मल ल्याउँदै गर्दा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका सिंह दाजुभाइको रिहाइका लागि परराष्ट्रमन्त्री खनालले दिल्लीस्थित नेपाली दूतावाससँग निरन्तर समन्वय भइरहेको बताए ।
What you should know
रौतहट — परराष्ट्रमन्त्री शिशिर खनालले २० दिनदेखि भारतीय जेलमा रहेका सर्लाही–५ बलारका ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई छुटाउन कुटनीतिक पहल भइरहेको बताएका छन् ।
मल लिन गएका बेला नाकामा पक्राउ परेर भारतीय जेलमा रहेका सिंह दाजुभाइबारे मंगलबार कान्तिपुरमा समाचार प्रकाशित भएपछि मन्त्री खनालले नयाँदिल्लीस्थित नेपाली दुतावासमार्फत पनि संवाद भइरहेको बताए ।
दुबैलाई बेल (धरौटी) राखी जेलमुक्त गर्न दिल्लीस्थित दुतावाससित समन्वय भइरहेकाले आजै बेल (धरौटी) मा छुट्ने उनले जानकारी दिए । ‘सिंह दाजुभाइलाई भारतीय जेलबाट छुटाउन म तीन दिनदेखि दुतावाससित सम्पर्कमै छु,’ उनले भने,‘दुतावासबाट परिवारका मानिसलाई आजै पठाईदिनु भनेर खबर आएको छ ।’
सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको २ बोरा युरिया र ६ बोरा डीएपीसहित उनीहरुलाई असार १७ मा पक्राउ गरिएको थियो । रोपाइँअघि उनीहरु मलको जोहो गर्न विगतका वर्षझैं सीमावर्ती बजार सोनवर्षा पुगेका थिए । तर, साइकलमा राखेर ल्याउँदै गर्दा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे ।
पक्राउ परेपछि उनीहरुलाई सुरुमा सोनवर्षा थानामा राखियो । त्यसपछि सीतामढी जिल्लाको डुमरास्थित कारागार पठाइएको छ । अहिले उनीहरुको सुनवाई हुन सकेको छैन् ।
