सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या अभियोगमा चार किशोर बाल सुधार गृहमा थुनिएको ३ महिनापछि आएको डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता देखाएका छन्।
सुर्खेत, काठमाडौं — जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कार र हत्याको अभियोगमा चार किशोरहरूविरुद्ध चैत्र १५ मा मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिने ‘प्रमाण’ बनेकै थिएन।
इनिशाको शरीर, उनका कपडा, घटनास्थलमा भेटिएको कण्डम र अन्य चार किशोरको शरीर तथा कपडाबाट संकलन गरिएका नमुनाहरू परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। जिल्ला अदालतमा दर्ता गरिएको ४१ पृष्ठ लामो अभियोग पत्रमा १६३ वटा प्रमाणहरू उल्लेख गरिएको थियो। प्रयोगशालाबाट डीएनए र सेरोलोजी परीक्षणको अन्तिम प्रतिवेदन करिब दुई महिनापछि १९ जेठमा आयो।
कान्तिपुरलाई प्राप्त ती रिपोर्टमा इनिशासँगको शारीरिक सम्पर्कमा मुख्य अभियुक्त, ‘वीरेन्द्रनगर प’ मात्र संलग्न रहेको विवरण छन्। अन्य तीन किशोर -नाबालिग भएकाले पहिचान गोप्य राख्न प्रहरीले दिएका नामहरू ‘वीरेन्द्रनगर फ’, ‘वीरेन्द्रनगर ध’ र ‘वीरेन्द्रनगर न’- को सम्बन्ध नभएको देखिन्छ। उनीहरूको शरीर र कपडाबाट संकलन गरिएका नमुनासँग इनिशाको शरीर र कपडाबाट संकलन गरिएका नमुनामा मेल खाएका छैनन्।
यद्यपि गत वर्षको २३ र २४ फागुनमा पक्राउ परेपछि नै हिरासतमा रहेका चारै जना किशोरहरू त्यसैवर्षको १७ चैतको जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि नेपालगन्जस्थित बाल सुधार गृहमा थुनामा छन्। यी तीन जना किशोरका वकिल उत्तम आचार्यले फरेन्सिक रिपोर्टले तीनै जना निर्दोष रहेको पुष्टि भएको दाबी गरे। ‘फरेन्सिक प्रतिवेदनबाट घटनामा को, कसरी र कति हदसम्म संलग्न भएको थियो भन्ने स्पष्ट भएको छ, त्यसले एक जना मात्र संलग्न रहेछन्, बाँकी तीन जना संलग्न रहेनछन् भन्ने प्रमाणित गरेको छ,’ उनले भने।
अभियोग पत्रमा २३ फागुनको बिहान सुर्खेतको जनजागरण सामुदायिक वनभित्र इनिशामाथि चारै जनाले बलात्कार गरेका र त्यसपछि उनको हत्या गरेको उल्लेख छ। त्यतिबेला प्रतिवादी बनाइएका चारमध्ये तीन जना किशोरविरुद्ध परिस्थितिजन्य अनुमानका आधारमा मुद्दा चलाइएको थियो। डीएनए र सेरोलोजी परीक्षणले इनिशा विकको बलात्कारपछि भएको हत्या अभियोगमा मुद्दा चलाइएका चारमध्ये तीन जनाको संलग्नता नदेखाउने नयाँ तथ्यले उनीहरूमाथि गरिएको अभियोजनलाई नै प्रश्नको घेरामा राखेको छ।
२३ फागुनको बिहानै इनिशा उनका प्रेमी भनिने ‘वीरेन्द्रनगर प’ सँग सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा गएकोमा त्यहाँबाट जीवितै फर्किइनन्। पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणमा ‘यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको अत्यधिक रक्तस्राव’ भनि उल्लेख छ । ‘त्यस्तो चोट, जुन जबर्जस्ती यौन सम्पर्कको अवस्थासँग मिल्छ,’ रिपोर्टमा लेखिएको थियो।
प्रहरीले घटनास्थलबाट ‘वीरेन्द्रनगर प’ लाई तुरुन्तै पक्राउ गरेको थियो भने भोलिपल्ट उनका अन्य तीन जना साथीहरू ‘वीरेन्द्रनगर फ’, ‘वीरेन्द्रनगर ध’ र ‘वीरेन्द्रनगर न’लाई पनि पक्राउ गरेको थियो। ‘वीरेन्द्रनगर फ’ बाहेकका सबै इनिशासँग उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए।
चारै जना अभियुक्त १६ देखि १७ वर्षका छन् । चारै जनाविरुद्ध सामूहिक बलात्कार र हत्यामा आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा चलाइएको छ। कसुर ठहर भएमा १६-१८ वर्षकालाई वयस्कलाई हुनेमध्ये दुईतिहाइ सजाय हुने भएकाले अधिकतम १६ वर्ष ८ महिनासम्म सजाय हुन सक्छ।
प्रहरीसँगको बयानका क्रममा मुख्य प्रतिवादी ‘वीरेन्द्रनगर प’ ले यौन सम्पर्कका बेला अत्यधिक रक्तस्राव भएर बेहोस भएपछि उद्धारका लागि आफूले फोन गरेर साथीहरूलाई बोलाएको बताएका थिए। उनले जिम्मेवारी आफ्नो मात्र भएको बयान दिएका छन्, बाँकी तीन जनालाई मुछेका छैनन् । तीन जनाले छुट्टाछुट्टै रूपमा दिएको बयानमा पनि ‘वीरेन्द्रनगर प’ को बयानसँग मिल्ने विवरण उल्लेख गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुर्खेतका विभिन्न स्थानमा उपलब्ध सीसीटीभी फुटेज र संलग्न भनिएका व्यक्तिहरूबीच भएको कल डिटेल रेकर्डलाई समेटेर घटना भएको समय, घटनास्थलमा उनीहरू पुगेको समय विश्लेषण गरी इनिशा बेहोस भएको धेरै पछिसम्म पनि ती तीन किशोर घटनास्थल आसपाससम्म नपुगेको प्रतिवेदन दिएको थियो।
चारै जनाविरुद्ध जिल्ला अदालतमा सामूहिक बलात्कार र हत्यामा अभियोजन भएपछि प्रारम्भिक सुनुवाइ गर्दै १७ चैतमा सुर्खेतका जिल्ला न्यायाधीश दीपक ढकालले मुद्दाको अन्तिम टुंगो नलागुन्जेल उनीहरूलाई बालसुधार गृहमा पठाउने आदेश दिए जसलाई २४ वैशाखमा सुर्खेत उच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद जोशी र खेमराज भट्टले पनि सदर गरे। त्यसपछि यी तीनैजना किशोरहरूले आफूहरूलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडी बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। १६ असारमा न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासमा पेशी तोकिएकोमा उनीहरूले हेर्न भ्याएनन् भने यसको अर्को पेशी आगामी १९ साउनलाई तोकिएको छ।
प्रहरीले ‘वीरेन्द्रनगर प’ लाई बलात्कार र हत्यामा तथा बाँकी तीन जनालाई घटनास्थल पुगेको तर इनिशालाई बचाउन भूमिका नखेलेकामा मात्रै अभियोग लगाउन सिफारिस गरेको थियो तर सरकारी वकिल कार्यालयले चारै जनालाई सामूहिक बलात्कार र हत्यामा कारबाहीको माग गरेको थियो। अहिले आएका फरेन्सिक प्रतिवेदनका विवरण प्रहरीले गरेको प्रारम्भिक सिफारिस र मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ ले सुरुदेखि नै दिँदै आएको बयानसँग मेल खान्छन्। सामूहिक बलात्कार भएको हो भन्ने सरकारी वकिलको दावीसँग मेल खाँदैनन्।
केन्द्रीय विधि विज्ञान प्रयोगशालाले २९ फागुन २०८२ मा दर्ता भएका नमूनाहरूबाट डिएनए प्रोफाइल रिपोर्ट २२ वैशाखमा र सेरोलोजी रिपोर्ट १९ जेठमा तयार पारेको छ। पछिल्लो प्रतिवेदन आउँदासम्म चारै जना किशोरहरू झन्डै तीन महिना थुनामा बसिसकेका थिए। ती प्रतिवेदन नआउँदै उनीहरूमाथि अभियोग दर्ता गरी जिल्ला अदालतले थुनामा पठाइसकेको थियो भने उच्च अदलतले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो।
प्रयोगशालाले घटनास्थल, मृतक र अभियुक्तहरूको शरिरबाट संकलन गरेका नमुना र त्यसको रिपोर्टहरू जिल्ला प्रहरी कार्यालय सुर्खेतमा फिर्ता पठाइसकेएको छ। यी दुवै रिपोर्टहरू ४० भन्दा बढी सङ्कलित प्रमाणहरूको सुक्ष्म अध्ययन गरेर तयार पारिएका हुन्। जसमा इनिशाको पोस्टमार्टमका क्रममा लिइएको भजाइनल स्वाब र उनको कपडा, घटनास्थलमा फेला परेको कण्डम, चारै जना किशोरको लिङ्गको स्वाब, अन्डरवेयर, र कपडाहरूका साथै उनीहरूको रगतको नमुनालगायत थिए। प्रतिवेदनमा उल्लेखित डीएनए परीक्षणको नतिजाले मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ को इनिशासँग शारीरिक सम्पर्क भएको स्थापित गरेको छ। त्यस्तो सम्बन्ध, इनिशा नाबालिग भएकाले, कानुनअनुसार बलात्कार हो।
डीएनए परीक्षणअनुसार इनिशाको डीएनए प्रोफाइल 'प' को गुप्ताङ्गको रौँ, उनको शर्ट र सेतो गन्जीमा भेटिएको छ। साथै घटनास्थलमा फेला परेको कण्डमको भित्री र बाहिरी दुवै सतह र इनिशाकै नङभित्रको नमुनामा देखिएको पुरुष डीएनए अंश पनि 'प' कै भएको पुष्टि भएको छ। त्यस्तै 'प' को शरीर र कपडाबाट संकलन गरिएका नमुनाहरूसमेत इनिशाको शरीर र कपडाबाट संकलन गरिएका नमुनासँग मिलेकोले प्रतिवेदनले ‘प’ को संलग्नतालाई ‘नकार्न नसकिने’ भन्दै निष्कर्ष दिएको छ।
सेरोलोजी रिपोर्टअनुसार 'प' को लिङ्गको स्वाब, शर्ट, सेतो गन्जी, अन्डरवेयर र गुप्ताङ्गको रौँमा मानव रगत भेटिएको छ। यीमध्ये गुप्ताङ्गको रौँ, शर्ट र गन्जीमा लागेको अंश इनिशाको भएको डीएनए रिपोर्टले पुष्टि गरेको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा पनि इनिशाको मृत्यु योनीको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्रावबाट भएको उल्लेख थियो।
