सडकको अवस्था सुधारका लागि तत्कालीन र दीर्घकालीन रणनीति

मर्मत नगरिएका सडकमा जाम हुने, यात्रा लम्बिने र सुरक्षा जोखिम हुने गरेका छन् । एक ठाउँमा जाम पर्नासाथ बाँकी यात्रा पनि सहज हुन सक्दैन । त्यसैले नियमित मर्मतका लागि सरकारका जिम्मेवार प्राप्त निकाय र स्थानीय नागरिकको सहकार्य आवश्यक छ । यसले जिम्मेवारीबोध र अपनत्वलाई एक ठाउँमा जोड्छ ।

आश्विन १०, २०८२

सम्पादकीय

Immediate and long-term strategy for improving road conditions

असोज पहिलो साता बितिसक्दा पनि भइरहेको वर्षाको असर मुख्य राजमार्गमा देखिएको छ । कैयौं राजमार्गमा पहिरो खसेका कारण सवारी आवागमन खण्डित भएको छ । जसले गर्दा यात्रुले घण्टौंसम्म अवरोध झेल्नुपरेको छ । दसैं आसपासमा मात्रै काठमाडौं उपत्यकाबाट २० लाख हाराहारीमा विभिन्न जिल्ला जाने गरेका छन् ।

देशका अन्य भूगोलबाट आ–आफ्नो गन्तव्यतर्फ जाने यात्रुको संख्या पनि यस बेला ह्वात्तै बढ्छ । सार्वजनिक र निजी सवारीसाधन पनि बढी नै गुड्छन् । तर यही समयमा सडक अवरुद्ध हुँदा लाखौं यात्रुको यात्रा योजना प्रभावित भएको छ ।

जो यात्रामा निस्किएका छन्, उनीहरूको यात्रा कष्टकर भएको/हुने सम्भावना बढी छ । कतिपय ठाउँका अवरोध छिचोल्न वैकल्पिक मार्ग प्रयोग भइरहेका छन् । यद्यपि, त्यसले यात्रा अवधि लम्ब्याउने गर्छ । सुरक्षा जोखिम पनि थप्छ । तसर्थ, सरकारले अवरुद्ध सडक खुलाउन बढीभन्दा बढी मिहिनेत गर्नुपर्छ । त्यसलाई सुरक्षित पनि बनाउनुपर्छ । यात्रुले पनि सडकको अवस्था र सुरक्षाको विश्लेषण गरेर मात्रै यात्रामा निस्किनु उचित हुन्छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडक खण्डअन्तर्गत तुइन खोलामा गएको पहिरो ५४ घण्टापछि बिहीबार रातिबाट खुलेको छ । पहिरोका कारण संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, संखुवासभाकै मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै, नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बागलुङस्थित कालीगण्डकी करिडोर, रसुवास्थित त्रिशूली–मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा छन् ।

यसबाहेक नारायणगढ–बुटवल खण्डको दाउन्नेमा पानी पर्नासाथ आउजाउमा समस्या हुने गरेको छ । हुन त कतिपय सडक केही घण्टा अवरोध भएर पुनः सञ्चालनमा पनि आउँछन् । तैपनि, उल्लिखित विवरणले यात्रामा निस्किनुअघि सडकको अवस्थाबारे अपडेट लिनुपर्ने सन्देश भने दिन्छ ।

यति बेला तत्कालीन र दीर्घकालीन हित हेरेर काम गर्न आवश्यक छ । तत्कालै जहाँ–जहाँ अवरोध छ, त्यहाँ सकेसम्म दुईतर्फी नै, कम्तीमा एकतर्फी भए पनि सडक सञ्चालन गर्न यथाशक्य उपाय लगाउनुपर्छ । मुग्लिङ–नारायणघाट सडक खण्डको तुइन खोलामा गत शुक्रबार नै पहिरो खसेपछि अवरोध निम्तिएको थियो । बीचमा पहिरो पन्छाइएको भए पनि पुनः खस्दा झन् बढी अवरोध भएको छ । अवरोध हुन थालेपछि बस र यात्रु खासै नभए पनि सामान बोकेका ट्रकहरू भने जाममै फसेका छन् ।

राजधानीबाट दसैंका लागि बाहिरिने धेरै यात्रुले प्रयोग गर्ने सडक भएका कारण पनि यहाँको अवरोध खुलाउने विषय सरकारको प्राथमिकतामा पर्नुपर्छ । यसका अतिरिक्त जहाँ–जहाँ पूर्ण वा आंशिक अवरोध छन्, ती पनि सञ्चालन हुने स्थिति निर्माण गर्नुपर्छ । चाडपर्वका लागि यात्रा गर्ने मानिसको चाप बढी हुने भएकाले यस्ता सडकहरूलाई कामचलाउ ढंगले नभई, सुरक्षा सुनिश्चित हुने ढंगले सञ्चालनमा ल्याइनुपर्छ । चाडपर्व अधिक दुर्घटना हुने समय पनि हो भन्ने विषय सबै पक्षले ख्याल गर्नुपर्छ ।

दीर्घकालीन रणनीतिचाहिँ सडक निर्माण पद्धतिसँगै जोडिन्छ । हाम्रा प्रायः सडक निर्माणका बेलामा सम्भावित प्राकृतिक जोखिमलाई गहिरोसँग पहिल्याइएको पाइँदैन । प्रायःजसो सडकमा पहिरो खसिरहने कारण पनि त्यही हो । पहिरो खस्ने वा भासिने वा भत्किनेजस्ता समस्यालाई गम्भीर ढंगले पूर्वानुमान गर्ने हो भने जोखिम न्यूनीकरणका भरपर्दा उपाय अपनाइएको हुन सक्थ्यो । सबै किसिमका प्राकृतिक जोखिमबाट सडक जोगिन्छ भन्ने हुन सक्दैन । तर केही घण्टाको वर्षामै सडकमै पहिरो खस्नु, सडक भासिनु वा बगाउनु पनि स्वाभाविक होइन ।

यसले सडक निर्माणअघि अझै बढी अध्ययन र निर्माणका बेलामा गुणस्तर सुनिश्चितताका बलिया र बाध्यकारी आधार स्थापित गर्न आवश्यक छ भन्ने देखिन्छ । निर्माण सकिएको केही साता वा महिनामै कालोपत्र उप्किने, खाल्डो पर्ने, भासिनेजस्ता समस्या सामान्य हुन थालेको छ । यसले सडक निर्माणका बेलामा गुणस्तरमा सम्झौता गर्ने प्रवृत्ति रहेको र त्यसलाई सामान्य ठान्न थालिएको सन्देश दिन्छ । त्यसैले गुणस्तर सुनिश्चितताका लागि नागरिक निगरानी र राज्यका प्रावधान व्यावहारिक तर कठोर बनाइन आवश्यक छ ।

सडकको नियमित मर्मतसम्भारको सन्दर्भमा पनि हामीकहाँ बलियो पद्धति विकास हुन सकेको छैन । जहाँसुकैको सडकमा पनि खाल्डाखुल्डी पर्ने, त्यहीँ पानी जम्ने र थप भत्किँदै गएर ठूलै असर परिसक्दासमेत मर्मत भएको हुँदैन । तत्कालै मर्मत हुन सक्दा थोरै लगानी र मिहिनेतमै काम पूरा हुन सक्थ्यो । तर ढिलो मर्मत हुँदा वा नहुँदा यात्रुले हैरानी पाउने गरेका छन् ।

मर्मत नगरिएका सडकमा जाम हुने, यात्रा लम्बिने र सुरक्षा जोखिम हुने गरेका छन् । एक ठाउँमा जाम पर्नासाथ बाँकी यात्रा पनि सहज हुन सक्दैन । त्यसैले नियमित मर्मतका लागि सरकारका जिम्मेवार प्राप्त निकाय र स्थानीय नागरिकको सहकार्य आवश्यक छ । यसले जिम्मेवारीबोध र अपनत्वलाई एक ठाउँमा जोड्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully