विदेशी कूटनीतिक अधिकारीहरूसँगको व्यक्तिगत भेट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले मंगलबार एडीबी अध्यक्ष कान्डासँग पहिलोपटक एक्लाएक्लै भेट गर्दैछन् ।
What you should know
काठमाडौँ — काठमाडौंस्थित विदेशी राजदूत र नेपाल भ्रमणमा आउने विदेशी उच्च अधिकारीहरूसँग एक्लाएक्लै भेटलाई अस्वीकार गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाहले एसियाली विकास बैंक(एडीबी) का अध्यक्ष मासातो कान्डासँग भने भेट्ने भएका छन् ।
अध्यक्ष कान्डा प्रधानमन्त्री शाहलाई एक्लाएक्लै भेट्ने पहिलो विदेशी अधिकारी हुनेछन् । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार कान्डाले प्रधानमन्त्री शाहलाई मंगलबार भेट्ने तय भएको छ । कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्ले र अन्य उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेट्दैछन् ।
कान्डाको भ्रमण टोलीमा एडीबीका उच्च अधिकारीहरू पनि आउनेछन् । जसमा एडीबीको दक्षिण एसिया विभागकी महानिर्देशकसमेत रहेकी नेपाली नागरिक सोना श्रेष्ठसमेत रहेकी छन् । वैदेशिक मामिलाका जानकारहरूले प्रधानमन्त्रीले विदेशी नेता तथा उच्च अधिकारीहरूसँगको भेटघाटमा अपनाएको कडा प्रोटोकललाई नेपालको कूटनीतिक अडानलाई पुनःपरिभाषित गर्ने सुनियोजित प्रयासका रूपमा व्याख्या गरेका छन् ।
यसले नयाँ सरकारले वैदेशिक नीतिमाथिको अधिकारलाई थप संस्थागत र एकीकृत बनाउने, अन्तर्राष्ट्रिय समुदायमा जाने मिश्रित सन्देशलाई नियन्त्रण गर्ने तथा व्यक्तिकेन्द्रित कूटनीतिक अभ्यासबाट राज्य नेतृत्वको स्पष्ट, सुसंगत र संस्थागत कूटनीतिक अभ्यासतर्फ उन्मुख हुने संकेत दिएको उनीहरूको भनाइ छ । नेपाल भ्रमणका क्रममा कान्डाले एडीबीको सहयोगमा सञ्चालित विभिन्न आयोजनाको पनि अनुगमन गर्नेछन् ।
कान्तिपुरसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री शिशिर खनालले आवश्यकताअनुसार प्रधानमन्त्रीले विदेशी राष्ट्रप्रमुख, उच्च अधिकारी तथा कूटनीतिक प्रतिनिधिहरूसँग भेटघाट गर्ने बताएका छन् । 'सरकारको मुख्य प्राथमिकता सुशासन सुनिश्चित गर्नु र आर्थिक प्रगति हासिल गर्नु हो । त्यसैले प्रधानमन्त्री व्यस्त हुनुहुन्छ । तर उहाँले भेटघाट वा विदेश भ्रमणमा कुनै रोक लगाउनुभएको छैन । कम्तीमा मैले प्रधानमन्त्रीबाट त्यस्तो कुरा सुनेको छैन । उहाँको पहिलो विदेश भ्रमण कहाँ हुने भन्ने विषय पनि अझै टुंगिएको छैन,' खनालले भने ।
यसअघि प्रधानमन्त्रीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट्न मानेका थिएनन् । प्रधानमन्त्री शाहले भेट नदिने भएपछि भारतीय विदेशसचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो ।
प्रधानमन्त्री बनेपछि शाहले विदेशी कूटनीतिक प्रतिनिधिसँग व्यक्तिगत र अनौपचारिक रूपमा भेटघाट गर्ने लामो परम्परा तोड्दै गत वैशाख ८ गते काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक अन्तरक्रिया गरेका थिए । त्यसपछि जेठ २६ गते काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखका साथै थाइल्यान्ड, रुस, अस्ट्रेलिया, म्यानमार, यूएई, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका कूटनीतिक प्रतिनिधिहरूले संयुक्त रूपमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
प्रधानमन्त्री शाहले कुनै पनि विदेशी कूटनीतिज्ञ वा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगरेको कदमलाई धेरैले राज्यको मर्यादा र कूटनीतिक प्रोटोकलको पालना गरेको भन्दै प्रशंसा गरेका छन् ।
अध्यक्ष कान्डाको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच ५ करोड अमेरिकी डलरबराबरको ऋण सम्झौतामा हस्ताक्षर हुने भएको छ । उक्त ऋण भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउन उपयोग गरिने सरकारले जनाएको छ ।
एडीबीका अनुसार उक्त कार्यक्रममार्फत डिजिटलाइजेसन, जोखिममा आधारित निरीक्षण प्रणाली र प्रक्रियागत सरलीकरणमार्फत भन्सार प्रशासनलाई आधुनिक बनाइनेछ । साथै, पूर्वाधार योजनालाई सुदृढ बनाउने, नियामकीय ढाँचा सुधार गर्ने तथा संस्थागत समन्वय अभिवृद्धि गर्दै ढुवानी तथा लजिस्टिक्स क्षेत्रलाई पनि थप सबल बनाइनेछ ।
