घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको समेत रास्वपाले जनाएको छ ।
काठमाडौँ — रास्वापाले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नहुने जनाएको छ ।
कान्तिपुर पब्लिकेशन, अनलाइनखबर डटकमसहित विभिन्न सञ्चारमाध्यमको गेटअगाडि सोमबार बिहान शंकास्पद गाडी पार्किङ गरिएको थियो । कार्यालय गेटमा अन्य सवारीसाधन आवतजावत गर्न नमिल्ने गरी गाडी पार्किङ गरी अवरोध गरिएको थियो ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताका ठाडो उल्लंघन भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ - 'एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ ।'
अनलाइनखबरमा बा १२ च ८५४५ नम्बरको गाडी, हिमालय टिभीमा बा २ च १२५५ नम्बरको गाडी र कान्तिपुर मिडिया ग्रुपको गेटमा बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरेर चालक भागेका थिए । बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । तीनकुनेस्थित कान्तिपुरका सुरक्षागार्ड रमेश थुयाजुका अनुसार बिहान ७ बजेतिर कान्तिपुरमा एक जना दाइलाई भेट्न आएको भन्दै बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरिएको थियो ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु भएको र त्यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध रहेको जनाइएको छ । यसका साथै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्ने जनाइएको छ ।
यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको समेत रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै, सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने रास्वापाले प्रतिबद्धता व्यक्त गरेको छ ।
गेट छोपिने गरी कान्तिपुरमा पार्क गरिएको गाडी रवि जैसवालले प्रयोग गरिरहेको खुलेको छ । उनी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनीत सदस्य हुन् । रास्वपामा काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको समूहको एकीकरण भएपछि उनी यो विभागमा मनोनीत भएका थिए । उनले कान्तिपुर अगाडि पार्क गरेको गाडी आफ्नो रहेको बताएका छन् ।
