भावनात्मक रूपमा उत्तेजित समाज

सामूहिक कल्पना, राजनीतिक दृष्टि र सामाजिक रुपान्तरणको मेरुदण्ड जस्तै रहेको विचार-निर्माणको असली प्रक्रिया आज अस्थिर, टुक्रिएको र सतही बन्दै छ, नेपाल भावनात्मक रुपमा उत्तेजित र बौद्धिक रुपमा खाली समाज बनेको छ।

पुस २, २०८२

सीपी अर्याल

Emotionally aroused society

What you should know

कुनै बेला थियो– नेपालको कम्युनिस्ट पार्टीको सदस्यले ‘घरमा गोदरेज दराज भित्र्यायो’, ‘कोकाकोला खायो’, ‘कोट लगाएर बुर्जुवाझैं ठाँट्टिएर हिँड्यो’ भन्ने कुरा गाइँगुइँ–गाइँगुइँ हुँदै त्यसो गर्ने व्यक्तिलाई कारबाही गरिएको ।

कम्युनिस्ट पार्टीको कार्यकर्ताले ‘बुर्जुवा’ जीवन बाँच्नु हुँदैन भन्ने आधारभूत विचार त्यसबेला थियो । तर, आज एउटा राजनीतिक दलको विचार के हो र त्यसलाई कसरी पछ्याउने भन्ने आधारभूत नामनिसानै छैन । जसको विचारै छैन, उसैले गाइँगुइँ गर्छ, ‘नयाँ आएको फलना पार्टीको विचारै छैन ।’ 

नेपाली राजनीति र समाजमा योभन्दा फन्टुस कुरा के होला ? खासमा, विचार कसले बनाउँछ ? समाज र राजनीतिलाई विचारले कसरी निर्देशित गर्छ वा गर्दैन ? र, अहिले छ्यालब्याल डिजिटल संसारमा विचारको महत्त्व कहाँनिर छ ? यिनै मूलभूत विषयमा केन्द्रित रही यस लेखमा घोत्लिने प्रयास गरिनेछ ।

सस्तो विचारको अतिवृद्धि

करिब तीन दशकदेखि नेपाल आफ्नो रूपान्तरणको सतत् प्रयासमा छ– राजनीतिक उथलपुथल, प्रलयकारी माओवादी द्वन्द्व, नयाँ राजनीतिक व्यवस्थाअनुसार नयाँ संविधान, संघीय पुनःसंरचना, विदेशतर्फको ठूलो पलायन र डिजिटल संसारको विस्फोट ।

यद्यपि, सबै ठूला परिवर्तनबीच कतै न कतै एउटा खतरनाक र अदृश्य परिवर्तनले पनि सँगैसँगै पाइला बढाउँदै छ– बिस्तारै–बिस्तारै हामीबाट आफ्नो विचार र गहिरो सोच्ने क्षमता क्षीण हुँदै गएको छ । अब विचारहरू सोच्ने र मनन गर्ने अभ्यास वा सामाजिक–राजनीतिक संघर्षको गर्भबाट जन्मिँदैनन् । विचार एल्गोरिदमले थमाइदिने ट्रेन्डबाट छिटो–छिटो पैदा हुने र हराउने हुन थालेको छ ।

विचार भन्नु समाज र व्यक्तिको स्थायी उन्नयनको बलियो पाटो नभई अमेरिकी प्रख्यात विचारक चोम्स्कीले भनेझैं पुँजीवाद वा अभिजात वर्गले चाहेकै आकारमा डिजिटल कोलाहलका छायाबाट फटाफट पैदा मात्रै हुने चीजबिज बन्न थालेका छन् ।

कुनै समय थियो– हाम्रो सामूहिक कल्पना, राजनीतिक दृष्टि र सामाजिक रूपान्तरणको मेरुदण्ड जस्तै रहेको विचार–निर्माणको असली प्रक्रिया आज अस्थिर, टुक्रिएको र सतही बन्दै गएको छ । मानौं हामी आफैं सोचेर–बुझेर वा विचारशील भएर होइन, कसैको बलले नै हाम्रो समाजलाई चलाइरहेको छ र देश उसैउसै हिँडिरहेको छ ।

विद्वत् वर्गले बोकेको दार्शनिकताबाट विचार जन्मिनुपर्ने, पार्टी स्कुलहरूमा विचार–विमर्श हुनुपर्ने, विश्वविद्यालयका कक्षामा शिक्षकहरूले केवल करिअरको बाटो होइन ः मस्तिष्क मन्थनमा पनि जोडबल गर्नुपर्ने, साहित्यिक मञ्चहरूले असहमति र विरोधका रूपक दिनुपर्ने हो । इतिहासमा कुनै बेला यीमध्ये धेरै अभ्यास वाञ्छनीय थिए । त्यसबेला राजनीतिक नेता, लेखक, प्राध्यापक–शिक्षकहरू विचारको ओजले थिचिएका हुन्थे, केवल सामग्रीका सिर्जनाकर्ता थिएनन् ।

तर, आज लगभग यी सबै विचारकले आफ्ना मञ्चका शक्ति गुमाएका छन्, सोच पैदा गर्ने संरचनाहरू कमजोर भएका छन् । किनभने यिनीहरू अप्रासंगिक भएका छन् । बनाइएका हुन् भन्न पनि सकिन्छ । विचारको गहिरो स्पेसमा अहिले भावनात्मक, आधारहीन र अस्थिरता जस्तो केही चीज शक्तिशाली भएर प्रवेश गरेको छ । यसलाई हालको अवस्थामा सस्तो विचारको अतिवृद्धि पनि भन्न सकिन्छ ।

विद्वान् हाना अरेन्ट चेतावनी दिन्छिन्– जब कुनै समाजमा सोच्ने शक्ति कमजोर हुन्छ, मानिसले सत्य बुझ्ने क्षमता गुमाउँछ । अरेन्टका अनुसार, यस्तो समाजमा व्यक्ति सजिलै चलाखीको सिकार हुन्छ, प्रश्न सोध्दैन, प्रतिक्रिया मात्रै दिन्छ, विवेकले सोच्दैन, भावनाअनुसार चल्छ । नेपाल आज त्यही प्रकारको समाज बनेको छ– भावनात्मक रूपमा उत्तेजित, बौद्धिक रूपमा खाली ।

सतही सत्य र प्रोपोगान्डा राज

आजको नेपालमा हाम्रो सोच र विचार निर्माण प्रक्रियालाई केही तीव्र र अदृश्य चीजहरूले चलाइरहेका छन्– सामाजिक सञ्जाल, आम आक्रोश, एल्गोरिदमले धक्कामुक्का लगाउँदै हामीमाझ छानेर पठाएका चीजबिज, सडकका राजनीतिक प्रदर्शन, विभिन्न (दातृ) निकायका शब्दहरूको चमकधमक ! अहिले आएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का शक्तिहरूले गहिराइ खोज्दैनन्, उनीहरूलाई केवल देखिनु छ र फैलिनु छ । ती त्यही गर्छन् ।

यसैले आज विचारको अर्थ पनि फेरिएको छ, विचार अब प्रमाणले होइन, पहुँचले मापन हुने भएको छ । के सत्य हो भनेर कसी लगाइँदैन, कति फैलियो भन्नेले उसको विश्वसनीयता बताइदिन्छ । नेताहरू धारणा वा सिद्धान्तका कारण होइनन्, यसरी नै निर्मित आत्मविश्वासको जगमा उभिन्छन् । यस प्रकार सार्वजनिक बहसका विषय खुबै महत्त्वपूर्ण भएर होइनन्, ‘ट्रेन्डिङमा परेकाले’ महत्त्वपूर्ण जस्तो देखिन्छन् ।

चोम्स्की र हर्मनको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’ आधुनिक सञ्चार प्रणालीले जनमतलाई सूक्ष्म तर शक्तिशाली रूपमा नियन्त्रण गर्छ भन्ने विषयमा केन्द्रित प्रभावशाली कृति हो । किताबको मूल तर्कअनुसार, ठूला मिडिया र केही संस्थाहरू स्वतन्त्र र तटस्थजस्ता देखिए पनि वास्तविकता भने शक्तिशाली राज्य–व्यावसायिक स्वार्थले निर्देशित ‘प्रोपोगान्डा मोडल’ अन्तर्गत सञ्चालन हुन्छन् ।

लेखकहरूले पाँच वटा प्रमुख फिल्टर– मिडियाको स्वामित्व, विज्ञापनमा निर्भरता, समाचारका आधिकारिक स्रोतप्रतिको निर्भरता, आलोचना तथा दबाब सिर्जना गर्ने संयन्त्र र प्रमुख वैचारिक फ्रेम (जस्तै कम्युनिज्म वा आतंकवाद) मार्फत समाचार कसरी छनोट हुन्छ र व्याख्या गरिन्छ भन्ने देखाएका छन् ।

यी ‘फिल्टर’ ले वैकल्पिक विचारलाई कमजोर पार्छन्, असहज प्रश्नलाई किनारा लगाउँछन् र शक्तिशाली समूहको एजेन्टलाई स्वाभाविक तथा तर्कसंगत जस्तो गरी प्रस्तुत गर्छन् । यसरी मिडियाले जनतालाई प्रत्यक्ष दमन गरेर होइन, उनीहरूको सोचाइलाई ढुक्कै प्रभावित पारेर सहमति (कन्सेन्सस) निर्माण गर्छन्, जसले लोकतान्त्रिक बहसलाई सीमित र व्यवस्थापनयोग्य दायरामा राख्छ । चोम्स्की र हर्मनको तर्कले मिडिया केवल सूचना प्रवाहको माध्यम नभई, शक्तिको संरचना कायम राख्ने एक राजनीतिक साधन बन्न सक्ने विषयलाई तीक्ष्ण रूपमा उजागर गर्छ ।

नेपालमा आमबौद्धिक ठानिएका व्यक्तित्वहरू चोम्स्कीको प्रोपोगान्डा मोडलमा मज्जाले पसिसकेकाले अब उनीहरूबाट आउने विचार प्रोपोगान्डिस्टहरूलाई चाहिएअनुसारको सहमति (कन्सेन्सस) बनाउन ध्यानमग्न छन् । छिटो–छिटो दगुर्न खोजेको यो आमबौद्धिक वृत्तले अब ज्ञान र विचार निर्माणमा होइन, मनोवैज्ञानिक हलचल मच्चाउन, सतही सत्य र सनसनी संवादमा जतिसक्दो बल गरिरहेको छ ।

यस्तो खेदाइले हामी आमजनता सूचित हुँदै जाँदैनौं, भावनाले मात्रै भरिँदै जान्छौं । टिकटकको एउटा भाइरल भिडियोले संसदीय बहसभन्दा छिटो जनमत बदलिदिन्छ । फेसबुक लाइभमा चर्को स्वरमा गरिएको भाषणले पार्टी घोषणापत्रभन्दा ठूलो प्रभाव पार्छ । एल्गोरिदमको स्वभाव नै त्यही हो– राग बढाउने, बुझाइ होइन । यसरी त उज्यालो होइन, केवल ताप बढ्छ ।

यही कारण हामी पढेर बुझ्ने पद्धतिबाट स्क्रोल गरेर प्रतिक्रिया दिने स्पेसमा पुगेका छौं । बहस र छलफलको ठाउँलाई अब निन्दा र आरोपले ओगटेका छन् । प्रश्न सोधेर सत्य खोज्ने अभ्यास हराउँदै गएको छ, तुरुन्तै निर्णय सुनाउने बानी बढ्दै गएको छ । आजको ‘विचार’ रंगको (प्रोपोगान्डा) लेप र आवेगको आकार दिइएको ‘धारणा’ बन्न पुगेको छ ।

‘फास्टफुड’ विचार, ‘फासफुस’ विचार

हाना अरेन्ड्टका अनुसार, सोच्नु वा विचार उत्पन्न गर्नु भनेको बिस्तारै, एकान्तमा, समय लिएर गरिने चिन्तन हो– आत्ममन्थन र आत्मसंघर्षको बीचमा जन्मिने एउटा प्रक्रिया । यही बिस्तारै सोच्ने र काबिल विचार प्रकट गर्ने क्षमताबाट नेपाल विच्छिन्न हुँदै गएको छ ।

परिणामस्वरूप हामी यस्तो समाज बनाउँदै छौं, जहाँ विचारको आयु धेरै हुँदैन । आयु नभएको विचारले समाज निर्माणमा कुनै भरथेग गर्दैन । नयाँ–नयाँ राजनीतिक विवाद जन्मिइरहन्छ, नयाँ काण्डले ध्यान तान्छ । ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भनेजस्तै । आफ्नो यात्राको जरो नै थाहा नपाउने पनि के यात्रा ! हामी आज यस्तो मन्थनमा छौं, जहाँ विचारहरू झिलिक्क आउँछन्, निभिहाल्छन् ।

यही कारण राजनीतिक दलहरूको भाषणमा शब्द त छन् तर अर्थ छैन । समाजवाद भन्नेहरूलाई मार्क्सको अध्ययन छैन, लोकतन्त्र भन्नेहरूलाई टकभिलको दृष्टिकोण थाहा छैन, विकासको रटान गर्नेहरूलाई ‘विकासले आर्थिक वृद्धि मात्रै गर्दैन, समाजका संरचना, शक्ति सम्बन्ध, सांस्कृतिक मूल्य र संस्थागत व्यवस्थाले मानिसहरूको अवसरलाई कसरी निर्धारण गर्छ भन्ने कुरा बुझ्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ’ भन्ने थाहा छैन ।

विकासको अर्थपूर्ण बहसमा कसले फाइदा पायो, कसलाई बाहिर राखियो र परिवर्तन किन असमान भयो भन्ने कुरा विचार निर्माण प्रक्रियाको अति महत्त्वपूर्ण पाटो हो । ‘राष्ट्र’ बारेका विचार निर्माण गर्न वा योबारे बुझ्न इतिहासको गहिरो समीक्षाको विकल्पै हुँदैन । तर, अहिले मानिसहरू यसबारे गम्भीर छैनन् । उनीहरूको भाषा खोक्रो हुन्छ । ती विचारशील हुनुको भद्दा अभिनय गर्छन् तर असली अभ्यास गर्दैनन् ।

यी सबै परिस्थितिबीच देशका विश्वविद्यालय, जो कुनै समय बौद्धिक जीवनका बलिया आधार थिए, तिनीहरू झन् कमजोर भइरहेका छन् । स्रोत–साधन अनि स्वायत्ततामा ह्रास, गम्भीर शैक्षिक संस्कृतिको ठाउँमा हल्कापन र राजनीति हाबी हुँदै गएपछि ज्ञानको जमिन नै ‘बाँझो’ भएको छ ।

विद्यार्थीहरू शक्तिको स्वरूप, असमानताका जरा, इतिहास र संस्कृतिको अर्थ वा राज्यको चरित्र बुझ्न सघाउने मूल विचारकहरूलाई राम्ररी नपर्गेलीकन दीक्षित भइरहेका छन् । विश्वविद्यालय डिग्री बाँड्ने ठाउँ मात्रै बन्दा देशको बौद्धिक शक्ति कसरी बलियो हुन सक्छ ? ‘फास्टफुड’ विचार ‘फासफुस’ विचार हो ।

अर्जुन अप्पादुराई हाम्रो समयलाई यस्तो समय भन्छन्, जहाँ कल्पनाशक्ति तीव्र छ । यो तथ्य नेपाली युवाले झनै गहिरो गरी भोगिरहेका छन् । उनीहरू संसार घुम्छन्, पढ्छन्, असंख्य डिजिटल माध्यमबाट विश्व–विचारसँग परिचित हुन्छन्, विश्वभरका आन्दोलनहरू पछ्याउँछन् र नयाँ–नयाँ भाषिक संसारमा प्रवेश गर्छन्– नारीवाद, जलवायु न्याय, मानसिक स्वास्थ्य, क्वियर राजनीति, उपनिवेशवाद, आदिवासी अधिकार आदि । तर, घर फर्कंदा उनीहरूले भेट्ने आफ्नै संस्थाहरू– राजनीति, प्रशासन, शिक्षा, समाजको पुरानै संरचना र खोक्रो तरिका ! विश्वका तीव्र विचार र नेपालका सुस्त संस्थाबीचको ठूलो खाडलले उनीहरूलाई उल्झनमा पार्छ । यो अवस्थामा परेका युवाहरू बौद्धिक रूपमा खोक्रोभन्दा पनि बौद्धिकताको ओभरडोजमा परेका हुन् कि भन्ने भान हुन्छ ।

एकातिर सिलिकन भ्यालीको आकांक्षा, अर्कोतिर काठमाडौंको उस्तै पुरानै अव्यवस्था । केही वर्ष विदेश बसेर घर टेक्ने बेला अन्तर्राष्ट्रिय विमान–अड्डाका कर्मचारीको अभद्र व्यवहार र सुटकेसको फुटेको ताल्चा ! घर फर्किरहेको त्यो युवालाई हाम्रो संस्थाप्रतिको घृणाको सबभन्दा उन्नत अवस्था यहाँभन्दा के होला ?

सत्य : सौदाबाजीको स्रोत वस्तु

समाजमा कायम सत्य स्थिर हुँदैन । तरल अवस्थामा तथ्य–जाँचको प्रक्रिया वैकल्पिक बन्छ, हल्ला नै समाचार बन्न थाल्छ र राजनीति वास्तविकताभन्दा बढी ‘फार्स’ बन्छ, जसको चरित्र अतिरञ्जित, हास्यास्पद र बनावटी बढी हुन्छ । यस्तो अवस्थामा सत्य प्रमाणसाथ उभिन सक्दैन, भावनाको आतसवाद मात्रै झल्किन्छ ।

भारतकी प्रख्यात लेखक तथा अधिकारकर्मी अरुन्धती रोयको विचारमा, बजारमा सत्यको उपस्थिति बडो नाजुक हुन्छ र जसले सत्यलाई टिकाउनै सक्दैन । नेपालमा पनि ‘विचारको बजार’ कठोर छ, त्यसले सत्यलाई कर्‍याककुरुक पारेर नांगेझार पारिदिन्छ । यो अन्त्यमा बलियो न्यारेटिभ वा भाष्य होइन, भद्दा ‘फार्स’ बनेर स्थापित हुन्छ ।

यो भद्दा नाटकमा राजनीतिक नेताहरूको नयाँ अनुहार आउजाउ भइरहन्छ । उनीहरू जान्दछन्– जनताको मेमोरी छोटो हुन्छ । यस्तो अवस्थामा सोच्ने वा विचारशील हुने स्वभाव शून्य नै हुन्छ । विचार परिवर्तनशील हुन्छ तर परिवर्तनको पनि केही सीमा त पक्कै हुन्छ । नेपालका नेताले एक महिनाअघि आफूले बोलेको कुरा उलटपुलट भएर व्यक्त गर्दा पनि कसैले ध्यान दिँदैन । आफू पदमा नहुँदा र पदमा हुँदाको विचारको ‘ग्याप’ यति ठूलो हुन्छ कि त्यसबारे अड्कल गर्न पनि गाह्रो हुन्छ ।

कुनै पार्टीले क्रान्तिकारी परिवर्तनको वाचा गर्छ तर प्रतिफलमा प्रशासनिक जर्जरता सिर्जना गर्छ । यसो गर्दा उसले खासै जवाफदेहिता महसुस पनि गर्दैन । उनीहरूको भाषा बडो ‘प्रगतिशील र उन्नत’ सुनिन्छ तर व्यवहारमा पुरानै संरचनाको निकम्मापन कायम रहन्छ । यो राजनीतिक शक्तिले विचारमा लगानी गर्दैन किनभने त्यसले निर्ममतापूर्वक सोच्ने र उन्नत विचार दिने जनता तयार होस् भन्ने नै चाहँदैन ।

किनभने, त्यस्ता जनतालाई ‘नियन्त्रण’ गर्न सक्दैन, जसले प्रश्न सोध्छ । यस्तो गहिरो विचारको क्षमताले शक्ति–संरचनासँग मुकाबिला गर्छ, कायम विरोधाभास उजागर गर्छ, नेतृत्वको इमानदारी र जवाफदेही माग गर्छ । यसरी निकम्मा राजनीतिक शक्तिले आमजनताको बौद्धिक कमजोरीमा मज्जाले ‘छेडखानी’ गर्छ ।

यस प्रकार सत्य एउटा सौदाबाजीको वस्तु बन्छ । कसैको दाबी, कसैको अभिनय, कसैको नारा बन्छ । तर, सबैमा ‘फार्स’ को सार रहन्छ । यस प्रकार सत्यको स्थिरता हराउँछ । बाँकी रहन्छ– केवल अस्थायी आकर्षण र क्षणिक चमक ।

विचारको पुनर्जागरण

आजको नेपालमा आम विचारलाई आकार दिने शक्तिहरू राजनीतिक मात्रै छैनन् । डोनरको भाषा, विकासका नयाँ शब्द, डिजिटल संसार र अब एआईले पनि हाम्रो विचारको दिशा तय गरिरहेका छन् । सार्वजनिक स्पेसमा बेलाबेला फुत्त–फुत्त आइरहने शब्दावलीको जरा नेपाली जीवन, संघर्ष र यथार्थसँग जोडिँदा यसले आम बुझाइको अझ बलियो आधार तयार गर्न सक्छ । जब यसरी ‘फ्याँकिने’ शब्दावलीमा आम भोगाइ कम, राजनीति बढी हुन्छ, यसले ल्याउने परिवर्तन सतही हुन्छ ।

हामी शब्दचयनमा अगाडि देखिन्छौं तर त्यसभित्र अन्तरनिहित राजनीति नबुझ्दा व्यावहारिक कठिनाइमा अल्झिन्छौं । नयाँ शक्तिका रूपमा भित्रिएको एआईले अविश्वसनीय गतिमा लेख्न र तर्क गर्न सक्छ, सोचको अनुकरण गर्छ, तर यसले गर्ने तर्क उसको आफ्नै होइन । यस्तो अवस्थामा मौलिक विचारको क्षमता झन् कमजोर हुनेछ ।

एआईले सोच व्यवस्थित पारेर देखाउन सहयोग गर्न सक्छ तर सोच्ने कामचाहिँ हाम्रो सट्टामा गर्न सक्दैन । लेखाइ छिटो हुन सक्छ तर समाज बुझ्ने गहिराइमा पुग्न कुनै हालतमा सक्दैन । त्यसैले हामीले गर्ने चिन्तनलाई मौलिक कसरी बनाउने, त्यो सिक्नुपर्छ तर सोच्ने अभ्यास गुमाएर होइन । यसो गर्दा डिजिटल संसारले हामीलाई विभाजन गर्न (डिजिटल डिभाइड) सक्दैन । जतिसुकै सतर्क भए पनि ‘डिजिटल डिभाइड’ ले हाल बौद्धिक शून्यतातर्फ धकेल्दै छ ।

यो अप्राकृतिक संसारले विचार प्रवाहमा कुनै बेला निम्त्याउने दुर्घटनाचाहिँ प्राकृतिक नै हुनेछ । यसको झल्को अहिले धमिलो–धमिलो गरी देखिन थालिसकेको छ– लेखकहरूमा सिर्जना कमजोर भइरहेको छ, पत्रकारिता दबाबमा छ, गहिरो कुरा गर्ने बौद्धिकका लागि मञ्च साँघुरिँदै गएको छ, विश्वविद्यालयहरू रित्ता हुँदै छन्, स्वायत्तता गुमाउँदै छन्, प्रकाशन कमजोर भइरहेको छ र पाठकसँग समय छैन ! बलियो सोचलाई टेको दिने संरचना एकपछि अर्को गरी भत्किँदै गएको छ ।

तर यसको अर्थ नेपाल बौद्धिक रूपमा पूर्णतः रित्तो भइसकेको चाहिँ छैन । मुखरित हुने कहिलेकाहीँको आवाज समाजको मुख्य धारमा पुग्न सकेको छैन, सानो घेराभित्रै घुमिरहेको छ । मलिनो भइरहेको सोच्ने संस्कृति फर्काउन पढ्ने, बहस गर्ने, शंका गर्ने, विश्लेषण गर्ने र कल्पना गर्ने साहसी बौद्धिक चाहिन्छ, जसले लोकप्रियताको डरबिनै सत्य बोल्न सकोस् । हामीलाई यस्तो शिक्षक चाहिन्छ जसले अंक होइन, जिज्ञासा जगाओस् । यस्तो पत्रकार चाहिन्छ जसले ‘प्रोपोगान्डा मोडल’ लाई सही रूपमा बुझ्न सकोस् । यसरी विचारको पुनर्जागरण सम्भव छ ।

विचारको पुनर्जागरण कुनै विलासिता होइन । यो राष्ट्रको असली चरित्रलाई जोगाउने बलियो उपाय हो । अप्पादुराई, अरुन्धती, आरेन्ट र चोम्स्कीले पनि दिएको सार यही हो । उनीहरूको साझा विचारले भन्छ, नसोच्ने समाज सजिलै नियन्त्रण हुन्छ र बलियो विचार बजारमा सजिलै टिक्दैन । नेपाल आज यी लेखकहरूले दिएको चेतावनीको छेउछाउ उभिएको छ ।

यदि हामीले आफ्नो बौद्धिक मेरुदण्ड फिर्ता ल्याउन सकेनौं भने जसको आवाज ठूलो छ, जो ट्रेन्डमा छ वा जसले भाष्यलाई नियन्त्रण गर्छ, उसैले सिर्जना गरेको ‘प्रोपोगान्डा’ को दलदलमा भासिनुपर्छ । नत्र हामी तेज तर दिशाहीन र भ्रमित आवाजको कोलाहल भएको राष्ट्रकै रूपमा बाँच्नेछौं ।

सीपी अर्याल समाजशास्त्रमा विद्यावारिधि गरेका अर्यालले काठमाडौँ विश्वविद्यालयमा पढाउँछन् ।

Link copied successfully