आरक्षण जातका आधारमा नभई वर्गका आधारमा दिइनुपर्छ भन्ने भाष्य फैलाइएको छ, अर्थात् लामो नागरिक आन्दोलनबाट सिर्जित सामाजिक न्यायको कुरालाई गरिबी निवारण कार्यक्रमका रूपमा खुम्च्याउने प्रयास गरिएको छ
केही दिनअघि ललितपुरमा आदिवासी जनजाति आयोगको आयोजनामा समावेशी लोकतन्त्रको समीक्षा गर्ने कार्यक्रम चलिरहेको थियो । जसमा सत्ता साझेदारीमा रहेका राजनीतिक दलका माथिल्ला तहका नेताको सहभागिता थियो । त्यसको केही बेरपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा सत्य निरूपणसम्बन्धी दुई आयोगका पदाधिकारी चयनको निर्णय हुँदै थियो । उक्त कार्यक्रममा समावेशिता आफ्नो एजेन्डा भएको, आफू र आफ्नो दल यसका लागि विशेष रूपले लागेको दृष्टान्त प्रायः सबै दलका नेताले प्रस्तुत गरिरहेका थिए । संयोगवश यस्तो अग्रगम्य दृष्टान्त दिने नेताहरूमध्ये कतिपय त समानुपातिकताको भर्याङ चढेर संसद्मा पुगेका वर्चस्वशाली नेता पनि थिए ।
कार्यक्रम सकेर घर पुग्दानपुग्दै मन्त्रिपरिषद्ले आयोगका पदाधिकारी चयन गरेको ‘ब्रेकिङ न्युज’ आइसकेको थियो । केही समयपछि पदाधिकारीको नाम पनि टीभी स्क्रिनमा आउन थाल्यो । पदाधिकारीको सूची देख्दा भने केही बेरअघि घनीभूत छलफल गरिएको समावेशी लोकतन्त्रको नै धज्जी उडिरहेको भान हुन्थ्यो । त्यो सूचीमा न्याय र परिपूरणको झिनो आशामा दशकौंदेखि भौतारिइरहेका जनजाति, मधेशी र थारूकै पनि प्रतिनिधित्व थिएन । दसका दस पहाडी खसआर्य र एक जनाबाहेक सबै वर्चस्वशाली समूहका नियुक्त गरिएको थियो । एकछिनअघि मात्रै समावेशिता लोकतन्त्रको सुन्दर पक्ष मात्र नभई अनिवार्य सर्त नै रहेको कुरा सुनेर आएको मेरो मस्तिष्कमा ठूलै झट्का लाग्यो र मस्तिष्क मन्थनमा पूरै रात खल्बलियो ।
आखिर के रहेछ त समावेशितासम्बन्धी नेपाली मनोविज्ञान वा चेत भन्ने खुल्दुलीले कोट्याइरह्यो । वास्तवमा यससम्बन्धी बुझाइ दुई धारमा बाँडिएको रहेछ । एउटा धारले संविधान र ऐन–कानुनमा समावेशिता लेखिसकियो र सोको अभ्यास हुँदै गएकाले अन्तर्राष्ट्रिय जगत्मै नमुना भएको देख्दो रहेछ । यो वर्चस्वशाली धार हो, जसले नीति निर्माण र राज्यसत्तामा ऐतिहासिककालदेखि कब्जा जमाउँदै आएको छ । अर्को धारले संविधान र ऐन–कानुनका प्रावधान नै पर्याप्त छैनन् र जे जति छन्, तिनको पनि सारभूत कार्यान्वयन हुन नसकेको बरु वर्चस्वशालीहरूले नै सत्ता प्राप्तिको वैकल्पिक भर्याङ बनाएको देख्दा रहेछन् । यो सीमान्तकृत धार हो, जसलाई ऐतिहासिककालदेखि नीति निर्माण र राज्यसत्ताबाट सधैं विमुख गराइयो र अहिलेसम्म समावेशिताका लागि घस्रिरहेका छन् । यी दुई धार अर्थात् मनोविज्ञानका बीचमा समावेशिताको सिद्धान्त, अवधारणा र मान्यता पिल्सिरहेको छ । कतिपय बेला सीमान्तकृत धारलाई मुन्टाउने मेसोसमेत बनेको छ । अहिले संसद्मा प्रस्तुत निजामती सेवा विधेयकको प्रस्तावित आरक्षण व्यवस्थालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
