भर्चुअल दुनियाँमा सूचनाको अत्यधिक बोझ छ । हरेक कुरालाई अति सामान्यीकरण गर्ने प्रवृत्तिले भाष्य निर्माण र प्रवर्द्धनका लागि उत्तम परिवेश खडा गरेको छ । जसले संसारभर अर्थ/राजनीतिक संकथन नै बदलेको छ ।
सञ्चारका प्रसिद्ध प्राध्यापक वाल्टर फिसर भन्छन्– ‘मानिस स्वभावतः कथावाचक प्राणी (होमो न्यारान्स्) हो ।’ फिसरले पुस्तकै लेखेका छन्, ‘ह्युमन कम्युनिकेसन एज न्यारेसन’ (१९८७) । उनका अनुसार मानव सञ्चारका दुई मुख्य पाटा छन् : तार्किक (लजिकल प्याराडाइम) र कथनात्मक (न्यारेटिभ प्याराडाइम) ।
तार्किक पाटो युक्तिसंगत हुन्छ । तथ्य, प्रमाण र अनुसन्धान यसका आधार हुन् । यो वस्तुपरक हुन्छ । यसअनुसार मान्छेले तार्किक विश्लेषणका आधारमा निर्णय लिन्छ । कथनात्मक सञ्चार भने भावनात्मक हुन्छ । सत्य र यथार्थसँग यसको खास सरोकार हुँदैन ।
यो व्यक्तिपरक हुन्छ । यसअनुसार मान्छेले कथनात्मक तर्कसंगता (न्यारेटिभ र्यास्नालिटी) का आधारमा निर्णय लिन्छन् । फिसरको निष्कर्ष छ, कथनात्मक सञ्चारले तर्किक सञ्चारभन्दा सशक्त ढंगले जनविश्वास जित्छ र तिनका व्यवहार प्रभावित गर्छ ।
तर, कसरी ? सर्वप्रथम यहाँ कथन (न्यारेसन) के हो भन्ने बुझौं । हामीलाई बालखमा आमा/दिदीहरूले ‘जुम्राले पिपलको रुखमा लगेर झुन्ड्याउँछ’ भन्दै टाउकाको जुम्रा टिप्न फकाउने गरेको याद होला । पिरोल्दा ‘जोगीले लैजान्छ’ भनेर तर्साउने गरेको पनि सम्झना होला । हिन्दी फिल्म ‘सोले’मा आमाहरूले गाउँ–गाउँका बच्चालाई ‘सो जा, नहीं तो गब्बर आजाएगा’ भन्ने गरेको गज्जब प्रसंग छ ।
जुम्राले रुखमा झुन्ड्याउने, जोगीले लैजाने वा गाउँमा गब्बर आउने त कथा न थिए । तर, टाउकाका ज्रुमा, पिराह बालख या चलचित्रमा गब्बरको भय त यथार्थ हुन् । यसरी, घटनालाई कथामा बुनेर सुनाउँदा बच्चाहरूलाई बसमा राख्न सकियो । फिसरका अनुसार कथन विश्वासयोग्य तब हुन्छ, जब त्यसलाई विश्वसनीय ढंगले प्रस्तुत गरिन्छ, साथै उक्त कथा सम्भावित स्रोताका सोचाइ, भोगाइ, सन्दर्भ वा पूर्वधारणासँग मेल खान्छ । तसर्थ सुनेका र भनिएका सबै कुरा कथन बन्न सक्तैन ।
मानिसलाई तथ्य र तर्कले भन्दा ज्यादा कथन या कथाले छुन्छ । तार्किक संवादमा प्रतितर्कको ठाउँ हुन्छ, कथनमा अक्सर प्रतितर्क नै गौण हुन्छ । किनकि, कथन हाम्रो पूर्वाग्रह तथा भावनासँग जोडिएको हुन्छ । कथनात्मक सञ्चार वा कथनको समुच्च स्वरूप भाष्य हो । भाष्य सकारात्मक या नकारात्मक दुवै हुन सक्छ । भाष्यले नायकलाई खलनायक र खलनायकलाई नायक बनाउन सक्छ । रणनीतिक भाष्यकारले लक्षित स्रोताको पूर्वाग्रह र भावनालाई ख्याल गरेर नै कथा रचेका हुन्छन् ।
अहिले कथनात्मक सञ्चार वा भाष्यको युग हो । सम्पूर्ण परिवेश र पूर्वाधारै त्यस्तो सञ्चार प्रवर्द्धन गर्ने किसिमको छ । मानिसका हातहातमा स्मार्ट फोन छन् । सूचना सञ्जालमा पहुँच र सक्रिय उपस्थिति छ । तिनको सक्रियता सूचना उपभोक्ताका रूपमा मात्र सीमित छैन, उत्पादक तथा वितरकका रूपमा समेत जबरजस्त छ ।
