तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा शिलान्यास गरेको उनको नाम अंकित शिलालेख हटाएको भन्दै एक समूहले विरोध गर्दै आएको छ ।
काठमाडौँ — पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गर्ने बताएका छन् ।
आज नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री लम्सालले शिलान्यासको शिलालेख पनि राखिने बताएका हुन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा ४ कात्तिक २०७६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए । उनको नाम अंकित शिलालेख हटाएको भन्दै एक समूहले विरोध गरिरहेको छ । तर, सुरुङमार्गको डिजाइनअनुसार काठमाडौंतर्फ सुरुमा शिलान्यास गरिएको ठाउँमा सीसी क्यामरा राख्ने भवन बनाउनुपर्ने भएकाले उक्त शिलालेख एक वर्षअघि नै हटाइएको सडक विभागले जनाएको छ ।
उक्त शिलालेख निकालेर त्यसबेला बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको थियो । जेन–जी आन्दोलनका क्रममा आगलागीबाट विभागमा क्षति भएसँगै उक्त शिलालेख पनि जलेर नष्ट भएको विभागले स्पष्ट पारिसकेको छ ।
पूर्वाधार विकासमन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको पनि बताएका छन् । देशैभरि यातायत सहज बनाउन सुरुङ बन्दै जाने उनको भनाइ थियो ।
