गाउँ पस्यो विकास, सहर झरे जनता

बालबालिका जन्माउने क्रम जुन बिन्दुबाट घट्यो, त्यसै बिन्दुबाट हामीले नयाँ विद्यालयलाई स्वीकृति दिने कुरामा तीव्रता दियौं, जसको असर आज देखिएको छ

फाल्गुन २८, २०८१

चेतन अधिकारी

Development came to the village, people fell to the city

विकासको कुरा गर्दा नेपालमा पछिल्ला वर्षमा एउटा भनाइ चर्चित छ, ‘विकास उकालो लाग्यो, मान्छे ओरालो लागे ।’ देशभित्रको भूगोलमा बसोबास गर्ने मानिसलाई समान रूपमा सुविधा पुर्‍याउनु सरकारको दायित्व हो । त्यसैले तुलनात्मक रूपमा विकट भौगोलिक क्षेत्रका हिमाल र पहाडमा विकासको लहर पछिल्लो समयमा अलिक तीव्र छ ।

निर्माणका लागि नेपालमा आयात गरिएका आधुनिक एक्स्जाभेटर, बुलडोजर आदि भीरपहरामा सडक खन्दै अघि बढेपछि त्यसलाई हामीले विकासको लहरका रूपमा लियौं । नेपालमा विकास भन्नु नै सडक हो भन्ने मानसिकताका कारण अहिले सबैको ध्याउन्ना घरघरमै सडक पुर्‍याउनेमा छ । 

नेपालमा सबैभन्दा फस्टाएको विकास सडकमा नै हो । गाउँमा बाटो पुर्‍याउने र सडक ग्राभेल र पिच बनाउने नेता लोकप्रिय बनेका छन् । गाउँमा पुल बनाउने जनप्रतिनिधिकै वाहवाही छ । तर सडक निर्माण भएपछि त्यसबाट हामी के के आयात निर्यात गर्दछौं भन्ने दूरगामी योजना बनाउन हामी चुकेका छौं । तीनै तहका सरकारले सडक बनाइसकेपछि त्यसको उपयोगिताको पनि समीक्षा गर्नु जरुरी छ । 

पहिलो स्थानीय तहको निर्वाचनपछि लुम्बिनी प्रदेशका स्थानीय तहहरूले कुल विकास बजेटको करिब ९० प्रतिशत रकम सडक निर्माणमा खर्च गरे । बाँकी रकम भवनलगायतका पूर्वाधारमा खर्च भएको तथ्यांकले देखाउँछ । विकास र जनसंख्याबीच ठाउँठाउँमै खाडल छ । जसले गर्दा हाम्रा कतिपय संरचना प्रयोगै नभई जीर्ण हुने अवस्थामा पुगेका छन् । तराई होस् वा पहाड, हिमाल होस् वा उपत्यका– विकास भूगोललाई होइन, मानिसलाई चाहिएको हो । त्यसकारण जहाँ विकास हुन्छ, त्यहाँ मानिसको बसोबास हुनुपर्छ । जहाँ पूर्वाधार पुर्‍याइन्छ, त्यहाँ मानिस बस्न सक्ने वातावरण पनि बनाउनु जरुरी छ । 

पछिल्लो समय देशमा सडक र पुल पुर्‍याउने होडबाजीले आवश्यकताभन्दा बढी संरचना निर्माण गरेर बजेट दुरुत्साहन भइरहेको छ । यसको एउटा उदाहरण मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत घुर्मी खण्ड छेउमा ओखलढुंगा जोड्ने तीनवटा मोटरेबल पुल छन् । करिब २/३ किलोमिटरको दूरीमा यी पुल कत्तिको आवश्यक थिए होलान् ? ती पुलबाट दैनिक कति गाडी ओहोरदोहोर गर्लान् वा ती पुलमा दैनिक कति मानिस तर्लान् ? यो एउटा उदाहारण हो । यस्ता थुप्रै विकासका बेथिति हामीले सिर्जना गरेका छौं । 

तीनै तहका सरकार र तिनलाई सरकारमा पठाउने पार्टीले योजना बनाउँदा सडक, पुल, विद्यालय र स्वास्थ्य केन्द्रको कुरा उठाउँछन् । तर मान्छेका कुरा उठाउँदैनन् । प्रश्न उठ्न सक्छ– यी सबै पूर्वाधार मानिसका लागि हुन् नि ! अझ भनौं आफ्नै मतदातका लागि हुन् । नीति, योजना र बजेटको विनियोजनमा सम्बन्धित पक्षले मानिसको मूल्यांकनको सूची या त भुलिदिन्छन् या पुछारमा पारिदिन्छन् । 

जनसंख्यालाई बेवास्ता गरेर सरकारले योजना बनाउँदा आज कतिपय ठाउँमा विशाल भौतिक संरचना बनेका छन् तर त्यसलाई उपभोग गर्ने मानिस छैनन् । कतै मानिसको संख्या ठूलो छ तर भौतिक संरचना साना साना हुँदै गएका छन् । किन मानिस र भौतिक संरचनाको तालमेल नमिलेको होला ? यसको मुख्य कारण हाम्रा कतिपय योजना लहडमै छानिए, लहडमै कार्यान्वयन भए । संरचना निर्माणपछिका उपभोक्ताको आकलन हामीले गर्न सकेनौं वा गर्न चाहेनौं । बाह्य बसाइँसराइको उच्च चपेटामा परेको अर्घाखाँची जिल्लामा पुगेर लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पक्कै पनि यत्तिकै गाउँफर्क अभियान सञ्चालन गर्नुपर्ने घोषणा गरेका होइनन् । 

आचार्यको यो घोषणालाई पञ्चायतकालीन कार्यक्रमसँग जोडेर होइन, नयाँ परिभाषाका साथ लागू गर्नु उपयुक्त हुन्छ । नयाँ र गुणस्तरीय ढंगले बनेका पहाडी क्षेत्रका पिचमा गुड्ने गाडी छैनन्, हिँड्ने मानिस छैनन् । तथापि बाटो लम्बिने क्रम रोकिएको छैन । बसाइँसराइ मानिसको रोजाइको विषय हो । यो रोक्न सकिने विषय पनि होइन । 

मानिसका लागि भनेर बनाइएका यी पहाडी पूर्वाधारको सदुपयोग कसरी गर्ने त ? यसका लागि सरकारले बाँझो रहेका जग्गालाई सदुपयोगको नीति र कार्यक्रम ल्याउनुपर्छ । पहाडमा ठूला ठूला फार्म विकास गर्नुपर्दछ । माटो र हावापानी सुहाउँदा बाली लगाउनुपर्छ । जसले गर्दा तिनै फार्ममा काम गर्ने मजदुर, फार्ममा प्रयोग हुने मल, बीउ, विषादीलगायत सामग्री ओसारपसारमा सडक सदुपयोग हुन्छन् । त्यति मात्र होइन, ठूलो मात्रामा कृषि उत्पादन गरेपछि त्यसको व्यापारका लागि असंख्य मात्रामा ट्रक, ट्र्याक्टर गाउँ छिर्नेछन् । ठूलो मात्राको कृषि उत्पादनले गाउँमै उद्योगको माग गर्नेछ । जसले गर्दा रोजगारीका अवसर पनि सिर्जना हुनेछन् । यस्तो अवस्था आएपछि हिजो गाउँ छोडेकाहरू नफर्के पनि अरू नयाँ मानिस पहाडतिर उक्लने छन् । पहाड फेरि गुल्जार हुनेछ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले केही दिनअघि खाली भएका पहाड र पूर्वाधारलाई सदुपयोग गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने प्रस्ताव गरेका छन् । निजी क्षेत्रलाई पहाडमा आकर्षित गरी गाउँ, बेंसी, डाँडैभरि तरकारी, फलफूल, जडीबुटीको व्यावसायिक खेती, प्रशोधन उद्योग, कृषिमा आधारित पर्यटन र व्यवसायबाट कृषिमा आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ भन्ने उनको प्रस्ताव छ । 

योजना आयोग नेपालका विकास योजना बनाउने प्रमुख ठाउँ हो । त्यसै संस्थाका सदस्य श्रेष्ठको यो प्रस्तावलाई आगामी वर्षको नीति योजना तथा बजेटमा समेटेर कार्यान्वयनमा जाने हो भने देशैभरि यो माहोल सिर्जना हुनेछ । 

जसरी हिजो तराईमा प्रशस्त जमिन खाली हुँदा तीव्र औद्योगीकरण भयो, अब त्यसैगरी पहाड खाली भएका छन् । पूर्वाधार पुगेका छन् । जमिन सस्तो छ । यस्ता ठाउँमा कृषि आश्रित र अन्य उद्योग खोल्न देशी तथा विदेशी उद्योगपतिलाई सरकारले आह्वान गर्नुपर्छ । अर्बौं–खर्बौं लगानीमा बनाइएका पहाडी संरचनाको उचित सदुपयोग पनि हुनेछ । बिस्तारै यस्ता उद्योगले मानिसलाई पहाडमा बसोबासका लागि निम्तो पनि दिनेछन् ।

२०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएसँगै नेपालले उदार नीति अवलम्बन गर्‍यो । हामीले शिक्षा खुला गर्‍यौं । स्वास्थ्य खुला गर्‍यौं । दूरदराजका ठाउँमा मानिसका लागि पढ्ने विद्यालय नभएर निरक्षर हुनुपरेको बाध्यता थियो । जसले गर्दा जताजता जसको पहुँच पुग्छ, त्यता त्यता विद्यालय खोल्नै प्रतिस्पर्धा नै भयो । ठीक यही बेला निजी विद्यालय खोल्न पनि सरकारले सजिलो नीति ल्याइदियो ।

गाउँगाउँमा बोर्डिङ स्कुल खुले । नानीबाबुलाई अंग्रेजी भाषा सिक्न सहज भयो । प्रश्न कहाँ हो भने, हामीले जति विद्यालय खोल्यौं वा खोल्न दियौं, ती दीर्घकालका लागि आवश्यक थिए त ? हामीले त्यतातिर सोचेनौं । जतिबेला नेपालले व्यापक मात्रामा विद्यालयको विस्तार गर्‍यो, ठीक त्यति नै बेला नेपालमा विद्यालय जाने उमेरका बालबालिकाको संख्या घट्न थालेको थियो । बालबालिका जन्माउने क्रम जुन बिन्दुबाट घट्यो, त्यसै बिन्दुबाट हामीले नयाँ विद्यालयलाई स्वीकृति दिने कुरामा तीव्रता दियौं, जसको असर आज देखिएको छ । 

२०४८ सालको जनगणनामा पहिलो पटक ०–४ वर्षको जनसंख्याभन्दा ५–९ वर्ष उमेर समूहको संख्या धेरै देखियो । यो तथ्यांकले नेपालमा प्रजनन दर घटेको स्पष्ट सन्देश दिइसकेको थियो । विद्यालय धेरै भए, विद्यार्थी थोरै भए । सरकारलाई विद्यार्थीबिनाका शिक्षक बोझ भएका छन् । किनकि विद्यालय राखौं विद्यार्थी छैनन्, शिक्षक मात्र छन् । विद्यालय बन्द गरौं, स्थानीयवासीले अवरोध गर्छन् । स्थानीयवासीको विरोधका बीच विद्यालय बन्द गराएमा चुनावी राजनीति घातक हुन्छ । अर्कोतिर विद्यार्थी बसाइँ सरेर सहर वा तराई पसेका छन् । जहाँ शिक्षक न्यून छन् । विद्यार्थी असंख्य छन् । बसाइँसराइ र घट्दो प्रजनन दरले बिगारेको शिक्षक विद्यार्थीको असन्तुलनलाई सरकारी नीतिमार्फत सन्तुलनमा ल्याउन अब कत्ति पनि ढिला गर्नु हुँदैन । 

वास्तवमा हरेक भौगोलिक र प्रशासनिक इकाइमा फरक–फरक जनसांख्यिक विशेषता बोकेका मानिसको बसोबास रहेको हुन्छ । जस्तै– महिला, पुरुष, जातजाति, धर्म, भाषाभाषी, बालक, युवा, वृद्ध, आदिवासी आदि । यी व्यक्तिका जनसांख्यिक विशेषता हुन् । राज्यले जनसंख्याका यस्ता विशेषताको सूक्ष्म रूपमा अध्ययन र विश्लेषण गरेको हुनुपर्छ । समाज एकातिर र राजनीति अर्कातिर फर्किंदा देशले न सुशासन पाउँछ, न त विकास । जनताको समृद्ध र सुखी हुने चाहना पनि पूरा हुँदैन । त्यसैले समाजका आधारभूत विशेषतामा राजनीतिको ध्यान पुग्न जरुरी छ । सांसदहरूले कम्तीमा आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विशेषताको तथ्यांकीय हिसाब राख्न जरुरी छ ।

समाजमा ज्येष्ठ नागरिक कति छन् ? आगामी २० वर्षमा यो समूहको संख्या कति हुन्छ भन्ने न्यूनतम जानकारी दलका नेतामा हुनुपर्दछ । त्यसका आधारमा संघीयदेखि स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता विनियोजन गर्नुपर्दछ । यसैगरी, बालबालिका कति छन्, त्यसको तथ्य भयो भने मात्र ‘चाइल्ड केयर सेन्टर’, मन्टेश्वरी विद्यालय, बाल अस्पताल स्थापना गर्ने भन्ने कुराको निर्क्यौल हुन सक्छ । स्थानीय तहका जनप्रतिनिधिले आफूले नेतृत्व गरिरहेको साँधसिमानामा के–कस्ता मानिसको बसोबास छ ? उनीहरूका आवश्यकता के हुन् भन्ने कुराको हेक्का राख्नैपर्छ । 

केही महिनाअघि नीति, योजना र विकासमा जनसंख्या तथ्यांकको प्रयोग विषयमा प्रदेशसभाका सदस्यहरूबीचको एउटा अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले राखेको विचार यस सन्दर्भमा सान्दर्भिक छ । उनले भनेका थिए, ‘सरकारले तथ्यांक हेरेर बजेटको विनियोजन गर्ने भए रौतहट र महोत्तरीको साक्षरता दर यति कम हुने थिएन होला । तथ्यांकले जहाँको साक्षरता दर एकदमै न्यून देखायो, त्यहाँ शिक्षा सुधारका लागि थप बजेट विनियोजन गर्नुपर्ने हो । तर किन यस्तो हुन सकेको छैन ?’ 

अर्बौंको लगानीमा जनगणना हुने, करोडौंको लगानीमा विभिन्न सर्वेक्षण हुने तर ती तथ्यांक उपयोग नहुँदा एक त तथ्यांकमा लगानी बालुवा पानीजस्तो भएको छ । अर्कोतर्फ विंस. २१०० मा मध्यमस्तरको आय हुने मुलुकमा उक्लिने नेपाली सपना साकार हुन पनि कठिन हुन सक्छ । 

चेतन अधिकारी चेतन अधिकारी जनसांख्यिकी र बसाइँसराइसम्बन्धी विषयमा कलम चलाउँछन् ।

Link copied successfully