एक वर्षमै ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कोकिन बरामद भएपछि नेपाल अन्तर्राष्ट्रिय कोकिन तस्करहरूको ट्रान्जिट बन्दै गएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्केपछि ६२ वर्षीया कोलम्बियन महिला बारम्बार आफ्नो सुटकेसतिर हेरिरहेकी थिइन् । कहिले फोन गरेजस्तो गर्थिन्, कहिले वरिपरि नजर दौडाउँथिन् । लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) का अधिकारीहरू केही परबाट उनको गतिविधि पछ्याइरहेका थिए ।
जब उनी ठमेलको एक होटल पुगिन्, त्यहाँ भारतीय महिलासँग उनको भेट भयो ।
‘लागुऔषध कारोबारीसँग ठ्याक्कै शैली मिल्यो,’ ब्युरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि खानतलासी गर्दा सुटकेसभित्र फल्स बटम बनाएर ब्ल्यांकेट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र लुकाएको अवस्थामा कोकिन फेला पर्यो ।’
सुटकेसको फल्स बटम खोलेपछि सिलिकनसँग मिसाएर पातलो कपडाजस्तो आकार दिइएको ४ किलो कोकिन फेला परेपछि कोलम्बियन महिला योनेथ गार्जोन काइकेडो र भारत मणिपुरकी ३७ वर्षीय रेविका पुले पक्राउ परे ।
ती अधिकृतका अनुसार कोलम्बियन नागरिक योनेथले ३१ असारमा सुटकेसभित्र राखेर कतार एयरवेजमार्फत काठमाडौंसम्म कोकिन ल्याएकी थिइन् । त्यसलाई विमानस्थलको एक्स–रेले समेत डिटेक्ट गर्न सकेन । तर, हवाई मार्गबाट आउने विदेशी नागरिकको प्रोफाइलिङ गर्दै शंकास्पद यात्रा विवरण भएका यात्रुको अनुसन्धान गरिरहेको ब्युरोका अधिकारीहरुलाई यानेथमाथि शंका लाग्यो । ‘कोलम्बियाबाट आउने महिलाले कोकिन लिएर आएको विगतमा समेत देखिएको छ, त्यसैले ध्यानपूर्वक हेर्ने गर्छौं,’ ब्युरोका अर्का अनुसन्धान अधिकृतले भने, ‘पहिलोपटक आउँदै गरेका कारण समेत शंका भएको थियो ।’
ब्युरोका डीएसपी जीवन निरौलाका अनुसार बरामद कोकिन सिलिकनसँग मिलाएर कपडाजस्तो बनाएर ल्याइएको थियो । ‘यो विधिबाट कोकिन तस्करी भएको सम्भवतः पहिलो पटक हो,’ उनले कान्तिपुरसँग भने ।
ब्युरोको हिरासतमा रहेका दुवै जनाले प्रहरीसँग दिएको प्रारम्भिक बयानमा आफूहरुलाई सुटकेसभित्र कोकिन रहेको थाहा नभएको जिकिर गरेका छन् । यानेथेको दाबीअनुसार उनी पाँच वर्षअघिदेखि कोलम्बियाको बुगास्थित एक रेस्टुरेन्टको भान्छामा सहयोगका रुपमा काम गर्थिन् । ‘फुर्सदमा काबाल पार्कमा जाँदा कियो र ज्यासोम नामक साथीसँग चिनजान भएको थियो,’ उनको भनाइ उद्धत गर्दै एक प्रहरी अधिकृतले भने, ‘एक महिनाअघि तलब नआएर तनाव हुँदा पार्कमा रोइरहेको थिएँ, त्यसबेला मलाई काम खोजिदिने आश्वासन उनीहरुले दिएका थिए ।’
त्यस क्रममा केन्डी नामक व्यक्तिले आफूलाई सम्पर्क गरेर कतै खानेकुरा लगिदिनुपर्ने बताएको भन्दै उनले बयानमा भनेकी छन् । 'प्लेन टिकट, होटल बुकिङ र ८ सय अमेरिकी डलर पनि दिने भनेको थियो । फर्किएर आउँदा राम्रो पैसा हुन्छ भनेको थियो,’ उनको बयान उद्धृत गर्दै ती अधिकृतले सुनाए ।
उनको दाबीमा धेरै नसोची उनी बुगा विमास्थलबाट बोगाटा गइन्, त्यहीँ एक पुरुषले ट्याक्सीमा ल्याएर उनलाई सुटकेस दिए । नेपालमा पुगेपछि कोही सामान लिन आउने र उसैलाई दिने जिम्मेवारी उनलाई थियो । त्यसअनुसार उनी पानामा–ब्राजिल हुँदै सोवा–पाउलो–गरुल भएर दोहाबाट काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि उनलाई भेट्न भारतीय नागरिक रेबिका पुगेकी थिइन् । तर, एकैसाथ दुवै जना पक्राउ परे ।
पक्राउ परेकी योनेथको बयान पनि उस्तै छ । बेरोजगार उनी एक दिन आफन्तको ब्युटी पार्लरमा पुगेकी थिइन् । त्यहीँ भारतीय नागरिकसँग विवाह गरेकी नाइजेरियन महिला लिली नेसीसँग उनको भेट भयो । ‘केही काम छैन भन्ने थाहा पाएपछि उसले भारु ३० देखि ४० हजारको काम दिन्छु भनेको थियो, कामचाहिँ काठमाडौं गएर सामान ल्याउने भनेको थियो,’ उनले प्रहरीसँग भनेकी छन्, ‘त्यसअनुसार मलाई सुरुमै १५ हजार रुपैयाँ दिएपछि सामान लिन गएको थिएँ ।’ उनले पनि आफूलाई सुटकेसमा कोकिन भएको जानकारी नभएको दाबी गरेकी छन् ।