तसर्थ, समाजशास्त्री म्यान्युयल क्यासल (२००९) भन्छन्, ‘हिजोआज प्रत्येक व्यक्ति स्वयं आमसञ्चारक भएका छन् ।’ सञ्जालमा ‘इन्फुल्न्सर’का रूपमा नयाँ ‘सेलिब्रेटी’को उदय त्यसैको नतिजा हो । साथै, भर्चुअल दुनियाँमा सूचनाको अत्यधिक बोझ छ । त्यसमाथि, हरेक कुरालाई अति सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता यावत् प्रवृत्तिले भाष्य निर्माण र प्रवर्द्धनका लागि उत्तम परिवेश बनेको छ, जसले संसारभर अर्थ/राजनीतिक संकथन नै बदलेको छ ।
राजनीतिमा भाष्यको प्रभाव
आममानिस प्रायः भाष्यबाट डोरिइरहेका हुन्छन् । तिनका विचार, बुझाइ र निर्णयमा प्रचलित भाष्यले प्रभावित पारेको हुन्छ । रणनीतिक रूपमा सिर्जित भाष्यले निर्वाचन परिणाम वा राज्यव्यवस्था नै उलटफेर गरिदिन सक्छ । संसारभर अप्रत्याशित चुनावी नतिजामा भाष्यको भूमिका जबरजस्त देखिन्छ ।
जस्तो, सन् १९९२ मा विल क्लिन्टन ‘मध्यमार्गी’ नेता तथा नेतृत्वको भाष्यमा उदाएका थिए । ‘थर्ड वे’ अर्थात् तेस्रो धारको नाराका साथ क्लिन्टनले आर्थिक दृष्टिले उदारवादी तर राजनीतिक रूपमा सामाजिक लोकतान्त्रिक कार्यक्रम अघि सारे, जुन मध्य–दक्षिणपन्थी तथा मध्य–उदारवादीे जनमत जित्न सफल भयो ।
बाराक ओबामा ‘चेन्ज’ अर्थात् परिवर्तनको नारासाथ उदाएका थिए भने ट्रम्प ‘अमेरिकालाई पुनः महान् बनाउने’ भाष्यसहित दुई–दुई पटक ह्वाइट हाउसमा पुग्न सफल भए । ‘ब्रेक्जिट’ अभियानमा समेत भाष्यको प्रभाव देखिन्छ । त्यसताका बेलायतीहरू उसै राजनीतिक संस्थापनसँग सन्तुष्ट थिएनन् । सँगसँगै, आप्रवासको बाढी, राष्ट्रिय सम्प्रभुता, सांस्कृतिक पहिचान र आर्थिक चिन्ता व्याप्त थियो, जसले अधिकांश बेलायती नागरिक युरोपेली संघबाट छुट्टिनुको विकल्प छैन भन्ने निष्कर्षमा पुगे ।
विकसित तथा सूचना साक्षरता ज्यादा भएका समाजमा त भाष्यले यतिसम्म प्रभाव पार्छ । वाक् स्वतन्त्रता संकुचित भएका, अल्पशिक्षित र ध्रुवीकृत समाजमा भाष्यको असर झन् चर्को पर्छ । भाष्यको उत्पादन र खपत दुवैका लागि त्यस्तो परिवेश उत्तम मानिन्छ । किनकि, त्यहाँ उदार, शिक्षित र राजनीतिक संस्कार भएका समाजमा जस्तो प्रति–भाष्य निर्माण, तथ्यजाँच, अनि खुला तथा तार्किक बहस सम्भव हुँदैन । तसर्थ, तथ्य र तर्क बेवास्ता गर्ने, अनि प्रचलित कथन या भाष्यमाथि विश्वास गर्ने परिस्थिति बन्छ ।
जस्तो, भारतीय मतदातालाई गुजरातमा मुख्यमन्त्री छँदा नरेन्द्र मोदीका कारनामा थाहा नभएको होइन । हजारभन्दा ज्यादा नागरिकको ज्यान जाने गरी भएका गुजरात दंगामा (सन् २००२) मोदी राज्यप्रशासनको भूमिकाप्रति जनता वाकिफ नै थिए । तैपनि तिनले सन् २०१४ को लोकसभा निर्वाचनमा ‘गुजरात मोडेल’ को भाष्य स्वीकार गरे, जसका सामु उनको विवादास्पद विगत गौण बन्न पुग्यो ।
भाष्यबाट निर्देशित नेपाली जनमत
