देश रित्तिएको गलत भाष्य

अस्थायी बसाइँ सरेका युवाहरूले वार्षिक करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्र धानिएको छ, त्यसैले बसाइँसराइका सकारात्मक पाटा पनि हेर्नुपर्छ

माघ २३, २०८१

चेतन अधिकारी

Misrepresentation that the country is empty

हरेक दिन त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानको बिदाइ कक्षमा बिदाइ र स्वागत गर्न जाने परिवारका सदस्य एवं आफन्तजनहरूको अपार भीड देखिन्छ । एकथरी आफन्तलाई रोजगारी वा अध्ययनका लागि सात समुद्रपारि पठाउनुपर्दा बिछोडको पीडामा हुन्छन् । अर्कोथरी खुसी, अर्थ, अनुभव र सीप बोकेर आफन्त घर फर्किएपछि हर्षित देखिन्छन् ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विमानस्थलका यी दुईथरी दृश्य मिसाएर ठूलो भीड देखाइन्छ । अनि विमानस्थलमा भेला भएका सबैलाई विदेश उड्ने तयारी गरेकाका रूपमा चित्रित गरिन्छ । के त्यहाँ भेला भएका सबै जना एकै दिन विदेश उड्न लागेका हुन् त ? के दैनिक त्यत्तिकै ठूलो भीड वैदेशिक यात्रामा निस्कन्छन् त ? के जेट विमान चढेर विदेश जानेहरू सबै नफर्किने गरी गएका हुन् त ? होइन ।

एयरपोर्टको दैनिक भेलाबारेमा त्यहाँका सुरक्षाकर्मीहरूलाई सोधें, ‘एक जनालाई बिदाइ गर्न कति जनासम्म आउँछन् ?’ उनले यकिन संख्या भन्न सकेनन् । तर सरदर एक जनालाई बिदाइ गर्न १ देखि ७ जनासम्म आउने गरेको उनले बताए । उनको भनाइमा सकेसम्म धेरै आफन्तलाई बोलाएर एयरपोर्टबाट बिदाइ हुन यात्रुले चाहना राख्दा एयरपोर्टको भीड झनै सघन बनेको छ । तिनै सुरक्षाकर्मीको भनाइमा विदेशबाट फर्किएका यात्रुलाई स्वागत गर्न कम्तीमा १ जनादेखि ५ जनासम्म आउने गरेका छन् । यस हिसाबले एक सय जना विदेश उड्नेलाई बिदाइ गर्न कम्तीमा एक सयदेखि ७ सय जना आफन्तहरू सहभागी हुने भए ।

एक सय जना विदेशबाट आउने आफन्तलाई लिन कम्तीमा एक सयदेखि ५ सय जना आफन्त एयरपोर्ट पुग्ने भए । यसले एयरपोर्टमा व्यापक भीडभाड बढेको हो । गाउँ नै विदेश गएको होइन, केही युवाहरू विदेशिएका हुन् । देशै विदेश गएको होइन, केही नागरिकहरू फर्किने गरी मात्रै हिँडेका हुन् । सानो संख्या मात्र नफर्किने गरी विदेशिएका हुन् । यो ठूलो चिन्ताको विषय होइन । संसारभरि मानिसहरू अवसरको खोजीमा देश/विदेश गरिरहन्छन्, अन्य देशहरूबाट ठूलो संख्यामा मानिसहरू नेपालमा पनि आउने गरेका छन् । 

सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवाहरू तत्कालीन इस्ट इन्डिया कम्पनीमा भर्ती भएसँगै वैदेशिक रोजगारीमा जान सुरु गरेका हुन् । सिमानाका भारतीय सहर नेपालीहरूका लागि श्रम बेच्ने केन्द्रका रूपमा परिचित भए । खासगरी पूर्वी नेपालसँग सिमाना जोडिएका सिक्किम, दार्जिलिङ आदि ठाउँमा रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरू पुगेको पाइन्छ । बर्मासम्म पनि घरबास गर्न नेपालीहरू पुगे । सन् १९७१ को भारतीय जनगणनाअनुसार नेपालमा जन्मिएका १३ लाख नेपालीहरू भारतमा रहेको तथ्यांक छ । अहिले त्यो संख्या बढेर ४०/५० लाखको संख्यामा पुगेको अनुमान छ ।

रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न उन्नत जीवनका चाहनाले मानिसहरू देश, विदेश गर्ने क्रम विश्वभरि नै चलिरहेको छ । विश्वलाई एउटा सानो गाउँका रूपमा परिभाषित गर्ने आधुनिक पुस्ताले एक देशबाट अर्कोमा पुग्नुलाई कुनै अनौठो मानिरहेको छैन । जुन देशको कानुन सहज, रोजगारी र उन्नत तलबको सम्भावना छ त्यहाँ मानिस स्वाभाविक रूपले आकर्षित हुन्छ नै । अमेरिकालगायतका समृद्ध देशहरूमा मानिस धेरै आकर्षित भएको त्यसैले हो । 

बिदेसिने नेपाली नागरिकको संख्या कति हो यकिन तथ्यांक छैन । केही समयपहिले अन्तर्राष्ट्रिय बसाइँसराइसम्बन्धी एउटा कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले करिब ७० लाख नेपाली देश बाहिर रहेको तथ्यांक पेस गरे । विदेशबाट फर्किने नेपालीको संख्याचाहिँ कति हो त ? औपचारिक तथ्यांक हाम्रो प्रणालीले अद्यावधिक गर्न सकेको छैन । 

विदेश जाने नेपालीको तथ्यांक अद्यावधिक गर्ने वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले फर्किनेको गर्दैनन् । अध्यागमन पार गरेर जाने नेपालीको संख्या मात्रै जोडेको जोड्यै गर्दछन् । फर्किने नेपाली घटाउँदैनन् । जसले गर्दा हामीलाई देशै रित्तिए जस्तो लाग्छ । यी निकायले फर्किनेको संख्या पनि देखाइदिने हो भने देश रित्तिएको भाष्य सहजै तोडिन्थ्यो । 

संसारको विकास देशदेशावरको बसाइँसराइबाट भएको हो । अन्तर्राष्ट्रिय बसाइँसराइका कारण कुनै पनि देश रित्तिएको अहिलेसम्म सुनिएको छैन । त्यसैले नेपालबाट विदेशतिर भइरहेको बसाइँसराइले देश रित्तिँदैन । नेपालबाट विदेशमा हुने बसाइँसराइको ठूलो हिस्सा रोजगारीका लागि हो । जसलाई अस्थायी बसाइँसराइ भनिन्छ ।

पासपोर्ट र भिसा लगाएर विदेश जानेहरूको अभिलेख राखिन्छ । तर त्योभन्दा ठूलो संख्यामा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मानिसहरू भारतका सहरमा मजदुरी गर्न जान्छन् । निश्चित समयपछि फर्किन्छन् पनि । मधेश प्रदेशबाट भारततर्फ भइरहेको अन्तर्राष्ट्रिय बसाइँसराइको खासै चर्चा नभए पनि नेपालगन्जको रुपैडिया नाका र पश्चिमी सिमाना गड्डाचौकीबाट भारत जानेको लर्को हेर्दा लाग्छ अन्तर्राष्ट्रिय बसाइँसराइकै कारण थुप्रै परिवारको गुजारा चलेको छ । 

रोजगारीको प्रबन्ध नहुँदा हाम्रा नौजवानहरू रोजगारीका लागि बसाइँ हिँड्न बाध्य छन् । तर उनीहरू गन्तव्य देशतिरै बस्न गएका होइनन् । केही महिना, वर्षपछि फर्किन्छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार २१ लाख ९० हजार नेपाली घर फर्किने गरी विदेशमा गएका छन् । उनीहरूलाई कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा जोडिएको छैन । फर्किने गरी विदेश गएका नेपालीको संख्या कुल जनसंख्याको करिब ७.४ प्रतिशत हो । अघिल्लो दशकमा साढे १९ लाख जति नेपालीहरू विदेशमा थिए । 

जनसांख्यिक लाभांशको अवस्थामा रहेको नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ नभएको भए के हुने थियो ? एकपटक सोचौं । खासगरी मध्यपूर्वका देश र भारतमा अस्थायी बसाइँ सरेर रोजगारी गर्न गएका युवाहरूले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलेको छ । देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ भाग यिनै बसाइँ सरुवाहरूले धानिदिएका छन् । 

सन् २०२३ मा करिब १५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको रहेछ । गत असोज महिनामा मात्र १ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । यो अर्थतन्त्रले व्यक्ति, परिवार, समाज हुँदै देश नै लाभान्वित भएको छ । माओवादी द्वन्द्वको प्रारम्भ हुनु र खाडी देशहरूसँग श्रम सम्झौता करिब सँगै भएको हो । जसका कारण माओवादी र सरकार पक्षको युद्ध चपेटामा परेका वा पर्न सक्ने सम्भावना रहेका ठूलो संख्याका युवाहरू वैदेशिक बसाइँसराइतर्फ आकर्षित भए । 

माओवादी द्वन्द्व चरम अवस्थामा पुगेका बेला देशको अर्थतन्त्र तहसनहस भइसकेको थियो । त्यसबेला अस्थायी बसाइँ सरेका युवाहरूले वार्षिक करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्र धानिएको हो । यिनै अस्थायी बसाइँ सरुवाले गर्दा गाउँगाउँमा नगदमा कारोबार भएको छ । ग्रामीण अर्थतन्त्र धानिएको छ । हाम्रो स्थानीय उत्पादनले अर्थतन्त्रमा टेवा दिन सकेको छैन । यो केवल निर्वाहमुखी छ । त्यसैले बसाइँसराइका नकारात्मक मात्र होइन सकारात्मक पाटा पनि हेर्नुपर्दछ । 

चीनका मानिस किन अमेरिका जान्छन् ? अस्ट्रेलियाका मानिसहरू किन अमेरिका नै ताक्छन् अथवा अमेरिकीहरू किन युरोप जान चाहन्छन् ? चिनियाँ व्यापारीहरू किन नेपालका गाउँगाउँमा सामान बिक्री गर्न हिँडिरहेका हुन्छन् ? नेपालमा जहाँ जहाँ बजार विस्तार सुरु हुन्छ त्यहाँ भारतीयहरू सैलुन खोल्न, पुराना सामान उठाउन किन पुगिहाल्छन् ? त्यसको कारण ती गाउँघर वा साना बजारमा चलायमान हुने अर्थतन्त्रले हो । त्यो अर्थतन्त्रको हिस्सा आफ्नो पोल्टामा पार्ने सम्भावनाको खोजी गर्नेहरू नयाँ ठाउँ खोज्दै भौतारिरहेका हुन्छन् । 

चीन र भारतमा भन्दा नेपाली गाउँमा उनीहरूको सीप, क्षमताले बढी मूल्य पाउने भएपछि ठूला र विकसित देशबाट नेपाल जस्ता देशमा बजार खोज्न अस्थायी बसाइँ सरुवा आउँछन् । त्यसैको उदाहरण हो नेपालका अधिकांश मोटर ग्यारेजमा भारतीय युवाहरूको उपस्थिति । यी दृष्टान्तबाट भन्न सकिन्छ नेपालबाट मात्र होइन, नेपालमा पनि अस्थायी बसाइँ सरुवाहरू आएका छन् । त्यसैले अन्तर्राष्ट्रिय बसाइँसराइले नेपाल रित्तिएको छैन । 

गाउँ छोडेकाहरूले गाउँको चिन्ता, देश छोडेकाहरूले देशको बढी चिन्ता गरेको देखिन्छ । सकारात्मकताका लागि यो सही नै हो । अहिले चिन्ता देश छोड्नेको भन्दा गाउँ छोड्नेहरूको गर्नुपर्ने देखिन्छ । किनकि देश बाहिर गएकाहरूमध्ये सानो संख्यामा मात्र स्थायी रूपले देश छाडेका हुन् तर गाउँ छोडेकाहरूले भने स्थायी रूपले छोडेका छन् ।

देशका ४३ प्रतिशत स्थानीय तहहरूमा जनसंख्याको वृद्धिदर ऋणात्मक छ । यसले के देखाउँछ भने नेपालको जनसंख्या बिस्तारै केन्द्रीकृत हुँदै छ । संघीयताले शक्ति र स्रोतको विकेन्द्रीकरण गर्ने भने पनि नागरिकले त्यस प्रकारको अनुभूति गरेका छैनन् । बरु सुविधा, शक्ति र स्रोत केन्द्रीकरण हुँदै गएको अनुभूति गरेर नै जनसंख्याको पनि केन्द्रीकरण हुँदै गएको हो । 

सन् १९७० को दशकतिर कोरिया समृद्धितर्फ लम्कने क्रममा थियो । त्यसबेला नेपालमा अहिले देखिए जस्ता बसाइँसराइका दृश्य देखिएका थिए । मानिसहरू ठूलो संख्यामा गाउँ छोडेर सहरमा आउन थालेका थिए । सहरको सुविधा गाउँले दिन सक्दैनथे । त्यसैले मानिसहरू उत्कृष्ट जीवनशैलीको चाहनामा राजधानीलगायतका सहरहरूमा बसाइँ सरे । कोरियाका सहरहरूले गाउँबाट आएका सबै मानिसहरूलाई भव्य स्वागत गरे । आन्तरिक बसाइँ सरुवालाई ती सहरहरूले मजदुरको आपूर्तिका रूपमा उपयोग गरे । तिनीहरूलाई लक्षित गरेर ठूल्ठूला उद्योगहरू खोले । 

गाउँबाट गएका बसाइँ सरुवा मजदुरका रूपमा उपयोग भए । सहरतिर बसाइँ सरेका कारण खाली भएका गाउँका खेतबारीलाई कोरियाले व्यापक मात्रामा कृषि फार्मका रूपमा सदुपयोग गर्‍यो । छोटो समयमा कोरियाले ठूलो मात्रामा अन्न उत्पादन गरेर निर्यात गर्न थाल्यो । बरु खेतीलाई नै उद्योगको रूप दिएर विदेशबाट काम गर्ने मजदुर आयात गर्न थाल्यो । त्यसैको निरन्तरता स्वरूप अहिले पनि कृषि मजदुरका रूपमा नेपालीहरू कोरिया गइरहेका छन् । 

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१९ मा २४ लाख ५७ हजार ४ सय ८५ जना विभिन्न देशबाट (नेपालीसहित) नेपाल प्रवेश गरेको देखिन्छ भने २५ लाख २५ हजार ९ सय विभिन्न प्रयोजनमा विदेश गएको देखिन्छ । यसले के बताउँछ भने नेपालबाट बाहिरिने मात्र होइन भित्रिनेको संख्या पनि उल्लेख्य नै छ । त्यसैले पनि भन्न सकिन्छ देश रित्तिएको छैन । सन् २०२४ को वर्षमा १६ लाख ७४ हजार २ सय २५ जना नेपालीहरू विदेश उडेका छन् । त्यसमध्ये ६६ हजार ८ सय ३५ अर्थात् कुल विदेश जानेको करिब ३ प्रतिशत मानिसहरू स्थायी बसोबासका लागि जाने गरेको देखियो । विदेशबाट फर्किनेको संख्या अध्यागमन विभागले उपलब्ध गराएन । विदेश जानेमध्ये सबैभन्दा बढी रोजगारीका लागि गएका छन् । विभागको तथ्यांकअनुसार ८ लाख ६ हजार ४ सय २२ जना रोजगारीका लागि गएका छन् । उनीहरू केही वर्ष रकम र सीपसहित स्वदेश फर्किन्छन् नै । 

नेपालीहरू विभिन्न १५ वटा उद्देश्यले विदेशमा अस्थायी बसाइँ सरेको देखिन्छ । भारतमा सन् २०११ को तथ्यांकअनुसार ५३ लाख भारतीयहरू अन्तर्राष्ट्रिय बसाइँसराइमा संलग्न भएका छन् । उनीहरू रोजगारीका लागि विभिन्न देशमा गएको देखिन्छ । अन्तर्राष्ट्रिय बसाइँसराइको प्रचलन अमेरिकामा पनि देखिन्छ । त्यहाँका २.७ प्रतिशत नागरिक अमेरिका छोडेर युरोप, क्यानडा जस्ता देशमा बसाइँ सर्दा रहेछन् । त्यहाँको जनसंख्याको करिब १३.७ प्रतिशत मानिसहरू संसारका अरू देशबाट बसाइँ सरेर अमेरिका पुग्छन् । 

त्यसैले अन्तर्राष्ट्रिय बसाइँसराइ संस्कृति र प्रगतिको द्योतक हो । यसबाट देश रित्तिहाल्ला भन्ने चिन्ता गर्नुभन्दा पनि स्वदेशमा आकर्षक वेतनसहितको रोजगारी सिर्जना गरेर हाम्रा युवालाई यहीं रमाउने वातावरण दिऊँ । कामलाई हेलाहोचो होइन सम्मान गरौं । तथापि मानवीय स्वभावअनुसार मानिस नयाँनयाँ ठाउँमा अवसरको खोजीमा जान्छ नै । यसलाई देखाएर देशै रित्तियो भन्न मिल्दैन । 

चेतन अधिकारी चेतन अधिकारी जनसांख्यिकी र बसाइँसराइसम्बन्धी विषयमा कलम चलाउँछन् ।

Link copied successfully