भाष्यको चक्रव्यूहमा नेपाली समाज

भर्चुअल दुनियाँमा सूचनाको अत्यधिक बोझ छ । हरेक कुरालाई अति सामान्यीकरण गर्ने प्रवृत्तिले भाष्य निर्माण र प्रवर्द्धनका लागि उत्तम परिवेश खडा गरेको छ । जसले संसारभर अर्थ/राजनीतिक संकथन नै बदलेको छ । 

पुस ४, २०८१

लेखनाथ पाण्डे

Nepali society in the labyrinth of commentary

सञ्चारका प्रसिद्ध प्राध्यापक वाल्टर फिसर भन्छन्– ‘मानिस स्वभावतः कथावाचक प्राणी (होमो न्यारान्स्) हो ।’ फिसरले पुस्तकै लेखेका छन्, ‘ह्युमन कम्युनिकेसन एज न्यारेसन’ (१९८७) । उनका अनुसार मानव सञ्चारका दुई मुख्य पाटा छन् : तार्किक (लजिकल प्याराडाइम) र कथनात्मक (न्यारेटिभ प्याराडाइम) ।

तार्किक पाटो युक्तिसंगत हुन्छ । तथ्य, प्रमाण र अनुसन्धान यसका आधार हुन् । यो वस्तुपरक हुन्छ । यसअनुसार मान्छेले तार्किक विश्लेषणका आधारमा निर्णय लिन्छ । कथनात्मक सञ्चार भने भावनात्मक हुन्छ । सत्य र यथार्थसँग यसको खास सरोकार हुँदैन ।

यो व्यक्तिपरक हुन्छ । यसअनुसार मान्छेले कथनात्मक तर्कसंगता (न्यारेटिभ र्‍यास्नालिटी) का आधारमा निर्णय लिन्छन् । फिसरको निष्कर्ष छ, कथनात्मक सञ्चारले तर्किक सञ्चारभन्दा सशक्त ढंगले जनविश्वास जित्छ र तिनका व्यवहार प्रभावित गर्छ ।

तर, कसरी ? सर्वप्रथम यहाँ कथन (न्यारेसन) के हो भन्ने बुझौं । हामीलाई बालखमा आमा/दिदीहरूले ‘जुम्राले पिपलको रुखमा लगेर झुन्ड्याउँछ’ भन्दै टाउकाको जुम्रा टिप्न फकाउने गरेको याद होला । पिरोल्दा ‘जोगीले लैजान्छ’ भनेर तर्साउने गरेको पनि सम्झना होला । हिन्दी फिल्म ‘सोले’मा आमाहरूले गाउँ–गाउँका बच्चालाई ‘सो जा, नहीं तो गब्बर आजाएगा’ भन्ने गरेको गज्जब प्रसंग छ ।

जुम्राले रुखमा झुन्ड्याउने, जोगीले लैजाने वा गाउँमा गब्बर आउने त कथा न थिए । तर, टाउकाका ज्रुमा, पिराह बालख या चलचित्रमा गब्बरको भय त यथार्थ हुन् । यसरी, घटनालाई कथामा बुनेर सुनाउँदा बच्चाहरूलाई बसमा राख्न सकियो । फिसरका अनुसार कथन विश्वासयोग्य तब हुन्छ, जब त्यसलाई विश्वसनीय ढंगले प्रस्तुत गरिन्छ, साथै उक्त कथा सम्भावित स्रोताका सोचाइ, भोगाइ, सन्दर्भ वा पूर्वधारणासँग मेल खान्छ । तसर्थ सुनेका र भनिएका सबै कुरा कथन बन्न सक्तैन ।

मानिसलाई तथ्य र तर्कले भन्दा ज्यादा कथन या कथाले छुन्छ । तार्किक संवादमा प्रतितर्कको ठाउँ हुन्छ, कथनमा अक्सर प्रतितर्क नै गौण हुन्छ । किनकि, कथन हाम्रो पूर्वाग्रह तथा भावनासँग जोडिएको हुन्छ । कथनात्मक सञ्चार वा कथनको समुच्च स्वरूप भाष्य हो । भाष्य सकारात्मक या नकारात्मक दुवै हुन सक्छ । भाष्यले नायकलाई खलनायक र खलनायकलाई नायक बनाउन सक्छ । रणनीतिक भाष्यकारले लक्षित स्रोताको पूर्वाग्रह र भावनालाई ख्याल गरेर नै कथा रचेका हुन्छन् । 

अहिले कथनात्मक सञ्चार वा भाष्यको युग हो । सम्पूर्ण परिवेश र पूर्वाधारै त्यस्तो सञ्चार प्रवर्द्धन गर्ने किसिमको छ । मानिसका हातहातमा स्मार्ट फोन छन् । सूचना सञ्जालमा पहुँच र सक्रिय उपस्थिति छ । तिनको सक्रियता सूचना उपभोक्ताका रूपमा मात्र सीमित छैन, उत्पादक तथा वितरकका रूपमा समेत जबरजस्त छ ।

तसर्थ, समाजशास्त्री म्यान्युयल क्यासल (२००९) भन्छन्, ‘हिजोआज प्रत्येक व्यक्ति स्वयं आमसञ्चारक भएका छन् ।’ सञ्जालमा ‘इन्फुल्न्सर’का रूपमा नयाँ ‘सेलिब्रेटी’को उदय त्यसैको नतिजा हो । साथै, भर्चुअल दुनियाँमा सूचनाको अत्यधिक बोझ छ । त्यसमाथि, हरेक कुरालाई अति सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता यावत् प्रवृत्तिले भाष्य निर्माण र प्रवर्द्धनका लागि उत्तम परिवेश बनेको छ, जसले संसारभर अर्थ/राजनीतिक संकथन नै बदलेको छ । 

राजनीतिमा भाष्यको प्रभाव

आममानिस प्रायः भाष्यबाट डोरिइरहेका हुन्छन् । तिनका विचार, बुझाइ र निर्णयमा प्रचलित भाष्यले प्रभावित पारेको हुन्छ । रणनीतिक रूपमा सिर्जित भाष्यले निर्वाचन परिणाम वा राज्यव्यवस्था नै उलटफेर गरिदिन सक्छ । संसारभर अप्रत्याशित चुनावी नतिजामा भाष्यको भूमिका जबरजस्त देखिन्छ ।

जस्तो, सन् १९९२ मा विल क्लिन्टन ‘मध्यमार्गी’ नेता तथा नेतृत्वको भाष्यमा उदाएका थिए । ‘थर्ड वे’ अर्थात् तेस्रो धारको नाराका साथ क्लिन्टनले आर्थिक दृष्टिले उदारवादी तर राजनीतिक रूपमा सामाजिक लोकतान्त्रिक कार्यक्रम अघि सारे, जुन मध्य–दक्षिणपन्थी तथा मध्य–उदारवादीे जनमत जित्न सफल भयो । 

बाराक ओबामा ‘चेन्ज’ अर्थात् परिवर्तनको नारासाथ उदाएका थिए भने ट्रम्प ‘अमेरिकालाई पुनः महान् बनाउने’ भाष्यसहित दुई–दुई पटक ह्वाइट हाउसमा पुग्न सफल भए । ‘ब्रेक्जिट’ अभियानमा समेत भाष्यको प्रभाव देखिन्छ । त्यसताका बेलायतीहरू उसै राजनीतिक संस्थापनसँग सन्तुष्ट थिएनन् । सँगसँगै, आप्रवासको बाढी, राष्ट्रिय सम्प्रभुता, सांस्कृतिक पहिचान र आर्थिक चिन्ता व्याप्त थियो, जसले अधिकांश बेलायती नागरिक युरोपेली संघबाट छुट्टिनुको विकल्प छैन भन्ने निष्कर्षमा पुगे ।

विकसित तथा सूचना साक्षरता ज्यादा भएका समाजमा त भाष्यले यतिसम्म प्रभाव पार्छ । वाक् स्वतन्त्रता संकुचित भएका, अल्पशिक्षित र ध्रुवीकृत समाजमा भाष्यको असर झन् चर्को पर्छ । भाष्यको उत्पादन र खपत दुवैका लागि त्यस्तो परिवेश उत्तम मानिन्छ । किनकि, त्यहाँ उदार, शिक्षित र राजनीतिक संस्कार भएका समाजमा जस्तो प्रति–भाष्य निर्माण, तथ्यजाँच, अनि खुला तथा तार्किक बहस सम्भव हुँदैन । तसर्थ, तथ्य र तर्क बेवास्ता गर्ने, अनि प्रचलित कथन या भाष्यमाथि विश्वास गर्ने परिस्थिति बन्छ ।

जस्तो, भारतीय मतदातालाई गुजरातमा मुख्यमन्त्री छँदा नरेन्द्र मोदीका कारनामा थाहा नभएको होइन । हजारभन्दा ज्यादा नागरिकको ज्यान जाने गरी भएका गुजरात दंगामा (सन् २००२) मोदी राज्यप्रशासनको भूमिकाप्रति जनता वाकिफ नै थिए । तैपनि तिनले सन् २०१४ को लोकसभा निर्वाचनमा ‘गुजरात मोडेल’ को भाष्य स्वीकार गरे, जसका सामु उनको विवादास्पद विगत गौण बन्न पुग्यो । 

भाष्यबाट निर्देशित नेपाली जनमत

नेपालमा पञ्चायती व्यवस्थालाई प्रवर्द्धन गर्न ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भन्ने भाष्य स्थापित गर्न खोजियो । विश्वव्यापी प्रजातान्त्रीकरणको तरंगमा उक्त व्यवस्था नै टिक्न सकेन । प्रजातन्त्र पुनःस्थापनापश्चात् हाम्रा सीमित दल र राजनीतिज्ञ नै सत्तामा घुमिरहेका छन् । तैपनि तिनले आफ्ना पक्षमा जबरजस्त भाष्य कोर्न सकेका छैनन्, जसकारण तिनका असल छवि स्थापित होस् ।

भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी बिम्ब बनेको थियो । उनको विगत, सत्ता दाउपेच र भूराजनीतिक प्रभावसँगै त्यो दिगो रहन सक्ने अवस्था थिएन । बरु, नेता तथा पार्टीहरू सत्ताको चास्नीमा डुब्दा कुशासन र भ्रष्टाचार मौलाएका छन् । परिणामतः दल र समग्र मुलुकको अवस्थाप्रति नकारात्मक भाष्य निर्माण भएका छन् । नेता, दलका व्यवहार तथा मुलुकको भविष्यप्रति नै जनमत नराम्रोसँग विभाजित बन्न पुगेको छ । 

भाष्यले जनमत कसरी प्रभावित पार्छ भन्ने सन्दर्भमा केही घरेलु उदाहरण हेरौं । नेपाली पत्रकारिता जगत्मा प्रशस्त समस्या छन् । स्वार्थसमूहको प्रभाव, लगानी अपारदर्शिता र अति दलीयकरणका कारण पत्रकारिता पेसा तथा पत्रकारहरूमाथि पनि प्रश्न उठेका छन् । यद्यपि, सबै पत्रकारलाई एकै डालोमा राख्न मिल्दैन । धेरै पत्रकार इमानदार छन् । न रोजगारीको सुनिश्चितता छ, न सामाजिक सुरक्षा । कुन बेला कसले धम्की दिन्छ, पत्तो हुँदैन । यसका बाबजुद पेसागत लगाव र पत्रकारिताको प्यासले अहोरात्र खटिएका छन् ।

यस्तैमा, रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्री तथा सांसद सदस्यता च्युत भएलगत्तै दिएको ‘१२ भाइ’वाला अभिव्यक्ति सारा पत्रकार र नेपाली पत्रकारिताको मानमर्दन गर्न काफी भयो । करिब एक वर्षपछि लामिछाने स्वयंले उक्त टिप्पणी गलत भएको सार्वजनिक रूपमा स्वीकार गरे । तर, स्थापित भाष्य बदल्न सजिलो कहाँ छ र ? हिजोआज हरकोहीले समाचार र पत्रकारको कामप्रति चित्त नबुझ्नासाथ १२ ‘भाइ’को ट्याग लगाइहाल्छन् ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग जोडिएको बाख्रासम्बन्धी प्रसंग छ । सरकार स्वयंले थापाले बाख्रा फार्मका लागि कृषि अनुदान माग गरे पनि त्यसनिम्ति कहिल्यै रकम निकास नभएको स्पष्ट पारिसकेको छ । तैपनि धेरै मानिस, विशेषतः गगन थापाप्रति पहिल्यै धारणा बनाएर बसेकाहरूलाई उक्त कथाप्रति बढी नै प्रेम देखिन्छ । यहाँनेर, प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानीसम्बन्धी प्रचारको प्रसंग पनि सान्दर्भिक हुन आउँछ, यद्यपि यो थप खोजीको विषय हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमार्फत ओलीको बाह्य लगानीसम्बन्धी सनसनीपूर्ण भिडियो सार्वजनिक भएसँगै धेरैले विश्वास गरे । अझ, तिनले तुरुन्तै पत्याए, जो पहिल्यै ओलीका आलोचक थिए ।

जनमानस जब यस्ता कथा स्वीकार गर्न खरबारीझैं खरिएर बसेका हुन्छन्, रोचक ढंगले प्रचारित कुनै पनि भाष्य डढेलोझैं सल्किन समय लाग्दैन । रविमाथि जारी अनुसन्धानमा पनि यो उत्तिकै लागू हुन्छ । यसमा आमसर्वसाधारणले सरकारलाई भन्दा रविलाई शंकाको सुविधा दिएको देखिन्छ । हजार तर्क गर्नुस्, कानुनी दफा पल्टाउनुस्, तर उनीहरू रविप्रति प्रतिशोध साँधिएको होइन भन्नेमा आशंका व्यक्त गर्छन् । त्यसैले भनिन्छ, न्याय दिएरमात्र हुँदैन, दिएको देखिनु पनि पर्छ ।

निराशाको भाष्यका ‘टेन्टाकल्स्’

नेपालमा राजनीतिकर्मी, दल, घटना, पात्र र भूराजनीतिसँग सम्बन्धित अनेकौं भाष्य छन् । भाष्यकै कारण एमाले नेता ईश्वर पोखरेलका ‘पानी ट्यांकी’ तथा कांग्रेस नेता रामशरण महतका त्रिपालवाला ‘मिम’ बने । पात्रलक्षित भाष्यको प्रभाव सीमित हुन्छ, तर संगठन, प्रणाली वा मुलुकप्रति लक्षित भाष्यको असर व्यापक र दीर्घकालीन हुन्छ ।

उदाहरणका लागि पुराना दल तथा नेतृत्वविरोधी भाष्य डढेलोझैं फैलिएको छ । चुनावताका ‘नो, नट अगेन’ नारा उसै आकर्षक बनेको होइन । त्यस्तै, नेपाली कांग्रेस भारतपरस्त अनि चीनप्रति कठोर, तर वामपन्थीहरू चीनपरस्त अनि भारतविरोधी भन्ने भाष्य दशकौंदेखि जीवन्त छ । 

केही वर्षयता सार्वजनिक संवादमा दुई जबरजस्त भाष्य छाएका छन् । एक, समाजमा आमनिराशा व्याप्त छ । दुई, देश बस्नलायक रहेन, विदेशिनु एकमात्र विकल्प हो । यी दुई भाष्य अन्तर्सम्बन्धित पनि छन् । यस्ता भाष्य बन्नुका पछाडि तीन मुख्य पक्ष छन् । एउटा, राज्यको कमजोर डेलिभरी तथा सार्वजनिक संस्थाहरूको खस्कँदो साख । दोस्रो, खुम्चँदो परम्परागत पत्रकारिता तथा ‘सिभिक स्पेस’ ।

र, तेस्रो सार्वजनिक बहसमा सञ्जालको जबरजस्त प्रभाव । सर्वप्रथम, राज्य र विशेषतः हरेक सरकारले जनअपेक्षा अनुसार न्यूनतम पनि ‘डेलिभरी’ गर्न सकेका छैनन् । यसमा चुक्दा स्वभावतः सत्ताविरोधी भावना बढ्छ । सार्वजनिक संस्थाहरू दलीयकरणले थलिएका छन् । ‘मेरिटोक्रेसी’ हरक्षेत्रमा शून्यप्रायः छ । सीप र क्षमता हुँदाहुँदै पनि दलीय जुवामा नारिन नसक्नेहरूसामु भाग्यलाई दोष दिने वा विदेश भासिनेबाहेक तेस्रो विकल्प दुर्लभ छ ।

दोस्रो, प्रविधिको कारण सिंगो पत्रकारिता क्षेत्र केही धराशायी बनेको छ । पत्रकारिता क्षेत्रको आर्थिक स्वास्थ्य कमजोर बन्दा ‘कन्टेन्ट’मा लगानी निकै न्यून छ । सामाजिक सञ्जालले अफवाह र भाष्यलाई चिरेर सार्वजनिक बहसलाई दिशानिर्देश गर्नुपर्ने पत्रकारिता क्षेत्र स्वयं सञ्जालसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको छ । साथै, सार्वजनिक सरोकार र आवाजविहीनका पक्षमा पैरवी गर्ने नागरिक समाज दलतन्त्रले शिथिल छ । तिनको स्थानसमेत सञ्जालले लिएको छ, जहाँ तर्कभन्दा कथन बिक्छ ।

तेस्रो, सामाजिक सञ्जालमार्फत हरेक पात्र, प्रसंग वा मुद्दाको अति सामान्यीकरण हुँदै आएको छ । सञ्जालमा कि अति राम्रा कुरा देखिन्छ, कि नराम्रा । जस्तै, विदेशमा बस्ने अधिकांश नेपालीका जीवनशैलीबारे प्रायः सुन्दर पक्ष चित्रण भएको पाइन्छ । विदेशिएका आफन्त साथीभाइले धेरै कमाएको, मिठो खाएका, संसार घुमेको, मोजमस्ती गरेको देखिन्छ ।

स्वदेशका अक्सर नराम्रा पक्ष चर्चामा आएको पाइन्छ । जस्तो, विगतका तुलनामा गाउँमा बाटाघाटा, शिक्षा र स्वास्थ्य केन्द्रहरू पुगेका छन्, तर युवा पलायनले जमिन बाँझिएका छन् । गाउँघरमा बच्चा र युवा भेटिँदैनन् । विगतमा बेरोजगार र सीप नभएका युवा वैदेशिक रोजगारीमा जान्थे ।

अहिले छँदाखाँदाका जागिर र घरगाडी जोडिसकेका मानिस पनि पलायन भएका छन् । सञ्जालको चित्रणमा सच्चाइ नभएको होइन । जब यस्ता मुद्दा र प्रसंग सार्वजनिक बहसमा छाउँछ, अनि त्यसलाई अति सामान्यीकरण गरिन्छ, जनमानसमा विदेशमोह र स्वदेशप्रति वितृष्णा स्वाभाविक रूपमा बढ्छ ।

आमनिराशा एउटा गहन अनुसन्धानको मुद्दा हो । तर, यो भाष्य बनिसकेको छ । अब हामीले बुझ्नु र जनमानसलाई बुझाउनुपर्ने के हो भने आम निराशाका अभिव्यक्ति तथ्य हो वा भाष्य ? फिसरको शब्दमा भन्ने हो भने, यस सन्दर्भमा हामी तार्किक बहस गरिरहेका छौं या कथा हालिरहेका छौं ? यस्ता कैयौं उदाहरण छन्, जसमा हामीले यथार्थ या भाष्यको भेद छुट्याउनु जरुरी छ । चुनावलगायत अन्य महत्त्वपूर्ण सार्वजनिक निर्णयहरूमा यस्ता प्रश्न अझ अहम् बन्न जान्छन् ।

उपसंहार

भाष्यको चक्रव्यूहबाट निस्कन सजिलो छैन । लोकप्रियतावादको हुरीमा कामयावी सरकार तथा राजनीतिक नेतृत्व त भाष्यको भाषमा भासिएका छन् । हामीकहाँ त राज्यको ‘डेलिभरी’ नै शून्यप्रायः छ । संस्थाहरूप्रति जनविश्वास उडेको छ । सार्वजनिक बहस चरम ध्रुवीकृत छ । यस्तो अवस्थामा राज्य, राजनीतिक दल तथा नेतृत्व र सरकारविरोधी कुनै पनि भाष्यको खपत द्रुत र व्यापक हुन्छ ।

स्थापित भाष्यलाई चिर्न प्रतिभाष्य कोर्न सक्नु सशक्त रणनीति हो । तर त्यो गफ गरेजस्तो सजिलो त हुँदैन । भाष्य तब खण्डन गर्न सकिन्छ, जब जनविश्वास जित्ने काम हुन्छ । फिसरले भनेझैं जनताले तब प्रतिभाष्यमा विश्वास गर्छन्, जब त्यस्ता कामले तिनका सोच, अपेक्षा र आवश्यकतासँग मेल खान्छ ।

तसर्थ, संगठन, प्रणाली वा मुलुकबारे स्थापित भाष्य चिर्न राज्यको सशक्त डेलिभरी र सुशासनको सुनिश्चितता पहिलो सर्त हो । ‘मेरिट’लाई आत्मसात् गर्न सक्नुपर्‍यो । गरें भनेरमात्र पुग्दैन, गरेको देखिनुपर्‍यो । दोस्रो, आलोचनात्मक चेतसहित सशक्त र प्रभावकारी सार्वजनिक बहसको सुनिश्चितता हुनुपर्‍यो । त्यसनिम्ति दलका कार्यकर्ता र समर्थकका झुन्ड तयार गरेरमात्र त हुँदैन ।

स्वतन्त्र, निष्पक्ष र सशक्त सञ्चार जगत् तथा नागरिक समाज जरुरी हुन्छ । उल्लेखित दुई पक्ष सशक्त र सुनिश्चित हुनासाथ भाष्य निर्माणमा सञ्जालको हस्तक्षेप स्वतः कम हुन्छ । साथै, राज्य, शैक्षिक संस्था, राजनीतिक संगठन र घरपरिवारहरूले सञ्जालमा उपलब्ध सूचनाको खपत तथा सम्भावित दुरुपयोगका सन्दर्भमा मातहतका निकाय वा सदस्यलाई सचेत गराउन सक्नुपर्छ । यति गर्न सक्दा, फिसरले भनेझैं कथनमा आधारित संवाद कमजोर हुने तथा तार्किक संवाद बढ्न जान्छ । अर्थात्, भाष्यको असर न्यून गर्न सकिन्छ, यद्यपि उन्मूलन नै गर्न भने सम्भव छैन ।

लेखनाथ पाण्डे त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक पाण्डे पत्रकारिता, प्रविधि र सञ्चारसम्बन्धी अनुसन्धाता हुन् ।

Link copied successfully