संसदीय समितिकी समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने बताएकी छन् ।
काठमाडौँ — कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतले गृहमन्त्रीलाई भेट्न पाउनुपर्ने बताएकी छन् । कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई उनले आग्रह गरिन् ।
समितिको आजको बैठकमा सप्तरी कारागारमा भएको आत्मदहको प्रयास र क्षमताभन्दा बढी कैदीबन्दीको समस्यालाई प्रशासनले हाल नियन्त्रणमा लिएको भए पनि दीर्घकालीन समाधान खोजिनुपर्ने उनले बताइन् ।
कलाकार दुर्गेश थापा र प्रियंका कार्की आबद्ध ‘मास्टर्नी’ गीतको विवादका सम्बन्धमा सभापतिले सम्बन्धित कलाकारले क्षमायाचना गरिसकेको र उक्त भिडियो आधिकारिक च्यानलबाट हटाइसकिएकाले यसमा थप प्रक्रिया आवश्यक नरहेको पनि स्पष्ट पारिन् ।
'नागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ,' सभापति बास्कोटाले भनिन्, 'विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।'
सिंहदरबार गेटमा गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो समस्या सुनाउन पाउनुपर्ने माग राखेका बिनु यादव र निहारिका राजपुतलाई प्रहरी लगाएर राज्यले लछारपछार गर्दै थियो । उनीहरू सरकारलाई आफ्नो समस्या सुनाउन ५ दिनदेखि सिंहदरबार धाइरहेका छन् । यादव र राजपुतले ‘आफ्ना आवाज नसुन्ने सरकारले कान खोलोस्’ भन्ने संकेतका रूपमा सिंहदरबार गेटमा सत्तारूढ रास्वपाकै चुनाव चिह्न घन्टी बजाएर प्रदर्शन गरिरहेका थिए ।
