सुकुना माविले भन्यो– अनुसन्धानमा पूर्ण सहयोग गर्छौं

सुकुना माध्यमिक विद्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यौनजन्य दुर्व्यवहार आरोप लागेका शिक्षक तथा कर्मचारीलाई निलम्बन गर्दै कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

श्रावण ६, २०८३

पर्वत पोर्तेल

Sukuna Secondary School said—We will fully cooperate with the investigation

विराटनगर — मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमा सार्वजनिक भएको यौनजन्य दुर्व्यवहारसम्बन्धी घटनाका आरोपी शिक्षक तथा कर्मचारीमाथि कानुन बमोजिम अनुसन्धान र छानबिन गर्न पूर्ण सहयोग गर्ने बताएको छ ।

विद्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा सञ्चालित ‘एसकेएन कन्फेसन मिम’समूहमार्फत सार्वजनिक भएका विषयप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको र घटनाको निष्पक्ष अनुसन्धानबाट पीडितले न्याय पाउनुपर्ने र दोषीले कानुनीअनुसार सजाय पाउनु पर्ने उल्लेख छ । 

शिक्षक, अभिभावक संघका अध्यक्ष, खगेन्द्रप्रसाद घिमिरे, अध्यक्ष गणेशकुमार कार्की र निमित्त प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी सम्बन्धित निकायबाट भइरहेको अनुसन्धानमा विद्यालयले आवश्यक सहयोग गरिरहेको छ । विद्यालयले अनुसन्धानको निष्कर्षलाई धैर्यपूर्वक पर्खिरहेको पनि जनाएको छ ।

विद्यालयले सामाजिक सञ्जालमा प्रमाण र तथ्यबिना शिक्षक तथा कर्मचारीमाथि विभिन्न आरोप लगाउने, चरित्रहत्या गर्ने तथा संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि भइरहेकोप्रति दुःख व्यक्त पनि गरेको छ । यस्ता गतिविधि नदोहोर्‍याउन र अनुसन्धान प्रक्रियामा कुनै असर नपर्ने गरी संयम अपनाउन आग्रह गरेको छ ।

सुकुनामा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । १७८ जना शिक्षक–कर्मचारी कार्यरत छन् । घटनाका कारण पठनपाठन प्रभावित नपार्न तथा विद्यार्थीलाई नियमित रुपमा विद्यालय पठाइदिन अभिभावक, बुद्धिजिवी, समाजसेवी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिलाई विद्यालयले आग्रह गरेको छ । 

यसैबीच, सुकुना माविका महिला शिक्षक तथा कर्मचारीहरूले पनि बुधवारै संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धानको पक्षमा रहेको जनाएका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully