सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनीतिक पहलको माग गरेका हुन् ।
What you should know
बुटवल — सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियन्ताले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न माग गरेका छन् ।
सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनीतिक पहलको माग गरेका हुन् । सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन, भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन पनि उनीहरुको माग छ ।
सुस्ता बचाउका युवा अभियन्ता योगेन्द्र गौतमले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन् । गौतम २०६७ सालदेखि निरन्तर सुस्ता बचाउ अभियान संचालन गरिरहेका छन् । उनीहरूले नारायणी नदी किनार क्षेत्रमा रोकिएको तटबन्ध तथा तारबार निर्माणको काम अघि बढाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए ।
अभियानका अध्यक्ष आदम खाँले सीमा सम्बन्धी संवेदनशील विषयमा सरकारी निकायका जिम्मेवार पदाधिकारीले आधिकारिक तथ्यका आधारमा मात्रै सार्वजनिक अभिव्यक्ति दिनुपर्ने माग गरे । उनले २०६२ सालपछि प्रधानमन्त्रीहरुलाई पटक–पटक सुस्ताको समस्याबारे जानकारी गराए पनि समाधानमा चासो नदिएको गुनासो गरे ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले सुस्ता समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन छिट्टै काठमाडौं जाने तयारी भइरहेको बताए । सरकारले माग सम्बोधन नगरे साउनको पहिलो सातादेखि धर्नासहितका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने पनि अभियानले चेतावनी दिएको छ । ‘सकेसम्म सरकारले सुस्ताको समस्या समयमै सुनोस् र समाधान गरोस्,’ उनले भने, ‘अन्यथा हामी जस्तोसुकै आन्दोलनका लागि पनि तयार छौं ।’
पत्रकार सम्मेलनमा सुस्ता बचाउ अभियानका मुन्ना खाँ र लैला बेगमले पनि सुस्तावासीको नागरिकता समस्या र सीमा अतिक्रमणप्रति लामो समयदेखि सरकार गम्भीर बन्न नसकेको गुनासो गरे । उनीहरुले सीमा क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चारलगायत आधारभूत सेवामा सुस्तावासीको पहुँच सुनिश्चित गर्न र सीमा विवाद समाधानलाई उच्च प्राथमिकतामा राख्न पनि सरकारसँग माग गर्दै आएका छन् ।