नेपालमा पञ्चायती व्यवस्थालाई प्रवर्द्धन गर्न ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भन्ने भाष्य स्थापित गर्न खोजियो । विश्वव्यापी प्रजातान्त्रीकरणको तरंगमा उक्त व्यवस्था नै टिक्न सकेन । प्रजातन्त्र पुनःस्थापनापश्चात् हाम्रा सीमित दल र राजनीतिज्ञ नै सत्तामा घुमिरहेका छन् । तैपनि तिनले आफ्ना पक्षमा जबरजस्त भाष्य कोर्न सकेका छैनन्, जसकारण तिनका असल छवि स्थापित होस् ।
भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी बिम्ब बनेको थियो । उनको विगत, सत्ता दाउपेच र भूराजनीतिक प्रभावसँगै त्यो दिगो रहन सक्ने अवस्था थिएन । बरु, नेता तथा पार्टीहरू सत्ताको चास्नीमा डुब्दा कुशासन र भ्रष्टाचार मौलाएका छन् । परिणामतः दल र समग्र मुलुकको अवस्थाप्रति नकारात्मक भाष्य निर्माण भएका छन् । नेता, दलका व्यवहार तथा मुलुकको भविष्यप्रति नै जनमत नराम्रोसँग विभाजित बन्न पुगेको छ ।
भाष्यले जनमत कसरी प्रभावित पार्छ भन्ने सन्दर्भमा केही घरेलु उदाहरण हेरौं । नेपाली पत्रकारिता जगत्मा प्रशस्त समस्या छन् । स्वार्थसमूहको प्रभाव, लगानी अपारदर्शिता र अति दलीयकरणका कारण पत्रकारिता पेसा तथा पत्रकारहरूमाथि पनि प्रश्न उठेका छन् । यद्यपि, सबै पत्रकारलाई एकै डालोमा राख्न मिल्दैन । धेरै पत्रकार इमानदार छन् । न रोजगारीको सुनिश्चितता छ, न सामाजिक सुरक्षा । कुन बेला कसले धम्की दिन्छ, पत्तो हुँदैन । यसका बाबजुद पेसागत लगाव र पत्रकारिताको प्यासले अहोरात्र खटिएका छन् ।
यस्तैमा, रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री तथा सांसद सदस्यता च्युत भएलगत्तै दिएको ‘१२ भाइ’वाला अभिव्यक्ति सारा पत्रकार र नेपाली पत्रकारिताको मानमर्दन गर्न काफी भयो । करिब एक वर्षपछि लामिछाने स्वयंले उक्त टिप्पणी गलत भएको सार्वजनिक रूपमा स्वीकार गरे । तर, स्थापित भाष्य बदल्न सजिलो कहाँ छ र ? हिजोआज हरकोहीले समाचार र पत्रकारको कामप्रति चित्त नबुझ्नासाथ १२ ‘भाइ’को ट्याग लगाइहाल्छन् ।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग जोडिएको बाख्रासम्बन्धी प्रसंग छ । सरकार स्वयंले थापाले बाख्रा फार्मका लागि कृषि अनुदान माग गरे पनि त्यसनिम्ति कहिल्यै रकम निकास नभएको स्पष्ट पारिसकेको छ । तैपनि धेरै मानिस, विशेषतः गगन थापाप्रति पहिल्यै धारणा बनाएर बसेकाहरूलाई उक्त कथाप्रति बढी नै प्रेम देखिन्छ । यहाँनेर, प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानीसम्बन्धी प्रचारको प्रसंग पनि सान्दर्भिक हुन आउँछ, यद्यपि यो थप खोजीको विषय हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमार्फत ओलीको बाह्य लगानीसम्बन्धी सनसनीपूर्ण भिडियो सार्वजनिक भएसँगै धेरैले विश्वास गरे । अझ, तिनले तुरुन्तै पत्याए, जो पहिल्यै ओलीका आलोचक थिए ।
