सुस्तामा भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गरोस् भनेर ध्यानाकर्षण गराउन काठमाडौं आएको प्रदर्शनकारीले बताएका छन् ।
काठमाडौँ — सुस्तामा भारतीय अतिक्रमणको विरोधमा पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुस्ता बचाउ अभियानको आह्वानमा काठमाडौं आएका ५२ जना सुस्तावासीले माइतीघरमा प्रदर्शन गरे ।
नेपाली भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कुटनीतिक पहल गर्न उनीहरूको माग छ । सुस्तावासीलाई तत्काल बिनासर्त वंशजका आधारमा नागरिकता उपलब्ध गराउन, पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न उनीहरूको माग छ ।
'सुस्ता बचाऊ, सुकुमवासीलाई बचाऊ', 'अतिक्रमण होइन सार्वभौम सम्मान दे', ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।
आन्दोलनका सदस्य मुन्ना खाँले सुस्तामा भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गरोस् भनेर सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको बताए ।
सुस्तामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १२ करोडको लगानीमा भइरहेको तटबन्ध निर्माणमा भारतीय हस्तक्षेप भएपछि अवरोध उत्पन्न भएको छ । सुस्ताका बासिन्दा चरणबद्ध भारतीय हस्तक्षेपको विरोधमा उत्रिँदै आएका छन् । उनीहरूले सुस्ताको सुरक्षाको मागसमेत गरेका छन् ।
सुस्तावासीले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न चाहे पनि प्रधानमन्त्रीबाट कुनै खबर नआएको आन्दोलनमा सहभागी मुन्सी हरिजनले बताए ।
