सरकारका निर्णयले लाभ होइन हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुन्छन् : सभापति लामिछाने

सरकारले गरेका केही निर्णय कालान्तरमा परिवर्तन गर्नुपर्ने र केही निर्णय प्रभावका आधारमा तत्काल फेर्नुपर्ने अवस्था पनि आउने सभापति लामिछानेको भनाइ थियो ।

श्रावण २, २०८३

कान्तिपुर संवाददाता

If government decisions cause harm rather than benefit, such decisions will be changed: Chairman Lamichhane

What you should know

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले लिने निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताएका छन् । सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने सभापति लामिछानेको भनाइ थियो ।

रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई शुक्रबार रास्वपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमामा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताएका हुन् ।

सरकारले किसान, मजदुर, सर्वसाधारण जनताको पक्षमा काम गर्ने सभापति लामिछानेको भनाइ थियो । 'सरकारको नियतमा कुनै पनि शंका छैन । निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छन् । त्यसमा करेक्सन गर्न सकिन्छ । नियत खराब भयो भने कहाँ करेक्सन गर्ने ? नियत करेक्सन गर्न गाह्रो हुन्छ । हजारौं निर्णय गर्दा दुईचार वटा निर्णयलाई विवादमा ल्याउन सक्छ मान्छेले,' सभापति लामिछानेले भनेका थिए, 'व्यावहारिक रुपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ त्यो निर्णयहरूले लाभ होइन हानि भएछ भने त्यस्ता निर्णयहरू परिवर्तन हुन्छन् ।' सरकारले किसानका लागि भनेर गरेको निर्णय कार्यान्वयनमा जाँदा व्यावहारिक रूपमा विपक्षमा हुन गए परिवर्तन गरिने उनको भनाइ थियो ।

सरकारले गरेका केही निर्णय कालान्तरमा परिवर्तन गर्नुपर्ने र केही निर्णय प्रभावको आधारमा तत्काल परिवर्तन गर्नुपर्ने अवस्था पनि आउने सभापति लामिछानेको भनाइ थियो । 'केही कामहरू त्यसले धेरै ठूलो ड्यामेज गर्यो भने त्यसलाई रातारात परिवर्तन पनि गर्नुपर्छ,' उनले भने ।

सरकारले जनता जोगाउनका लागि गरेका निर्णयको स्वागत गरिएको पनि सभापति लामिछानेको भनाइ थियो । विगतका सरकारका पालामा भएका भए पनि त्यस्ता निर्णयलाई कार्यान्वयनमा जोड दिइएको उनको भनाइ थियो । 'सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरीखाने वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा यसका कुनै नीतिहरू परिवर्तन हुन्छन्, यो अपरिवर्तनीय कुरा होइन,' उनले भने, 'यो तपाईंको पार्टी हो, तपाईंको अधिकार छ, आफू हुँदाहुँदै आफ्नो पार्टी गलत बाटोमा गयो भने खबरदार भन्ने जिम्मा तपाईंको हो । ताली बजाउने मात्र होइन औँला उठाएर खबरदार गर्ने जिम्मेवारी पनि आजबाट तपाईंहरूको काँधमा आएको छ ।'

पार्टीका सांसदहरूले आफ्ना एजेन्डा सम्बन्धित मन्त्रालयमार्फत अगाडि बढाउनुपर्ने र ती काम हुनुपर्ने पनि सभापति लामिछानेको भनाइ थियो । 'आज तपाईंले भन्नुभएका कुराहरू मैले वर्णन गरेको छु र यसलाई अझ औपचारिक रुपमा पत्र मार्फत सांसदहरूले सम्बन्धित मन्त्रालयलाई, सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराउनुहुनेछ,' उनले भने,' त्यो मन्त्रालयबाट गरिएको ध्यानाकर्षणमा काम कारबाही भएन, सही छ, नागरिकमुखी छ तर पनि मन्त्रीहरूबाट या मन्त्रालयबाट भएन भने पार्टी छ । पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिले पछि हट्दैन चिन्ता नलिनु होला, पार्टी अभिभावक हो ।'

त्यस्तै, रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभाको २०८२ को निर्वाचनमा पहाडका मतदाताले पुराना पार्टीलाई छोडेको र मधेशका मतदाताले जातीय राजनीतिलाई छोडेको बताए । 'यसपटक हामीले के भन्ने गर्‍या छौं भने पहाडले पार्टी छोड्यो, मधेशले जाति छोड्यो, जातिगत राजनीति भएन, पहाडमा पनि पार्टीगत राजनीति भएन,' उनले भने ।

कान्तिपुर

Link copied successfully