संस्थागत गरौं जेन-जी आन्दोलनका उपलब्धि

नागरिकले हरेक कुरामा कर तिरेका छन् । कतिले विदेशी भूमिमा पसिना बगाएर रेमिट्यान्स पठाएका छन् । कतिले देशमै दुःख गरेका छन् । यसरी बुझाएको करको दुरुपयोग गरी नेता मौलाउने परिपाटीप्रति जेन–जी पुस्ताको अर्को असन्तुष्टि हो । कर नेताको पेवा होइन, नागरिकको सम्पत्ति हो ।

आश्विन २३, २०८२

अमृता अनमोल

Let's institutionalize the achievements of the Zen-G movement

अहिले नेपाल अवसर र चुनौतीको संगममा छ । राजनीतिक अस्थिरता र आर्थिक संकटले देश असहज बनाइरहेका बेला जेन–जी आन्दोलन भयो । यसले प्रतिनिधिसभा विघटन भयो । सरकार फेरियो । नेतृत्वको संस्कार र समाजको चेतना परिवर्तनको मूल आधार हो । यसलाई स्थापित गरेको छ । तर, आर्थिक चुनौती अझ बढाएको छ ।

जेन–जी आन्दोलनपछिको यो राजनीतिक परिवर्तनले देशलाई नयाँ संक्रमणमा प्रवेश गराएको छ । राजनीति कता मोडिने हो, अझ ठूलो बादल लागेको छ । जेन–जी आन्दोलनपछि लोकतान्त्रिक अभ्यासलाई कसरी संस्थागत गर्ने भन्ने कठिनाइ पनि उत्तिकै छ । नयाँ सरकार बनिसक्दा पनि देशको अवस्था चुनौतीपूर्ण छ । तर, जेन–जी अर्थात् युवाप्रति नागरिक आशावादी छन् । जेन–जी आन्दोलनले देखाएको ऊर्जा, साहस र डिजिटल चेतनाले भविष्यको दिशा बदल्न सक्छ भन्नेमा विश्वस्त छन् । 

हुन पनि युवाले परम्परागत सोच तोडेर नयाँ बाटो खोज्ने क्षमता राख्छन् । त्यसका लागि उचित वातावरण बनाउने सरकारले हो । राजनीतिक दलहरूले हो । किनकि, हरेक राजनीतिक दलभित्र युवा पुस्ता छ । युवा पुस्तामा देशका लागि केही गरौं भन्ने हुटहुटी छ । दल सुधार्ने, समाज सुधार्ने र नेपालको अवस्था सुधार्ने तीव्र चाहना छ ।

उचित वातावरण बने जेन–जी पुस्ता नेपाल रूपान्तरणको प्रमुख चालक बन्न सक्छ । नेपालको भविष्य यिनै युवाको काँधमा छ । देशको समृद्धि उनैको हातमा छ । नीतिहरूको पनि मूल नीति राजनीति हो । अब कसका लागि कस्तो राजनीति गर्ने दलका नेताहरूले सोच्नुपर्नेछ । राजनीतिक दलका अगाडि अहिले दुइटा विकल्प छन्– सक्किने कि सच्चिने ? 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले भोगेको सबैभन्दा ठूलो समस्या राजनीतिक स्थायित्वको कमी हो । राजनीतिक दलहरूबीच आपसी अविश्वास हो । हरेक दलमा राजनीतिभन्दा व्यक्ति माथि बन्ने र गुट ठूलो बनाउने होडबाजी हो । यही कारण सरकार बन्ने र ढल्ने भइरहे । यतिसम्म कि १० वर्षमा ९ सरकार बने ।

दलका नेताहरू विकास निर्माण र स्थायी शान्तिका लागि होइन, सरकार बनाउन र गिराउनमै व्यस्त बने । यसले न त देश बलियो बन्यो, न नागरिक । न त यसले राजनीतिक दललाई नै बलिया बनायो । यो चुनौती अब चिर्नैपर्ने छ । यसर्थ जेन–जी पुस्ताको अबको अभियान केवल चुनाव मात्र हुनु हुँदैन । ६ महिनामा चुनाव गर्ने र नयाँ सरकार गठन गरेर मात्रै अहिले खोजेको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरण हुन सक्दैन । 

मूलतः जेन–जी आन्दोलन राजनीतिक प्रणालीविरुद्ध होइन, त्यसलाई सञ्चालन गरिरहेका तरिकाविरुद्ध हो । त्यसैले जेन–जीहरू सामाजिक अभियान, डिजिटल सचेतना र नागरिक दबाबमार्फत पनि शासन प्रणालीलाई सुधार गर्न लाग्नुपर्नेछ । नेपाली समाज र देशको समस्याको दीर्घकालीन समाधान गर्न वैचारिक दृष्टिकोण निर्माणमा पनि जुट्नुपर्नेछ । किनकि, समाज युवाप्रति आशावादी छ ।

विगत हेरौं, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना कम्ता बलिदानीले भएको थिएन । नागरिकलाई लागेको थियो, नेता जनताको सेवक हुनेछन् । तर नेता कहिल्यै सेवक बनेनन् । शासक बनिरहे । दम्भ, अहंकार बढाइरहे र निरंकुश बन्दै गए । नेताहरूमा मण्डले प्रवृत्ति कम्ता थिएन । वरपर चाकडीबाज राखेर प्रशंसा सुन्ने र त्यही प्रशंसामा रमाउने आत्मरति धेरै नेतामा थियो । नाम लोकतन्त्र भए पनि सामान्य नागरिक शासन पद्धतिमा पुग्नै सकेका थिएनन् ।

दलका नेतालाई खुसी पार्न सक्ने र भड्किलो चुनावमा खर्चन नसक्ने व्यक्ति किनारामै थियो । युवा, महिला र सीमान्तकृतका आवाज सुनिएका थिएनन् । स्वास्थ्य, गुणस्तरीय शिक्षा र रोजगारी नागरिकका आधारभूत आवश्यकता हुन् । तिनलाई दलले कहिल्यै प्राथमिकतामा राखेका थिएनन् । तीन तहकै सरकारमा भ्रष्टाचार र असमानताको चुली लागिरहेको थियो । नीति र कार्यान्वयबीचको खाडल गहिरिइरहेको थियो । नागरिकको जीवन कष्टकर बनिरहेको थियो । आयव्ययमा तारतम्य नमिल्दा कतिका घरबास उठिरहेका थिए । तर, सत्तामा पुग्नासाथ नेताका भव्य महल बनेका थिए । नेताका सन्तानले 

भड्किलो जीवनशैली बाँचिरहेका थिए । यो इतिहासलाई दलहरूले स्विकार्नै पर्छ । किनकि, इतिहास मात्र बोकेर हिँड्दा वर्तमान पनि गुम्छ । भविष्य झन् अनिश्चिततातिर धकेलिन्छ । अतीतमा बाँचिरहनु पीडामा बाँचिरहनु पनि हो । त्यो पीडाबाट दलहरू उठ्नुपर्छ । इतिहासबाट सिक्नुपर्छ, समीक्षा गर्नुपर्छ र सुन्दर भविष्यका लागि कमी–कमजोरी सुधार्दै वर्तमानमा अगाडि बढ्नुपर्छ । 

यो सत्य हो, राजतन्त्रपछि लोकतन्त्रमा नागरिकका छोराछोरी सत्तामा पुगे । पात्र फेरिए तर परम्परा फेरिएन । परम्परा कस्तो बस्यो भने मुख्य नेता आर्यघाट नपुग्दासम्म ठाउँ छोडेनन् । त्यसका लागि दलभित्र उमेरहद र समय सबै फालिए । दलभित्रको एउटै व्यक्ति सधैं श्रेष्ठ बनिरहने कस्तो परिपाटी हो ? हो– त्यही राजनीतिक दलको परिपाटीले जेन–जी अर्थात् युवा पुस्तालाई आफ्नै नेताहरूप्रति वितृष्णा जागेको हो । राजनीतिक दलहरूले युवा पुस्ताको मन जित्ने हो भने एउटा मान्छे उही पदमा कति समय बस्ने ? त्यसको लेखाजोखा हुनुपर्छ ।

दलहरूले कोही व्यक्ति त्यो पार्टी सरकारमा जानासाथ मन्त्री हुनैपर्ने व्यवस्था खारेज गर्नुपर्छ । कुनै नेता आर्यघाट नपुग्दासम्म नेता बनिरहने व्यवस्था हटाउनुपर्छ । समय र उमेरहद हर पद र स्थानमा राखिनुपर्छ । शासन र सत्ताको लोभ र भ्रष्टताले अहिले ठूला भनिएका दल कांग्रेस, एमाले, माओवादीलगायतको नेतृत्व असफल भएको छ । यो तथ्यलाई स्वीकार गर्नैपर्छ । यथाशक्य छिटो दलहरूले आफ्नो नेतृत्व असफलता स्विकारेर नयाँ गन्तव्य थाल्नैपर्छ । दललाई बचाउने हो भने आ–आफ्नो दलको नेतृत्व फेर्न र आफूले सम्हाल्न कर्मठ युवा पुस्ता एक हुनैपर्छ । 

नागरिकले हरेक कुरामा कर तिरेका छन् । कतिले विदेशी भूमिमा पसिना बगाएर रेमिट्यान्स पठाएका छन् । कतिले देशमै दुःख गरेका छन् । यसरी बुझाएको करको दुरुपयोग गरी नेता मौलाउने परिपाटीप्रति जेन–जी पुस्ताको अर्को असन्तुष्टि हो । कर नेताको पेवा होइन, नागरिकको सम्पत्ति हो । जेन–जी आन्दोलनले भ्रष्टाचार, अनियमितता, नातावाद, कृपावादविरुद्ध दल र सरकारलाई घुँडा टेकाउन सफल भयो । जुन जेन–जीको मात्र इच्छा थिएन, आमनागरिकको परिवर्तनको चाहना पनि थियो । यो ठूलो उपलब्धि हो ।

यो उपलब्धिलाई संस्थागत गर्न भ्रष्टाचारको अन्त्य गरी समृद्ध शासन व्यवस्था र सुशासनको स्थापना गर्नुपर्छ । यी राजनीतिक मुद्दा हुन् । यिनलाई गैरराजनीतिक होइन, राजनीतिक रूपमै अन्त्य गर्ने विकल्प खोज्नुपर्छ । त्यसका लागि राजनीतिक दललाई निषेध गरेर होइन, रूपान्तरण गरेर अघि बढ्नुपर्छ । जेन–जी पुस्ताका धेरै व्यक्ति अहिले पनि बेरोजगार छन् ।

स्वदेश बस्ने कि विदेश हान्निने भन्ने दोधारमा छन् । युवा पुस्ता मिलेर अब देशभित्र उद्यमशीलताको खोजी गर्नुपर्नेछ । लगानीमैत्री वातावरण बनाउनुपर्नेछ । जेन–जी आन्दोलनले राज्य सत्तालाई आलोपालो अल्झाएका दलका तिकडमबाजबाट मुक्त गरेको छ । पुराना राजनीतिक संरचनालाई चुनौती दिँदै नेतृत्व परिवर्तन र प्रणाली पुनरावलोकनसम्मको अवस्था ल्याएको छ ।

अमृता अनमोल अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully