सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने वाचासहित बनेको करिब दुईतिहाइ बहुमतको रास्वपा सरकारले जनअपेक्षा जगाए पनि सडकमा न्याय खोज्ने नागरिकको भीड घटेको छैन। वालेन्द्र शाह प्रधानमन्त्री बनेयता असार मसान्तसम्म काठमाडौंमा मात्रै ८ सयभन्दा बढी प्रदर्शन र धर्ना भएका छन्।
What you should know
काठमाडौँ — आन्दोलन, प्रदर्शन र धर्नाको पर्याय बनेको माइतीघर मण्डलमा शनिबार दिउँसो साढे २ बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे । अनि, कागजको मास्क लगाउन थाले । जसमा लेखिएको थियो, ‘हामी अरूलाई निको पार्छौं, हामीलाई कसले निको पार्छ ?’ मास्कभित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो, जसमा लेखिएको थियो, ‘पीडित डाक्टर ।’ जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो ।
उनीहरू विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन् । प्रशिक्षार्थी डाक्टर र मेडिकल अधिकृतलाई श्रम ऐन, २०७४ ले तोकेको भन्दा बढी खटाएर श्रम शोषण गरिएकाले प्रदर्शनमा उत्रिनुपरेको डाक्टर कृष्ण सेढारीले बताए । ‘श्रम ऐनबमोजिम दैनिक अधिकतम दिनमा १२ घण्टा अर्थात् सातामा ७२ घण्टा काम र एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने हो,’ उनले भने, ‘तर, त्योभन्दा बढी काम गरिएको छ, डाक्टरले आराम गर्न पाउने अवस्था पनि छैन, त्यसैले प्रदर्शनमा आउनुपरेको हो ।’
अर्का डाक्टर प्रज्ञान बस्नेतले ‘रातभरि नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ लेखेको पोस्टर बोकेका थिए । ‘यो विषय उठाएको हाम्रा लागि मात्र होइन, गरिब जनताले सेवा पाउने नेपालको वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर, २६ घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौं,’ उनले सुनाए, ‘२४ घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरेसरह हो ।’ उनले देशका प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री मात्र युवा भएर नहुने भन्दै राज्यका निकायले पनि युवाको कुरा सुन्नुपर्ने बताए । ‘युवा चिकित्सक, स्वास्थ्यकर्मीचाहिँ सधैं पिल्सिरहने अनि उनीहरूले नै दिएको सेवाबाट देशको स्वास्थ्य सुधार हुन्छ भन्ने कल्पना गर्नु व्यावहारिक हुँदैन,’ उनले भने, ‘दुई दिन बिदा लिने सरकार, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले एक दिन पनि बिदा लिन नपाउने बरु निरन्तर उपचारमा खटिन बाध्य चिकित्सकको मर्का बुझून् भनेर सडकमा आएका हौं ।’
चिकित्सकको प्रदर्शनभन्दा केहीबेर अघि मात्र सिंहदरबार गेटमा गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो समस्या सुनाउन पाउनुपर्ने माग राखेका बिनु यादव र निहारिका राजपुतलाई प्रहरी लगाएर राज्यले लछारपछार गर्दै थियो । उनीहरू सरकारलाई आफ्नो समस्या सुनाउन ५ दिनदेखि सिंहदरबार धाइरहेका छन् । यादव र राजपुतले ‘आफ्ना आवाज नसुन्ने सरकारले कान खोलोस्’ भन्ने संकेतका रूपमा सिंहदरबार गेटमा सत्तारूढ रास्वपाकै चुनाव चिह्न घन्टी बजाएर प्रदर्शन गरिरहेका थिए । ‘पहिले अरू पार्टीका मान्छे भन्ठानेर हाम्रो आवाज नसुनिएको होला, घन्टी बजाउँदा अब हामी रास्वपा भयौं होला, अब पनि सरकारले न्याय दिन्छ कि दिँदैन ?,’ बिनु यादवले प्रश्न गरिन्, ‘घन्टीले न्याय दिन्छ, सुशासन दिन्छ भनेर भोट मागिएको थियो, अहिले रवि दाइलाई घन्टी नै बजाएर सोधिरहेका छौं, के घन्टीले हामीलाई न्याय दिन्छ ?’
न्याय माग्दा पटकपटक आफूहरूलाई नियन्त्रणमा लिइएको भन्दै उनले घन्टी बजाएपछि रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले आवाज सुन्लान् कि भन्ने लागेको बताइन् । राजपुतले घन्टी भोट माग्नका लागि मात्र प्रयोग गरिएको होइन भने आफूहरूको आवाज सुन्नुपर्ने बताइन् । ‘न्याय पाउन सबैले निर्मला जस्तै मर्नै पर्ने हो ? मरेपछि मात्र निर्मलालाई न्याय, गणेशलाई न्याय भनेजस्तै भनिने हो ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘के अस्पताल पुगेपछि मात्र हामीलाई रातभर कुर्ने हो ? ज्युँदो हुँदै न्याय दिने भए हामीलाई भेट्नुहोला ।’
निहारिकाले आफूमाथि बलात्कार भएको भन्दै लामो समयदेखि न्याय मागिरहेकी छन् । जिल्ला अदालत धनुषाले आरोपितलाई सफाइ दिएपछि उनी न्यायको ढोका ढकढकाउन फेरि उच्च अदालत पुगेकी थिइन् । त्यसक्रममा आरोपित शिवराज श्रेष्ठ र निहारिकाको डीएनए जाँच गर्दा मिलेको पनि थियो । पछि उनीहरूलाई दबाबपूर्वक मिलापत्र गराइयो । त्यसैले आफूमाथि अन्याय भएको भन्दै उनले प्रदर्शन जारी राखेकी छन् । बिनु पनि हिंसापीडित छिन् ।
निहारिका र बिनुले शनिबार सिंहदरबार गेटअगाडि घन्टी बजाएर घन्टी पार्टी नेतृत्वको सरकारसँग न्याय मागिरहँदा माइतीघर मण्डलमा जातीय विभेद सदाका लागि अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो । जातका आधारमा घरभेटीले समेत विभेद गरिरहेको भन्दै जातीय छुवाछूतविरुद्धको अभियोगले प्रश्न सोधेको थियो, ‘तिम्रो चेतनाले मान्छे चिन्दैन र ?’ साउने झरीका बीचमा माइतीघर मण्डलमा शनिबार मात्र ९ वटा धर्ना र विरोध प्रदर्शन भए । केही पीडित लामो समयदेखि त्यही पालमा बसेर न्यायका लागि आवाज उठाइरहेका छन् । तीन महिनादेखि पालमा बसेर न्याय माग्दै आएकीमध्येकी हुन्, ४७ वर्षीया ओखलढुंगाकी उमा खत्री । २३ भदौको जेन–जी प्रदर्शनका क्रममा उनका २३ वर्षीय छोरा मिलन खत्रीलाई प्रहरीको दुइटा गोली लागेको थियो, प्रारम्भिक उपचारपछि उनी खतरामुक्त थिए ।
अस्पतालमा गोली लागेका बिरामीको चाप बढ्न थालेपछि चिकित्सकले बेड खाली गरिदिन अनुरोध गरे । ‘अरू सिरियस बिरामी आउन थालेपछि घरमै गएर आराम गर्न भनेका थिए, बालकोट आउने बेला ऊ २४ भदौमा महराजगन्जमा गएर नाचेको थियो,’ आमा उमाले भनिन्, ‘पठाओ वा गाडी खोज्न जान निस्किँदा महाराजगन्जमा नाचेको देखिएको भरमा उसलाई ज्यान केस लगाइयो ।’ नजिकै रहेको प्रहरी वृत्त महाराजगन्जमा त्यस दिन प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापा मारिएका थिए । ‘ऊ प्रहरी चौकीमा देखिएको पनि होइन, नाचिरहेको भरमा भिडियो हेरेर चार/पाँच वटा मुद्दा लगाएछन्,’ उनले सुनाइन्, ‘उसलाई ९ कात्तिक २०८२ मा माइतीघर मण्डलबाटै पक्राउ गरेर थुनियो ।’
मकै पोलेर जीविका चलाउँदै आएकी उमा छोराले गोली खाएको त्यही जेन–जी आन्दोलनको जगमा भएको निर्वाचनबाट सत्तामा आएको रास्वपा नेतृत्वको सरकारसँग छोराको न्यायका लागि तीन महिनादेखि माइतीघरमा बसिरहेकी छन् । ‘छोराहरूले गोली खाएर नेताहरू बनाएकाहरूले अहिले देश चलाइरहेका छन्, तर गोली थाप्ने तिनै छोराहरूका लागि एउटा हस्ताक्षरसमेत गरेका छैनन्,’ खत्रीले भनिन्, ‘घरमा केही गर्ला भन्ने उही थियो, उसैलाई थुन्दा परिवारकै हालत बिग्रिएको छ ।’
केहीअघि गृहमन्त्री गुरुङ माइतीघर मण्डलमा आउँदा आफूहरूको पीडा सुने पनि कुनै सहयोग नगरेको उनको गुनासो छ । ‘हामी तीन/चारचोटि सिंहदरबारमा समेत गृहमन्त्रीलाई भेट्न गएका थियौं, उहाँले नआत्तिनुस् निस्किन्छन् भन्नुभएको थियो,’ खत्रीले आक्रोश पोखिन्, ‘तर, अहिलेसम्म केही भएको छैन, साँच्चै कसैलाई मारेको भए, गल्ती गरेको भए सजाय भोगिरहेको छ भन्ने हुन्थ्यो, तर निर्दोषलाई यत्तिका दिनसम्म थुनेर राख्न मिल्छ ?’
नेपाल जेन–जी मुभमेन्ट एलायन्सका अमित उर्जा सरकारले पुपुलिस्ट मुद्दालाई सम्बोधन गर्न प्राथमिकता दिएजस्तो देखिए पनि आमनागरिकको पीडालाई ध्यान नदिएको आरोप लगाउँछन् । ‘जस्तैः मिटरब्याजपीडितको कुरा सिंगो मधेशसँग जोडिएको थियो, त्यसले सरकारलाई गाह्रो पर्न सक्छ भन्ने उहाँहरूलाई थाहा थियो,’ उनले कान्तिपुरसँग भने, ‘त्यसैले गृहमन्त्री आफैं बारा गएर कुरा गर्नुभयो, तर जुन आन्दोलनको जगमा यो सरकार बनेको हो, त्यो आन्दोलनका पीडित जेन–जी साथीहरूको पक्षमा यो सरकारले निर्णय गरेको छैन ।’
जेन–जी आन्दोलनमा सहभागी भएकै कारण थुनामा पुगेकाका परिवारले लामो समयदेखि धर्ना दिइरहेको भए पनि त्यसलाई सरकारले सुनुवाइ नगरेको उनी बताउँछन् । ‘मिटरब्याजपीडितसँग बारा पुगेर सहमति गर्ने सरकारले माइतीघरमै निशान मैनालीको परिवारले गरेको ठगीमाथि अनुसन्धान गर्ने वाचा जनाएको छैन,’ उर्जाले थपे, ‘गृहमन्त्रीले कतिपय पीडितलाई भेटेजस्तो त गर्नुभएको छ, तर मुख्य कुरा त्यसले निकास दियो कि दिएन भन्ने हो ।’
माइतीघर मण्डलमै शनिबार सर्लाहीको बरहथवाका ४८ वर्षीय भागनारायण मण्डल मिटरब्याजका कारण पीडित भएको भन्दै धर्नामा बसिरहेका छन् । उनी वैदेशिक रोजगारीका लागि बहराइनमा गएका बेला श्रीमती उमा महतोले २०७२ मा निर्मला मैनालीको परिवारबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यसको १० दिनपछि १० लाख रुपैयाँ बराबरको तमसुकमा हस्ताक्षर गराइएको थियो । ‘हामी गरिबको पैसा मात्र लगेन, पछि म विदेशमै भएका बेला १० कट्ठा जग्गा पनि लगे,’ मण्डलले सुनाए, ‘पहिले जिल्लामा पनि धर्ना बसेका थियौं, अहिले माइतीघरमा न्याय पाइन्छ भनेपछि बस्न थालेको १०५ दिन बितिसक्यो ।’
मण्डलका अनुसार, २०७४ मा उमाका दाइले उनको नाममा १० कट्ठा जग्गा पास गरिदिएका थिए । त्यो जग्गालाई लिएर निर्मलाले दिनरात आएर धितो राख्न दबाब दिएको मण्डलले सुनाए । ‘उमालाई धितो कसरी राखिन्छ थाहा हुने कुरा भएन, त्यसपछि छोरा निशानले नै लगिदिन्छ भनेर भनेकी थिइन् ।’ पछि निशानले वडा कार्यालय हुँदै मालपोत कार्यालयसम्म उनलाई लगेको मण्डल बताउँछन् । लेखपढ गर्न नजान्ने उमाले उनीहरूले जुन–जुन कागजमा भन्छन्, त्यसमै हस्ताक्षर गर्दै गइन् ।
‘पैसा निरन्तर तिरिरह्यौं, तर ऋण कहिल्यै सकिएन,’ मण्डलले कान्तिपुरसँग भने, ‘२०७९ मा छोरीको बिहे गर्ने समय आएपछि बल्ल दृष्टिबन्धक राखेको जग्गा निर्मला मैनालीको नाममा गइसकेको थाहा भयो ।’ आफू बहराइनमै सरसफाइ कर्मचारीका रूपमा काम गरिरहेका बेला श्रीमतीले त्यो कुरा सुनाएपछि छाँगाबाट खसेजस्तो भएको उनी बताउँछन् । ‘त्यसविरुद्ध सीडीओ कार्यालयमा समेत निवेदन दियौं, तर हाम्रो पक्षमा आदेश भएन,’ मण्डल भन्छन् । कान्तिपुरले प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको मिटरब्याजसम्बन्धी विषयमा परेको उजुरीमाथिको निर्णयमा उमाकुमारीले जग्गाको राजीनामा पास गरेर बटैया लिई खेतीपाती गर्ने कागजातसमेत बनाएको देखिएको भनिएको छ । ‘तसर्थ मिटरब्याज तथा लेनदेन कारोबार नभई जग्गा राजीनामा लिखत पास भई हक हस्तान्तरण भएको देखिएको हुँदा मिटरब्याजपीडितको उजुरी छानबिन गरी थप अग्रिम कारबाही गर्नुपर्ने नदेखिएको,’ निर्णयमा उल्ल्खे छ ।
उनी श्रीमती उमादेवीसहित धर्ना बसिरहेका थिए । तर, चिसोका कारण उमादेवी सडकमै थला परेपछि अहिले उपचारका क्रममा डेरा कोठामा आराम गरिरहेकी छन् । ‘ज्वरो, पखाला र वान्ता आउने भएपछि छोराले अस्पताल लगेको थियो, अहिले उसकै डेरामा आराम गरिरहेकी छन्,’ उनले भने । माइतीघरमा सडक दुर्घटनाका घाइतेदेखि राजसंस्थावादीसम्मले धर्ना दिइरहेका छन् । मधेशका मिटरब्याजपीडितले समेत काठमाडौंसम्म मार्च थालेका थिए । तर, १५ असारदेखि जनकपुर–काठमाडौं पैदल मार्चमा निस्किएका पीडितसँग गृहमन्त्री गुरुङले बाराको निजगढ पुगेर संवाद गरे । त्यसपछि सरकारसँग ९ बुँदे सहमति भएको छ ।
फरकफरक माग राख्दै सडकमा उत्रिएका अरू कतिपयले अझै न्याय पाउन सकेका छैनन् । रास्वपा नेतृत्वमा करिब दुईतिहाइ बहुमतको शक्तिशाली नयाँ सरकार बने पनि न्याय माग्दै सडकमा आउनेको संख्या बढ्दो छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको तथ्यांकअनुसार, वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौंमा मात्र असार मसान्तसम्म ८ सयभन्दा बढी प्रदर्शन र धर्ना भएका छन् । २०८३ चैतमा १ सय २० वटा विरोध प्रदर्शन र धर्ना भए भने वैशाखमा २ सय २२, जेठमा २ सय ४० र असारमा २ सय ८२ वटा विरोध प्रदर्शन भएका छन् । यो आर्थिक वर्षमा मात्र १ हजार ७ सय ७१ वटा विरोध प्रदर्शन भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपत्यकाभरि २ हजार १ सय ४५ वटा विरोध प्रदर्शन भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा २ हजार २ सय ५२ वटा विरोध प्रदर्शन भएको प्रहरी तथ्यांक छ ।
माइतीघर मण्डलमै जाजरकोटकी मिर्गौलापीडित लक्ष्मी सिंहसमेत धर्ना बसेकी छन् । ‘म एकल महिला हुँ, दुवै मिर्गौला ड्यामेज भएको छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘उपचारका लागि सहयोग आवश्यक परेको छ, आफ्नो नागरिकको उपचारका लागि सरकार पनि जिम्मेवार र जवाफदेही बन्न आवश्यक भएकाले धर्ना बसेकी हुँ ।’ माइतीघरमै बसेर सहयोगसमेत जुटाइरहेकी उनले सरकारले आफू जस्ता बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग राखेकी छन् ।
धर्नाका लागि सडकमा उत्रिएका सबैको माग उत्तिकै गम्भीर भने छैनन् । जस्तै, माइतीघर मण्डलमा धर्ना बसिरहेकामध्ये गणेश गिरी योगी देशमा योगी प्रधानमन्त्री बन्नुपर्ने भन्दै धर्ना बसेका छन् । त्यसका लागि आफू अब्बल दाबेदार भएको उनको दाबी छ । ‘अब देश सनातन धर्मले मात्र चल्छ र योगी प्रधानमन्त्री बन्नुपर्छ, आम देशवासीमा चेतना होस्,’ उनले भने । माइतीघर वरिपरि धर्ना बस्नेदेखि सुरक्षार्थ खटिएका प्रहरी अधिकृतले समेत उनलाई ‘प्रधानमन्त्रीज्यू’ भन्दै सम्बोधन गर्छन् ।
