२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मानव–वन्यजन्तु द्वन्द्व निवारणको सकस

चितवन राष्ट्रिय निकुञ्जको सौराहा हात्तीसारमा २०६० सालतिर जंगली हात्तीको अनपेक्षित प्रवेश भयो । अनपेक्षित यसकारण कि घरपालुवा भाले हात्तीमाथि आक्रमण गरेर त्यसले ज्यान लियो । त्यसपछि निकुञ्जलाई धेरै ठूलो समस्या सिर्जना भयो ।

मानव–वन्यजन्तु द्वन्द्व निवारणको सकस

तत्कालै राष्ट्रिय निकुञ्जले इलेक्ट्रिक फेन्स मेसिन ल्याएर हात्तीसारमा जडान गर्‍यो । जंगली हात्तीबाट त्यो हात्तीसारलाई सुरक्षित गरियो । निकुञ्जभरिका भाले हात्तीलाई त्यहीं ल्याएर राखियो । सरकारी हात्ती जोगाउन इलेक्ट्रिक फेन्स लगाइयो । यस्तो मेसिनले चसक्क झट्का मात्र दिन्छ, कसैको ज्यान भने लिँदैन । ६ महिनासम्म निगरानी गरेपछि निकुञ्जसँग अनुरोध गरियो । यस्तै खालको मेसिन प्रयोग गरेर अरूतिर लगाउने सुविधा माग्यौं । ताकि निकुञ्ज र मध्यवर्ती आसपासका स्थानीयलाई वन्यजन्तुबाट जोगाउन सकियोस् ।

तर, निकुञ्जसँग लामो वादविवाद भयो । तत्कालीन प्रमुख संरक्षण अधिकृत शिवराज भट्टले लगाउन अनुमति दिए । यसमा अग्रसरता लिएर समुदायमै सबैभन्दा पहिले इलेक्ट्रिक फेन्स जडानको सुरुवात भएको हो । मृगकुञ्ज उपभोक्ता समितिमार्फत अध्यक्ष भएको हैसियतले यो काम सम्पन्न गर्‍यौं । आफ्नो इलाकामा जडान गरेर कुमरोजका सबै क्षेत्रमा मेसिन उपलब्ध गरायौं । त्यसपछि यो प्रविधि लोकप्रिय हुँदै गयो । तर मर्मत सम्भारमा ध्यान दिन सकिएन । अर्कोतिर हात्ती आफैं चलाख भयो ।

पिलर ढाल्ने, लाइन गएको बेला भत्काउने गर्न थाल्यो । त्यो बेला स्थायी रूपमा आरसीसी वाल नै लगाएर छेक्नुपर्छ भन्ने भयो । पहिलो वाल चितवनको जनकौली सामुदायिक वन क्षेत्रमा लगाइयो भने पछि बाघमारामा । त्यसपछि प्रादेशिक सरकारको नेतृत्वमा कुमरोज लगायतका क्षेत्रमा लगाइँदै छ । बाली खान बस्ती छिरेका गैंडा, हात्ती लगायतका वन्यजन्तुलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । जनता पनि आफ्नो सीमाभित्र बस्नुपर्छ । निकुञ्ज क्षेत्रलाई अतिरिक्त अतिक्रमण गर्नुभएन । निकुञ्जलाई कसरी जनावरमैत्री बनाउने भन्ने हिसाबले पर्याप्त खाली जमिन, घाँसे मैदानको व्यवस्थापन गरेर त्यसलाई अनुकूल वातावरण बनाउन सकिन्छ ।

जनावरलाई निकुञ्जभित्र नै बस्ने अवस्था सिर्जना गर्न सकिन्छ । बरु राष्ट्रिय वन, अतिरिक्त सामुदायिक वन र अन्य वन क्षेत्रलाई राम्रोसँग विस्तार गर्न सकिन्छ । वन्यजन्तु हिँड्ने करिडोरलाई अझै मजबुत बनाएर एक ठाउँमा भएको जनावरलाई बिस्तारै अर्को ठाउँमा जान सक्ने बनाउन सकिन्छ । चितवनसँग पर्सा राष्ट्रिय निकुञ्ज जोडिएको छ । वाल्मीकि जोडिएको छ । यसमा मध्यवर्ती र राष्ट्रिय वन समेतलाई जोड्ने हो भने ४ हजार स्क्वायर किमिभन्दा बढी वन क्षेत्र यहाँ छ ।

निकुञ्जको प्रमुख समस्या चोरी–सिकारी हो । अहिले चितवन निकुञ्जमा यो नियन्त्रित छ । अर्को समस्या मानव–वन्यजन्तुबीचको द्वन्द्व भने दशकौंदेखि जारी छ । हामीले वन्यजन्तुको संख्या वृद्धि गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय लक्ष्य निर्धारण गर्‍यौं । खासगरी पिटर्सबर्गमा सन् २०११ मा बाघ पाइने संसारका राष्ट्र प्रमुखहरू जम्मा भएका थिए । त्यस सम्मेलनमा २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर भएको थियो । त्यतिखेर नेपालबाट प्रधानमन्त्री माधवकुमार नेपालले भाग लिएका थिए । तर विरलै देशले त्यो लक्ष्य पूरा गरे । सौभाग्यवश नेपालले निर्धारित समयभन्दा अघि नै बाघको संख्या दोब्बर बनायो ।

नेपालमा करिब ४५ प्रतिशत इलाका वन क्षेत्रमा राखिएको छ । अहिले गैंडा र हात्तीको संख्या बढिरहेको छ । यसका लागि सुरक्षा र बासस्थानको व्यवस्थापन गर्‍यौं । तर कसरी बाघको व्यवस्थापन गर्ने भनेर पर्याप्त गृहकार्य गरेनौं ।

जसका कारण हरेक वर्ष मानव–वन्यजन्तुबीचको असमझदारीले क्षति व्यहोरिरहेका छौं । आजको दिनमा प्रतिवर्ष २५ जनाभन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । १५/२० वर्षअघि १०/१२ जनाले मात्रै ज्यान गुमाउने गरेको तथ्यांक छ ।

अहिले मानव मृत्युको संख्या दोब्बर भएको छ । घटना पनि दोब्बरले बढिरहेको छ । अंगभंग भएका, पशुबस्तु तथा घरबार र अन्न क्षति भएको तथ्यांक निकाल्ने हो भने त्यो अझ बढी हुन्छ । यस्तो अवस्थामा सधैं त्रास सहेर स्थानीय बासिन्दाले लामो समयसम्म निकुञ्जको व्यवस्थापनमा सकारात्मक योगदान दिइरहन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नले भने लखेटिरहेको छ ।

चितवन निकुञ्जले सन् २०१५ देखि २०१८ सम्मका लागि क्याट्स अवार्ड प्राप्त गरेको थियो । बाघको बासस्थानको दृष्टिकोणले संसारकै उत्कृष्टमध्येको निकुञ्ज भनेर त्यो अवार्ड विश्व वन्यजन्तु कोषले चितवनलाई दिएको थियो । आजको दिनमा त्यो अवार्ड वाल्मीकि आरक्षले प्राप्त गरेको छ । त्यो भारतको भए पनि चितवनसँग जोडिएको छ । त्यस्तै हैसियत राख्ने निकुञ्ज पर्सा निकुञ्ज पनि हो । जहाँको वन क्षेत्रमा बाघ, हात्ती, गैंडा, गौरीगाई, भालु, मगर गोही, घडियाल गोही छन् । यो ठूला वन्यजन्तुको मुख्य बासस्थान हो । जनावर र वन क्षेत्रको दृष्टिकोणले यो उत्कृष्ट ठाउँ बनेको छ ।

हात्तीले मानिसलाई धेरै आक्रमण गर्नुको कारणमध्ये उनीहरू हिँड्ने बाटोमा बस्ती बस्नु पनि हो । हात्तीको स्मरणशक्ति अपार हुन्छ । सानामा माउसँग हिँडेको थियो भने ५० वर्ष पछिसम्म पनि त्यो सम्झिरहन्छ । हिजो हात्ती हिँड्ने वनको बाटो मासेर बस्ती बसिसकेको छ भने उसले त्यो मान्दैन । मैले हिँड्ने बाटो हो भनेर हिँडिरहन्छ । झापातिरको समस्या यही हो । जहाँ हिजो जंगल थियो, पछि बस्ती बस्यो । हात्तीलाई के थाहा छ भने यो वनबाट त्यो वनमा जाने बाटो यही हो । त्यही भएर त्यहाँ झुन्डका झुन्ड हात्ती हिँड्छन् । जसले वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहेको छ । वन्यजन्तुपिच्छे उसको व्यवहार फरकफरक हुन्छ । हात्तीको छुट्टै, गैंडाको छुट्टै हुन्छ । बाघलाई ठूलो क्षेत्र चाहिन्छ । बाघ बुढो भएपछि सिकार गर्न सक्दैन । त्यसपछि सजिलो तरिकातिर लाग्छ । पहिलो रोजाइ पशुबस्तु हुन्छ । त्यो पनि सजिलो नभए बस्तीमा पसेर मान्छेमाथि आक्रमण गर्ने हो ।

बाघको बासस्थान भएको जहाँसुकै पनि समस्या छ । दुइटा बाघ जुधेर कमजोरलाई मारिदिने घटना पनि भइरहेका छन् । प्रविधिको माध्यमबाट बाघ कति वर्षको भयो भन्ने कुरा थाहा पाउन सके वृद्धलाई प्राकृतिक चिडिखानामा राखेर पर्यटनसँग जोड्न सकिन्छ । उनीहरूको बास प्राकृतिक हुनुपर्छ । जंगलमै बसेको अनुभूति होस् । हात्तीको हकमा परापूर्वकालदेखि हिँडिरेहको बाटोमा अवरोध गर्नुभएन । सानो इलाकामा एउटा जंगलबाट अर्को जंगलमा जाने बाटो बनाउनुपर्छ । हात्ती हिँड्ने बाटोमा रहेको बस्तीलाई अन्यत्रै सुरक्षित ठाउँमा सार्ने व्यवस्था गर्नुपर्छ । बस्ती सरिसकेपछि त्यस ठाउँलाई वन क्षेत्रकै रूपमा विकास गर्नुपर्छ । गैंडा भने मीठो बाली खान मात्र बस्ती पस्ने हो, नत्र उसको अरू केही स्वार्थ छैन । मान्छे मार्न ऊ बस्तीमा आउने होइन । गहुँ, मुसुरो हुर्किरहेका बेला आउने हो । जंगलभित्र राम्रो घाँसे मैदान र खुला क्षेत्रको सिर्जना गर्ने, सामान्य भौतिक संरचना निर्माण गर्ने हो भने गैंडालाई वनमा राख्न सकिन्छ ।

जनचेतनाको कमीले गर्दा पनि गरिबीको रेखामुनि रहेका समुदाय वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । अर्कोतर्फ निकुञ्ज क्षेत्रमा घाँस, दाउरा गर्नुपर्ने बाध्यताले गर्दा पनि उनीहरू वन्यजन्तुको आक्रमणमा परिरहन्छन् । सामान्य घर भएका निकुञ्ज, मध्यवर्ती आसपास बस्ने समुदाय बढी पीडित छन् । सीमान्तकृत समुदायमा यसको असर अझ धेरै छ । उनीहरूको निर्भरता फेरि वन र निकुञ्जप्रति नै छ । माछा मारेर, दाउरा खोजेर, बस्तु चराएर, घाँस ल्याएर उनीहरूको जीविका चलेको छ । त्यसका लागि जंगलभित्र जानुपर्छ । घटना हुने खतरा त्यही समुदायमा बढी हुने हो ।

करिडोरको बाटो बाहेकको क्षेत्रमा भौतिक पूर्वाधार राम्रो र बलियो बनाउनुपर्छ । वरिपरि बसोबास गर्ने समुदायको जीविकाको माध्यम आयआर्जन बनाउनुपर्छ । दाउरा, माछा मार्ने मान्छेलाई नेचर गाइड बनाउन सकिन्छ । काठको हात्ती, गैंडा बनाउने तालिम दिएर आम्दानी गर्ने आधार बनाउनुपर्छ । जसले गर्दा निकुञ्ज र वनमा निर्भर रहनुपर्ने छैन । वैकल्पिक जीविकोपार्जनको आधार दिनुपर्छ । निकुञ्ज हिजो जस्तो थियो, त्यस्तै छाड्ने भन्ने थियो । तर यसमा परिवर्तन आवश्यक छ । नीति नियमलाई सहज बनाउनुपर्छ । वन क्षेत्रलाई विस्तार र व्यवस्थित गर्नुपर्छ । अहिले वन क्षेत्र घटिरहेको छ । प्राणी भनेका पृथ्वीका अनुपम सृष्टि हुन् । आजको दिनमा मान्छे व्यवस्थित किसिमले बस्नुपर्छ । हामीसँग प्रविधि छ, स्रोत छ ।

पर्सा, बर्दिया, शुक्लाफाँटासम्मलाई जोडेर व्यवस्थापन गर्ने हो भने एक हजारभन्दा बढी गैंडा दीर्घकालसम्म सुरक्षित राख्न समस्या हुने छैन । सचेतना र बुद्धिमतापूर्वक हिसाबले यसलाई समयमै व्यवस्थापन नगर्ने हो भने अनेपक्षित परिणाम र अवस्था सिर्जना गर्न सक्छ । निकुञ्जलाई राम्रोसँग व्यवस्थित गर्न वन्यजन्तुका लागि घाँसे मैदान बढाउनुपर्छ । निकुञ्जभित्रै आहाराको व्यवस्थापन गरेर वन्यजन्तुलाई बाहिर आउन नदिने वातावरण बनाउनुपर्छ । वन्यजन्तु बस्तीमा आउन नसक्ने किसिमका पूर्वाधार निर्माण गर्नुपर्छ । तर पूर्वाधार निर्माण गरिरहँदा वन्यजन्तुको निर्बाध आवागमनलाई पनि ध्यान दिनुपर्छ । करिडोर इलाका अर्थात् एउटा वनबाट अर्को वनमा जानुपर्ने ठाउँमा हामीले मानवलाई भन्दा वन्यजन्तुलाई प्राथमिकता दिएर पूर्वाधार बनाउनुपर्छ । निश्चित ठाउँमा वन्यजन्तु राख्ने भन्दा पनि त्यो क्षेत्रफललाई बढाएर निकुञ्जबाट मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनहरूमा वन्यजन्तु राख्न सकिन्छ । त्यस किसिमका क्षेत्र वृद्धि गर्दै त्यसको करिडोरलाई व्यवस्थित गर्दै जानुपर्छ ।

जसरी डाइनोसर लोप भएको थियो, भोलिका दिनमा बाघ, गैंडा, हात्ती जोगाउन सकेनौं भने मानव सभ्यता नै लान्छित हुनेछ । यो जोगाउने दायित्व निकुञ्ज छेउमा बस्ने सीमान्तकृत समुदायलाई मात्र जिम्मा लगाएर सबैको दायित्व पूरा हुन्छ र ? जबजब जनावरको संख्या बढ्दै गयो, त्यही अनुपातमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । यदि निकुञ्ज अन्तर्राष्ट्रिय सम्पदा हो भने अन्तर्राष्ट्रिय प्रविधि र साथ चाहिन्छ । सरकारको विशेष चासो हुनुपर्छ । सबै मिलेर सम्पदालाई जोगाऔं । ताकि भावीपिँढीले दुर्लभ वन्यजन्तुलाई देख्न पाऊन् । कुनै जीवजन्तुबिना मान्छे मात्रको पृथ्वी भयो भने त्यो सुन्दर देखिएला र ?

– ढुंगाना संरक्षणकर्मी हुन् ।

प्रकाशित : वैशाख ४, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?