सीमान्तकृत धार अग्रगामी हुन्छ र राज्यमा आफ्नो न्यायोचित हिस्साका लागि लडिरहेको हुन्छ तर राज्यसत्तामा प्रभाव पार्न सक्दैन । कहिलेकाहीँ यो धारमा देखिएको ‘फ्रस्टेसन’ लाई वर्चस्वशालीले आफ्नो हितमा प्रयोग गरेको पनि देखिन्छ । यसको उदाहरणका रूपमा सशस्त्र द्वन्द्वलाई लिन सकिन्छ । द्वन्द्वरत चेतनाले गर्दा उसको बौद्धिक क्षमताको ठूलो हिस्सा यसैमा बितेको हुन्छ । अनि ‘अन्डर मेरिट’ को ट्याग लगाएर यसको फाइदा पनि वर्चस्वशालीले नै लिन्छन् किनकि मेरिटको मूल्याङ्कन गर्ने हात उनीहरूकै हुन्छ । मेरिटलाई हतियारका रूपमा अपनाई अपव्याख्या गर्ने र अवसरहरू आफ्नो मुठ्ठीमा राख्ने रणनीतिका रूपमा लिइने गरिन्छ । यस्तो अभ्यासलाई अमर्त्य सेनले ‘उल्टो आरक्षण’ भनेका छन् । हाम्रो मुलुकमा उल्टो आरक्षण प्रागऐतिहासिककालदेखि एउटै समुदायले भोग गर्दै आएको छ र अब बन्ने ऐन–कानुनमा घुमाइफिराइ त्यसैलाई जोगाइराख्न प्रयत्नशील रहेको देखिन्छ ।
सत्य निरूपणसम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्तिमा पनि मेरिटलाई धज्जी उडाइएको छ । यति संवेदनशील संरचनामा समेत राजनीतिक दलको भागबन्डामा नियुक्ति हुने भएपछि दलको आबद्धता र नेताको कृपादृष्टि नै मेरिटको परिभाषा बन्न पुगेको छ ।
समावेशिताको बुझाइमै फरक
पछिल्लो समय समावेशिताको बुझाइमा नै फरक देखिएको मात्र होइन, यसको व्याख्या फरक ढंगले स्थापित गर्ने प्रयास गरिएको छ । हाम्रो संविधानले राज्यका सबै संयन्त्रमा समावेशिता हुनुपर्ने र त्यसका आधार समानुपातिकता हुने कुरा स्पष्ट गरेको छ । दलितको हकमा त झन् अलग्गै (धारा ४० मा) विशेष निर्देशन गरिएको छ । तथापि राज्यसत्तामा रहने वर्चस्वशाली धारले यसको अपव्याख्या गरी सीमित संख्याको आरक्षणमा खुम्च्याएको छ । बरु त्यही सीमित आरक्षणमा समेत बढी हिस्सा वर्चस्वशालीकै पोल्टामा पर्ने गरी प्रस्ताव गरिएको छ, जुन २०६४ सालको व्यवस्थाभन्दा पनि पश्चगामी छ ।
समावेशिताको प्रादुर्भाव सन् १९६० ताका ‘सिभिल राइट्स मुभमेन्ट’ सँगै संरचनागत रूपले बहिष्करणमा परेका समूह वा समुदायलाई मूलधारमा ल्याउनका लागि भएको हो । तसर्थ, वर्चस्वशाली समूह यसको हिस्सेदार हुने कुरै भएन । तर वर्चस्वशाली खसआर्यहरूलाई नै धेरै संख्या छुट्याइ दोहोरो, तेहोरो अवसर पाउने गरी प्रस्तावको डिजाइन कुन सिद्धान्तले गरियो, बुझ्न सकिएको छैन । त्यस्तै आरक्षण जातका आधारमा होइन– वर्ग (आर्थिक अवस्था) का आधारमा दिइनुपर्छ भन्ने भाष्य निर्माण गरी सबैतिर फैलाइएको छ । अर्थात् लामो नागरिक आन्दोलनबाट सिर्जित सामाजिक न्यायको कुरालाई गरिबी निवारण कार्यक्रमका रूपमा खुम्च्याउने प्रयास गरिएको छ ।
वास्तवमा हाम्रो संविधानले आरक्षणलाई चिन्दैन । २०६३ सालको अन्तरिम संविधानले समानुपातिक समावेशिताको सुनिश्चितता गर्दागर्दै पनि २०६४ सालको निजामती ऐनको संशोधनमा सीमित सिटमा आरक्षणको व्यवस्था गरेर टारियो । हालको नेपालको संविधानले पनि त्यही व्यवस्था गरेकामा केही संख्यामा कोटा छुट्याई सरकारी सेवामा आरक्षणलाई नै निरन्तरता दिइँदै आएको छ । अर्थात् नयाँ संविधानअनुसार नयाँ कानुन बनेकै छैन । हालै संसद्मा प्रस्तुत गरिएको प्रस्तावमा त झन् युगौंदेखि संरचनागत लाभ लिई उपरी संरचनामा रहेकालाई नै झन् धेरै हिस्सा हुने गरी कोटा छुट्याइएको छ । यसरी समानुपातिकताको सिद्धान्तलाई नै ‘मिसगाइड’ गरिएको छ । यस्तो तरिकाले मुलुक समानुपातिकतामा पुग्न शताब्दियौं लाग्छ । यति लामो धैर्यता सीमान्तकृत समुदाय र राज्यले गर्न सक्ला र ?
किन जाग्दैन संवेदनशीलता ?
अचेल समावेशी नझुन्डिएको कुनै गोष्ठी, सभा–सम्मेलन नै हुँदैन । यो अध्ययन अनुसन्धानको विषय पनि बनेको छ । तर पनि नीति निर्माता र राज्यसत्ता टसमस गर्दैन । न त बहिष्करणको पीडाले मन पोल्छ, न त राज्यले गुमाउनुपरेको नोक्सानीले नै मन छुन्छ । बरु उनीहरूको प्रतिक्रियामा घुमाइफिराइ यी स्वाभाविक हुन् भन्ने आशय झल्किन्छ ।
केही समयअघि एक कानुनकी छात्राको भनाइ भाइरल भएको थियो । उनको भनाइ थियो– ‘युगौंदेखि अन्याय गर्दै आएको समुदायकै न्यायाधीश हुँदा उसले अन्याय हुँदाको पीडा कसरी थाहा पाउँछ र पीडितको पक्षमा न्याय निरूपण गर्छ ?’ भलै उनी खसआर्य समुदायकै छात्रा थिइन् र त्यहाँभित्र महिला हुनुको पीडाको उद्घोष थियो । विभिन्न क्षेत्रमा यस्तै देखिएको अध्ययनले पनि देखाएको छ ।
हालै ‘डिग्निटी इनिसिएटिभ’ ले लुम्बिनी प्रदेशको पाँच वर्षको बजेट विश्लेषण गरेको छ । यो आफैंमा एक महत्त्वपूर्ण अध्ययन हो । उक्त विश्लेषणमा ७२ प्रतिशत जनसंख्या रहेको सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा ३ प्रतिशत मात्र बजेट छुट्याएको औंल्याइएको छ । दलित लक्षित कार्यक्रमका लागि त मात्र ०.१ प्रतिशत मात्र रहेछ । छुट्याइएको बजेटको खर्चको स्थिति त झनै न्यून रहेको छ । अनि यी समुदाय सबल र सक्षम हुन्छन् कसरी ?
‘कोलोनाइज्ड माइन्डसेट’
हुन त हामी कहिल्यै पनि कसैको अधीनस्थ भएनौं वा उपनिवेशमा रहेनौं भनेर मक्ख पर्ने गरेका छौं । तर वास्तवमा के हामी स्वाधीन रहेका थियौं त ?
मगधका सम्राट अशोकले ई.पू.२४९ मा लुम्बिनीमा गाडेको अशोक स्तम्भमा लेखिएको सूचनाले नै तत्कालीन लुम्बिनी मगध साम्राज्यको अधीनमा थियो भन्ने प्रस्ट हुन्छ । उक्त स्तम्भमा बुद्ध जन्मेको स्थान भएकाले यहाँका जनतालाई कृषि कर छुट दिने सूचना अंकित गरिएकोबाट पनि यो कुरा प्रमाणित हुन्छ । ईपूको अन्त्यतिर भारतको वैशालीबाट आएका लिच्छविहरूले यहाँका रैथाने किरात शासकलाई पराधीन गरेका थिए । त्यस्तै भारतका चितौर र सिसौदियाका राजपूतका सन्तानका रूपमा चिनिएका सेनहरू वि.सं. १००० तिर नेपाल पसेका थिए ।
सेनवंशी शासकहरूले पनि भारतीय उपमहाद्वीपका सम्राटहरूसँग साँठगाँठ गरी राज्य विस्तार गरेका थिए । उनीहरूले ब्रिटिस भारतलाई ट्याक्स भर्ने गर्थे पनि भनिएको छ । वास्तवमा उनीहरू ‘महासामन्त’ को भूमिकामा थिए भन्ने कुरा सिम्रौनगढको पतनपछि मुगल सम्राट अकबरले महेश ठाकुरलाई त्यस क्षेत्रको कर असुलीको जिम्मा दिएबाट प्रस्ट हुन्छ । एघारौं शताब्दीतिर पश्चिम भारततर्फबाट आर्यहरू नेपालको पश्चिम पहाडी भूभागमा प्रवेश गरी त्यहाँ सञ्चालनमा रहेका स्थानीय सत्ता आफ्नो हातमा लिएका थिए । यिनीहरूले नै स्थानीय जनतालाई विभिन्न वर्ण र जातमा विभाजन गरी ब्राह्मणवाद लादेका थिए । यही जात व्यवस्था बढ्दै गई राज्यसत्तामा एकल जातीय अधिनायकताले जरा गाड्दै गएको थियो ।
एकीकरणका बेला पृथ्वीनारायण शाहले त ‘थरघर’ को व्यवस्था नै बसाएका थिए भने १९१० सालको मुलुकी ऐनले यसलाई वैधानिक रूप नै दिएको थियो । ब्रिटिस भारतको समयमा पनि केही स्थानको लडाइँमा नेपाली सेनाले विजय हासिल गरेको भए पनि समझदारीमा ग्रेटर नेपालको ठूलो हिस्सा गुमाउनुपरेको थियो । उनीहरूको आक्रमणको त्रासमा नेपाली शासक र जनता सधैं रहिरहनुपर्थ्यो । विभिन्न समयको समझदारीले नै आजको नेपालको भूभाग जोगिएको हो । तथापि, अहिलेसम्म पनि कतिपय सीमा स्थलहरू विवादित रूपमै रहेका छन् ।
१०४ वर्षे जहानियाँ राणा शासन र एकल वंशीय राजतन्त्रले हिन्दु वर्ण व्यवस्थाको निरन्तरतालाई अझ कडा रूपमा कायमै राखे जसबाट ठूलो संख्यामा रहेका अन्य संस्कृतिका अनुयायीहरू विमुख हुनुपरेको थियो । त्यसैले नेपालमा लामो समयदेखि आन्तरिक उपनिवेश कायम थियो भनिन्छ । यसरी हाम्रो समाज र शासनमा ‘कोलोनाइज्ड माइन्डसेट’ को विकास भएको थियो ।
आज पनि हामीले कहिल्यै पराधीन नरहेको दाबी गरिरहँदा ८० प्रतिशतभन्दा बढी दैनिक उपभोगका सामग्री बाहिरबाटै ल्याउनुपरेको बिर्सिनु हुँदैन । अहिले पनि हाम्रो समाज र शासन उपनिवेशी मनोदशामा ज्युँका त्युँ देखिन्छ । उपनिवेशी मनोदशा एउटा मानसिक अवस्था हो, जसमा आफू जुनसुकै सर्तमा राज्यको हिस्सेदार हुने महत्त्वाकांक्षा रहेको हुन्छ । त्यसका लागि उसमा मुख्य शासकको चाकरीमा तल्लीन रहने र आमजनतालाई अधीनस्थ राख्ने खुबी हुन्छ । त्यसका लागि आमजनतालाई जातका आधारमा विभिन्न कप्टेरामा विभाजन गरी शक्तिहीन बनाइदिन्छ र जे गर्दा पनि उसैको आदेश लिनुपर्ने ‘दमित मनोविज्ञान’ सिर्जना गराइदिन्छ ।
दमित मनोविज्ञान यस्तो अस्त्र हो कि वर्चस्वशाली भनेको कुरा नै सत्य लाग्छ । बहुसंख्यक भएर के गर्नु उनीहरूलाई भाग्य र भक्तिको विश्वासमा चुर्लुम्म डुबाएर आफ्नो अधीनस्थ राख्ने कौशल वर्चस्वशालीमा हुन्छ । यसले गर्दा ती समूहहरू कहिल्यै एकीकृत भएर आवाज उठाउन सक्दैनन्, न त राजनीतिक शक्ति बन्न सक्छन् । त्यही क्रम अहिलेसम्म जारी छ । नत्र भने यत्रो राजनीतिक परिवर्तन हुँदासम्म पनि एकल जातीय अधिनायकतामा कुनै सारभूत ‘ब्रेक थ्रु’ किन हुन सकेको छैन ? ७२ प्रतिशत सीमान्तकृत जनताका लागि ३ प्रतिशत मात्र बजेट छुट्याउँदा होस् वा राज्यका संरचनामा एकल नश्लीय वर्चस्व कायम हुँदा पनि किन कुनै हलचल देखिँदैन ?
सत्य निरूपणसम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्तिमा पनि त्यस्तै भएको छ । यो नै दमित मनोविज्ञानको ठूलो उदाहरण हो । नागरिकको यति ठूलो हिस्सालाई शक्ति नठान्ने तर छिमेकी मुलुकका व्यक्तिलाई पनि शक्तिको स्रोत ठान्ने मनोभाव नै ‘कोलोनाइज्ड माइन्डसेट’ हो भने घुमाइफिराइ एकल नश्लीय अधिनायकता कायम गर्दासमेत चुपचाप स्वीकार गरेर बस्नु दमित मनोविज्ञान हो । हाम्रो राज्यसत्तामा यी दुवै चरित्र हाबी छ । यसले नै मुलुकलाई अघि बढ्न दिएको छैन । मुलुकलाई स्वाधीन र समृद्ध बनाउन यी दुवै चरित्र भत्काउन जरुरी छ । – बीके नेपाल सरकारका पूर्वसचिव हुन् ।
