निर्णायक जेन-जी मतदाता

नेपालको कुल जनसंख्यालाई १६ वर्षको उमेर समूहमा विभाजन गरी हेर्ने हो भने यति ठूलो संख्या अन्यमा छैन, जनसांख्यिक बाहुल्यको हिसाबले जेन–जीकै उमेर समूह निर्णायक छ

कार्तिक १२, २०८२

चेतन अधिकारी

The decisive Gen-G voter

What you should know

डेढ महिनाअघिसम्मै पनि नेपालीले असाध्यै कम उच्चारण गरेको शब्द हो– ‘जेन–जेड’ अर्थात् जेनेरेसन जेड अर्थात् जेन–जी । अंग्रेजी अल्फाबेटको सबैभन्दा अन्तिमको अक्षर– जेड पुस्ता । भदौ २३ को मध्याह्नदेखि नेपालीले ‘जेन–जी’ भन्ने शब्दावली व्यापक रूपमा उच्चारण गरे ।

सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित उनीहरूले गरेको आन्दोलनमा गोली लागेर पहिलो दिन नै १९ जनाको निधन भएपछि जेन–जी नेपालीका लागि दया र मायाको शब्द बन्यो ।

२४ भदौमा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतदेखि नेताहरूका घरसम्म जलाएपछि जेन–जीप्रति धेरै मानिसले नकारात्मक धारणा बनाए । त्यस आन्दोलनको डेढ महिना पुग्दा जेन–जीप्रति सुरुवाती दिनमा राखिएका धारणामा पनि विविधता थपिएको छ ।

तथापि अंग्रेजी शब्द ‘जेनेरेसन–जेड’ को छोटकरी रूप जेन–जी कतै गौरव त कतै व्यंग्यात्मक बिम्बका रूपमा प्रयोग भइरहेको छ, जसरी ०६२/०६३ को जनआन्दोलनपछि ‘नयाँ नेपाल’ शब्दलाई कहिले गौरव, कहिले व्यंग्यका रूपमा प्रयोग गर्थ्यौं । लामै कालसम्म ‘नयाँ नेपाल’ नेपाली जनजिब्रोमा चलिरह्यो ।

२५ वर्षभित्र देशको आर्थिक र विकास सूचकको ग्राफ उकालो नलागे आश्रित अनुपात ठूलो संख्यामा बढ्नेछ अर्थात् देश बूढो हुनेछजेन–जी आन्दोलनका सबल–दुर्बल पक्ष अनेक होलान् । तर, यस आलेखमा नेपालमा जेन–जीको जनसांख्यिक वितरणमाथि विमर्श गर्ने कोसिस गरिएको छ । जनसांख्यिक दृष्टिले सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई जेन–जेड भनिन्छ । सन् २०२१ (वि.सं. २०७८) को जनगणनाअनुसार, नेपालमा जेन–जी जनसंख्याको अवस्था, प्रादेशिक वितरण, मतदाता हुन योग्य जनसंख्या र उम्मेदवारी दिन योग्य जनसंख्या कति छ ? केही चर्चा गरौं । २०७८ को जनगणनाअनुसार, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । त्यस जनगणनामा १ वर्षमुनिको जनसंख्यादेखि १०० वर्षभन्दा माथिको जनसंख्यासम्मको तथ्यांक उपलब्ध छ । त्यो तथ्यांकका आधारमा नेपालमा जेन–जी उमेर समूह (१२–२८ वर्ष) को जनसंख्या कुल जनसंख्याको करिब एकतिहाइ छ ।

नेपालको कुल जनसंख्यालाई १६ वर्षको उमेर समूहमा विभाजन गरी हेर्ने हो भने यति ठूलो जनसंख्या अन्य उमेर समूहमा छैन । त्यसैले जनसांख्यिक दृष्टिले यो उमेर समूह महत्त्वपूर्ण छँदै थियो । अब राजनीतिक रूपमा पनि जनसांख्यिक संरचनामा झैं सशक्त भएर उदाएको छ जेन–जी । त्यसैले जेन–जीलाई सुन्नैपर्ने समय आएको छ ।

जनसांख्यिक बाहुल्यताका हिसाबले यो उमेर समूह निर्णायक अवस्थामा पनि छ । जनसंख्यामा बाहुल्यता हुनु मतदातामा पनि बाहुल्यता हुनु हो । यसले जसरी २४ घण्टामै सत्तामा संकट ल्याउने सामर्थ्य राख्यो, ठूलो संख्यामा रहेकाले आगामी निर्वाचनमा पनि यो उमेर समूहले नै अनपेक्षित परिणाम दिने सम्भावना नकार्न सकिन्न ।

तथ्यांकमा जेन–जी

नेपालको कुल जनसंख्यामध्ये ९७ लाख ६० हजार ३ सय ६८ जना जेन–जी छन् । यो कुल जनसंख्याको ३३.५ प्रतिशत हो । यसमध्ये ४८ लाख ८६ हजार ५ हजार १ सय ८ पुरुष र ४८ लाख ९५ हजार २ सय ६० महिला छन् । यो तथ्यांकले कुल जनसंख्याको विशेषता बोकेको छ । किनकि जनसंख्यामा पुरुषभन्दा महिला बढी छन् । अझ आर्थिक गतिविधिमा संलग्न हुने उमेर समूहको यो जनसंख्याको २०–२९ वर्ष उमेर समूहका पुरुष सबैभन्दा बढी स्वदेशमा अनुपस्थित छन् अर्थात् ती रोजगारी वा पढ्न विदेश पुगेका छन् ।

जेन–जीको कुल जनसंख्यालाई हरेक पाँच वर्ष उमेर समूहमा विभाजन गरिहेर्दा के कस्तो देखिन्छ ? हेरौं । १६ वटा उमेर खुट्किलाको यो समूहमध्ये १२–२६ वर्ष उमेरलाई पाँच वर्षको अन्तर र २७–२८ वर्षलाई अलग्गै उमेर समूहमा राखेर हिसाब गरिएको छ । जेन–जी उमेरको सबैभन्दा तल्लो खुट्किलो १२–१६ वर्ष उमेर समूहको जनसंख्या २८ लाख ६१ हजार ६ सय ४४ अर्थात् कुल जेन–जी जनसंख्याको २९.३ प्रतिशत छ । दोस्रो उमेर समूह १७–२२ वर्षमा अघिल्लो उमेर समूहभन्दा बढी जनसंख्या देखिन्छ ।

यो उमेर समूहमा २९ लाख ३ हजार २ सय ६८ अर्थात् २९.७ प्रतिशत जनसंख्या छ । त्यसभन्दा माथिल्लो उमेर समूह २२–२६ मा अघिल्लोभन्दा बढी जनसंख्या छ । यस उमेर समूहमा ३० लाख ६ सय ९८ अर्थात् कुल जेन–जी जनसंख्याको ३०.७ प्रतिशत छ । बाँकी रहेको दुई वर्ष २७–२८ को उमेर समूहमा ९ लाख ९४ हजार ७ सय ५८ अर्थात् कुल जेन–जी जनसंख्याको १०.२ प्रतिशत छ । अघिल्लो समूहको तुलनामा यो दुई वर्ष उमेरको जनसंख्या झनै ठूलो आकारको हो ।

जेन–जीको उमेरगत वर्गीकरण र जनसंख्या वितरण

जेन–जीको जनसंख्याले राजनीतिलाई के फरक पार्छ ? यो विषय अहिले चर्चामा छ । जेन–जी उमेर समूहका मतदाता ठूलो संख्यामा भएकाले निर्वाचनको नतिजालाई तिनैले कायाकल्प पारिदिन्छन् भन्ने मत एकथरीको छ । राजनीतिक रूपमा उनीहरूको झुकाव कहाँ हुन्छ त्यो फरक विषय हो । र, अर्को पनि सत्य के हो भने बहुदलीय व्यवस्थामा धेरै दलहरूमा जेन–जी मत विभाजन हुन्छ । त्यसैले चर्चा गरिएझैं जति जेन–जी मतदाता छन्, सबैले एकै ठाउँमा मत खसालेर नतिजा कायाकल्प पार्छन् सोच्नु गलत हुनेछ । अर्कोतिर जेन–जी उमेर समूहमध्ये पहिलो पटक मत हाल्नेहरू १८–२० वर्ष उमेर समूहका मात्रै हुन् ।

यो उमेर समूहको जनसंख्या अर्थात् सम्भावित नयाँ मतदाता १८ लाख ८ हजार ४ सय ७७ छन् । २१ वर्षभन्दा माथिका जेन–जीहरूले २०७९ को निर्वाचनमा पहिलो पटक मत हालिसकेका छन् । आगामी फागुनमा हुने निर्वाचनमा मतदाताको अधिकार राख्ने जेन–जी (१८–२८) वर्षको जनसंख्या ६३ लाख ४१ हजार ८ सय ३४ छ । संविधानले तोकेअनुसार, जेन–जी उमेरका निर्वाचनमा उम्मेदवार हुन योग्य जनसंख्या (२५–२८ वर्ष) २० लाख ७८ हजार ४ सय ३० छ । यो संख्या कुल जेन–जीको २०.३ प्रतिशत हो । अर्थात् जेन–जी उमेर समूहका हरेक पाँचमध्ये एक जनाले निर्वाचनमा उम्मेदवार हुने योग्यता राख्छन् ।

जेन–जीहरूको प्रदेशगत जनसंख्या वितरण हेर्दा सबैभन्दा ठूलो संख्या लुम्बिनी प्रदेशमा छ, जहाँ कुल जेन–जीको ३८.६ प्रतिशत जनसंख्याको बसोबास छ । त्यसपछि सुदूरपश्चिम र कर्णालीमा त्यहाँको जनसंख्याको ३७ प्रतिशत जेन–जी छन् ।

जनसांख्यिक लाभांश र जेन–जी

जनसांख्यिक बनावटले नेपाललाई अवसरहरूले घेरेको छ । आर्थिक रूपले सक्रिय उमेर समूहको जनसंख्या (१५–६४ वर्ष) इतिहासमै सबैभन्दा धेरै छ । हाल यो उमेर समूहको जनसंख्या ६५ प्रतिशत छ । सरल भाषामा भन्दा यो कमाउने भन्दा पालिनेको संख्या न्यून भएको अवस्था हो । अर्थात् १४ वर्षभन्दा मुनिका बालबालिकाको जनसंख्या २८ र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको जनसंख्या ७ प्रतिशत मात्रै छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको नेपालको जनसांख्यिक बनावटको प्रतिवेदनअनुसार, २०४८ सालमा बालबालिकाको जनसंख्या ४२ प्रतिशत थियो । त्यसबेला सक्रिय उमेर समूहको जनसंख्या ५४.१ प्रतिशत र ज्येष्ठ नागरिकको जनसंख्या अहिलेको भन्दा ठीक आधा अर्थात् ३.५ प्रतिशत मात्रै थियो । जनसांख्यिक बनावटअनुसार, सन् १९९७ देखि २०१० सम्म जन्मिएको पुस्ता श्रम बजारमा प्रवेश गरिसकेको छ । जनसांख्यिक लाभांशको ६५ प्रतिशतमा जेन–जी उमेर समूहको पनि ठूलो योगदान छ ।

तर, नेपालको युवा जनसंख्यालाई आर्थिक रूपमा उपयोग गर्ने र उत्पादन बढाउने विषयमा ध्यान दिइएन । २०४८ सालको जनसंख्याले पहिलो पटक नेपालमा जन्मिनेभन्दा हुर्किने मानिसको संख्या बढी देखायो । त्यो नेपाल जनसांख्यिक लाभांशमा प्रवेश गर्दै गरेको पहिलो संकेत थियो । प्रजातन्त्रसँगै अधिकार र खुला परिवेशमा प्रवेश गर्दै गरेको समाजमा रोग, भोक र अशिक्षाबाट ग्रस्त नेपालीको आयु पनि छोटो थियो । तर, त्यसपछिको खुला परिवेशले नेपालीलाई रोग र भोकविरुद्ध लड्ने साहस प्रदान गर्‍यो ।

तर, हुर्कंदै गरेको पुस्तालाई रोजगारी सिर्जना गर्नेतर्फ शासकको ध्यान गएन, जसले गर्दा रोजगारीको खोजीमा लाखौं युवा छोटो समयमै अरब र मलेसिया पुगे । त्यसको दायरा बढाउँदै कोरियाका कृषि फार्ममा नेपाली युवाले पसिना बगाउनुपर्‍यो । आफूले चाहेको शिक्षा नपाउँदा अमेरिका, युरोप, अस्ट्रेलिया, जापान जस्ता देशका विश्वविद्यालय नेपाली युवा विद्यार्थीले भरिन थाले । बिस्तारै युवाले स्वदेशभन्दा विदेशमा भविष्य देख्न थाले ।

र, यताका शासकले पनि हुर्कनेबित्तिकै युवाको ठूलो पंक्ति विदेशतिर लाग्दा अतिरिक्त दबाब महसुस गर्नुपरेन, जसले गर्दा उत्पादनमूलक र निर्यातमुखी उद्योग खोल्न देशले जाँगर चलाएन । स्मरणीय के छ भने नेपालको जनसांख्यिक लाभांशको समय करिब ५५ वर्ष हुन्छ । त्यसमध्ये करिब ३० वर्ष बितिसकेको छ । अब २५ वर्षमा देशको आर्थिक र विकास सूचकको ग्राफ उकालो नलागे आश्रित अनुपात ठूलो संख्यामा बढ्नेछ अर्थात् त्यसबेला देश बूढो हुनेछ ।

जापानले ५५ वर्ष जनसांख्यिक लाभांशको समय पाएको थियो । कोरिया, मलेसिया, हङकङ यस्तै समयमा समृद्ध बने । तर, नेपाल किन अझै त्यो बाटोमा लाग्न सकेन ? पछिल्लो जेन–जी आन्दोलनले सबैको आँखा खोलिदिएको छ । जुन मात्रामा उँभो लाग्नुपर्ने थियो, भ्रष्टाचार र कुशासनकै कारण देशले गति लिन सकेन । त्यही असन्तुष्टिको जगमा २३ र २४ भदौमा जेन–जी विद्रोह भयो ।

जनसंख्याको संरचनाले नै साथ दिएको जेन–जी अहिले हरेक क्षेत्रमा बहुमत अवस्थामा छ । त्यसैले सरकार र दलहरूले उनीहरूका माग र भावनालाई गम्भीरतापूवर्क सुन्ने र उचित मागलाई कार्यान्वयनको बाटोमा लैजानुपर्ने देखिन्छ । यो उमेर समूहको जोस, श्रम र दिमागलाई राष्ट्र निर्माणमा प्रयोग गर्नेतर्फ सबै पक्षले गम्भीर भएर सोच्नुपर्छ ।

चेतन अधिकारी चेतन अधिकारी जनसांख्यिकी र बसाइँसराइसम्बन्धी विषयमा कलम चलाउँछन् ।

Link copied successfully