जनमानस जब यस्ता कथा स्वीकार गर्न खरबारीझैं खरिएर बसेका हुन्छन्, रोचक ढंगले प्रचारित कुनै पनि भाष्य डढेलोझैं सल्किन समय लाग्दैन । रविमाथि जारी अनुसन्धानमा पनि यो उत्तिकै लागू हुन्छ । यसमा आमसर्वसाधारणले सरकारलाई भन्दा रविलाई शंकाको सुविधा दिएको देखिन्छ । हजार तर्क गर्नुस्, कानुनी दफा पल्टाउनुस्, तर उनीहरू रविप्रति प्रतिशोध साँधिएको होइन भन्नेमा आशंका व्यक्त गर्छन् । त्यसैले भनिन्छ, न्याय दिएरमात्र हुँदैन, दिएको देखिनु पनि पर्छ ।
निराशाको भाष्यका ‘टेन्टाकल्स्’
नेपालमा राजनीतिकर्मी, दल, घटना, पात्र र भूराजनीतिसँग सम्बन्धित अनेकौं भाष्य छन् । भाष्यकै कारण एमाले नेता ईश्वर पोखरेलका ‘पानी ट्यांकी’ तथा कांग्रेस नेता रामशरण महतका त्रिपालवाला ‘मिम’ बने । पात्रलक्षित भाष्यको प्रभाव सीमित हुन्छ, तर संगठन, प्रणाली वा मुलुकप्रति लक्षित भाष्यको असर व्यापक र दीर्घकालीन हुन्छ ।
उदाहरणका लागि पुराना दल तथा नेतृत्वविरोधी भाष्य डढेलोझैं फैलिएको छ । चुनावताका ‘नो, नट अगेन’ नारा उसै आकर्षक बनेको होइन । त्यस्तै, नेपाली कांग्रेस भारतपरस्त अनि चीनप्रति कठोर, तर वामपन्थीहरू चीनपरस्त अनि भारतविरोधी भन्ने भाष्य दशकौंदेखि जीवन्त छ ।
केही वर्षयता सार्वजनिक संवादमा दुई जबरजस्त भाष्य छाएका छन् । एक, समाजमा आमनिराशा व्याप्त छ । दुई, देश बस्नलायक रहेन, विदेशिनु एकमात्र विकल्प हो । यी दुई भाष्य अन्तर्सम्बन्धित पनि छन् । यस्ता भाष्य बन्नुका पछाडि तीन मुख्य पक्ष छन् । एउटा, राज्यको कमजोर डेलिभरी तथा सार्वजनिक संस्थाहरूको खस्कँदो साख । दोस्रो, खुम्चँदो परम्परागत पत्रकारिता तथा ‘सिभिक स्पेस’ ।
र, तेस्रो सार्वजनिक बहसमा सञ्जालको जबरजस्त प्रभाव । सर्वप्रथम, राज्य र विशेषतः हरेक सरकारले जनअपेक्षा अनुसार न्यूनतम पनि ‘डेलिभरी’ गर्न सकेका छैनन् । यसमा चुक्दा स्वभावतः सत्ताविरोधी भावना बढ्छ । सार्वजनिक संस्थाहरू दलीयकरणले थलिएका छन् । ‘मेरिटोक्रेसी’ हरक्षेत्रमा शून्यप्रायः छ । सीप र क्षमता हुँदाहुँदै पनि दलीय जुवामा नारिन नसक्नेहरूसामु भाग्यलाई दोष दिने वा विदेश भासिनेबाहेक तेस्रो विकल्प दुर्लभ छ ।
दोस्रो, प्रविधिको कारण सिंगो पत्रकारिता क्षेत्र केही धराशायी बनेको छ । पत्रकारिता क्षेत्रको आर्थिक स्वास्थ्य कमजोर बन्दा ‘कन्टेन्ट’मा लगानी निकै न्यून छ । सामाजिक सञ्जालले अफवाह र भाष्यलाई चिरेर सार्वजनिक बहसलाई दिशानिर्देश गर्नुपर्ने पत्रकारिता क्षेत्र स्वयं सञ्जालसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको छ । साथै, सार्वजनिक सरोकार र आवाजविहीनका पक्षमा पैरवी गर्ने नागरिक समाज दलतन्त्रले शिथिल छ । तिनको स्थानसमेत सञ्जालले लिएको छ, जहाँ तर्कभन्दा कथन बिक्छ ।
तेस्रो, सामाजिक सञ्जालमार्फत हरेक पात्र, प्रसंग वा मुद्दाको अति सामान्यीकरण हुँदै आएको छ । सञ्जालमा कि अति राम्रा कुरा देखिन्छ, कि नराम्रा । जस्तै, विदेशमा बस्ने अधिकांश नेपालीका जीवनशैलीबारे प्रायः सुन्दर पक्ष चित्रण भएको पाइन्छ । विदेशिएका आफन्त साथीभाइले धेरै कमाएको, मिठो खाएका, संसार घुमेको, मोजमस्ती गरेको देखिन्छ ।
स्वदेशका अक्सर नराम्रा पक्ष चर्चामा आएको पाइन्छ । जस्तो, विगतका तुलनामा गाउँमा बाटाघाटा, शिक्षा र स्वास्थ्य केन्द्रहरू पुगेका छन्, तर युवा पलायनले जमिन बाँझिएका छन् । गाउँघरमा बच्चा र युवा भेटिँदैनन् । विगतमा बेरोजगार र सीप नभएका युवा वैदेशिक रोजगारीमा जान्थे ।
अहिले छँदाखाँदाका जागिर र घरगाडी जोडिसकेका मानिस पनि पलायन भएका छन् । सञ्जालको चित्रणमा सच्चाइ नभएको होइन । जब यस्ता मुद्दा र प्रसंग सार्वजनिक बहसमा छाउँछ, अनि त्यसलाई अति सामान्यीकरण गरिन्छ, जनमानसमा विदेशमोह र स्वदेशप्रति वितृष्णा स्वाभाविक रूपमा बढ्छ ।
आमनिराशा एउटा गहन अनुसन्धानको मुद्दा हो । तर, यो भाष्य बनिसकेको छ । अब हामीले बुझ्नु र जनमानसलाई बुझाउनुपर्ने के हो भने आम निराशाका अभिव्यक्ति तथ्य हो वा भाष्य ? फिसरको शब्दमा भन्ने हो भने, यस सन्दर्भमा हामी तार्किक बहस गरिरहेका छौं या कथा हालिरहेका छौं ? यस्ता कैयौं उदाहरण छन्, जसमा हामीले यथार्थ या भाष्यको भेद छुट्याउनु जरुरी छ । चुनावलगायत अन्य महत्त्वपूर्ण सार्वजनिक निर्णयहरूमा यस्ता प्रश्न अझ अहम् बन्न जान्छन् ।
उपसंहार
भाष्यको चक्रव्यूहबाट निस्कन सजिलो छैन । लोकप्रियतावादको हुरीमा कामयावी सरकार तथा राजनीतिक नेतृत्व त भाष्यको भाषमा भासिएका छन् । हामीकहाँ त राज्यको ‘डेलिभरी’ नै शून्यप्रायः छ । संस्थाहरूप्रति जनविश्वास उडेको छ । सार्वजनिक बहस चरम ध्रुवीकृत छ । यस्तो अवस्थामा राज्य, राजनीतिक दल तथा नेतृत्व र सरकारविरोधी कुनै पनि भाष्यको खपत द्रुत र व्यापक हुन्छ ।
स्थापित भाष्यलाई चिर्न प्रतिभाष्य कोर्न सक्नु सशक्त रणनीति हो । तर त्यो गफ गरेजस्तो सजिलो त हुँदैन । भाष्य तब खण्डन गर्न सकिन्छ, जब जनविश्वास जित्ने काम हुन्छ । फिसरले भनेझैं जनताले तब प्रतिभाष्यमा विश्वास गर्छन्, जब त्यस्ता कामले तिनका सोच, अपेक्षा र आवश्यकतासँग मेल खान्छ ।
तसर्थ, संगठन, प्रणाली वा मुलुकबारे स्थापित भाष्य चिर्न राज्यको सशक्त डेलिभरी र सुशासनको सुनिश्चितता पहिलो सर्त हो । ‘मेरिट’लाई आत्मसात् गर्न सक्नुपर्यो । गरें भनेरमात्र पुग्दैन, गरेको देखिनुपर्यो । दोस्रो, आलोचनात्मक चेतसहित सशक्त र प्रभावकारी सार्वजनिक बहसको सुनिश्चितता हुनुपर्यो । त्यसनिम्ति दलका कार्यकर्ता र समर्थकका झुन्ड तयार गरेरमात्र त हुँदैन ।
स्वतन्त्र, निष्पक्ष र सशक्त सञ्चार जगत् तथा नागरिक समाज जरुरी हुन्छ । उल्लेखित दुई पक्ष सशक्त र सुनिश्चित हुनासाथ भाष्य निर्माणमा सञ्जालको हस्तक्षेप स्वतः कम हुन्छ । साथै, राज्य, शैक्षिक संस्था, राजनीतिक संगठन र घरपरिवारहरूले सञ्जालमा उपलब्ध सूचनाको खपत तथा सम्भावित दुरुपयोगका सन्दर्भमा मातहतका निकाय वा सदस्यलाई सचेत गराउन सक्नुपर्छ । यति गर्न सक्दा, फिसरले भनेझैं कथनमा आधारित संवाद कमजोर हुने तथा तार्किक संवाद बढ्न जान्छ । अर्थात्, भाष्यको असर न्यून गर्न सकिन्छ, यद्यपि उन्मूलन नै गर्न भने सम्भव छैन ।
