प्रहरीका अनुसार ७६ वटा क्याप्सुलबाट १ किलो ५ सय ग्राम कोकिन बरामद भएको छ।
काठमाडौँ — लागुऔषध नियन्त्रण ब्युरोले कोकिन निलेर आएका विदेशी नागरिकलाई पक्राउ गरेको छ । शंकास्पद गतिविधि गरेपछि सेनेगलका ४३ वर्षीय अमादु सारलाई शौच गराएर कोकिन निकालिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले बताए ।
उनका अनुसार, अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आउने विदेशी नागरिकको प्रोफाइलिङ तथा निगरानीका क्रममा असार २६ गते कतार एयरवेजमार्फत आएका उनलाई नियन्त्रणमा लिइएको थियो । इथियोपियाको अदिस अबाबाबाट दोहा हुँदै काठमाडौं आएका उनको चिकित्सकको सहयोगमा थप जाँच गरिएको थियो । त्यसक्रममा ६० वटा क्याप्सुल बरामद भएको थियो ।
ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित एक होटलमा खानतलासी गर्दा उनले मुखबाट निलेर पेटभित्र लुकाई ल्याएका १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुलसमेत फेला परेको थियो । प्रहरीका अनुसार जम्मा ७६ वटा क्याप्सुलबाट १ किलो ५०० ग्राम कोकिन बरामद भएको छ।
घटनाबारे थप अनुसन्धान गर्दा उक्त कोकिन क्याप्सुल लिन भारतको दिल्लीबाट काठमाडौं आएको खुलेपछि दुई भारतीय महिलालाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा भारतको दक्षिण दिल्लीस्थित खानपुर भिलेज बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन्। उनीहरूलाई असार २७ गते काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक थान पासपोर्ट, दुई थान भारतीय आधार कार्ड र तीन थान मोबाइल फोन समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
