उनलाई नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका उपाध्यक्ष राजन खत्री नेतृत्वको शुभेच्छुकहरूले सोमबार अन्तराष्ट्रिय विमानस्थल ब्यानर, फूलगुच्छा र खादा लगाएर स्वागत गरेका छन् ।
What you should know
काठमाडौं — इटालीमा आयोजित लावारेडो अल्ट्रा ट्रेल १२०केको १९औँ संस्करणकी विजेता नेपाली अल्ट्रा धाविका सुनमाया बुढा स्वदेश फर्किएकी छन् । उनलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
उनलाई सोमबार नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका उपाध्यक्ष राजन खत्री नेतृत्वको शुभेच्छुकहरूले ब्यानर, फूलगुच्छा र खादा लगाएर स्वागत गरेका छन् ।
बुढाले इटालीमा २७ जुनमा आयोजित १२० किलोमिटरको लावारेडो अल्ट्रा ट्रेलको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । उनले १२० किलोमिटरको कठिन दूरी १३ घण्टा ३३ मिनेट १८ सकेन्डमा पार गर्दै नयाँ रेकर्डसमेत कायम गरिन् । उक्त ट्रेलमा ५८०० मिटरभन्दा बढी दुरी उकालो छ । यो समयसँगै उनले ११ वर्षदेखि कायम रहेको कोर्स रेकर्डलाई ६ मिनेटभन्दा बढीले सुधारिन् ।
प्रतिस्पर्धा अन्तिमसम्म निकै रोमाञ्चक बनेको थियो । अन्तिमतिरको ओरालो भागमा उनले अष्ट्रेलियाकी लुसी बार्थोलोम्युलाई उछिन्दै अग्रता लिइन् र अन्ततः करिब १ मिनेट ३० सेकेन्डको अन्तरले विजयी भइन् । यो जित बुढाको सन् २०२६ को पहिलो उपाधि हो ।
गत वर्ष उनले अन्ता हङकङ १०० अल्ट्रा (१०२ किमि), चेङ्दु ट्रेल (६० किमि), माउन्ट युन बाइ युटिएमबी (३० किमि) र अल्ट्रा ट्रेल केप टाउन (९९.४ किमि) गरी ४ अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेकी थिइन् । साथै, विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिप (८१.२ किमि)मा दोस्रो स्थान हासिल गर्दै उक्त प्रतियोगितामा पदक जित्ने पहिलो एसियाली खेलाडी बनेकी थिइन् । उनले हङकङ अल्ट्रामा पनि नयाँ कोर्स रेकर्ड बनाएकी थिइन् ।
सन् २०२४ मा उनले चीनका २ र स्विट्जरल्यान्डको १ गरी ३ अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी थिइन् । सन् २०२३ मा ५ उपाधि जितेकी बुढाले सन् २०२२ मा युटिएमबी मोन्ट ब्लाङ्क (९९.१ किमि)मा दोस्रो स्थान हासिल गरेकी थिइन् भने सन् २०२१ मा एचओकेए चियाङ माई बाइ युटिएएबीको १०६.९ किलोमिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
प्रतियोगिता आयोजकले सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को ‘न्यु क्विन’ घोषणा गरेको छ । साथै उनको दौडको प्रशंसा गरेको छ । सुनमाया बुढा जुम्लाको पातारासी गाउँपालिकाकी हुन् ।
सम्बन्धित समाचार
विश्व ट्रेलमा ऐतिहासिक रजत पदक जितेकी सुनमाया स्वदेश फर्किइन्
