नयाँ नेपाली ‘पपुलिजम’ : एक सहानुभूति

‘पपुलिजम’ को मूलभूत चरित्र के हो भने यसले भन्छ– तपाईं मलाई पत्याउनुस्, बाँकी सब म ठीक गर्छु । ‘तपाईंले कसरी ठीक गर्नुहुन्छ त ?’ भनेर कसैले सोध्यो भने उसले भन्छ, ‘तपाईं पहिले मलाई विश्वास गरेर त हेर्नुस्, बाँकी म सब ठीक गरिहाल्छु ।’ ऊसँग धेरै ‘कन्टेन्ट’ हुँदैन । बौद्धिक रूपमा तर्क गर्न उसको क्षमता र रुचि दुवै हुँदैन ।

फाल्गुन १२, २०८२

विष्णु सापकोटा

New Nepali 'Populism': A Sympathy

What you should know

आधुनिक नेपालका सुरुवाती दशकहरू त्यस्ता थिए, जहाँ अब बीपी कोइरालाले राष्ट्र र प्रजातन्त्रलाई कसरी परिभाषित गर्छन् भनेर देशले प्रतीक्षा गरेको हुन्थ्यो । उनका मन्तव्यले समाजका बौद्धिकहरूलाई तरंगित पार्थ्यो, कहिलेकाहीँ त राजनीतिको दिशा नै मोड्थ्यो ।

यसरी सुरु भएको आठ दशकको नेपाली लोकतान्त्रिक यात्रा अहिले बालेन शाहले डेढ वर्षमा बाटो कसरी बनाउँछु भनेर तीन मिनेटमा पेस गर्ने भविष्यको ‘भिजन’ सुनेर तरंगित हुने ठाउँमा आइपुगेको छ । नेपालीहरू अहिले गगन थापाका भिडियो सन्देश सुन्ने कि रवि लामिछाने र बालेन शाह आज कहाँ पुगेर के गर्छन् भनेर पछ्याउने भन्नेमा अलमलिएका छन् ।

यस्तोमा, समाजमा आफूलाई प्रायः गम्भीर व्यक्ति ठान्ने र अरूका अगाडि गम्भीर नै देखिने प्रयत्न गर्ने, बोलीचालीको भाषामा बौद्धिक वृत्तका भन्न मिल्ने धेरै नागरिकहरू देशलाई ‘पपुलिजम’ वा लोकप्रियतावादले निल्ने हो कि भनेर पहिलेभन्दा पनि गम्भीर देखिने गरेको दृश्य धेरैले अवलोकन गरेको हुनुपर्छ । 

त्यति ठूला लोकतन्त्रका आन्दोलन मात्रै नभएर जनआन्दोलन नै गरेर आएको समाज, ‘इतिहासको आवश्यकता’ ले गरिएका त्यति धेरै साम्यवादी सपनाका क्रान्ति र उपक्रान्तिहरू र मधेशदेखि जनजातिका विद्रोहमा सहभागी भएर आएकाहरूको ठूलो समुदाय आसन्न निर्वाचनको अघिल्तिरको माहोल देखेर अहिले ‘यो देश के भएको होला ?’ भनेर सोधिरहेका होलान् ।

यति ठूलो विषयमा सबै जवाफ त सम्भव नहोला तर यस स्तम्भले यिनै प्रश्नको एउटा राजनीतिक नभएर बौद्धिक उत्तर खोज्नेछ । हुन सक्छ, यस स्तम्भमा प्रस्तावित व्याख्याले केही पाठकको सोचाइको ‘कम्फोर्ट जोन’ लाई केही असहज बनाउनेछ । त्यो सम्भावित असहजतापछि, लेखको पछिल्लो भागमा नेपालको नयाँ ‘पपुलिजम’ लाई किन सहानुभूतिपूर्वक हेर्ने होला भनेर केही बुँदाहरू राख्नेछु । 

लेखको जुन दृष्टिकोण छ, त्यसको पृष्ठभूमिलाई छोटकरीमा छोएर अगाडि बढौं । पछिल्ला महिनाहरूमा ‘विकसित’ संसारको बौद्धिक बहस केमा भइरहेको छ भने हुँदै जाँदा, हेर्दाहेर्दै निकट भविष्यको कुनै विन्दुमा पुग्दा ‘आर्टिफिसियल इन्टेलिजेन्स–एआई’ को आफ्नै ‘कन्सस्नेस’ (चेतना) हुने त होइन ? हामी मानिसले आफ्नो चेतना वा आत्मा जे–जे भन्छौं नि, यदि एआई सञ्चालित रोबट र ‘च्याटबट’ मा पनि आफ्नै भावना र चेतना हुने भयो भने त्यसपछि मानिसको सभ्यताले कुन बाटो लिने होला ?

कतिपयले युरोपको तत्कालीन औद्योगिक क्रान्तिभन्दा पनि ठूलो भनेर अर्थ्याएको अहिलेको एआई क्रान्तिले हाम्रो सभ्यतालाई अहिले नै केही हदसम्म त बदलिसकेको पनि छ । मानवीय सम्बन्धका प्रकार यसले फेर्दै छ, हामी एकअर्कासँग कसरी बोल्छौं र अरूलाई कसरी बुझ्छौं भन्ने यसले बदल्दै छ । एआईको पनि मानिसको जस्तै आफ्नै ‘कन्सस्नेस’ त बन्ला/नबन्ला, यसले अहिले नै हामीले जसलाई आफ्नो निजी चेतना भन्छौं, त्योभित्र घुसेर त्यसलाई नै केही हदसम्म ‘ह्याक’ गर्न सिकिसकेको छ ।

चेतना र आत्माजस्ता अवधारणा संसारभरका ज्ञानका परम्पराहरूमा हजारौं वर्षदेखि वर्णित छन् । तर पछिल्ला दशकहरूमा ‘न्युरोसाइन्स’ मा भएको प्रगतिले मस्तिष्कलाई पहिले गरिएभन्दा धेरै गहिरोसँग अध्ययन गरेको छ । त्यसले चेतना के होला वा यो कसरी बन्ने होला भन्नेमा दर्शनशास्त्रमा नयाँ अवधारणा दिएको छ । दुई वर्षअघि दिवंगत प्रसिद्ध अमेरिकी दार्शनिक ड्यानिएल डेनेट दर्शनशास्त्रमा ‘कन्सस्नेस’ अर्थ्याउने पछिल्ला त्यस्ता हस्ती हुन्, जसले परम्परागत रूपमा मानिएका चेतनाका व्याख्यालाई अस्वीकार गरेका छन् । र, उनले बुझाएका छन् कि हाम्रो मस्तिष्कले एकै पटक कसरी विभिन्न दृश्य, स्मृति, भावना र भाषाका ‘इनपुट’ हरू लिन्छ र त्यसले एउटा ‘म’ भन्ने व्यक्तिको निर्माण गर्छ, जसलाई परम्परागत रूपमा धेरैले एउटा ‘अलौकिक’ वा रहस्यमय ‘कन्सस्नेस’ का रूपमा बुझ्ने गरेका छन् ।

आजको विषय नेपाली नयाँ ‘पपुलिजम’ भएकाले हामी चेतना कसरी बन्छ भन्नेमा धेरै ठाउँ ओगट्न त सक्दैनौं । तर मूल विषयमा पुग्नका लागि आवश्यक सारांश के छ भने– जीवका रूपमा मानिसको विकासक्रममा कुनै समयमा अहिले जेलाई हामी चेतना भन्छौं, त्यो नै थिएन । ‘इभोलुसन’ का क्रममा चेतना एक बायोलोजीको प्रक्रियामार्फत बनेको हो । समयक्रममा जब मान्छे भाषा बोल्न थाल्यो, त्यसपछि हामीले चेतनाबारे अवधारणा बनाउन थाल्यौं । यो कतै पूरै 

ब्रह्माण्डसँग जोडिएको, हामीबीच रहस्यमय तरिकाले टुपुल्किन आइपुग्ने तत्त्व नभईकन यो बिस्तारै हाम्रो स्नायु प्रणालीले उत्पन्न गर्ने एउटा प्रक्रिया हो, जसलाई वरिपरिको संस्कृतिले केही प्रभाव पारेको हुन्छ । यदि चेतना भनेको नै यसरी उत्पन्न हुने प्रक्रिया हो भने के अब एआई रोबटले त्यस्तै प्रक्रिया पछ्याएर आफ्नै चेतना विकास गर्ने दिन टाढा नभएको त होइन ? अनि अल्गोरिदमको प्रभावले कुनै दिन मानिसको चेतनाभन्दा एआईको चेतना ‘सुपरिएर’ र सर्वव्यापी बनाइदिने त होइन ?

माथिको पृष्ठभूमिमा टेकेर अब नेपालको लोकप्रियतावादतर्फ प्रस्थान गर्न सजिलो हुन्छ । किनकि ‘पपुलिजम’ ले कसरी काम गर्छ भन्ने बुझ्नलाई राजनीतिशास्त्र बुझेर पुग्दैन । राजनीतिशास्त्रले विभिन्न कोणबाट अर्थ्याउने भए पनि ‘पपुलिजम’ को मूलभूत चरित्र के हो भने यसले भन्छ– तपाईं मलाई पत्याउनुस्, बाँकी सब म ठीक गर्छु । ‘तपाईंले कसरी ठीक गर्नुहुन्छ त ?’ भनेर कसैले सोध्यो भने उसले भन्छ, ‘तपाईं पहिले मलाई विश्वास गरेर त हेर्नुस्, बाँकी म सब ठीक गरिहाल्छु ।’ ऊसँग धेरै ‘कन्टेन्ट’ हुँदैन ।

बौद्धिक रूपमा तर्क गर्न उसको क्षमता र रुचि दुवै हुँदैन । तर उसले अब म सब ठीक पार्छु भन्नेजस्ता वाक्य यसरी नलजाईकन दोहोर्‍याइरहन सक्छ कि मानौं उसलाई ती वाक्यमा विश्वास छ । समाजमा समस्या हुन्छन्, व्यक्तिगत रूपमा पनि मानिसहरूमा नैराश्य छाएको हुन सक्छ । त्यो सबैको उत्तर के हो त भन्नेमा ‘पपुलिजम’ ले धेरै सोच्दैन । उसले केवल सबैले सुन्ने गरी भन्न सक्छ, ‘त्यो सबैको उत्तर म हुँ ।’ ‘कसरी तिमी उत्तर हौ ?’ भनेर कसैले सोध्यो भने उसले फेरि भन्छ, ‘पहिले मलाई आउन देऊ ।’ अर्थात् समाजमा व्याप्त निराशाबीच केही सरलीकृत नारा बुन्दै उसले आएर भन्छ– ‘तिमीले मलाई पत्याऊ, तिम्रा सबै दुःखबाट मैले तिमीलाई पार लगाउँछु ।’ र, धेरैजसो मानिसहरू त्यसप्रति लट्ठ हुँदै, ‘हो त मैले खोजेको सबै कुरा त यहाँ रहेछ नि’ भनेर त्यसकै पछि लाग्न सक्छन् । 

राजनीतिको ‘पपुलिजम’ लाई बुझ्नुअघि के बुझ्नु जरुरी हुन्छ भने अन्य धेरैतिर जस्तो हाम्रो समाजमा गैरराजनीतिक ‘पपुलिजम’ पहिल्यैदेखि सर्वव्यापी छ । आमरूपमा मान्छे देखेको भन्दा नदेखेको र भएको भन्दा नभएको पत्याउने जीव हो । जस्तो, तपाईं एकातिर ‘जे भए पनि आत्मा त मर्दैन’ भनेर पत्याउनुहुन्छ अनि अर्कातिर 

आफ्नो वरिपरिकाहरू किन यी ‘पपुलिस्ट’ का पछि लागेका होलान् भन्नुहुन्छ, अनि कसरी मिल्यो त ? यदि ‘पपुलिजम’ ले मान्छेलाई किन सोच्दै नसोची एउटा कसैको पछि लाग्ने गराउँछ भन्ने तपाईं प्रश्न गर्नुहुन्छ भने सबैभन्दा पहिले तपाईंले आाफैंलाई सोध्नुपर्‍यो– म आाफैं यिनै २–४ हजार वर्षअघि सबै प्रश्न र निराशाका उत्तर दिन भनेर बुनिएका भगवान्का कथा, स्वर्ग र नर्क अनि मरेपछि हुने भनिएको अर्को जीवनका कथा पत्याउँछु कि पत्याउँदिनँ ? तपाईं यिनै चल्तीका कुनै सद्गुरु वा रविशंकर वा ओशोजस्ता कुनै ‘कल्ट’ मा विश्वास गरेर जीवनका सबै प्रश्नका उत्तर त्यतै छन् भनेर लाग्नुभएको छ भने त्योभन्दा ठूलो ‘पपुलिजम’ को पछाडि लाग्ने अरू को भयो त ?

एकैछिन अब नेपालकै पुरानो राजनीतिक ‘पपुलिजम’ लाई हेरौं । देशमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ, त्यसपछि देश स्वतः एकताबद्ध भएर स्वचालित रूपमा समृद्धिको पथमा अगाडि बढ्छ भनेर पत्याउने मानिसभन्दा राजनीतिक रूपमा ‘पपुलिस्ट’ अरू को भयो ? राजसंस्था हुँदा देशले कति प्रगति गर्‍यो, त्यसको प्रतिरक्षा गर्ने गतिलो एक वाक्य छैन । त्यसमाथि तिनै राजाहरूमध्ये पनि ज्ञानेन्द्र कति योग्य र निष्कलंक थिए, पछिल्लो पुस्ताले समेत प्रत्यक्ष देखेको थियो । अब तिनै वा त्यस्तै कोही आए भने कसरी एउटा केही गतिलो हुन्छ, त्यसमा एक मिनेट बोल्ने केही छैन । फलानो संस्था आयो भने कसरी, कहाँ, के राम्रो हुन्छ भनेर सार्वजनिक रूपमा बोल्ने ‘कन्टेन्ट’ केही नै छैन, तर ‘त्यसो भयो भने सबै राम्रो हुन्छ’ भन्ने सोच भएका जति बौद्धिक दरिद्र अरू कुन राजनीतिक वर्ग होलान् ? तैपनि नेपालको यथार्थ के हो भने त्यस्तो केही हुन्छ भनेर नथाकीकन दोहोर्‍याउने ‘पपुलिस्ट’ को समूहलाई पत्याउनेको संख्या ठूलो नभए पनि फाट्टफुट्ट अझै छ । 

राजसंस्था आयो भने राम्रो हुन्थ्यो भन्नेभन्दा ठूलो संख्याको ‘पपुलिजम’ नेपालको दशकौंदेखिको वामपन्थमा छ । मेरो मूल्यांकनमा संसारभरको इतिहासमै साम्यवादी सपनामा रमाउनेहरू जान–अन्जानमा सबै एक हिसाबमा ‘पपुलिजम’ पछ्याउनेहरू नै हुन् । नेपालकै वामपन्थीलाई हेरौं । विश्व पुँजीवाद उनीहरूका लागि दुश्मन हो, मानौं नेपालमा उनीहरूले छुट्टै पुँजीवादको सिर्जना गर्नेवाला छन् । अनि उनीहरूले धेरै दशकसम्म जनतालाई भने– ‘साम्राज्यवादलाई हराउने नै हो ।’ कहाँको साम्राज्यवादलाई कसरी हराउने हो, त्यसो गरेपछि नेपाली जनताको जीवनस्तर कसरी उकासिने हो उनीहरूले केही भनेनन् । धेरैमा उनीहरूले भने होलान्, राष्ट्रिय पुँजीपतिहरूको संवर्द्धन गर्ने हो । कस्ता पुँजीपति राष्ट्रिय हुन् र कस्ता अराष्ट्रिय, न त उनीहरू आफैंले बुझे, न अरूलाई बुझाउन सके । तैपनि, नेपाली समाजको ठूलो हिस्साले उनीहरूका कथा लामो समयसम्म पत्याइरह्यो । 

गरिब र उत्पीडितका मुद्दा उठाउनु त ठीकै थियो तर उनीहरूका वैचारिक नेता रुस र चीनले समेत साम्यवादी ‘पपुलिजम’ को बाटो दशकौं अघि छाडिसक्दा पनि नेपालको वामपन्थले शीतयुद्धकालीन शब्दभण्डारबाट आफ्नो चेतनालाई परिस्कृत गर्न अहिलेसम्म सकेको छैन । तैपनि तिनका नारा पत्याउने जनता अहिले पनि छन् । त्यसमाथि, महेन्द्रवादीले उचाल्दा मात्र होइन, वामपन्थले उकेरा लगाउँदा पनि नेपाली जनताको ठूलो हिस्साले राष्ट्रवादका ‘पपुलिस्ट’ नारा पत्याएकै हो ।

दिग्भ्रमित कांग्रेसको एउटा पंक्ति केही अगाडिसम्म पनि केपी ओलीको राष्ट्रवादको नशामा लट्ठिएकै हो । त्यसै पनि बहुसंख्यामा भएका हिन्दुले राष्ट्रको परिचय नै हिन्दुवादी हुनुपर्छ भनेर धार्मिक अल्पसंख्यकलाई हेप्न खोज्ने लोकप्रियतावादी कित्ता बदलिएको भनिएको कांग्रेसमा समेत अझै नबदलिएको हुन सक्छ । त्यसैले, राजनीतिक फाइदाका लागि मात्र होइन, नेपाली सामाजिक संरचनामै र पढेलेखेका भनिने ठूलो समूहमा मैले त एक वा अर्को प्रकारको ‘पपुलिजम’ यत्रतत्र र इतिहासदेखि वर्तमानसम्म सधैं देखेको छु । संघीयता आयो भने देश टुक्रिन्छ भन्ने हुन् कि एमसीसी आयो भने देशको सार्वभौमिकता बर्बाद हुन्छ भन्नेहरू, ‘पपुलिजम’ का परिचालकहरू प्रायः एकोहोरा हुन्छन्, अरूका दृष्टिकोणप्रति स्वतन्त्र मन राखेर ‘इन्गेज’ हुँदा उनीहरूलाई फाइदा हुँदैन भन्ने उनीहरूले बुझेका हुन्छन् तैपनि तिनीहरूलाई पत्याउनेको समूह समाजमा जहिले पनि तयार नै हुन्छ ।

यो सबैका आधारमा हेर्दा र मानिसको चेतना नै वरिपरिको संस्कृतिसँगको अन्तरक्रियाबाट बन्ने एक जैविक प्रक्रिया भएको यथार्थबीच संसारले जे–जे कुरामा जति प्रगति गरेको छ भने पनि मान्छेको आधारभूत स्वभाव अर्थात् उसको ‘कन्सस्नेस’ वा ‘म’ बन्ने प्रक्रिया हजारौं वर्ष पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ । उसले अझै पनि काल्पनिक कथ्यलाई सत्य भनेर पत्याउँछ । थाहा भएको यत्ति हो कि यो जीवनको अन्त्य छ ।

तर आमरूपमा मानिसले त्यसलाई स्विकार्ने बौद्धिक साहस नराखेर यस जीवनपछि आत्मा वा केही न केही त हुन्छ होला भन्ने पत्याउन चाहन्छ, जसका बारे उसलाई प्रत्यक्ष कतै कुनै ‘क्लु’ नै छैन । त्यस्तो मान्छेले कसैले प्रभावकारी रूपमा प्रस्तुत गरेका नारा सजिलै पत्याउनु कुनै आश्चर्य नै होइन । त्यसमाथि, त्यस्ता सजिलै ‘म्यानिपुलेट’ हुने चेतना बोकेका मानिसको मस्तिष्कलाई एआईको ‘अल्गोरिदम’ ले सामाजिक सञ्जालमार्फत उसले थाहै नपाउने गरी दिनदिनै ‘ह्याक’ गरिरेहको हुन सक्छ । 

जे जसो भए पनि, २१ फागुनको चुनावी परिणाम केही अर्थमा सुखद नै हुने प्रस्ट देखिन थालेको छ । अहिलेसम्म देखिएको धारअनुसार यो चुनावले राजनीतिक नेतृत्वको धेरै हदसम्म पुस्तान्तरण गरिसकेको छ । प्रधानमन्त्रीका प्रतिस्पर्धीमा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालबाट सारेर त्यो अहिले गगन थापा र बालेन शाहबीच आइपुगेको छ । नेपाली कांग्रेस ठूलो पार्टी भएर र आफूले संसदीय निर्वाचन जितेर गगन प्रधानमन्त्री भएछन् भने उनले विगत तीन वर्षदेखि गरेको तयारी र हालै सार्वजनिक गर्दै गरेको ‘प्रोजेक्ट गभर्नमेन्ट’ को भिजनले लागू हुने ठाउँ पाउला, जुन यसअघिका सरकारका तुलनामा सानोतिनो छलाङ नै सिद्ध हुन सक्छ । नेपाली नागरिक 

आफ्नो सामूहिक भविष्यप्रति देशभित्रै आशावादी हुन सक्ने नयाँ राजमार्गको त्यो नयाँ र स्थिर यात्राको प्रारम्भ हुन सक्छ । यदि रास्वपा ठूलो दल भएर, झापामा ओलीलाई हराएर बालेन प्रधानमन्त्री भएछन् भने नेपालको राजनीतिको पुस्तान्तरणका लागि त्यो पनि ठूलो सन्देश हुनेछ । बालेनभित्र खासै कुनै ‘कन्टेन्ट’ नहोला, बौद्धिक क्षमतामा गगनसँग त के तुलना गर्नु, उनी औसतभन्दा पनि तलका होलान् । तर यसको चासो त तुलनात्मक रूपमा बौद्धिक समुदाय र तिनीहरूलाई त्यही कसीमा मूल्यांकन गर्नेहरूका लागि न थाहा हुने हो ।

उनको रहस्यमयी तर दबंग छविका कारण धेरै ‘मास’ नेपालीले दुई दशकदेखिको पुराना पात्रसँगको आक्रोश उनीमार्फत अभिव्यक्त गर्न खोजेका छन्, जुन समाजको यथार्थ हो । समाजमा जम्मा भएको आक्रोश लोकतान्त्रिक प्रक्रियाभित्र कतै गएर पोखिनु लोकतन्त्रकै लागि नराम्रो होइन । उनले एउटा ‘फ्रेस स्टार्ट’ गर्न सकेर भविष्यका लागि आशा जगाउने सुरुवात गरेछन् भने राम्रै भयो । उनको लोकतान्त्रिक चरित्रमा नयाँ प्रश्न देखिए र उनले त्यसमा दायाँ–बायाँ गर्न खोजेछन् भनेर नेपाली समाज फेरि जुरुक्क भइहाल्नेछ । बालेन आएर पनि केही गतिलो भएन भने, ठीकै छ त, समाजले एक पटक उनीमार्फत आक्रोश पनि पोखिसकेको हुनेछ र उनीभन्दा गतिलो र दीर्घकालीन विकल्प पनि अहिले नेपालसामु उपस्थित भइसकेको छ ।

विष्णु सापकोटा

Link copied successfully