अस्ताए अविचलित अभियन्ता

नागरिक हक र नागरिकमैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता २०३६ सालदेखि नै थियो, २०४६ को जनआन्दोलनदेखि उनको छवि नागरिक अगुवाका रूपमा स्थापित भएको थियो

श्रावण २, २०८३

किशोर दहाल

The unwavering engineer

What you should know

काठमाडौँ — काठमाडौंको विशालनगरस्थित देवेन्द्रराज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी गर्ने सक्रिय थलो थियो । लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएका धेरै मानिस त्यस निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे । पाण्डे स्मृतिका पोका फुकाउँथे र मार्गदर्शन गर्थे ।

४५ वर्षभन्दा बढी समयदेखि नागरिकमैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे शुक्रबार सधैंका लागि अस्ताएका छन् । निजी निवासमै उनको निधन भएको हो । उनको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकार डाक्टर अनुप सुवेदीका अनुसार उनी प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।

पत्रकार हुँदै नागरिक अभियन्ताको बाटोमा क्रियाशील नारायण वाग्ले पाण्डेलाई पछिल्लो चार दशकको राजनीतिक संक्रमणमा नागरिक चेतनाको आगो बाल्ने पक्का नागरिक अभियन्ताका रूपमा सम्झिन्छन् । उनले भने, ‘लोकतन्त्र, नागरिक स्वतन्त्रता, नागरिक हक र समानता स्थापित गर्न सधैं सक्रिय रहने व्यक्तिका रूपमा उहाँको सधैं सम्झना भइरहन्छ ।’

नागरिक हक र नागरिकमैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता २०३६ सालदेखि नै भएको हो । प्रारम्भमा पञ्चायती शासनका जागिरे उनले २०३६ सालमा अर्थ सचिवबाट राजीनामा दिएका थिए । तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्यसत्ताको दुरुपयोगलाई तीव्रता दिएपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो, पञ्चायत पक्षलाई आक्रोशित तुल्याएको थियो । उनले लेख तथा अन्तर्वार्तामार्फत पञ्चायती व्यवस्थाको कमजोरी जनसमक्ष ल्याउन भूमिका खेलेका थिए ।

२०४८ को निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीसँग असन्तुष्ट भएका र समग्र राजनीति नै २०४६ को जनआन्दोलनको मर्मविपरीत जाँदै गरेको संकेत पाएपछि उनी स्वयं राजनीतिमा होमिएका थिए ।२०४६ सालको जनआन्दोलनदेखि भने उनको छवि नागरिक अगुवाका रूपमा बलियो गरी स्थापित भएको हो । जनआन्दोलन जारी रहँदा ७ चैत २०४६ मा त्रिभुवन विश्वविद्यालयमा आयोजित ‘आजको सन्दर्भमा नेपाली बुद्धिजीवी र पेसेवरहरूको भूमिका’ सभामा प्रमुख आयोजक बनेका कारण पक्राउ परेका थिए । उनी भद्रगोल जेलमा रहेकै बेलामा २४ चैतमा सरकार परिवर्तन भएको थियो । नयाँ प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पाण्डेलाई सिंहदरबारमा झिकाएर गणेशमान सिंहसँग छलफलका लागि सम्पर्कसूत्रका रूपमा प्रयोग गरेका थिए ।

जनआन्दोलन सफल भएसँगै कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भएका थिए । ग्रामीण स्वावलम्बन विकास केन्द्रद्वारा २९ पुस २०८० मा आयोजित स्वावलम्बन अवधारणा र डा. देवेन्द्रराज पाण्डेको योगदान’ विषयक संवाद कार्यक्रममा लेखक चैतन्य मिश्रले पाण्डेलाई मन्त्री बनाइनुको कारण उल्लेख गरेका थिए– ‘उहाँ र उहाँका सहकर्मीले त्यो बेला संगठित भएको गैरपार्टी नागरिकको लोकवैधता प्राप्त विशाल राजनीतिक आन्दोलन हाँकिरहनुभएको थियो । उता राजनीतिक दलहरूलाई त्यो विशाल नागरिक आन्दोलनको वैधता आर्जन गरेर नयाँ सत्ता सफल तुल्याउनु थियो ।’

वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार तत्कालीन अर्थमन्त्रीका रूपमा पाण्डेले पञ्चायतकाल र बहुदलकालबीचको संक्रमणलाई व्यवस्थापन गर्न राम्रो भूमिका खेलेका थिए । ‘अन्तरिम अर्थमन्त्री भएकाले धेरै ठूला सुधार त उहाँले गर्नुभएन । सम्पत्तिमा कर लगाउनुपर्छ भन्ने अवधारणा उहाँले ल्याउनुभएको हो त्यतिबेला,’ मन्त्री वाग्लेले भने ।

अर्थ सचिव र अर्थमन्त्री भइसकेका उनको छवि अर्थविद्का रूपमा पनि छ । ‘वैदेशिक सहायतालाई क्रमशः खारेज गर्नुपर्छ भन्ने उहाँको मत थियो,’ लेखक तथा विश्लेषक युग पाठक भन्छन्, ‘वैदेशिक सहायताले नेपाललाई कहिल्यै स्वावलम्बी हुन दिँदैन र आफ्नो अर्थतन्त्र बलियो बन्न दिँदैन भन्ने उहाँको स्पष्ट मत थियो ।’ आफ्नो आदर्श र विश्वासका निम्ति सधैं सक्रिय भइरहने पाण्डेको स्वभाव थियो । त्यसक्रममा उनी विभिन्न भूमिकामा प्रस्तुत भए ।

पञ्चायती प्रशासनबाट बाहिरिएपछि उनी विभिन्न स्वदेशी तथा विदेशी गैरसरकारी संस्थासँग औपचारिक तथा अनौपचारिक ढंगले आबद्ध भएर नेपालको विकासका विविध पक्ष तथा मानवअधिकारका सवालमा अध्ययन तथा अनुसन्धानमा सक्रिय भएका थिए । 

२०४८ को निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीसँग असन्तुष्ट भएका र समग्र राजनीति नै २०४६ को जनआन्दोलनको मर्मविपरीत जाँदै गरेको संकेत पाएपछि उनी स्वयं राजनीतिमा होमिएका थिए । एमाले गठन गर्दा छुटेका माले र मार्क्सवादीका युवाहरूको मुख्य साथ लिएर उनले आफ्नै नेतृत्वमा ‘प्रजातान्त्रिक लोकदल’ गठन गरेका थिए । तर, २०५० को उपनिर्वाचन र २०५१ को मध्यावधि निर्वाचनमा कमजोर प्रदर्शनपछि पार्टी छिन्नभिन्न भयो ।

२०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र संघर्षलाई अन्त्य गर्न पनि पाण्डे सक्रिय थिए । सशस्त्र संघर्ष उत्कर्षमा पुगेकै बेलामा पनि उनले भूमिगत अवस्थामा रहेका माओवादी नेताहरू पुष्पकमल दाहाल तथा बाबुराम भट्टराईलाई संवादमा जोडेका थिए । कांग्रेस–एमाले लगायतका दलका नेतृत्वसँग भेट्नु र मार्गनिर्देशन गर्नु त सामान्य नै थियो । केही प्रसंग उनले आफ्नो आत्मकथा ‘एक ज्यान दुई जुनी’ मा लेखेका छन् । पाण्डेले लेखेका छन्– दिल्लीमा कुनै माओवादी नेता बस्ने एक घरको छानाबाट स्याटेलाइट फोनबाट कुरा गरी प्रचण्डलाई बाबुरामले समेत सुन्ने गरी हप्काएका थिएँ, ‘हामी अनेक जोखिम उठाएर तिमीहरू र संसदीय दल (सात दल) बीच राजनीतिक मेल र सहकार्य गर्ने वातावरण सिर्जना गर्न लागेका छौं । राजासँग लड्दै–भिड्दै म जस्ता पञ्चायतका पूर्वकर्मचारी लागिरहने, तिमीहरू चाहिँ आपसमै झगडा गर्दै हिँड्ने कुरा ठीक भएन । यो झगडा के सैद्धान्तिक कुराको हो, त्यो हामीलाई थाहासमेत नदिने, यो काम भएन, तुरुन्त झगडा बन्द गर, मिल ।’

२०६३ मा सरकार र माओवादीबीच वार्ता हुनुअघि पाण्डे निवासमा कांग्रेस, एमाले र माओवादीका प्रतिनिधिहरूबीच छलफल हुन्थ्यो । शान्ति वार्ताको अनौपचारिक स्थल थियो, पाण्डे निवास । पाण्डेको भूमिका २०६२/६३ को जनआन्दोलनका बेलामा अझ बलियो गरी स्थापित भएको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा ८ जेठ २०५९ मा गरिएको प्रतिनिधिसभा विघटन र तत्कालीन राजा ज्ञानेन्द्रले दुई पटक (१८ असोज २०५९ र १९ माघ २०६१) प्रधानमन्त्री देउवालाई पदच्युत गरी लादेको अधिनायकवादविरुद्धको संघर्षले नागरिक आन्दोलन (नागरिक समाज) को जन्म भएको थियो । माओवादी सशस्त्र संघर्षमै रहेको र संसद्वादी दलहरूले नागरिकको विश्वास गुमाएको तत्कालीन परिस्थितिमा ज्ञानेन्द्रको अधिनायकवादी शासन उत्कर्षमा पुगेको थियो । त्यतिबेला जनता र दललाई जोड्ने कडी बनेको थियो, नागरिक आन्दोलन ।

विघटित संसद्को बैठक ४ साउन २०६२ मा प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको थियो । तर बस्न सकेन । नेताहरूले त्यहाँ लगाइएको ताल्चा खोलेर भित्र पस्ने सामान्य जमर्कोसमेत गरेनन् । पाण्डेले २०७५ असार २३ गते मार्टिन चौतारीमा ‘नागरिक आन्दोलन : अनुभव र आवश्यकता’ शीर्षकमा दिएको मन्तव्यमा भनेका थिए– ‘अब दलहरूले प्रज्ञा प्रतिष्ठानको ढोका खुलाउलान्, आन्दोलन गर्लान्, उनीहरूलाई समर्थन गरौंला र उनीहरूको अगुवाइमा नेपालमा परिवर्तन आउँछ भनेर कुरेर बस्ने होइन । हामीले नै अग्रसरता लिनुपर्ने बेला भयो भनेर हाम्रो मतैक्य भयो । सारा नागरिक बोलाएर सम्मेलन गरौं भन्ने निर्णय गर्‍यौं । त्यसै दिन बसेको हाम्रो बैठकमा ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ भनेर ह्वाइट बोर्डमा लेखियो ।’

यही नागरिक आन्दोलनले रत्नपार्क नियन्त्रणमा लिनेदेखि नेताहरूलाई दर्शकदीर्घामा राखेर कार्यक्रम आयोजना गर्नेसम्मको काम गर्‍यो । नेताहरूलाई माफी मगायो, सुध्रिने वाचा गरायो । आमनागरिकले उनै नागरिक आन्दोलनका अगुवालाई विश्वास गरेर लोकतान्त्रिक आन्दोलनमा सहभागी भए । अन्ततः जनआन्दोलन सफल भयो नै, मुलुकमा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता आधारस्तम्भसहितको संविधान जारी भयो ।

जनआन्दोलनपछि नागरिक आन्दोलनका नेतृत्वहरू छिन्नभिन्न भए । तर पाण्डेलगायत सीमित व्यक्ति मात्रै आफ्नो पूर्ववत् आदर्शमा अडिग रहे । राजकीय पदभन्दा अलग रहेर सत्तालाई खबरदारी गरिरहे । वर्तमान व्यवस्थाको एक धरोहरका रूपमा उभिइरहे । यद्यपि, २०६२/६३ को जनआन्दोलनअघि दलहरूले गरेको वाचा भुलेकोमा उनमा तीव्र असन्तुष्टि थियो ।

संविधानका उल्लिखित आधारस्तम्भप्रति पाण्डेको गहिरो लगाब थियो । सडकमा उठेका कुनै पनि आन्दोलनलाई परख गर्नका लागि उनको ‘लिट्मस पेपर’ नै तिनै मुद्दा हुन्थे । ती मुद्दासँग प्रस्ट लगाब नदेखिएकै कारण वा संशय लागेकै कारण उनले पछिल्ला धेरै चर्चित आन्दोलनमा समेत सहभागी हुने वा खुला समर्थन व्यक्त गर्ने काम गरेनन् । पछिल्ला वर्षमा त उनी शारीरिक रूपमै कमजोर थिए । तथापि, समसामयिक घटनाक्रमप्रति चासो अधिक थियो । त्यसप्रति प्रतिक्रिया जनाइरहन्थे । त्यसका लागि उनको रोजाइमा थियो– एक्स (ट्विटर) । यस प्लाटफर्ममा उनी मूलतः क्रिकेट, राजनीति र स्वयंका विषय लेख्थे । कटाक्ष गर्थे, स्वयंलाई पनि उडाउँथे ।

लेखक चन्द्रकिशोरले १ असारमा पाण्डेलाई उनकै निवासमा अन्तिम पटक भेटेका थिए । उनका अनुसार, पाण्डे शारीरिक रूपमा निकै अस्वस्थ थिए र उनमा मृत्युचेतको आभास पनि थियो । तर, आफ्नो स्वास्थ्यभन्दा बढी नेपालको लोकतन्त्रको स्वास्थ्यप्रति गहिरो चिन्ता थियो । ‘लोकतन्त्रमाथि थपिँदै गएका चुनौती र नागरिकहरू खुला रूपमा बोल्न डराउन थालेको अवस्थाप्रति उहाँको चिन्ता थियो । सरकारको नेतृत्व गर्ने व्यक्ति पारदर्शी हुनुपर्ने र नागरिकसँग निरन्तर संवाद गर्न सक्नुपर्नेमा उहाँको विशेष जोड थियो,’ चन्द्रकिशोरले भने ।

एमाले नेतृ उषाकिरण तिम्सेनाको बुझाइमा सक्षम नागरिकले समाजमा कति ठूलो योगदान दिन सक्छ, आवश्यक पर्दा कसरी विद्रोह गर्न सक्छ र लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ भन्ने उदाहरणका रूपमा पाण्डेलाई प्रस्तुत गर्छिन् । ‘प्रजातन्त्रवादी हुनु भनेको कस्तो हुनु हो भन्ने सम्झिनुपरे पाण्डेलाई सम्झिनुपर्छ,’ उनले भनिन् ।

फिचर

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully