नागरिकता र लालपुर्जाको अभाव, असुरक्षा र भारतीय अतिक्रमणबीच जीवन बिताइरहेका सुस्तावासी सरकारको ध्यानाकर्षण गराउन १५ असारमा काठमाडौं आएका थिए ।
What you should know
काठमाडौँ — ८३ वर्षीया नबीजाह खातुनको अन्तिम चाहना एउटै छ- ‘मर्नुअघि नेपाली नागरिकता लिन पाऊँ ।’ उनीजस्तै दर्जनौं सुस्तावासीले यही आशा बोकेर चार दिन काठमाडौंमा आन्दोलन गरे । सरकारबाट लिखित प्रतिबद्धता पाएपछि उनीहरू घर फर्किंदै छन् । तर वर्षौंदेखि दोहोरिँदै आएको आश्वासन यसपटक व्यवहारमा उत्रिन्छ कि उत्रिँदैन भन्ने अन्योल अझै बाँकी छ ।
नागरिकता र लालपुर्जाको अभाव, असुरक्षा र भारतीय अतिक्रमणबीच जीवन बिताइरहेका सुस्तावासी सरकारको ध्यानाकर्षण गराउन १५ असारमा काठमाडौं आएका थिए ।
‘सुस्ता बचाऊ अभियान’को अगुवाइमा भएको प्रदर्शनमा उनीहरुको माग थियो- भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, सुकुमवासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने ।
गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने लिखित पत्र प्राप्त भएको जनाउँदै आफूहरू शनिबार नै सुस्ता फर्किन लागेको ‘सुस्ता बचाउ अभियान’का सचिव जयप्रकाश चौधरीले बताए ।
सुस्ता घर भएकी ८३ वर्षीया खातुन पनि नागरिता प्राप्त गर्ने आशामा सुस्ता बचाऊ अभियानको टोलीमा आएकी थिइन् । उनी खुट्टा भएको समस्याले गर्दा राम्रोसँग हिँड्नसमेत सक्दिनन् । ‘म बुढी मान्छे घुँडाको समस्या भएर हिँड्न सक्दिन । तर मेरो, छोराछोरीको नागरिकता छैन । लालपुर्जाको पनि आशामा सबैसँग आएकी थिएँ,’ उनले भनिन् ।
खातुनले सुस्ता रक्षाको लागि वर्षौंपहिला आवाज उठाउँदा श्रीमान् गुमाएको सुनाइन् । ‘मेरो श्रीमानलाई सुस्ताका इन्डियाको पुलिसले घर अगाडि नै निधारमा गोली हान्यो,’ उनले भनिन्, ‘हामीलाई बहुत दु:ख लाग्छ ।'
त्यसपछि खेती किसानी गरेर छोराछोरी हुर्काएको उनले सुनाइन् । अहिले पनि घर गाउँमा प्रहरी आउँदा आफूलाई आफ्नो विगत सम्झँदा गाह्रो हुने गरेको उनको भनाइ छ । नागरिकता नभएकै कारण भत्तासमेत नपाएको उनले बताइन् । ‘नागरिकता भए भत्ता हुन्थो । घरखर्च, औषधिको लागि राहत हुन्थो,’ उनले भनिन् ।
सुस्ता बचाऊ अभियानमा आएकाहरु गौशाला धर्मशालामा बसिरहेका छन् । ‘सुस्ता नेपालको भूमि हो’, ‘आफ्नै घरमा शरणार्थी यो कस्तो बिडम्बना’ ‘दया होइन न्याय दे’, ‘सुस्तावासीलाई नागरिता दे' भन्दै शुक्रवारसम्म उनीहरु माइतीघर मण्डलामा आन्दोलन गरिरहेका थिए ।
‘जन्मभूमिमा अधिकार,नागरिकता हाम्रो आधार’ पम्पलेट हातमा लिएर बेचनी यादव शुक्रबार टन्टलापुर घाममा माइतीघरमा थिइन् । ४५ वर्षकी उनी आफ्नो परिवारको लागि मात्र नभएर सम्पूर्ण सुस्तावासीको अधिकार सुनिश्चित गर्न काठमाडौं आएको सुनाउँछिन् । उनले भनिन्, ‘हाम्रो केही छैन । लालपुर्जा पनि छैन ।’
हरेक सरकारले आश्वासन मात्र दिने तर सुस्तावासीका लागि चासो नदेखाउने गरेको उनले गुनासो गरिन् । ‘हामी आफ्नो माग राख्न १२ पटक आइसक्यौं । तर जुन सरकार आए पनि गर्छौं भन्नुहुन्छ,’ उनले भनिन्, ‘आशा देखाउनेबाहेक केही गर्नुभएन । त्यसैले यो पटक जसरी पनि लिखित कागज लिएर जान्छौं भनेर आएको हो ।’
भारतबाट प्रहरी आएर नागरिकता र प्रमाण माग्ने गरेको उनको भनाइ छ । 'नेपाल सरकारले दिँदैन त हामीले कसरी दिने ?’ उनले भनिन्, ‘सबै कुराले पीडित छौं ।’
अवदेश कुशवाहा सुस्ता बचाऊ अभियानका सदस्य हुन् । सुस्ता–५ घर भएका २८ वर्षका उनी आफूहरु हरेक कुरामा ओझेलमा परेको सुनाउँछन् । ‘सुस्तामा कुनै शान्ति सुरक्षा छैन । इन्डियाबाट आएर नागरिकता, लालपुर्जा छैन कसरी तिमीहरुको ठाउँको भयौ भन्छन् । नागरिकता नभएपछि कुनै किसिमको सुविधा पाउन सकेको छैनौ,’ उनले भने, ‘गाउँमा ८ भन्दा माथि पढेको मान्छे भेटाउन मुस्किल छ ।’
