सामाजिक सञ्जालमा विद्यालयका पूर्वछात्राहरूले यौनजन्य दुर्व्यवहारसम्बन्धी अडियो र म्यासेज सार्वजनिक गरेपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
What you should know
विराटनगर — मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालय यतिबेला चर्चामा छ । तर यो चर्चा कुनै उपलब्धिले भन्दा पनि विद्यालयभित्रभित्रै फैलिरहेको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सुरु भयो । विद्यालयले ट्रान्सक्रिप्टको शुल्क वृद्धि गरेपछि सुरु भएको विरोध फरक स्वरुपमा प्रकट भयो । विद्यार्थीहरूले वर्षौंदेखि गुपचुप रहेको यौनजन्य दुर्व्यवहारका घटनाहरू सामाजिक संजालमार्फत सार्वजनिक मात्रै गरेनन्, घटनाका प्रमाणहरू पनि सार्वजनिक गरे । विद्यालयका पूर्वछात्राहरूले सार्वजनिक गरेका अनुभव, अडियो र टेक्स्ट म्यासेजपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनाले विद्यालय प्रशासनको भूमिकादेखि विद्यार्थी सुरक्षासम्मका विषयमा प्रश्न उठाएको छ । यो घटनालाई ५ प्रश्नोत्तरमा बुझौं :-
सार्वजनिक भएका घटनाहरू के हालसालैका घटना हुन् ?
होइनन् । सुकुना माविका पूर्वविद्यार्थीहरूले करिब ३ वर्षअघि नै फेसबुक म्यासेन्जरमा ‘एसकेएन कन्फेसन’ नामक च्याट ग्रुप बनाएका थिए । त्यो समूहमा उनीहरू विभिन्न विषयमाथि नियमित संवाद गर्थे । केही दिनअघि उक्त समूहमा पूर्वछात्राहरूले आफूमाथि शिक्षकबाट भएको यौन दुर्व्यवहारको कुरा पहिलो पटक सार्वजनिक गरे । पीडितहरूको बयानअनुसार यौनजन्य दुर्व्यवहारका घटना विगतदेखि नै भएको थियो । तर विभिन्न डरका कारण उनीहरू दबाएर बस्न बाध्य थिए । केही छात्राले कक्षा ९ देखि नै शिक्षकको अनुचित व्यवहार सुरु भएको बताएका छन् भने धेरै आरोपहरू ११ र १२ कक्षामा अध्ययनरत (फाइनल परीक्षा चलिरहेका बेला समेत) रहदाका घटनासँग सम्बन्धित छन् ।
यो घटना सतहमा आएपछि ३ साउन राति ‘सुकुना स्टुडेन्ट यूनियन’ नाममा अर्को वाट्सएप ग्रुप बनाएर गम्भीर रुपमा छलफल सुरु गरिएको जेन–जी आन्दोलनका घाइते सन्तनु ढकालले जनाए । उनका अनुसार पूर्वविद्यार्थीहरूबीचको छलफलपछि पीडितहरूलाई भेट गराइयो । ३ जना पीडित उजुरी दिनका लागि तयार भए । त्यसपछि ४ साउनमा उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारी पुगेर जाहेरी दर्ता गराए ।
एक पूर्वविद्यार्थीका अनुसार विद्यालयमा अध्ययन गर्ने अवधिभर पटक–पटक दुर्व्यवहार भोगेको उनीहरूले दाबी गरेका छन् । पीडित छात्राहरूका अनुसार शिक्षकले भन्थे, ‘तिम्रो उत्तर पुस्तिका म सँग छ, कति नम्बर चाहिन्छ म दिन्छु । तर त्यसको बदला तिमीले फोटो पठाउनु पर्छ ।’ जस्ता अति संवेदनशील र घीनलाग्दा हर्कतहरू गरेको स्क्रिनसटहरू समेत सार्वजनिक गरेका थिए ।
यस्ता घटनाहरू एकैचोटि कसरी सार्वजनिक भए ?
एक पूर्वविद्यार्थीका अनुसार ट्रान्सक्रिप्ट शुल्क वृद्धिविरुद्ध विद्यार्थीले ३ वर्षअघि बनाएको फेसबुक समूहबाट घटना सतहमा आएको हो । पूर्वछात्राहरूले विगतमा भोगेका यौनजन्य दुर्व्यवहारका अनुभव, म्यासेजका स्क्रिनसट, अडियो र अन्य विवरण सार्वजनिक गर्न थाले । यसरी वर्षौंदेखि दबिएको यौन दुर्व्यवहारको विषयलाई सतहमा ल्याइयो ।
यो घटनामा विद्यालयको भूमिका कस्तो देखिन्छ ?
पीडितहरूका अनुसार उनीहरूले घटना हुँदा विद्यालय प्रशासनलाई मौखिक तथा केही अवस्थामा लिखित रूपमा पनि जानकारी गराएका थिए । तर विद्यालयका एक शिक्षकले घटनालाई गम्भीर रूपमा नलिई ‘त्यसो गरे झापड हानिदिनु’ जस्ता प्रतिक्रिया दिएको आरोप छ । प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले भने विद्यालयको इमेलमा बेनामे उजुरी आएको स्वीकार गर्दै शिक्षकको नाम नखुलेका कारण सबै शिक्षक तथा कर्मचारीसँग सोधपुछ र छलफल गरिएको बताए । उनले प्रमाण नपाइएको दाबी गरेका छन् । उनले भने,‘दोषीलाई कारबाही गर्न विद्यालयले सहयोग गर्छ तर घटनालाई अतिरन्जित बनाउने काम चाहीँ नहोस् ।’
घटनाको अनुसन्धान कहाँ पुगेको छ ?
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको छ । हालसम्म विद्यालयका सवारी चालक प्रदीप भट्टराई, शिक्षक किशोरलाल गच्छदार, शिक्षक अविरल मास्के र झापा बुद्धशान्ति–७ का भीम नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । प्रहरीले पीडितहरूको बयान, सामाजिक सञ्जालमा सार्वजनिक भएका अडियो, म्यासेज, डिजिटल सामग्री तथा अन्य प्रमाण संकलन गरिरहेको जनाएको छ । घटना संवेदनशील भएकाले थप प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने मोरङका प्रहरी उपरीक्षक कवित कटुवालको भनाइ छ । अभियुक्तहरूलाई बालबाालिकाविरुद्ध कसुर अभियोगमा मुद्दा दायर गरिएको छ । हिरासतमा राखेर अनुसन्धानका लागि मंगलबार उनीहरूलाई अदालतले ५ दिन म्याद थप गरेको छ ।
घटनापछि विद्यालयले के गरिरहेको छ ?
विद्यालयले सार्वजनिक रूपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानाध्यापकले पुराना बेनामे उजुरीबारे स्पष्टिकरण दिएका छन् । यता सुन्दरहरैँचा नगरपालिकाले विद्यालय व्यवस्थापनलाई पत्र पठाएर आरोपित शिक्षक तथा कर्मचारीलाई कानुनी प्रक्रियाअनुसार जिम्मेवारीबाट अलग गर्न, आवश्यक परे निलम्बन गर्न, प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्न र विद्यालयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ । विद्यालय व्यवस्थापनले पनि प्रहरी अनुसन्धानलाई सहयोग गर्ने जनाएको छ ।
घटना सार्वजनिक भएपछि सुकुना माध्यमिक विद्यालयका महिला शिक्षक तथा कर्मचारीहरूले ध्यानाकर्षणपत्र सार्वजनिक गरेका छन् । उनीहरूले भविष्यमा संस्था नै सञ्चालन गर्न नसक्ने वातावरण निर्माण हुने गरी मिडियाबाजी नगरिदिन अनुरोध गरेका छन् । साथै दोषीलाई कारबाही, पीडितलाई न्याय दिई आगामी दिनहरूमा यस्ता घटना र परिस्थितिमा अत्यन्तै सजग बन्न आग्रह गरेका छन् ।
