बाघ संरक्षणको बाटो

निकुञ्जमा भएका बाघमध्ये मानिससँगको द्वन्द्वमा आउनेको संख्या बढीमा ५ प्रतिशत मात्रै हुने अध्ययनले देखाएको छ । त्यस्ता बाघको नियमित अनुगमन र पहिचान गर्न सक्यौं भने मानव–बाघ द्वन्द्व घटाउन सकिन्छ । अर्कातिर, बाघ भए पर्यटक आउने, पर्यटक आउँदा आर्थिक गतिविधि बढ्ने र आर्थिक क्रियाकलाप बढ्दा समुदायको जीविकोपार्जन सहज हुने कुरालाई सबैले मनन गर्न जरुरी छ ।

श्रावण १४, २०८१

गोविन्द पोखरेल, नरेश सुवेदी

Road to tiger conservation

सन् २०१० देखि २०२२ सम्म नेपालले बाघ संरक्षणका लागि उल्लेख्य कार्य गर्दै संख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्‍यो । २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । यो संख्या बढाउन सरकार, समुदाय, साझेदार संस्था र संरक्षणकर्मीको भूमिका अतुलनीय छ । उनीहरूकै प्रयासले यो सम्भव भएको हो । सन् २०१० तिर नेपालमा १ सय २१ हाराहारी बाघ थिए ।

बाघ संरक्षणकै लागि भनेर सरकारले बर्दिया राष्ट्रिय निकुञ्ज पूर्वको ५५० वर्ग किलोमिटर क्षेत्रलाई २०१० मै बाँके राष्ट्रिय निकुञ्ज घोषणा गर्‍यो । अहिले बाँकेमा २५ वटा बाघ छन् । साबिकको पर्सा वन्यजन्तु आरक्षमा १२८ वर्ग किलोमिटर क्षेत्र थप गर्दै ६३७ वर्ग किलोमिटर क्षेत्रलाई निकुञ्जका रूपमा विस्तार गरेर सरकारले कोर एरिया र बासस्थान सुधारका कार्य गर्‍यो । सन् २०१० मा ४ वटा बाघ रहेको पर्सामा २०२२ को गणनामा ४१ पुगेका छन् । यसले बाघलगायतका वन्यजन्तु र जैविक विविधता संरक्षणमा सरकारले गरेका प्रयासलाई झल्काउँछ । 

सरकारले बासस्थान सुधार, घाँसे मैदान व्यवस्थापन, जंगलभित्र घोल तथा पोखरी निर्माण, आहारा प्रजातिको व्यवस्थापनमा पनि ध्यान दियो । सँगसँगै संस्थागत सुधारका कार्यक्रमले पनि बाघको संख्यामा बढोत्तरी गर्न योगदान पुर्‍याएको देखिन्छ । जस्तो कि प्रधानमन्त्रीको अध्यक्षता रहने गरी २०६७ सालमै राष्ट्रिय बाघ संरक्षण समितिको गठन, वन्यजन्तु अपराध नियन्त्रणका लागि केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइ स्थापना र त्यस्ता एकाइ जिल्ला तहसम्म विस्तार हुनुले पनि अपराध नियन्त्रणमा सघाउ पुगेको छ । यी कार्यका अलावा समुदायस्तरमा गठित चोरीसिकार नियन्त्रण कार्यदल, सुरक्षा निकायको नियमित गस्तीले पनि संरक्षणमा सघाउ पुर्‍याइरहेका छन् । यसरी बाघ संरक्षणलाई राष्ट्रियस्तरमै प्राथमिकतामा राखेर सरकारले काम अगाडि बढाएको देख्न सकिन्छ । 

बाघ संरक्षणका लागि समुदायस्तरमा गरिएका कार्यक्रमले पनि सहयोग गरे । जस्तो कि बाघमा आधारित पर्यटनले स्थानीय बासिन्दालाई फाइदा पुर्‍यायो । सामुदायिक होमस्टेले पनि समुदायलाई आयआर्जनतर्फ लाग्न प्रेरित गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग, राष्ट्रिय प्रकृति संरक्षण कोषजस्ता संरक्षण साझेदार संस्थाको उल्लेख्य सहयोगले पनि बाघ संरक्षणमा सरकराले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भान हुन्छ । 