ब्युरोका डीएसपी निरौलाका अनुसार, काठमाडौंमा बरामद भएको यो कोकिन नेपालमै खपत हुनेचाहिँ होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने अधिकांश कोकिनको बजार भारत नै हो । ‘कहिलेकाहीँ सानो परिणाममा सीमावर्ती क्षेत्रबाट फेरि नेपाल आएको भेटिन्छ, तर यसको मुख्य बजार हाम्रो देश होइन,’ उनी भन्छन् ।
तर, काठमाडौंमा कोकिन बरामद हुने क्रम बढ्दो छ । यसअघि १२ वैशाखमा समेत लागूऔषध नियन्त्रण ब्युरोको टोलीले इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका सेनेगलका नागरिकलाई कोकिनसहित पक्राउ गरेको थियो । डीएसपी निरौलाका अनुसार, ४३ वर्षीय अमडोउ सारको हर्कत अनौठो लागेपछि प्रहरीले जाँच गरेको थियो । त्यस क्रममा उनले पेटमा लुकाएर ल्याएको हुन सक्ने देखिएपछि औषधि खुवाएर शौच गर्न लगाइएको थियो । ‘पछि भारत लैजाने उद्देश्यले ७६ वटा प्यास्टिक कोटेड क्याप्सुल निलेको पाइयो,’ उनले भने, ‘ती क्याप्सुलभित्र जम्मा १ किलो ५ सय ग्रामका थिए ।’
प्रहरीले कोकिन लिन भारतको नयाँ दिल्लीबाट आएका ३६ वर्षीय रुबी र ३१ वर्षीय सोनी नामक युवतीलाई समेत पक्राउ गरेको थियो । त्यसअघि ११ साउन २०८२ मा भारतीय नागरिक ३५ वर्षीय रुबिना अब्दुल्लाह शेखलाई प्रहरीले काठमाडौंकै एक होटलबाट एक किलो ५७४ ग्राम कोकिनसहित पक्राउ गरेको थियो । उनीसँग कोकिन लिन आएका भारतीय नागरिक ३३ वर्षीय अरुण प्रतापलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
२१ साउन २०८२ मा काठमाडौंबाट भुटान जान लागेकी ब्राजिलियन नागरिक २१ वर्षीय इमी मिकेईले सन्तोषको साथबाट प्रहरीले एक किलो ९५० ग्राम कोकिन बरामद गरेको थियो । अनुसन्धान अधिकृतहरु अनुसार, प्रायः कोकिन नेपालबाट भारत जाने गरेकामा यो घटनाचाहिँ अलि फरक थियो । ब्राजिलबाट दोहा हुँदै काठमाडौं आएकी उनले कण्डमभित्र कोकिन राखेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । त्यसलाई फेरि भित्री वस्त्रमा लुकाएर लैजान लाग्दा प्रहरीले पक्राउ गरेको थियो ।
ब्युरोका एसएसपी सुवास बोहोराका अनुसार २०८२/८३ मा मात्र ब्युरोले १३ किलो ३२७ ग्राम कोकिन बरामद गरेको छ । ‘बजारमा कोकिन प्रतिग्राम ३५ हजार रुपैयाँ प्रतिग्राममा बिक्री हुने गर्छ, त्यसअनुसार हेर्दा ब्युरोले बरामद गरेको कोकिनको मूल्य ४६ करोड ७१ लाख ४५ हजार पर्न आउँछ,’ उनले कान्तिपुरसँग भने । ०८१/८२ मा १८ किलो ९१९ र ०८०/८१ मा १२ किलो ९३९ ग्राम कोकिन बरामद भएको ब्युरोको तथ्यांक छ ।
लागुऔषध नियन्त्रण ब्युरोका पूर्वप्रमुख समेत रहेका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी नेपाललाई कोकिन तस्करीको ट्रान्जिटका रुपमा तस्करहरुले प्रयोग गर्न खोजेको बताउँछन् । ‘कतिपयले ट्रान्जिट त होे नि भनेर सामान्य रुपमा पनि लिने गर्छन्, तर यसले भविष्यमा ठूलो समस्या सिर्जना गर्न सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘पहिलो कुरा ट्रान्जिट बन्नेबित्तिकै नेपाली नागरिक पनि संगठित अपराधको नेटवर्कमा जोडिने सम्भावना रहन्छ, किनभने कोही न कोहीले यहाँ पनि सहजीकरण गर्नु पर्ने हुन सक्छ ।’ अर्कोचाहिँ ठूलो परिणाममा अर्को मुलुक जाने भए पनि केही मात्रामा नेपालमा पनि प्रयोग हुन सक्ने सम्भावना रहने उनी बताउँछन् ।
विगतमा पाकिस्तान हुँदै भारतमा तस्करी हुने हेरोइनको ट्रान्जिट पोइन्ट पञ्जाब हुने गरेको स्मरण गर्दै उनी भन्छन्, ‘त्यसबेला ट्रान्जिट त हो भनिन्थ्यो तर अहिले हेरोइन पञ्जाबकै लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । त्यसैले यस्ता कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
