत र ठूलो क्षेत्रमा गरिने एकल बाली खेती प्रणालीभन्दा विविधतायुक्त साना किसानको एकीकृत खेती प्रणाली उपयुक्त हुने कुरा निर्धारण गर्छ । हाम्रा पुर्खाले यो थाहा पाएरै यस्तो खेती प्रणाली अपनाएका हुन् । बरु आधुनिकतासँगै हामीले बिर्सेको त यसलाई उन्नत बनाउने मौलिक सोच हो ।
हाम्रो भूगोलको मौसमी चक्र र खाद्य संस्कृति अनुपम छ । हामी ६ वटा ऋतुको चक्रमा आधारित खेती गर्छौं । हाम्रा चाडपर्वहरू मौसम, जीवन्त माटो र बालीको चक्रसँग जोडिएका छन् । काठमाडौंको नेवारी खेती संस्कृति होस् या थारू समुदायको, मधेशको मिथिला होस् या कर्णालीको या पूर्वका किरातीहरूको या हिमालपारिका शुष्क क्षेत्रहरू हेरौं । यी सबै त्यहाँको वातावरण र संस्कृतिसँग एकीकृत भएर अस्तित्व जोगाउन संघर्षरत छन् । यो विविधता नै हाम्रो आत्मनिर्भर खाद्य प्रणालीको सामर्थ्य हो । यो तुलनात्मक लाभको बाली तथा बस्तुभाउ, औषधिजन्य जडीबुटीको अगाध भण्डार हो । यी सबैलाई आधुनिकताका नाममा उपेक्षा गरिनु हुँदैन ।
संकटको मूल कारण : औद्योगिक कृषिको अन्धानुकरण
दोस्रो विश्वयुद्धपछि संसारभरि हरित क्रान्तिका नाममा सुरु भएको रासायनिक मल, विषादी र बाह्य बीउको लहरले नेपाली कृषिको जग भत्काइदिएको छ । यसले हामीले हाम्रा पुर्खाले हजारौं वर्षदेखि अभ्यास गर्दै आएको रैथाने ज्ञानलाई पिछडिएको भन्दै आयातित ज्ञानलाई आधुनिक भन्ने मान्यता स्थापित गरेको छ । यसले गर्दा किसान खाद्य उत्पादन (सामाजिक सेवा) को हकदार हुनुको सट्टा बहुराष्ट्रिय कम्पनीका उत्पादन (मल र बीउ) को ग्राहक मात्रै बन्न पुगेका छन् ।
रासायनिक मल र विषादीको प्रयोगले जीवित माटोलाई मृत बनाइदिएको छ । तराई र पहाडका खेतहरू अब रासायनिक पदार्थबिना केही पनि फलाउन नसक्ने गरी अम्मली बनेका छन् । यसले हाम्रो हावा, पानी र समग्र प्रकृतिलाई नै विषाक्त बनाएको छ, जसको प्रत्यक्ष असर क्यान्सर र मिर्गौलाजस्ता जटिल रोगका रूपमा देखिएको छ । हाम्रो देशमा पनि सर्नेभन्दा नसर्ने रोगले मर्नेहरूको संख्या बढ्दो छ । यस्ता रोगको उपचारमा राज्य करोडौं खर्च गर्न बाध्य छ ।
माटो र सूक्ष्म जीवाणुको भूमिका
कृषि प्रणालीको आधार पृथ्वीको सतहमा रहेको जीवित माटो हो । माटो केवल बालुवा र ढुंगाको थुप्रो होइन, यो त अर्बौं सूक्ष्म जीवाणुको घर हो । यिनको बासस्थान नै भत्केपछि हाम्रो जीवन के होला ? एक चम्चा उर्वर माटोमा संसारको जनसंख्याभन्दा बढी सूक्ष्म जीवाणु हुन्छन् । यी जीवाणुले बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन र अन्य खनिज उपलब्ध गराउँछन् । तर, रासायनिक मल र विषादीले यी जीवाणुको जीवनलीला नै विनाश गरिरहेको छ ।
बिरुवाले सूर्यको प्रकाश र माटोमा रहेका यिनै सूक्ष्म जीवले तयार गर्ने जैविक तत्त्वबाट ऊर्जा बनाउँछ । जब हामीले बाहिरबाट रासायनिक पदार्थ थप्छौं, माटोको प्राकृतिक ऊर्जा चक्र भत्किन्छ । यसले गर्दा उत्पादित अन्नपातमा पोषक तत्त्वको कमी र विषादीको मात्रा बढी हुन्छ ।
प्रकृतिसम्मत कृषि एक मात्रै विकल्प
अबको बाटो अन्ध औद्योगिक कृषि वा बिग्रेको स्वास्थ्य उपचार होइन, प्रकृति मानव अन्तरसम्बन्धमा आधारित प्रकृतिसम्मत कृषि र जीवनशैली हुनुपर्छ । यो प्रकृतिको व्यवहार हो । प्रकृति हामीजस्तो उत्ताउलो छैन । यसले केही पनि खेर फाल्दैन । एउटा जीवको अवशेष अर्कोको आहार बन्छ । एउटाले एक थोक दिन्छ, अर्कोले अर्को थोक । यही लेनदेनको चक्रीय प्रणालीलाई खेतीपातीमा लागू गर्नुपर्छ । अर्को अर्थमा पशुपालन, वन र खेतीपातीलाई एकआपसमा जोड्ने एकीकृत कृषि प्रणाली नै हाम्रो दिगो भविष्य हो ।
खेतीका लागि चाहिने मल, बीउ र प्रविधि स्थानीयस्तरमै तयार हुनुपर्छ । बाह्य खनिज ऊर्जा (पेट्रोलियम) मा आधारित कृषिभन्दा सौर्य ऊर्जा र जैविक ऊर्जामा आधारित कृषि दीर्घकालमा बढी उत्पादनशील र दिगो हुन्छ । यसले बोटबिरुवाको मात्रै होइन, मानिसको पनि प्रतिरोधी क्षमता बढाउँछ ।
अर्को कुरा, कृषि केवल नाफा कमाउने माध्यम होइन, यो सबैका लागि स्वस्थ खाना सुनिश्चित गर्ने सामाजिक जिम्मेवारी हो । यस्तो खेती कर्म गर्ने साना किसान, भूमिहीन र महिला किसानको सम्मान र अधिकारलाई उनीहरूले दिएको मत जस्तै नीतिगत रूपमै सुरक्षित गरिनुपर्छ ।
माननीयज्यू,
नेपाली कृषिको रूपान्तरणका लागि अबका ५ वर्षमा निम्न मुख्य नीतिगत र व्यावहारिक परिवर्तनहरू आवश्यक छ :
वर्तमान कृषि शिक्षाले ‘कृषिकर्मी प्राविधिक’ होइन, केवल ‘कृषि (प्र) शासक’ मात्र जन्माइरहेको छ । प्राथमिक विद्यालयदेखि नै स्थानीय वातावरण, माटोको स्वास्थ्य र रैथाने बीउ, पोषण र प्रतिरोधात्मक क्षमतासम्बन्धी व्यावहारिक ज्ञान अनिवार्य गरिनुपर्छ । प्रयोगशालामा गरिने अनुसन्धानभन्दा किसानको खेतबारीमा गरिने परीक्षणलाई राज्यले लगानी गर्नुपर्छ । स्वस्थ जीवनका परम्परागत ज्ञानको खोज गरी यसको पुनर्जागरण गरिनुपर्छ । आधुनिक विज्ञानका खोज र आविष्कार रैथाने ज्ञानलाई उन्नत बनाउन सघाउने सोचसहित कृषि प्रसारलाई यसको पुल बनाउनुपर्छ ।
अहोरात्र कडा परिश्रम र व्यस्तताले अहिलेसम्म बोल्ने फुर्सद पनि नभएर समाजमा सधैं ठगिँदै आएका साना र श्रमिक किसान हुन् । किसान सहयोग प्रणालीमा आमूल परिवर्तन नगरे अब कोही किसान बन्न तयार छैन । अहिले राज्यले अर्बौं रुपैयाँ रासायनिक मलको आयात र व्यापारिक खेती गर्न अनुदान दिइरहेको छ । यो अनुदानले अन्ततः अरूलाई धनी बनाउने र हाम्रो माटो बिगार्ने काम गरिरहेको छ । यस्ता खालका सहायता तत्कालै बन्द गरी उत्पादक किसानलाई प्रत्यक्ष सहायता दिने, मूल्य र बजार नियमन गर्ने आँट गर्नुपर्छ । साथै, प्राकृतिक खेतीमा प्रोत्साहन गर्न रासायनिक मलमा दिइने अनुदानलाई क्रमशः घटाउँदै जैविक मल, गड्यौले मल र स्थानीय बीउ संरक्षणमा लगानी गर्ने किसानलाई प्रत्यक्ष अनुदान दिनुपर्छ । यो स्वास्थ्यमा गरिने बचत सम्झिनुपर्छ । खेती गर्ने वास्तविक किसानले सुविधा पाउने गरी स्थानीय सरकारको समन्वयमा पारदर्शी सहायता वितरण प्रणाली लागू गरिनुपर्छ । औद्योगिक र पारिवारिक कृषिमा फरक गरिनुपर्छ ।
सीमा नाकामा आयातित तरकारी र फलफूलको कडा विषादी परीक्षण गरिनुपर्छ । नेपाललाई विषादीमुक्त मुलुक बनाउने राष्ट्रिय संकल्प लिनुपर्छ । बजारको सुनिश्चितता गर्दै किसानले उत्पादन गरेका वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने र स्थानीय सरकारमार्फत खरिद गर्ने व्यवस्था मिलाउनुपर्छ । यसलाई पनि स्वास्थ्यमा लगानीका रूपमा लिइनुपर्छ ।
गाउँका खेतबारी बाँझो राखेर युवाहरू खाडीमा पसिना बगाउन जानु राष्ट्रिय लज्जाको विषय हो । कृषि पेसालाई सम्मानजनक र आकर्षक पेसाका रूपमा स्थापित गर्न युवा लक्षित कार्यक्रमहरू ल्याउनुपर्छ । बिनाधितो सहुलियतपूर्ण ऋण र प्रविधिमा सहयोग गरेर युवालाई माटो ब्युँताउने उद्यमी बनाउँदै कृषि कर्मसँग जोड्नुपर्छ । यी सबै कार्य गर्न प्राथमिकताका आधारमा रणनीतिक ढाँचा बनाउनुपर्छ ।
माननीयज्यू,
नेपाली कृषि यतिबेला मर्न लागेको बिरामीजस्तै छ, किसान बिरामी कुर्ने कुरुवाजस्तै छन् । यस्तो अवस्थामा बिरामीलाई सेतो चक्की र कुरुवालाई ढाडस मात्रै दिएर हुँदैन, स्वस्थ खाना र विश्वास दिलाएर समग्र उपचार आवश्यक छ । अहिलेको जनमतले खोजेको परिवर्तन हाम्रा गाउँहरू फेरि भरिभराउ हुन्, खेतबारीमा हरियाली फर्कियोस् र हाम्रा छोराछोरीले विषादीरहित स्वस्थ खाना खान पाऊन् भन्ने हो । यो परिवर्तन ल्याउने साहस र दृढता तपाईंको नेतृत्वमा सम्भव छ ।
हामीले अहिले नै आफ्नो माटो, पानी र रैथाने ज्ञान जोगाउन सकेनौं भने आगामी पुस्ताले हामीलाई माफ गर्ने छैन । प्रकृतिको नियम बुझेर, किसानको विवेकलाई सम्मान गर्दै स्वस्थ खानाको बन्दोबस्त र स्वास्थ्यको जगमा उन्नत नेपाली समाज निर्माण गर्ने यो महान् अभियानमा तपाईंको दृढ कदमको अपेक्षा गर्दछौं ।
