कान्तिपुरमा गाडी राख्ने व्यक्ति रवि जैसवाल रौतहटका व्यवसायी, उनी रास्वपा पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा मनोनीत हुन् ।
काठमाडौँ — कान्तिपुर पब्लिकेशन, अनलाइनखबर डटकमसहित विभिन्न सञ्चार माध्यमको गेटअगाडि सोमबार शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । कार्यालय गेटमा अन्य सवारीसाधन आवतजावत गर्न नमिल्ने गरी गाडी पार्किङ गरी अवरोध गरिएको छ ।
अनलाइनखबरमा बा १२ च ८५४५ नम्बरको गाडी, हिमालय टिभीमा बा २ च १२५५ नम्बरको गाडी र कान्तिपुर मिडिया ग्रुपको गेटमा बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरेर चालक भागेका थिए । बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । तीनकुनेस्थित कान्तिपुरका सुरक्षागार्ड रमेश थुयाजुका अनुसार बिहान ७ बजेतिर कान्तिपुरमा एक जना दाइलाई भेट्न आएको भन्दै बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरिएको थियो ।
‘कान्तिपुरमा दाइलाई भेट्न आएको भन्नुभयो, मैले साइडमा राख्नुस्, यहाँ राख्न मिल्दैन भनें,’ उनले भने, ‘नराख्नु भन्दाभन्दै जबरजस्ती गाडी राखेर भागे ।’ ती व्यक्ति फोनमा कोहीसँग बोल्दै ओर्लिंदै भागेको उनले बताए । ‘ती व्यक्ति एकैछिनमा दौडिएर मेन रोडतिर जान थालेपछि म पछि–पछि गएँ,’ उनले थपे, ‘मुख्य रोडसम्म पुगेपछि चाहिँ गेट खाली छाड्न नहुने भएकाले म फर्किएँ ।’
गेट छोपिने गरी कान्तिपुरमा पार्क गरिएको गाडी रवि जैसवालले प्रयोग गरिरहेको खुलेको छ । उनी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनीत सदस्य हुन् । रास्वपामा काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको समूहको एकीकरण भएपछि उनी यो विभागमा मनोनीत भएका थिए । उनले कान्तिपुर अगाडि पार्क गरेको गाडी आफ्नो रहेको बताएका छन् । ‘त्यो गाडी मेरो हो । मेरो साथीले हिजो लिएर गएको थियो,’ उनले कान्तिपुरको सम्पर्कमा भने, ‘मेरो साथीलाई फोन गर्दा स्विच अफ छ । गाडी लिन आउन सक्दिनँ ।’
रौतहटको गरुडा नगरपालिका–४ का जैसवालको चन्द्रनिगाहपुर र गरुडामा मेसिनरीको व्यापार छ । जैसवाल २०७९ को आमनिर्वाचनमा मधेश प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर पराजित भएका थिए । जैसवाल २०७९ को आमनिर्वाचनमा मधेश प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडेका थिए । लोकप्रिय मत पाए पनि उनी पराजित भए । उनका बुवा कन्थमणि जैसवाल २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट गरुडा नगरपालिकाको नगरप्रमुखमा जितेका थिए ।
गाडी पार्क गरिएका कारण करिब ५ घण्टा कार्यालयभित्र सवारी राख्न बाधा पुगेको छ । ‘टिभीका पत्रकारहरू रिपोर्टिङमा जानै सकेनन् ।’ कान्तिपुर टेलिभिजनका समाचार संयोजक रामकृष्ण भण्डारीका अनुसार बिहान क्यामरासहित समाचार संकलनका लागि जानुपर्ने पत्रकारहरू गाडी निस्किन नसक्ने भएपछि कार्यालयमै अल्झिए । ‘मोटरसाइकल नै लिएर निस्किन पनि साथीहरूलाई अप्ठेरो भयो,’ भण्डारीले भने । कार्यालयमा काम गर्ने कर्मचारीहरू गाडी नहटुञ्जेलसम्म आतंकित बनेका थिए । पार्किङ गरिएको सवारी कसको हो र किन राखिएको हो भन्ने थाहा नहुँदा कर्मचारीहरू त्रस्त भएका थिए ।
करिब साढे १२ बजेतिर कान्तिपुर पब्लिकेशनले क्रेन बोलाएर गाडी हटाएको थियो । हिमालय टिभी र अनलाइनखबर डटकमका ग्रुप एडिटर उमेश चौहानले सञ्चारगृहमा कसले गाडी राख्यो भन्नेमा गम्भीर अनुसन्धान हुनुपर्ने बताए । ‘तर किन गरियो भन्ने प्रस्ट छ, तिमीहरूले प्रश्न उठाइरह्यौ भने “जे पनि हुन सक्छ” भन्ने चेतावनी दिन यो गरिएको हो भन्ने स्पष्ट देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘हामीले त राज्य छ भन्ने हो । तर बाहिर सडकमा समेत यातायात अवरोध हुने अवस्था आउँदा पनि प्रहरीले सात घण्टासम्म आलटाल गर्नु अनौठो छ ।’ उनले गणेश नेपालीको आत्मदाह केवल ट्राफिक नियमसँग मात्र सीमित विषय नभएको भन्दै भने, ‘नागरिकले नियम–कानून पालना गर्नुपर्छ, तर नाजुक नागरिकलाई राज्यले भरोसा पनि दिनुपर्छ । हिजो प्रेम आचार्य र आज गणेश नेपालीजस्ता युवालाई राज्यले किन भरोसा दिन सकेन ? कहाँ चुक्यो ? भनेर मिडियाले प्रश्न उठाएको हो । मिडिया र नागरिकले उठाएका प्रश्नमा राज्य रेस्पोन्सिभ हुनुपर्छ, रियाक्टिभ होइन ।’
उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रमुख एसएसपी सुरेश काफ्लेले केही मानिस प्रहरीको सम्पर्कमा आएको र तिनीहरुले आफ्नो गाडी चालकले लिएर गएको बताएको सुनाए । उनले सम्पर्कमा आएका मानिसको पहिचान गर्ने बताउँदै भने, 'नियमअनुसार कारवाही गर्छौं ।'
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी सुशीलसिंह राठौरले सञ्चारमाध्यमका गेटमा राखिएका शंकास्पद गाडीलाई उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय, रानीपोखरी ल्याउन निर्देशन दिइएको कान्तिपुरलाई बताए । ‘अहिले सबै कार्यालयबाट गाडी ल्याउने क्रम चलिरहेको छ । अनाधिकृत पार्किङको विषयमा जरिवाना गराउँछौँ,’ राठौरले भने, ‘अरू कारबाही के हुन्छ भन्ने छलफल भइरहेको छ ।’
नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको जनाएको छ । ‘आज बिहान ८ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै पत्रकारका सवारीसाधन पार्किङ गरी पत्रकारलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ,’ महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग गर्दछ ।’
महासंघले यो घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । ‘अवरोध हटाउन महासंघले सुरक्षा निकायसँग पनि समन्वय गरिरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
