शान्तिबाटिकाबाट उठाइएका लघुवित्त पीडितले गौशाला धर्मशालामा समेत बास पाएनन्

प्रहरी आफैंले उनीहरूलाई शान्तिबाटिकाबाट गाडीमा राखेर धर्मशाला लगे पनि सीमित कोठा भएको भन्दै त्यहाँबाट फर्काइएको लघुवित्त शोषणविरुद्धकी अभियन्ता लक्ष्मी घिमिरेले बताइन् ।

श्रावण १०, २०८३

समर्पण श्री

Microfinance victims removed from Shantibatika were also denied shelter at Gaushala Dharamshala

काठमाडौँ — बासका लागि पशुपतिस्थित गौशाला धर्मशाला पुर्‍याइएका लघुवित्त पीडितहरूलाई फर्काइएको छ । प्रहरी आफैंले गाडीमा राखेर उनीहरूलाई त्यहाँ लगे पनि सीमित कोठा भएको भन्दै त्यहाँबाट फर्काइएको लघुवित्त शोषणविरुद्धकी अभियन्ता लक्ष्मी घिमिरेले बताइन् ।

‘हाल सबै महिला दिदीबहिनीहरू माइतीघर मण्डला जाँदै हुनुहुन्छ । सेतोपुलमा प्रहरी सुरक्षा बलको बाक्लो उपस्थितिमा अहिले घेराबन्दी गरिएको छ,’ उनले भनिन् । 

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालको आयोजनामा भएको राजधानी मार्चका कार्यक्रमका लागि लघुवित्त पीडितहरू शनिबार काठमाडौं आइपुगेका हुन् । आइतबार बिहान ललितपुरको सानेपाबाट र्‍याली सुरु गरेर उनीहरूले शान्तिबाटिकामा ३ बजे कोणसभा गरेका थिए । साँझ भने प्रहरीले उनीहरूलाई शान्तिबाटिकामा पनि धर्ना गर्न र बस्न दिएको थिएन ।

लघुवित्त पीडितहरू कहाँ बस्ने भनेर अझै अन्योलमा छन् । उनीहरूको बास मात्र नभई खानाको पनि टुंगो छैन ।

वर्षौं किस्ता तिर्दा पनि ऋण नघटेको, खेतबारी गुमेको र विस्थापित हुनुपरेको गुनासोसहित देशभरका लघुवित्त पीडित न्यायको माग गर्दै काठमाडौं आइपुगेका हुन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully