बजेट कार्यान्वयनको कमजोरी पुनरावृत्त नहोस् 

संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले ल्याएको बजेटसमेत पूर्ण कार्यान्वयन हुन सकेन भने मुख्य दल अर्थतन्त्रप्रति गम्भीर छैनन् भन्ने सन्देश मात्र जाने छैन, सर्वसाधारणमा निराशा चुलिनेछ ।

जेष्ठ १८, २०८२

सम्पादकीय

Weaknesses in budget implementation should not be repeated

बजारमा मागको कमी, बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम मौज्दातको थुप्रो र निजी क्षेत्रमा आत्मविश्वास बढ्न नसकेको पृष्ठभूमिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि परम्परागत शैलीकै बजेट ल्याएका छन् ।

आर्थिक गतिविधि चलायमान बनाएर रोजगारी सिर्जना गर्नेदेखि सरकारकै आम्दानी बढाउनेसम्मका कामका लागि विशेष योजना (बिग पुस) आवश्यक रहेका बेला पौडेलले यस पटक धेरैलाई रिझाउन खोजेनन्, कसैलाई बिझाउने काम पनि गरेनन् ।

खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विकास, पूर्वाधार विकास, कर तथा छुट सुविधामा समेत सामान्य हेरफेर गरी विगतकै निरन्तरता बजेटमा देखिएको छ । निश्चय पनि सरकारका स्रोत सीमित छन्, उपलब्ध स्रोतबाट बजेट खर्च गर्नुपर्ने क्षेत्रसमेत निश्चित छन् ।

बजेटमा सरकारको ध्यान त्यसमै केन्द्रित देखिन्छ । बजेट विगतकै शृंखलाजस्तो देखिए पनि यस पटक कार्यान्वयनका कमजोरीको पुनरावृत्ति हुन हुन्न । किनभने जे–जति क्षेत्रमा बजेट विनियोजन भएको छ, त्यसको पूर्ण कार्यान्वयन भए अर्थतन्त्रलाई चलायमान बनाउन केही न केही सघाउ पुग्छ । त्यसकारण सरकारको ध्यान बजेटको प्रभावकारी कार्यान्वयनमा हुनुपर्छ ।

अर्थमन्त्री पौडेलले बजेटको आकार केही बढाए पनि धेरै माथि जान नदिन संयमता अपनाए । राष्ट्रिय योजना आयोगले १९ खर्ब ६५ करोडको ‘सिलिङ’ दिएकामा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आयो । यो रकम चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो ।

विनियोजित बजेटका लागि सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ स्रोत जुटाउने अनुमान गरेको छ । यसरी जुटाइएको बजेट चालुतर्फ ११ खर्ब ८१ अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य छ ।

आम्दानी र खर्च दुवै हिसाबले यो पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छ, विगतमा जस्तै खर्च वा आम्दानी पुगेन भनेर मध्यावधि समीक्षाबाट संशोधन गर्नु हुँदैन । हरेक वर्ष बजेटको आकार वृद्धि गर्ने, त्यसलाई संसद्ले अनुमोदन गर्ने र विभिन्न बहाना देखाएर अर्थमन्त्रीले मध्यावधि समीक्षामार्फत संशोधन गर्ने विगतको शृंखलामा आगामी वर्ष ब्रेक लाग्नुपर्छ ।

बजेटमा केही सकारात्मक कदम चालिएको छ । खासगरी तयारी नसकिएका आयोजनामा बजेट राख्ने परम्परालाई निरुत्साहित गर्दै ४ हजार ६ सय ५४ आयोजना हटाइएको छ । तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजनामा बजेट छुट्याइएको छैन । पूर्वाधार क्षेत्रतर्फ निर्माणको अन्तिम चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई बजेट बढाइएको छ ।

६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले पाउने भत्ता ७० वर्ष पुगेपछि मात्रै पाउने व्यवस्था गरिएको छ । हरेक वर्ष जस्तो विद्युतीय सवारीसाधनको करका दर हेरफर हुने गरेकामा यस पटक यथावत् छ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले खाद्यान्न, गेडागुडी, फलफूल र दुग्धजन्य पदार्थ आयातमा लगाएको अग्रिम आयकर खारेज गरिएको छ । धान उत्पादनमा आत्मनिर्भर हुने भन्दै चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएका केही महत्त्वपूर्ण मुद्दाको सम्बोधन बजेटले गरेको छ । सूचना प्रविधि क्षेत्रमा समेत निकै उदारता देखिएको छ । उद्योग स्थापनाका लागि जग्गाको हदबन्दी छुटदेखि कर सुविधासम्ममा वृद्धि गरिएको छ । नेपालीलाई विदेशमा लगानी गर्ने बाटोसमेत खुला गरिएको छ । पहिलो पटक कम्पनीमा ‘स्वेट सेयर’ र उधारो व्यापारलाई कानुनी मान्यता दिइएको छ ।

सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने, नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने, १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने भएको छ । युवालाई उद्यमशील बनाउन ३ प्रतिशत ब्याजदरमा २ देखि २० लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।

महिला उद्यमीलाई निःशुल्क कम्पनी दर्ता र कर छुट, विद्युतीय कारोबारमा शुल्क नलाग्नेलगायत व्यवस्था पनि गरिएको छ । समग्रमा बजेट फड्को मार्ने प्रकृतिको नभई प्रायः पुराना कार्यक्रमलाई निरन्तरता दिएर र केही सुधारसहितका नयाँ कार्यक्रम थपेर ल्याइएको छ, जसको कार्यान्वयन पक्षमा शंका कायमै छ । विगतका वर्षका बजेटमा समेत यस्तै नौला कार्यक्रम ल्याइए पनि कार्यान्वयन फितलो हुन्थ्यो । बजेटका धेरैजसो बुँदा कार्यान्वयन नभएका उदाहरण अनगिन्ती छन् ।

त्यसकारण बजेटमा पहिलो पटक सार्वजनिक गरिएका सबै कार्यक्रमको अक्षरशः पालना हुन जरुरी छ । यी हरेक कार्यक्रमले अर्थतन्त्र विस्तारलाई नै सघाउने हुन् । अर्थतन्त्र विस्तार हुँदा रोजगारी सिर्जनादेखि सरकारी आम्दानीसम्म बढ्छ । त्यसैका लागि समयमै बजेट आओस्, त्यसको पूर्ण कार्यान्वयन भई खर्च होस् र अर्थतन्त्रमा समस्या नहोस् भनेर संविधानमै आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि संघीय संसद्मा बजेट पेस गर्ने व्यवस्था गरिएको हो ।

सरकारले आर्थिक वर्ष अर्थात् साउन १ अगावै प्रभावकारी राणनीति बनाएर बजेट कार्यान्वयन गर्नुपर्छ । बजेटबाट मुलुकको रूपान्तरणमा धेरै ठूलो फड्को मार्ने सम्भावना त छैन तर साबिककै समस्या समाधान गर्ने गरी कार्यान्वयन भए पनि उल्लेख्य उपलब्धि हासिल हुनेछ । संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले ल्याएको बजेटसमेत पूर्ण कार्यान्वयन हुन सकेन भने मुख्य दल अर्थतन्त्रप्रति गम्भीर छैनन् भन्ने सन्देश मात्र जाने छैन, सर्वसाधारणमा निराशा चुलिनेछ ।

निजी क्षेत्रको आत्मविश्वास बढ्ने छैन । जसले लगानी निरुत्साहित मात्र हुने छैन, रोजगारी सिर्जनामा पनि अवरोध आउनेछ । फेरि पनि ऊर्जावान् युवा जनशक्ति विदेश पलायन भइरहने, रेमिट्यान्समा भर पर्नुपर्ने र अर्थतन्त्रको विद्यमान समस्यामै रुमल्लिरहनुपर्नेछ । यसकारण बजेट कार्यान्वयनमा कमजोरी देखाउने छुट सरकारलाई छैन ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully