राजपरिवारको हत्यापछि सिर्जित राजनीतिक संकट र संस्थागत शून्यता तत्काल सम्बोधन गर्नुपर्ने भएकाले ज्ञानेन्द्रलाई राजा बनाइयो । त्यो प्राविधिक पहल थियो, प्राकृतिक थिएन । तर, नेपालको राजनीतिमा यो दरबार हत्याकाण्ड ‘नयाँ कोतपर्व’ बन्यो ।
अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र शाह भारततिर गइरहँदा नेपालमा भने राजतन्त्र फर्काउनुपर्छ भन्ने समूह उत्साहित देखियो । आजको नेपाल जोड्नमा देन भएको, शताब्दियौंदेखि शासन शक्तिको केन्द्रमा रहेको राजसंस्थाका शुभचिन्तक र समर्थक हुनु स्वाभाविक हो ।
पञ्चायतकालमै लाभान्वित पुस्ता हाल पनि सुरक्षा र प्रशासनिक नेतृत्वमा रहेका, राजावादी दल नै संसद्मा भएका बेला केही मानिस राजतन्त्रको वकालतमा लाग्नु असामान्य होइन ।
भारतमा भारतीय जनता पार्टी शक्तिमा आएपछि र उसको मातृ संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस) को सक्रियतामा नेपालमा हिन्दुत्वलाई प्रवर्द्धन गर्ने अघोषित नीतिमार्फत राजा फर्किने लोभमा ज्ञानेन्द्र शाह नियमित भारत र देशभित्रकै शक्तिपीठ धाउन सक्रिय देखिन्छन् ।
भारतको राजकीय खानदानकी पुत्रीका नाताले हिमानी र उनका सुपुत्र भारतीय दलको विश्वास बन्न सक्छन् भन्ने मनोविज्ञान पनि एकथरीको छ । सरकारको कमजोर अभिभावकत्व पाएको भाष्यलाई लिएर सेना फेरि ‘शाही’ बन्न लाग्नुपर्छ पनि भन्ठान्छन् । यता परिवर्तनका वाहक मानिने ठूला दलका नेता मिसनबाट विचलित हुँदा अति आलोचित छन् । जनता आक्रोशित छन् ।
अवकाशप्राप्त सहायकरथी केशरबहादुर भण्डारीको हालै प्रकाशित ‘संस्था र व्यवस्था ः असमञ्जसमा नेपाल’, तत्कालीन सैनिक सचिव रथी विवेककुमार शाहको ‘मैले देखेको दरबार’ र दीपेन्द्रको किशोरावस्था झेलेका शाही पार्श्ववत महासेनानी सुन्दरप्रताप रानाको ‘दरबारको दुःखान्त’ का साथै प्रत्यक्षदर्शीको बकाइले दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रको हातबाट भएको हो भन्नेमा एकमत देखिन्छ ।
यो हत्याकाण्ड थुप्रैले षड्यन्त्रका सिद्धान्त र कोणबाट विश्लेषण गर्न खोजे तर कसैले पनि अनुमानबाहेक ठोस आधार देखाउन सकेको देखिँदैन । तर दीपेन्द्रको प्रेममा दरबारको दखल नै देखिने कारण हो भन्नेमा सबैको एकमत छ । नेपाल सरकारबाट गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन पनि त्यही निष्कर्षमा पुगेको देखिन्छ ।
यही निष्कर्षका आधारमा आखिर राजसंस्था, देश र जनताको सुरक्षाका खातिर बलि चढ्न तयार हुनुपर्ने युवराजले किन आफ्नो वंशनाश गरेर राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको बाटो खने त ? कि वीरेन्द्रपछिका दुवैले जनमनमा ‘राज’ जमाउन सकेनन् ? यी आजका यक्ष प्रश्न हुन् । यसको राजनीतिक मात्र होइन, सामाजिक–सांस्कृतिक र मनोवैज्ञानिक विश्लेषण जरुरी छ ।
शिक्षा, संस्कार र शासक
दार्शनिक प्लेटोले भनेका थिए– राज्यमा सुशासन बनाउन र बर्करार राख्न आवश्यक पर्ने शक्ति, न्याय, कानुन, अधिकारजस्ता कुराको प्रयोग र सुनिश्चितताका लागि शासक नै योग्य चाहिन्छ । व्यक्तिको अन्तरनिहित गुण र त्यसलाई तिखार्न र निखार्न शिक्षा तथा तालिम जरुरी हुन्छ ।
जन्मजात क्षमता र उपयुक्त शिक्षाको संयोजनबाट योग्य शासक निर्माण गर्न सकिन्छ । शिक्षा र तालिम कुनै औपचारिक संस्थाबाट मात्र प्राप्त गर्ने कुरा होइन । घरपरिवार, शैक्षिक संस्था, साथीसंगत र सिंगो समाज नै व्यक्तित्व विकासका लागि आवश्यक पाठशाला र प्रयोगशाला हो । तर नेपाली राजदरबारको सन्दर्भमा यसको अभ्यास अरूको भन्दा भिन्न देखिन्छ ।
बाल मनोविज्ञान र स्वास्थ्यका लागि आमाको दूधको महत्त्व थाहा भए पनि रानीको स्वास्थ्य कमजोर हुने र सुन्दरता खस्किने डर र दबाबले दरबारमा धाईआमा राखिन्थ्यो । आमा–बासँग हाँसखेल गर्ने, रुने/कराउने, झैझगडा गर्ने र भावना पोख्ने, अभिभावकीय लाडप्यार र वात्सल्य सिञ्चित भएर हुर्किन पाउने बालअधिकारबाट समेत वञ्चित गरिन्थ्यो । धाईआमा र सुसारेको भरमा सिक्ने, हुर्किने–बढ्ने र अन्य बालबालिकाको सम्पर्कमा आउन नपाउने, सुरक्षा निगरानीसहितको बन्द माहोलमा हुर्किएको बालापन सामाजिक रूपले कति व्यावहारिक र मनोवैज्ञानिक रूपले स्वस्थ होला ?
दीपेन्द्रकै सन्दर्भमा आमाबासँगै पनि भेटघाटका लागि तालिका पर्खिनुपर्ने वा जाहेर गर्नुपर्ने दरबारिया प्रावधान थियो । युवावस्थाका शारीरिक, मानसिक, सामाजिक, शैक्षिक समस्या सुन्नु सुनाउन, छलफल गर्न र निकास खोज्नसमेत चाहेको समय अभिभावक पाउने अवस्था देखिँदैन । छुट्टै तर उही अवस्थामा रहेका भाइबहिनीसँगै हुर्किने अवसर मिलेन ।
आफन्त र नातेदारको सहज आवतजावत कठिनाइ, चिनजान, भेटघाटका लागि समेत औपचारिक समारोह पर्खिनुपर्ने, पारिवारिक जमघटमा पनि राजकीय आदत पछ्याउने सामाजिकीकरणले आफन्तप्रति आत्मीयता र अपनत्व विकास हुने वातावरण मिलेन । बाल र किशोरावस्थाका परिवर्तन र परिस्थितिलाई आफैंभित्र दबाउँदा उत्पन्न सवेगात्मक विकृति र आत्माकेन्द्रित मनोविज्ञान एक युवाले कसरी एक्लै व्यवस्थापन गर्छ ? उसको अभिभावक, परिवार र आफन्तप्रति प्रेमभाव र आस्था कसरी जागृत र जाहेर हुन्छ ?
अर्कोतिर, राजकुमार–भावी राजा सुरवीर हुनुपर्छ, हार्नु र हार मान्नु हुन्न भनेर धरहरा र त्रिशूलीमा हाम फालेको जंगबहादुरको दुष्साहसिक किंवदन्तीलाई राजकीय मानक मान्ने शिक्षा र आर्दशबाट दीक्षित कोही कति चिन्तनशील, सन्तुलित, मानवीय र वस्तुनिष्ठ हुन्छ ? औपचारिक शिक्षालयमा समेत उसलाई विद्यार्थी नभई राजकुमारको व्यवहार गर्ने, समकक्षी सहपाठीलाई समेत ऊ विशेष भएको भाव दिलाउने, विद्यालयमै गार्ड खटाउने अभ्यासले उनी आफू खास र अन्य सबैलाई अमान्य बनायो ।
राज्यको सेवा लिन नागरिकका रूपमा कुनै प्रशासनिक प्रक्रिया पछ्याउनु र अवसरका लागि प्रतिस्पर्धा गर्नु नपर्ने भयो । शिक्षादीक्षाका खातिर कक्षाकोठा धाउनु नपर्ने, पाठशाला/गुरु दरबारमा आउने भए । आर्थिक तथा वित्तीय व्यवस्थापन, परिवारिक जिम्मेवारी र पेसामा रुचि, चिन्ता र मिहिनेत नचाहिने भयो । शासककै रूपमा जन्मे–हुर्केको कसैले समाज, राज्यव्यवस्था र मानव जगत्को प्रयोग र भोगबाहेक सामाजिक सम्बन्धको अन्य आवश्यकता र महत्त्व किन खोज्न बुझ्न लाग्ने र ?
अर्कातिर व्यक्तिको जन्मसिद्ध र कानुन प्रदत्त सामान्य अधिकारसमेत कुल्चेर सधैं कर्तव्य, आदर्श र अपेक्षा मात्र लाद्ने दरबारिया शिक्षा र संस्कार मान्छेलाई मान्छेका रूपमा बाँच्न कहाँ दिन्छ र ? सिद्धान्ततः एउटा व्यक्तिको अधिकारको सम्मान र संरक्षण गर्नु अर्को व्यक्तिको कर्तव्य पनि बन्न आउँछ ।
अधिकार र कतर्व्यबीच अन्तरसम्बन्ध पनि झिनो रेखाले छुट्याउने हो । समाज परिवर्तनको अपेक्षा र लयमा दरबारको नीति र गति मिल्यो भने त्यति नै परम्परागत संस्थाको सुरक्षा र संस्थाप्रतिको नागरिकको आस्था, अपनत्व र औचित्य बढ्छ । अनि संस्थागत आयु पनि थपिँदै जान सक्छ । युरोपेली देशका राजसंस्थाको व्यवस्था र अवस्थाले पनि यसलाई प्रमाणित गरेका छन् ।
संस्कार र परम्परालाई रिट्ठो नबिराई पछ्याउनुलाई राष्ट्रिय र संस्थागत पहिचानको मानक मान्ने, शताब्दियौं अगाडिको समाज र सन्दर्भमा बने–मानेका विधि परम्परा समयसापेक्ष परिवर्तन र परिमार्जन नगर्ने अनि मिति गुज्रेका अनुदार अभ्यासको निरन्तरतामा लागेका कारण बेलायतको राजसंस्थासमेत विवादित मात्र भएको छैन, समस्या र संकट भोगिरहेको छ ।
पूर्वयुवराज्ञी डायनाको बिहेउत्तर प्रेमसम्बन्ध र रहस्यपूर्ण मृत्यु होस् वा अमेरिकी सिनेकर्मी मेघनसँग बेलायती राजकुमारको प्रेमविवाहले हल्लाएको राजदरबार यसका उदाहरण हुन् । सामान्य नागरिकलाई समेत जीवनसाथी छान्ने अधिकार सुनिश्चितता भएको आधुनिक समाजमा आफ्नै अधिकार तिलान्जली दिएर मात्र शासक बन्ने पाउने पूर्वसर्तमा राजकाजको जिम्मेवारी पाएको व्यक्तिले अर्काको अधिकार सुरक्षा गर्ने चिन्ता गर्छ, जनअपेक्षा वा मानवीय भावनाको आदर र कदर गर्छ भन्ठान्नु आफैंमा दरबारिया संस्कारको अर्को गम्भीर विरोधाभास हो ।
एकातिर अपराजित राजकुमार तयार पार्ने र अर्कोतिर व्यक्तिगत जीवन जिउन र जित्नै नदिन सधैं अवरोध बनिरहने दरबारको सोच हेर्दा त बन्दकोठामा थुनिएको बिरालो चुट्न खोज्दाको दृश्य अनुमान गर्न सकिन्छ । तीन दशकको सिँढी चढ्न लागेका राजकुमारको प्रेममा यो वा त्यो नाममा एकपछि अर्को बाधा सिर्जना गर्ने, उनले एक्लो निर्णय गरेमा दरबारलाई मान्य नहुने र सजायस्वरूप राजकुमारको हक र हैसियत खोसी भाइलाई दिने धम्की र दबाब बनाएपछि निस्किने परिणाम यस्तै भयानक हुन्छन् । भनिन्छ नि– मैं नहि हुँ तो कोई नहीं होगा, और मर्ता– क्या नहीं कर्ता ।
सुरक्षा संरचना र जवाफदेहिता
बाहिरबाट हेर्दा दरबारमा कडा सुरक्षा निगरानी देखिन्थ्यो, भित्र फितलो पाइयो । कानुनतः वर्जित उनका रुचिका सबैखाले धूमपान र मद्यपान उपलब्ध देखिए । ती चिज युवराज आफैं वा परिवार सदस्य वा अन्य कर्मचारी पक्कै व्यवस्था गर्दैनथे । उनको सुरक्षार्थ खटिएका सुरक्षा कर्मचारीको संलग्नता र सहयोगबिना सम्भव देखिँदैन । दायाँ र बायाँ दुवै हात समानान्तर प्रयोग गर्ने शार्पसुटर राजकुमारलाई आत्मसुरक्षाका लागि उपलब्ध हतियारबाहेक थप कैयौं अत्याधुनिक हतियार बिनाकारण उपलब्ध भए । त्यसमा दरबार र सुरक्षा जिम्मेवारले आँखा चिम्लिएको देखिन्छ ।
मनोचिकित्सकहरू भन्छन्– डिप्रेसनको उपचारबाट गुज्रिँदै गरेका व्यक्तिलाई लागूपदार्थ निषेध गरिन्छ । यस्तो रोग लामो समयसम्म रहे बढ्दै जाने, त्यसो भएमा बिरामीले असामान्य हर्कत गर्ने मात्र हैन कि आक्रमण गर्नेदेखि मर्न र मार्न पनि अग्रसर हुन सक्छ । यस्तो रोगको खास उपचार आफन्तको माया, सहज र सरल सम्बन्धका साथै रोग लग्नुको कारण पत्ता लगाएर समाधानको बाटो लिनु हो ।
लामो समयदेखि औषधोपचार गराइरहेका राजकुमार पटकपटक अस्वीकृत प्रेमी थिए, पछिल्लो प्रेमसमेत अस्वीकृत गरेर थप निराशा थपियो । उनको सुरक्षार्थ खटिएका जिम्मेवार सुरक्षाकर्मीले पनि यो मामलामा अन्देखा गरेको देखिन्छ, जुन उनी स्वयं र दरबारको सुरक्षाका दृष्टिले सबैभन्दा ठूलो लापरबाही हो ।
दरबारको सुरक्षामा जिम्मेवार र निर्णायक मानिने त्यही समूहले हरेक सदस्यको सुरक्षा र गार्डिङबाहेक सूचना राख्नु र ‘माथि जाहेर’ गर्नु मुख्य कार्यक्षेत्र भए पनि तिनले आफ्नो जिम्मेवारी सम्झौता गरी रिझाउन र जागिर सुरक्षित गरेर बेहत्तर अवसरको खोजीतिर लागेको भन्न मिल्ने थुप्रै अवस्था देखिन्छ । यदाकदा भएको जाहेरीमा पनि संवेदनशील नबन्ने राजा, अनि छोराको रुचि, चाहना र समस्या बुझ्नभन्दा पनि आफ्नो इगो र अडान उनीबाट पूरा गराउन उद्यत रानी कम जिम्मेवार देखिँदैनन् ।
शाही सुरक्षा पार्शवर्ती समूह यति शक्तिशाली मानिन्थ्यो कि जानकारहरू भन्छन्– पुच्छरले हात्ती हल्लाएको भन्याझैं तिनले राजपरिवारको निकटता र विश्वास प्रदर्शनका आधारमा नेपाली सेनाप्रमुख थर्कमान राख्थे । ती नेपाली सेना नै भएकाले संस्थागत जवाफदेहिता देखिनुपर्थ्यो । तर घटना क्षेत्र आफ्नो पहुँचबाहिर भएको भन्ने शाही पार्शवर्ती समूहको प्रस्टोक्ति र दरबारको सुरक्षा सेनाको जिम्मेवारी नभएको तत्कालीन सैन्य नेतृत्वको प्रतिक्रिया हेर्दा दरबारको सुरक्षा सुनिश्चितताका लागि कोही जवाफदेही थिएन भन्ने लाग्छ ।
अचम्म त राष्ट्रप्रमुखको सपरिवार हत्याकाण्डको विधिवत र विज्ञानसम्मत अध्ययन अनुसन्धान त परै जाओस् दरबारकै दबाबमा पोस्टमार्टमसमेत गरिएन । जिम्मेवार अधिकारीबाटै अनुसन्धान सुरु गर्नु र सहयोग लिनुको सट्टा दोषी देखिने कुनै ठोस तथ्य–प्रमाण वस्तुनिष्ठ आधारबिनै तिनलाई कारबाही (सेवामुक्त) गरेर राजा र राज्य उम्किए । यसरी राजा वीरेन्द्रको अन्त्येष्टिसँगै नेपालमा राजतन्त्रको प्राकृतिक अन्त्येष्टि भएको हो ।
सत्ता रूपान्तरण र वैधता
राजपरिवारको हत्यापछि सिर्जित राजनीतिक संकट र संस्थागत शून्यता तत्काल सम्बोधन गर्नुपर्ने भएकाले काण्ड छलेका ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । त्यो प्राविधिक पहल थियो, प्राकृतिक थिएन । सत्ता र शक्तिका लागि बाउआमा, दाइभाइसमेत बाँकी नराखेको इतिहासको साक्षी नेपालको राजनीतिमा उक्त हत्याकाण्ड पनि ‘नयाँ कोतपर्व’ बन्यो । सिंगो परिवार जीवित रहेका र तत्कालै लाभान्वित भएका हिसाबले ज्ञानेन्द्र शाहलाई दोष पनि लाग्यो ।
दरबारमा महत्त्वाकांक्षी रानी ऐश्वर्या गुटको नाइके, कुख्यात व्यापारी, सामाजिक छाप राम्रो नभएका भनेर ज्ञानेन्द्र, अनि लागूपदार्थको कुलतमा फसेको, कुटपिट र लडाइँ झगडा विशेषता नै बनाएका र ज्यान मारेको भएर पनि कारबाही नभोगेका आरोप लागेका पारसलाई समाजको एउटा तप्काले ‘हत्यारा’ ठान्यो ।
