गणेश नेपालीले आत्मदाह गरेसँगै धेरैले चार वर्षअघि संसद् भवनअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटना सम्झिएका छन् ।
What you should know
काठमाडौँ — काठमाडौं महानगर प्रहरीले २५ वर्षीय गणेश नेपालीको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ– ‘काठमाडौंमा गरिब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ ?’ जसको जवाफ सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहेता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको शय्यामा पुगे । उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे, थप उपचारका लागि उनलाई नयाँदिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो । तर, यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्, अस्पतालले शुक्रबार बिहान उनको मृत्यु भएको घोषणा गर्यो ।
गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्षअघि संसद् भवन अगाडि आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको घटना सम्झिएका छन् । त्यसबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री वालेन्द्र शाह स्वयले संसद् भवनअगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए । ‘र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो,’ उनले २०७९ माघ ११ मा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यको हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन् ।’
यतिबेला प्रधानमन्त्री बनेका उनै वालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ । गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आमनागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिरहेका छन् ।
रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठले समेत त्यो घटना आफूले सम्झिएको बताउँदै भनेकी छन्, ‘यो घटनाले हामीलाई राजनीतिक हिलो छ्यापाछ्यापभन्दा टाढा रहेर, यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन पाटोलाई हेर्न बाध्य बनाएको छ ।’
उनले अगाडि भनेकी छन्, ‘जब कुनै नागरिकलाई अव्यवस्थासँग लड्नुभन्दा आफ्नो शरीरमा आगो लगाउनु सहज लाग्छ, त्यो रिसको झोंकमा चालिएको हठात् कदम मात्र हुँदैन, यो त मनोविज्ञानमा भनिने सिकिएको लाचारीको अन्तिम र भयानक रूप हो, एउटा यस्तो मानसिक अवस्था जहाँ व्यक्तिले बाँच्नका लागि इमानदार प्रयास गर्छ, तर हरेक पटक उसले हार महसुस गर्छ ।’
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले गणेशको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् । ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ उनले भनेका छन्, ‘विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔं ।’
रास्वपाकै सांसद गणेश कार्की नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ वा नियम मान्नुभन्दा मर्न सजिलो हुन्छ भने त्यसलाई पुनरावलोकन गरिनुपर्ने वा त्यसबारे मानिसलाई बुझाउन अझ बढी मिहिनेत गर्नुपर्ने देखिएको बताउँछन् । ‘मान्छे र नियममध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मूर्खता हो । र पनि जवाफ दिनुपर्छ भने म मान्छे रोज्छु । तपाईं के रोज्नुहुन्छ ?,’ उनले प्रश्न गरेका छन्, ‘प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौं ल ।’
काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईका अनुसार, गणेशले आत्मदाह गर्नुअघि के भएको थियो भन्ने विषयको अनुसन्धानका लागि नगर प्रहरीका तीन जना कर्मचारीसँग सोधपुछ गरिएको छ । ‘घटना विवरण लिइरहेका छौं, सीसीटीभी फुटेजलगायतका विवरणसमेत संकलन गरिरहेका छौं,’ उनले भने । घटनाबारे अनुसन्धान गर्न प्रहरीले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समितिसमेत बनाएको छ । डीआईजी थपलियाका अनुसार, पाँच सदस्यीय समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारी छन् । ‘सबै विवरण हेरेर घटना कसरी भयो भन्ने विवरण यथाशीघ्र बुझाउने जिम्मेवारी छ,’ उनले भने, ‘त्यसअनुसार काम थालिसकेका छौं ।’
अस्पतालका वर्न तथा प्लास्टिक सर्जरी युनिटका प्रमुख डा. पीयूष दाहालका अनुसार गणेशको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलिसकेको थियो । ‘सीमित स्रोत साधन भएको हाम्रो जस्तो देशमा शरीरको ४० प्रतिशतभन्दा बढी भाग जल्दा बाँच्ने सम्भावना हुँदैन । गणेशको घाउ निकै गहिरो थियो, त्यसैले बचाउन सकेनौं,’ दाहालले कान्तिपुरसँग भने ।
गणेशको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि चिकित्सकले बिहीबारै भेन्टिलेटरमा सारेका थिए । क्रिटिकल केयर टोलीले शुक्रबार बिहान बिरामीको कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएको थियो । त्यसबीचमा सरकारले थप उपचारका लागि उनलाई बिहीबार राति नै एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरेको थियो । नागरिक उड्डयनसँग सम्बन्धित अधिकारीका अनुसार श्री एयरलायन्सको सीआरजे–२०० विमान (कलसाइन नाइन एन एएमए) लाई एयर एम्बुलेन्सका रूपमा तयारी अवस्थामा राखिएको थियो । तर, हवाई यात्राका लागि अवस्था उपयुक्त नभएको निष्कर्ष चिकित्सकले निकालेपछि गणेशलाई भारत लगिएन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बिहान करिब ११ बजेतिर यात्रुलाई पुर्याउन गणेश राहदानी विभाग पुगेका थिए । २ नम्बर गेट अगाडि यात्रुलाई ओरालेपछि उनले अरू ‘राइड रिक्वेस्ट’ कुरिरहेका थिए । मोबाइलतिर हेर्दै छेउमा रोकेर बसेका बेला उनलाई एक नगर प्रहरीकी महिला कर्मचारीले त्यहाँ मोटरसाइकल नरोक्न भनेकी थिइन् । त्यही क्रममा गणेश र उनीबीच वादविवादसमेत भएको प्रहरी अधिकृतहरूको भनाइ छ । ‘तत्काल जानभन्दा केहीबेर त्यहीं बसेपछि लक लगाउन गएको जस्तो देखिन्छ, त्यही बेला मोबाइल खसेपछि विवाद बढेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि उनी मोटरसाइकल कुदाएर गेट नम्बर ३ तिर पुगे । त्यहीं ह्विल लक लगाइदिएको देखिन्छ ।’
कान्तिपुरलाई प्राप्त ‘ह्विल लक’ गरिसकेपछि खिचिएको एउटा भिडियोमा पनि महिला प्रहरीले ‘भनेको नमान्ने ?’ भन्दै हप्काएको देखिन्छ । ‘मेरो मोबाइल झरेको छ, किन भागेको भनेको ?,’ उनी रिसाउँदै प्रश्न गर्छिन्, ‘मेरो मोबाइल फुटेको कसले बनाउँछ ?’ गणेशले चाहिँ रोकेको ठाउँमा ह्विल लक गरेको भन्दै गुनासो गरेका छन्, ‘लगाउने भए त्यहाँ लगा न, मान्छेलाई हेप्छस् ?’ त्यसपछि आफूले मोबाइल नफुटाएको बरु आफैं आएपछि फुटेको बताएका छन् । त्यही क्रममा कसैले के भयो भनेर सोधेपछि गणेशले ‘म बाइकमाथि छु, तल लक लगाउन आउँछ’ भन्दै सुनाएका छन् । ‘बाइकमै बस्नुभएको थियो ?’ भन्दै कसैले सोधेको प्रश्नमा उनले आफूलाई बाइकमै बसेका बेला चिट काटिएको दोहोर्याएका छन् ।
नेपाल प्रहरीको घटना दर्ता किताबमा उल्लेख भएको विवरणमा दिउँसो १ः४५ बजे ३ नम्बर गेटमा पार्किङ गरेर राखेको बा प्र ०२–०४६ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा काठमाडौं महानगरबाट खटिएको टोलीले ‘ह्विल लक’ लगाएको भनेर गणेशले आफ्नै शरीरमा आगो लगाएको उल्लेख छ । प्रहरी अधिकृतहरूका अनुसार, प्रारम्भिक अनुमानमा मोटरसाइकलको चिट काटिएको करिब दुई घण्टापछि उनले शरीरमा पेट्रोल खन्याएको देखिन्छ । प्रहरीले सोधपुछ गरेका नगर प्रहरीका कर्मचारीले कागजपत्र दिएको भए आफूले चिट काटेर छाड्ने तर अटेरी गरेपछि मोटरसाइकल लैजानलाई गाडी बोलाएको जिकिर गरेका छन् । नगर प्रहरीको टोली गणेशसहितका ‘ह्विल लक’ गरिएकाहरूको मोटरसाइकल लिन आउने बेलामा शरीरमा पेट्रोल खन्याएको देखिएको छ ।
अनुसन्धानमा संलग्न काठमाडौं प्रहरीका एक अधिकृतले कान्तिपुरसँग कुरा गर्दै नगर प्रहरीको टोली मोटरसाइकल छेउमा आइपुगेपछि केही माथिबाट उनी शरीरमा पेट्रोल छर्किंदै आएको देखिएको बताए । ‘अलि माथिबाट दौडिँदै आएर पेट्रोल छर्किएको देखिन्छ, नगर प्रहरीको गाडीछेउ आइपुगेपछि चाहिँ लाइटर बालेको देखिएको छ,’ ती अधिकृतले भने, ‘हामीले फरक–फरक एंगलका सीसीटीभी दृश्यसमेत अध्ययन गरिरहेका छौं ।’
कान्तिपुरले हेरेको अर्को सीसीटीभी फुटेजमा गणेशले नगर प्रहरीको गाडी छेवैमा गएर आफूलाई आगो लगाएको देखिन्छ । शरीरमा आगो लागिरहेका बेला उठेर गणेश यताउती गरिरहन्छन् । नगर प्रहरीका कर्मचारी निभाउने सामग्री खोज्दै दौडिन्छन्, तर केही भेट्दैनन् । त्यहीबीचमा एक प्रहरीले गाडीमा भएको कालो फम निकाल्न खोज्छन्, तर त्यसले झन् आगो फैलिन सक्ने भएकाले रोकिन्छन् । केहीबेरमा आफैं लडिबडी गर्दागर्दै स्थानीयले पानी खन्याएर आगो निभाउँछन् । त्यसपछि प्रहरीको टोलीसमेत पुगेर उद्धार गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक अर्को भिडियोमा आगो निभाइसकेपछि सुरक्षाकर्मीले गणेशको हात समातेर सडकमा केही मिटर हिँडाएको र त्यसपछि सवारीसाधनमा राखेको देखिन्छ । आगजनीले गम्भीर घाइते उनलाई हिँडाएको दृश्यको धेरैले आलोचनासमेत गरेका छन् ।
चिकित्सकहरू नेपालमा विपद् तथा दुर्घटनापछि घाइतेको उद्धार तथा व्यवस्थापन समस्या रहेको बताउँछन् । ‘केही वर्षअघि सानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना कामदार घाइते भएका थिए,’ कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीले भने, ‘त्यसबेला घाइतेलाई मासु बोक्ने ट्रकमा राखेर अस्पताल ल्याइएको थियो ।’ घटनालगत्तै व्यवस्थापन गर्ने कुरामा कमजोरी हुँदा बिरामीको अवस्था झन् बिग्रिन सक्ने चिकित्सक बताउँछन् । ‘घटनास्थल वरपर रहेका अधिकांश मानिसको हात वा खल्तीमा मोबाइल थियो, तर कसैले पनि एम्बुलेन्स सेवाका लागि १०२ मा फोन गरेनन्,’ उनी भन्छन् ।
काठमाडौं महानगर प्रहरीका प्रमुख विष्णुप्रसाद जोशीले सार्वजनिक आवागमन वा फुटपाथमा अवरोध भयो भने आफूहरूले ‘ह्विल लक’ लगाउने गरेको भन्दै बिहीबार त्यही भएको बताए । ‘उनले जरिवाना नतिर्ने बताएपछि त्यस्तो घटना भएको हो,’ उनले कान्तिपुरसँग भने, ‘लक गरेको २ घण्टापछि गणेशले जरिवाना तिर्दिनँ, जहाँसुकै लैजानुस् भनेका थिए ।’
मुगु सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । बालाजु हाइटमा बस्दै आएका दाइ मदनका अनुसार, उनले तीन महिनाअघि मात्र मुगुको जग्गा धरौटीमा राखेर किस्ताबन्दीमा पल्सर मोटरसाइकल निकालेका थिए । ‘पढ्न त उसले कृषि, जेटीयू पढेको थियो, तर गरिबलाई जागिर खाने अवस्था छैन,’ उनले भने, ‘मोटरसाइकल किनेर पठाओ चलाइरहेको थियो, यस्तो भयो ।’ आफू वीर अस्पतालमा पुगेका बेला भाइले आमाबुवाको ख्याल गर्नु भन्दै सबै महानगरले गर्दा भएको बताएको उनको भनाइ छ ।