प्रयोगशालाले अन्य तीन प्रतिवादीहरू, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ को पूर्ण डीएनए प्रोफाइल पनि तयार पारेको छ। ती तीन जनाको डीएनए प्रोफाइल इनिशाको शरीर, घटनास्थल वा कण्डमबाट सङ्कलन गरिएको कुनै पनि नमुनासँग मेल खाँदैन। कण्डम र इनिशाको नङभित्र भेटिएको पुरुष डीएनए अंश केवल 'प' को मात्रै भएको र त्यो अन्य तीन जनाको डीएनएभन्दा पूर्ण रूपमा भिन्न रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै ती तीन सह-अभियुक्त किशोरहरूको लिङ्गको स्वाब र उनीहरूको अन्डरवेयरमा, ‘प’ को भन्दा विपरीत, रगतको कुनै पनि अवशेष फेला परेन। ‘हामीले पहिलेदेखि भन्दै आएका थियौं- यी तीनै जना छोराहरू निर्दोष छन्,’ तीमध्ये एक जना अभियुक्तका बाबुले कान्तिपुरसँग भने, ‘अहिले आएका फरेन्सिक प्रतिवेदनहरूले त्यो पुष्टि गरेको छ।’
यद्यपि यी प्रतिवेदनका निष्कर्ष आफैंमा अदालतको अन्तिम फैसला भने होइनन्। यो प्रतिवेदनले पनि अझै केही महत्त्वपूर्ण कानुनी प्रश्नहरूको जवाफ भने दिँदैन। जस्तो, सम्बन्ध 'प' ले दाबी गरे जस्तो आपसी सहमतिमा भएको थियो वा जबर्जस्ती गरिएको थियो भन्ने यिनले छुट्याउन सक्दैनन्। अर्को, कसैको डीएनए नभेटिनुको अर्थ घटनामा उनीहरूको कुनै भूमिका नै थिएन भन्ने अकाट्य प्रमाण पनि होइन। डीएनए प्रतिवेदनमै नोटमा यसको सीमाबारे लेखिएको छ- ‘यो नतिजा परीक्षण गरिएका नमुनाहरूसँग मात्र सम्बन्धित छ।’ त्यस्तै सेरोलोजी प्रतिवेदनमा प्रयोगशालामा सुविधा नभएकाले भजाइनल सेक्रेसनसम्बन्धी थप विस्तृत परीक्षण गर्न नसकिएको पनि उल्लेख छ।
त्यस्तै यी फरेन्सिक प्रतिवेदन मुख्य रूपमा बलात्कारको अभियोगसँग बढी सम्बन्धित छ। उनीहरूमाथि लगाइएको ‘चारै जना मिलेर बलात्कार र हत्याको योजना बनाएको’ भन्ने अभियोगलाई यी फरेन्सिक रिपोर्टले प्रमाणित वा खण्डन दुवै गर्दैनन्।
यो नयाँ प्रतिवेदनले केबल 'प' लाई बलात्कार र हत्या दुवैमा र अन्यलाई घटनास्थल पुगेर पनि इनिशालाई बचाउन भूमिका नखेलेको आधारमा मुद्दा चलाउने प्रहरी सिफारिसविपरीत सबैलाई बलात्कार र हत्यामा मुद्दा चलाउने सरकारी वकिलको कदमलाई थप प्रश्नको घेरामा पारिदिएको छ।
तत्कालीन जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले त्यतिबेला प्रहरी प्रतिवेदनलाई ‘अपूर्ण’ भन्दै आफ्नो निर्णयको बचाउ गरेका थिए। ‘मेडिकल रिपोर्टमा चोटहरू यति गम्भीर देखिन्छन् कि एउटै व्यक्ति मात्र यसमा जिम्मेवार हुन सक्छ भन्नेमा प्रश्न उठ्छ,’ उनले कान्तिपुरसँग भनेका थिए, ‘यदि प्रहरीले यी तीन जना हत्यामा संलग्न थिए भन्ने मानेको छ भने उनीहरूलाई बलात्कारबाट कसरी अलग राख्न मिल्छ? यदि यौन आक्रमणमा संलग्नता थिएन भने पछि आइपुगेकाहरूमाथि हत्याको अभियोग कसरी न्यायोचित हुन्छ?’
अहिलेकी जिल्ला न्यायाधिवक्ता तुलसा भण्डारीले अभियोग दर्ता गर्दा फरेन्सिक रिपोर्ट आइनपुगेको भन्दै अभियोजनलाई त्यो सन्दर्भमा हेर्नुपर्ने बताइन्। अहिलेको प्रतिवेदनले तीन जना अभियुक्तको भूमिका नदेखाएकोबारे सोध्दा उनले भनिन्, ‘त्यो अब जिल्ला अदालतले फैसला गर्ने हो। हामीले अहिले बोल्न मिल्दैन।’ उनले अदालतमा विचाराधीन रहेको विषयमा थप कुरा नगर्ने बताउँदै भनिन्, ‘प्रतिवेदनका आधारमा अभियोग संशोधन हुँदैन। अगाडीको हाकिमले के गरे, किन गरे मलाई थाह छैन।’
सुर्खेतका तत्कालीन प्रहरी प्रमुख, एसपी सुधीरराज शाहीले त्यतिबेलै कान्तिपुरसँग प्रहरीको काम अनुसन्धान गर्ने मात्र भएको र मुद्दा तय गर्ने अधिकार सरकारी वकिलकै भएको बताएका थिए। प्रतिवेदनले दिएको नयाँ तथ्यबारे हालका जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले प्रतिक्रिया दिन अस्वीकार गरे। ‘जिल्ला अदालतमा पेश भइसकेको विषयमा म बोल्दिनँ,’ उनले भने।
अहिलेसम्म अभियोग लागेका व्यक्तिहरू, तिनका साक्षी र घटनाबारे देखेको वा सुनेको भनि प्रहरीसँग घटना-विवरण कागज गर्ने व्यक्तिहरू मात्र अदालत आएर बयान दिएका छन्। इनिशाकी आमा र अन्य सरकारी साक्षीहरूले अझै पनि अदालत आएर आफ्ना कुरा राख्न पाएका छैनन्। अदालती भाषामा बकपत्र भनिने त्यो प्रक्रिया सक्किसकेपछि मात्र मुद्दा पूर्ण सुनुवाइका लागि पेश गरिनेछ।
इनिशाकी आमा तिला विकले आफू र अन्य साक्षीहरूलाई अहिलेसम्म बकपत्रका लागि नबोलाइएको भन्दै गुनासो गरिन्। ‘घटनास्थलमा भेटिएका केही व्यक्तिलाई मात्र बोलाएर बयान लिएको भन्ने सुनेकी छु,’ उनले भनिन्, ‘मलाई एकपटक बोलाएपछि फेरि सम्पर्क गरेका छैनन्,’ उनले भनिन्।
एकातर्फ नाबालिग छोरी गुमाएको परिवार न्यायको पर्खाइमा छ। अर्कोतर्फ, झुटो अभियोग लागेको दाबी गर्दै तीन किशोरका परिवार पनि न्यायकै पर्खाइमा छन्। आरोपित किशोरमध्ये एकका बुवा भन्छन्, ‘गल्ती नगर्दा पनि सजाय भोगेजस्तो भएको छ। बाबुहरू मानसिक रूपमा निकै विचलित छन्।’
कानुनी प्रक्रियाले मुद्दा टुंगो लाग्न समय लिँदा दुवैतर्फका परिवारका लागि न्यायको पर्खाइ झन् कष्टकर बन्दै गएको छ। इनिशाकी आमा तिला विक भने यस्ता कानुनी प्रश्नका जटिलता बुझ्दिनन् र उनलाई प्रशासनकि प्रक्रियाका नाममा न्यायबाट वञ्चित गराइने हो कि भन्ने आशंका लाग्न थालेको छ। उनले घटनास्थलमै छोरीको रगतमा लतपतिएको शव नजिकबाट देखेकी थिइन्, र आजसम्म कुनै निकायले उनलाई फरेन्सिक रिपोर्टबारे आधिकारिक जानकारीसम्म दिएका छैनन्। ‘रिपोर्ट आयो भनेर बाहिर-बाहिर मात्र हल्ला सुनेकी छु,’ उनले भनिन्। ‘छोरी गुमायौं, न्याय पाउन सकेनौं। सबैले जालसाजी गरेजस्तो लाग्छ।’