राजा बनेपछि स्वचालित बन्दुक पड्किएर दरबार हत्याकाण्ड भएको ‘झूटो सन्देश’ जनसमक्ष दिएको, अनुसन्धानमा कुनै पहल नगरेको, घटनास्थल पुनर्निर्माण गरी प्रमाण मेटाएको, राजनीतिक रूपले बहुदलीय प्रणाली मास्न उद्यत भएको र विद्रोही माओवादीभित्र पनि सैद्धान्तिक समूहलाई दमन गर्न संस्थापन शक्ति समूहलाई उकासेको जस्ता भाष्य सतहमा आए । दरबार हत्याकाण्डको तीन वर्षपछि ज्ञानेन्द्रले शाही कुमार्फत राज्यशक्ति हत्याए ।
निर्वाचित संसद् विगठन गरे । दलका नेता र कार्यकर्ता थुने । सञ्चार जगत्माथि नियन्त्रण गरे । नागरिक अधिकार निषेध मात्र गरेनन् सेना परिचालन गरेर शान्ति स्थापनाको नाममा अत्यधिक मानवअधिकारको उल्लंघन गरे । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको दुईखम्बे शासन व्यवस्था, २०४७ सालको संविधानको समेत हत्या गरेर अर्कोर् राजनीतिक संकट सिर्जना गरे ।
आन्तरिक तहमा राजनीतिक वैधता नपाएका ज्ञानेन्द्रको कुले बाहिरी लोकतान्त्रिक विश्वको पनि मान्यता गुमाएपछि बाहिरी सैन्य सहयोग लगभग पूरै बन्द भएर संकटबाट गुज्रिरहेको तत्कालीन शाही सेनासमेत राजाको कदममा साथ दिनबाट हच्किने अवस्था बन्यो । प्रणालीभित्र र बाहिर रहेका राजनीतिक दल एकठाउँ आउने वातावरण बन्यो र जनआन्दोलनमार्फत संसद् पुनःस्थापना भयो । त्यही संसद्ले राजाका अधिकार ‘सस्पेन्ड’ गर्यो ।
प्रधानमन्त्रीले नै राज्य र सरकार प्रमुखको काम गर्ने गरी नयाँ सरकार बन्यो । त्यसले संविधानसभाको निर्वाचन गरायो । २००७ सालपछिको राजनीतिक इतिहास स्मरण गर्दै नेपालमा राजतन्त्र र लोकतन्त्र सँगै जान नसक्ने निष्कर्षमा पुगेर संविधानसभाका ५६४ मध्ये ५६० सदस्यले गणतन्त्रको घोषणा गरे ।
राज/तन्त्र हिन्दुत्वको पर्याय होइन । जनमत नहेरी कुनै बाहिरी शक्तिले सहयोग गर्दैन, किनकि त्यसमा उसको हित हुँदैन । अन्तिम राजा कस्ता रहेछन् वा कस्ता भएछन् भनेर हेर्न पुगेको नयाँ–पुराना पुस्ताका सबै राजावादी पनि होइनन् । देशमा लोकतन्त्र नै संस्थागत भएका कारण ज्ञानेन्द्र स्वदेशमै बस्न र स्वतन्त्र घुम्न पाएका छन् । सेना उनको निजी होइन । जनताको करबाट सञ्चालित राष्ट्रिय संगठन हो । सेना ‘शाही’ छँदैमा जनमतविपरीत शाहसँग सती गएन ।
हिजोभन्दा फरक अबको राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा त्यस्तो अपेक्षा दिवास्वप्न हो । अनि यथास्थितिमा दल र नेताको आलोचना हुँदै आएको पनि तिनै सुधार्ने अपेक्षाले हो । यस्तो आलोचना ती पनि राज/संस्था जस्तै भए भनेर भएको हो । राज/संस्था जस्ता बन्ने क्षमता राखेनन् भनेर कदापि होइन । नपत्याए, राप्रपालाई सोधौं र गत निर्वाचनको मत पनि हेरौं । विगतलाई छिट्टै बिर्सने छुट नेपालीलाई पनि कहाँ छ र ?