शुक्रबार राति अबरेसम्म पनि पीडित परिवारले शव बुझ्न मानेका छैनन् । गणेशका परिवारले उनलाई सहिद घोषणा गर्नुपर्ने, श्रीमतीलाई रोजगारी तथा छोरीलाई सरकारले पढाइदिनुपर्ने र उचित क्षतिपूर्तिलगायतका माग पूरा भए मात्र शव बुझ्ने बताएका छन् । गणेशको शव वीर अस्पतालमै छ । अस्पताल प्रशासनले भने शव बिग्रन नदिन आवश्यक पूर्वाधार नभएकाले लामो समय शव राख्न नसकिने जनाएको छ ।
गणेशको न्यायको माग गर्दै दिनभरि वीर अस्पताल वरपर प्रदर्शनसमेत भएको थियो । जसमा आफन्त, राजनीतिक दलका अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए । अस्पतालमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएका थिए भने सुरक्षा व्यवस्था कडा गरिएको थियो । गणेशको न्यायको माग गर्दै अस्पताल वरपर मात्र नभई माइतीघरमा समेत विरोध प्रदर्शन भएको थियो । आमनागरिक र सुकुमवासीमाथिको अमानवीय दमन, शोषण र अन्यायका विरुद्ध संयुक्त विद्यार्थी संगठनले पनि प्रदर्शन गरेका थिए ।
आत्मदाह प्रयास गरेका गणेशलाई यसअघि पनि नगर प्रहरीले जरिवाना तिराएको देखिएको छ । गत १३ असारमा गाउँका भतिज पर्नेलाई उनले म्यासेज पठाएका थिए । जसमा लेखिएको थियो, ‘हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार । १००० तिर्नुपर्ने भो ...।’ म्यासेजको अन्तिममा दुई वटा रोइरहेको इमोजी पनि थिए ।
नगर प्रहरीले अनधिकृत पार्किङ गरेकामा जरिवानाबापत एक हजार रुपैयाँ जरिवाना तिराउँदै आएको छ । ट्राफिक प्रहरीले चाहिँ ५ सय रुपैयाँ जरिवाना लिने गरेको छ । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा उल्लेख भएको ‘यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने’ प्रावधानका आधारमा जरिवाना तिराउँदै आएको छ । यसको उपदफा १ मा अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी राखेको, राति बत्ती नबाली सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, नम्बर प्लेट नराखी सवारी चलाएको, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको, लापरबाहीसाथ सवारी चलाएको जस्ता कसुरमा पहिलो पटक गर्नेलाई ५ सय, दोस्रो पटक गर्नेलाई एक हजार र तेस्रो पटक वा सोभन्दा बढी गर्नेलाई १५०० रुपैयाँ जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल सजाय गराउन सक्ने भनिएको छ ।
नगर प्रहरीले चाहिँ महानगर प्रहरी ऐन, २०८० मा भएको व्यवस्थाअनुसार यो काम गर्दै आएको छ । संविधानले स्थानीय तहले नगर प्रहरीको गठन र व्यवस्थापन गर्न पाउने अधिकार दिएको छ । त्यसअनुसार काठमाडौं महानगरले बनाएको ऐनको काम, कर्तव्य र अधिकार समेटिएको दफा ७ मा ‘बजार तथा सवारी पार्किङस्थलको रेखदेख र व्यवस्थापन गर्ने’ जिम्मेवारी महानगर प्रहरीको हुने उल्लेख गरिएको छ ।
यसरी महानगर प्रहरीले अनधिकृत पार्किङ गरिएको भन्दै सवारीसाधनमा लक लगाउने गरेको भए पनि नियन्त्रणमा लिएर उपत्यका ट्राफिक प्रहरी कार्यालयमै पुर्याउने गरेको छ । ‘यहाँ ल्याएर राख्नुहुन्छ, चिटचाहिँ उहाँहरूले नै काट्नुहुन्छ,’ ट्राफिक प्रहरीका एक अधिकृतले भने । एउटै कसुरमा फरक–फरक जरिवाना आफैंमा अमिल्दो भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका पूर्वप्रमुखसमेत रहेका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकाल बताउँछन् । उनी भन्छन्, ‘फरकफरक जरिवाना आफैंमा अमिल्दो कुरा हो, तर दुवै निकायले लामो समयदेखि एउटै काम गरिरहेका छन् ।’