केहि दिनअगाडि गृहमन्त्री सुधन गुरुङलाई सुस्ताको माटो पनि बुझाएको उनले बताए ।
अभियानका संयोजक २७ वर्षका बाबु खाँ बाल्यकालदेखि नै सुस्तावासी भएकै कारण यातना खेपेको र अहिले पनि दु:ख खेप्नु परेको बताउँछन् । ‘सानोमा हामी पढ्दाखेरि कलम, किताब सहयोग गर्न ‘बेस नेपाल’ बाट आउनुभएका दुईजनालाई डुगांबाट छोड्न गएको थियौं । इन्डियाको पुलिसले समातेर सबैलाई पिटेको थियो । अहिले पनि त्यो सम्झदा नराम्रो लाग्छ,’ उनले भने, ‘सानोदेखि नै नराम्रो महसुस हुन्थ्थो । अहिलेसम्म पनि हामी किन आफ्नै देशको नागरिक हुन सकेका छैनौं भनेर मन दुखिरहन्छ ।’
आफ्नो नागरिकता नभएकै कारण सोचेअनुसार पढ्न नपाएको उनले बताए । ‘जन्मदर्ता थियो । नागरिकता थिएन । इन्जिनियरिङ गर्ने सपना बोकेको थिएँ । नागरिता नभएकैले पढ्न पाइएको छैन,’ उनले भने ।
आफ्नो हजुरबुबा भने नागरिकता पाउने आसैआसमा बितेको उनी सुनाउँछन् । ‘हजुरबुबा नागरिकता लिने सपना पूरा नहुँदै बितेर जानुभयो । सुस्ताकै लागि लड्दा बुबाको खुट्टामा अझै गोलीको दाग छ । हामी सधैं यसरी अधिकारका लागि कहिलेसम्म लडिरहने ?’ उनले भने ।
उनी छोरी तीन वर्षकी छिन् । उनको भविष्य सोचेर आफू चिन्तामा रहेको उनले सुनाए । 'हाम्रो बाल्यकलजस्तो डरले जिउने दिन नआओस् भनेर नै आवाज उठाउन आएको हुँ,’ उनले भने, ‘यो सरकारले अब सुस्तावासीका लागि केही गरोस् भन्ने छ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि आफूहरुलाई अझ डर महसुस भएको समेत उनले बताए । ‘सुस्तामा कहिले के हुन्छ भन्ने सधैं डर हुन्थ्थो । तर प्रधानमन्त्रीले बोल्नुभएको कुरापछि हामीले पहिलाको भन्दा धेरै डर महसुस गर्यौं,’ उनले भने, ‘काठमाडौंमा जे बोले पनि भयो । परेसान त हामी त्यहाँ बस्नेहरुलाई हुन्छ ।’
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले प्रतिनिधिसभा बैठमा नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।
६० वर्षका मदन यादव र ६५ वर्षीय अब्दुल्लाह मुसलमान पनि अभियानमा सरिक हुँदै काठमाडौं आएका थिए ।
आफ्नो छोराछोरीले दु:ख भोग्न नपरोस् भनेर आन्दोलनका लागि काठमाडौं आएको उनीहरु बताउँछन् । ‘मेरो छोराहरुको जन्मदर्ता छ । उनीहरु अहिले स्कुल पढ्दै छन् । पछि ठूलो भएर नागरिकता पाएनन् भने न जागिर हुन्छ न धेरै पढ्न पाउँछन् । उनीहरुको भविष्यमा नागरिकता नपाएर हामीले जस्तो पीडा भोग्न परोस्,’ मदनले भने ।
आन्दोलनमा आउनुको उद्देश्य नै सुस्ता रक्षा रहेको अब्दुल्लाहको भनाइ छ । ‘हामीलाई जसरी पनि आफ्नो ठाउँ बचाउनुछ । घरजग्गाको लालपुर्जा र परिवारकै नागरिकता पाउनुछ,’ उनले भने, 'सरकारले हाम्रो पीडा देखोस् भनेर आएका हौं ।’
काठमाडौं आउनका लागि बाख्रा बेच्नुका साथै चन्दा उठाएको उनको भनाइ छ । ‘हाम्रो त बाख्रा, भैंसी, खेती किसानीबाहेक केही छैन । पैसा नभएर बाख्रा बेचेर आएको थिएँ । सबैले चन्दा पनि उठायौं,’ उनले भने, ‘त्यसरी आएका छौं घर फर्कंदासम्म सरकारले हाम्रो माग पूरा गरोस् ।’
आन्दोलनको पाँच दिनपछि मात्रै सरकारले नवलपरासी पश्चिम प्रशासनलाई पत्र पठाएको छ । सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्ने र प्रक्रिया पूरा गरेपछि नागरिकता वितरण गर्ने विषय पत्रमा उल्लेख छ ।
अभियानका सचिव जयप्रकास चौधरी गृह मन्त्रालयबाट लिखित कागज आएपछि आशा जागेको बताउँछन् । 'हामीले अब न्याय पाउँछौं भन्ने आस छ,’ उनले भने,‘त्यसैले आज बेलुका सुस्ता फर्कन्छौं र त्यहाँ पुगेपछि सबैजना भएर सिडिओ कार्यालय जान्छौं ।’ यो सरकारले सुस्तावासीका लागि केही गर्छ भन्ने आशा लागेको उनले बताए । 'सुरक्षा, नागरिकता, लालपुर्जाजस्ता विषय सम्बोधन भए मात्रै सुस्तावासीको माग पूरा हुन्छ,' उनले भने ।