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ र आईयूसीएनले खतरामा राखेको वन्यजन्तुको सूचीमा बाघ संकटापन्न प्रजातिमा पर्छ । तर, नेपालमा बाघको संख्या बढ्यो, अब के त ? भन्ने प्रश्नहरू आउन थालेका छन् । बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वमा पनि वृद्धि भएको देखिन्छ । यो यथार्थ हो । अहिले बाघको संख्यालाई लिएर विशेष गरेर दुई थरी भाष्य बनेका छन् । एक, नेपालमा बाघको संख्या बढ्यो, अब निकुञ्जले धान्न सक्दैन । अर्को, बाघको संख्या स्थिर भएको छैन, अझै बढ्न सक्छ । यसका लागि हामीले सर्वप्रथम बाघको विचरण क्षेत्र, उसको आहारा प्रजाति र बासस्थानलाई ध्यानमा राख्न जरुरी देखिन्छ । सन् २००९/१० को बाघ सर्वेक्षणमा चितवनमा ९१ वटा बाघ थिए, २०२२ को गणनासम्म आइपुग्दा १ सय २८ वटा पुगे । बर्दियाकै चर्चा गर्ने हो भने १८ बाट १ सय २५ पुगेका छन् । शुक्लाफाँटामा ८ बाट ३६ वटा बाघ पुगेका छन् ।

नेपालका निकुञ्ज तथा त्यससँग जोडिएको जंगल क्षेत्रमा बाघको उपस्थितिलाई हेर्ने हो भने हरेक सय वर्ग किलोमिटरमा बर्दियामा ७ भन्दा बढी, चितवनमा ४ भन्दा बढी र पर्सामा एकभन्दा बढी बाघको उपस्थिति छ । उता भारततिरको घनत्व हेर्ने हो भने नेपालको भन्दा बढी छ । जस्तो कि प्रत्येक सय वर्ग किलोमिटरमा जिम कार्बेट राष्ट्रिय निकुञ्जमा १४ वटा, कजिरंगामा १३, राजाजीमा ९ र मनास निकुञ्जमा ८ वटा बाघको उपस्थिति देखिन्छ । यसलाई मध्यनजर गर्ने हो भने नेपालका निकुञ्जहरूमा बाघको घनत्व बढेको छैन र भारवाहन क्षमता (क्यारिङ क्यापासिटी) नाघेको छैन । यी तथ्यांक केलाउँदा नेपालका निकुञ्जहरूमा अझै बाघ बढ्न सक्ने प्रशस्त आधार छन् । त्यसका लागि अहिले भइरहेका संरक्षणका कार्यलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानुपर्छ । नेपालमा गरिएको अध्ययनले चितवन पर्सा क्षेत्रलेेे कम्तीमा १ सय ७५ वटा बाघ धान्न सक्ने देखाएको छ । बाँके बर्दिया क्षेत्रमा १ सय ६५ वटा, शुक्लाफाँटा र निकुञ्ज आसपास ५० वटा गरेर नेपालमा हालको आहारा प्रजातिको उपलब्धिका आधारमा कम्तीमा ३ सय ९० बाघ धानिन सक्ने देखिन्छ । 

नेपालले बनाएको बाघ संरक्षण कार्ययोजना २०१६–२०२० मा उल्लेख भएका ९३ वटा संरक्षण गतिविधिमध्ये ३४ वटा गतिविधि सुरुवात नै गरिएन । यस्तै, ५१ वटा गतिविधि आंशिक रूपमा मात्रै सम्पन्न गरिए । उल्लेख भएका गतिविधिमध्ये १० वटा मात्रै पूर्ण रूपमा कार्यान्वयनमा आए । यति गर्दा पनि नेपाल बाघको संख्या ३ सय ५५ पुर्‍याउन सफल भयो । तीमध्ये आधा काम पूर्ण रूपमा सम्पन्न भएका थिए भने बाघको संख्यामा केही परिवर्तन आउँथ्यो । 

नेपालमा गरिएका अध्ययनले निकुञ्जमा भएका बाघमध्ये बढीमा ५ प्रतिशत मात्रै मानिससँगको द्वन्द्वमा आउने गर्छ । चितवनको सन्दर्भलाई आधार मान्दा प्राकृतिक बासस्थानमा रहेका बाघमध्ये जम्मा ५ प्रतिशत द्वन्द्वमा आउन सक्छन् । द्वन्द्वमा आउन सक्ने बाघ भनेकै बुढो र घाइते हुन् । त्यस्ता बाघको नियमित अनुगमन र पहिचान गर्न सक्यौं भने द्वन्द्व घटाउन सकिन्छ । तसर्थ, द्वन्द्वमा आउन सक्ने बाघको पहिचान गरेर त्यसलाई व्यवस्थापन गर्न सम्भावित व्यवस्थापन पद्धति (प्रोएक्टिभ म्यानेजमेन्ट सिस्टम) गर्न सकिएमा यसखाले द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।

यसरी हेर्दा बाघको संख्या नेपालमा अझै बढ्ने देखिन्छ र त्यसका लागि बाघको आहारा प्रजाति बढाउन प्रशस्त मात्रामा काम गर्नुपर्ने देखिन्छ । यसका लागि बासस्थान सुधार तथा व्यवस्थापनमा ध्यान दिनुपर्छ । सरकारले बासस्थान व्यवस्थापनका लागि गरेका कार्यलाई अझ बढी प्रभावकारी बनाउने, योजनामा साझेदार संस्थाहरूले पनि आर्थिक एवं प्रविधिक सहयोग गर्नुपर्ने देखिन्छ । बाघ संरक्षणलाई अवसरको रूपमा लिन समुदायलाई सिकाउन जरुरी छ । बाघ भए पर्यटक आउने, पर्यटक आउँदा आर्थिक गतिविधि बढ्ने र आर्थिक क्रियाकलाप बढ्दा समुदायको जीविकोपार्जन सहज हुने कुरालाई जोकोहीले मनन गर्न जरुरी छ । तसर्थ, प्रत्यक्ष आर्थिक लाभ हुने किसिमका सीपमूलक कार्यक्रम, हरित अर्थतन्त्र निर्माण, बाघमैत्री पर्यटन र व्यवसायतर्फ समुदायलाई लैजान सकियो भने बाघ संरक्षणले सार्थकता पाउनेछ । 

पछिल्लो समय संरक्षणमा धेरैको चासो भनेको जैविकमार्गमा छ । वन्यजन्तु आवतजावत हुने करिडोरहरूमा त्यस किसिमको व्यवस्थापन गर्न जरुरी छ । वन्यजन्तु आवतजावत गर्ने करिडोरलाई करिडोरकै रूपमा संरक्षण एवं व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि करिडोर क्षेत्रको संरक्षण, बाह्य प्रभावलाई निरुत्साहित गर्ने क्रियाकलाप गर्नुपर्ने हुन्छ । बाघ भएकै कारण बर्दियामा हरेक वर्ष २५ हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । चितवनमा बाघ र गैंडा हेर्नैका लागि वार्षिक ३ लाखभन्दा बढी पर्यटक आइपुग्छन् । आर्थिक वर्ष ०७८/७९ को तथ्यांकअनुसार चितवन निकुञ्जमा वार्षिक २८ करोड र बर्दियामा साढे ४ करोडभन्दा बढी रकम राजस्व संकलन भएको छ । बाघ हेर्नकै लागि भनेर चितवन, बर्दियामा पर्यटकको आगमन हुँदा होटल तथा रेस्टुराँ फस्टाएका छन् । तिनमा १५ सयभन्दा बढीले रोजगारी पाएका छन् । तसर्थ बाघमा आधारित पर्यटनलाई अझ बढी ध्यान दिएर अगाडि बढ्न सके संरक्षणमा सकारात्मक प्रभाव देख्न सकिन्छ । 

मानव–बाघ द्वन्द्वलाई विश्लेषण गर्दा जति पनि मृत्युका घटना छन्, अधिकांश जंगलभित्रै भएका छन् । यसको अर्थ, हामीले जंगल जाँदा सावधानी अपनाएनौं । जंगल जाँदा एक्लै नजाने, सकेसम्म अनुमति लिएर समूहमा जाँदा घटना कम हुने सम्भावना हुन्छ । यसका लागि समुदायलाई बाघ–मानव द्वन्द्व कसरी कम गराउने भनेर शिक्षा दिनुपर्छ । यस किसिमका कार्यक्रम भएका पनि छन्, अझ बढी प्रभावकारी बनाएर लैजान जरुरी छ । जब मानव–बाघ सहअस्तित्व कायम हुन्छ, तब बाघलगायतका जीवको संरक्षणमा नेपालले गरेका प्रयास विश्वका लागि अतुलनीय उदाहरणका रूपमा मानक बन्ने स्पष्ट छ । बाघको संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय ख्याति कमाएको छ र अबको बाटो सहअस्तित्व, द्वन्द्व न्यूनीकरण र जीविकोपार्जनमा सुधार नै हो ।

– सुवेदी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव हुन् भने पोखरेल कोषमा संरक्षण अधिकृतका रूपमा कार्यरत छन् ।

प्रस्थानविन्दु-विचार शृंखला

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

नरेश राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक

Link copied successfully