कामदार अभावले उपत्यकाका बर्डफ्लु प्रभावित फार्ममा कुखुरा नष्ट गर्न ढिलाइ

कुखुरा नष्ट गर्ने कार्यमा जनशक्ति अभाव हुनुको एउटा कारण कम भत्ता हो । सरकारले प्रतिदिन केवल मात्र १२ सय रुपैयाँमात्रै भत्ता उपलब्ध गराउँदै आएको छ ।

असार १७, २०८३

अर्जुन पौडेल

Worker shortage delays culling of chickens at bird flu-affected farms in the Valley

What you should know

काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिका र तारकेश्वर नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लु फैलिएको पुष्टि भएको छ । तर, जनशक्तिको अभावका कारण अधिकारीहरूले संक्रमित कुखुरालाई नष्ट गर्न र प्रभावित फार्महरूलाई निसंक्रमण (डिसइन्फेक्ट) गर्न तुरुन्तै द्रुत प्रतिक्रिया टोली (र्‍यापिड रेस्पोन्स टिम) खटाउन सकेका छैनन् ।

काभ्रेको पनौती नगरपालिकामा भने बर्डफ्लु प्रभावित कुखुरा फार्महरूमा कुखुरा नष्ट गर्न मंगलबार पशु चिकित्सकका तीनवटा छुट्टाछुट्टै टोली खटाइएको थियो । 

'बर्डफ्लु प्रभावित कुखुरा फार्महरूमा बाँकी रहेका कुखुरा नष्ट गर्न हामीले जनशक्तिको गम्भीर अभाव झेलिरहेका छौं,' पशुसेवा विभागमा एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम र रोग निगरानीका लिड फोकल पर्सन वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले भने, 'धेरै ठाउँबाट बर्डफ्लु प्रकोप पुष्टि भएका रिपोर्टहरू आइरहेका छन्, तर हामी तुरुन्तै र्‍यापिड रेस्पोन्स टिम पठाउन सकिरहेका छैनौँ ।'

पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लासँगै काभ्रेमा बर्डफ्लुको ठूलो प्रकोप देखिएको छ । विभागका अधिकारीहरूका अनुसार उपत्यका र काभ्रेका ५८ स्थानमा प्रकोप फैलिएको रिपोर्ट प्राप्त भएको छ ।

एभियन इन्फ्लुएन्जा भाइरस अत्यधिक संक्रामक हुने भएकाले मानव र अन्य प्रजातिमा यो भाइरस फैलिन नदिनका लागि प्रभावित फार्महरुमा फार्महरूमा तुरुन्तै द्रुत प्रतिक्रिया टोलीहरू खटाउनुपर्छ ।

अधिकारीहरूका अनुसार कुखुरा नष्ट गर्ने कार्यमा जनशक्ति अभाव हुनुको एउटा कारण कम भत्ता हो ।  सरकारले प्रतिदिन केवल मात्र १२ सय रुपैयाँमात्रै भत्ता उपलब्ध गराउँदै आएको छ । 'कामदारहरूले हामीले दिने रकमभन्दा आफ्नो नियमित कामबाट बढी कमाउँछन्,' उपाध्यायले भने,'सरकारी नियमअनुसार हामीले दिनको १२ सय रुपैयाँ मात्र भुक्तानी गर्न सक्छौं । फलस्वरूप, हामीले श्रमशक्तिको गम्भीर अभाव झेलिरहेका छौं ।'

भाइरस नियन्त्रणमा हुने ढिलाइले मानव र अन्य प्रजातिहरूमा गम्भीर खतरा निम्त्याउनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । हाल उपत्यकामा फैलिरहेको एभियन इन्फ्लुएन्जाको एच५एन१  स्ट्रेन अत्यधिक घातक र संक्रामक मानिन्छ । यो स्ट्रेन तीव्र गतिमा फैलिन्छ । यस स्ट्रेनले संक्रमित चराहरूमा शत  प्रतिशत मृत्युदर निम्त्याउनसक्छ ।

विज्ञहरूका अनुसार संक्रमण फैलिन नदिने एक मात्र प्रभावकारी उपाय  संक्रमित चराहरूलाई तुरुन्तै नष्ट गर्नु, व्यवस्थापन गर्नुका र प्रभावित फार्महरूबाट हुने कुखुरा, अण्डालगायत पोल्ट्री उत्पादनको ओसारपसारमा प्रतिबन्ध लगाउनु हो ।

अधिकारीहरूले प्रभावित फार्महरूमा कारबाही गर्न ढिलाइ गर्दा संक्रमित कुखुरा र अण्डाजस्ता पोल्ट्री उत्पादन बजारसम्म पुग्ने जोखिम बढ्छ । अधिकारीहरूका अनुसार उनीहरूले किसानहरूलाई मरेका कुखुराहरू उचित तरिकाले खाल्डोमा पुर्न आग्रह गरेका छन् । तर धेरैले मरेका कुखुरा खुला ठाउँमा फालिदिएका छन् । जहाँ भुस्याहा कुकुर, काग र चिलहरूले तिनलाई खान्छन् ।

'हामीले कुकुर र अन्य जनावरहरूमा परीक्षण गरेका छैनौं,' उपाध्यायले भने,'कुकुरहरू पनि संक्रमित हुन सक्छन्, तर त्योभन्दा ठूलो जोखिम के हो भने उनीहरूले संक्रमित शवहरू अन्य ठाउँमा लैजान्छन्, जसले भाइरस सर्ने जोखिम बढाउँछ।'

गत चैतमा मोरङको सुन्दर हरैचा र उर्लाबारीबाट सुरु भएको बर्डफ्लुको प्रकोप हाल काठमाडौं उपत्यकामा चरम अवस्थामा पुगेको छ । कोशी प्रदेशमा फैलिएको प्रकोपका लागि मुख्य रूपमा इन्फ्लुएन्जा भाइरसको ए(एच९एन२) फैलिएको थियो । यस भाइरसले कुखुरा व्यवसायमा ठूलो आर्थिक क्षति पुर्‍यायो । अधिकारीहरूका अनुसार अहिले काठमाडौं उपत्यकामा देखिएको प्रकोप भने ए(एच५एन१) हो।

सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूका सबै कुखुरा, पोल्ट्री उत्पादन, दानालगायत नष्ट गर्छ । उक्त स्थललाई सिल गर्छ र ४२ दिनसम्म आवतजावतमा प्रतिबन्ध लगाउँछ । तर, उपत्यकामा अहिले चलिरहेको प्रकोप घर-घरमा थोरै संख्यामा पालिएका स्थानीय कुखुराहरूमा पनि देखिएको छ । यस्ता क्षेत्रहरूमा सर्वसाधारणको आवतजावतलाई प्रतिबन्ध लगाउन सम्भव छैन, जसले गर्दा यसको नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।

नेपालमा पहिलो पटक सन् २००९ को जनवरीमा बर्डफ्लुको प्रकोप रेकर्ड गरिएको थियो । त्यसयता, देशले लगभग हरेक वर्ष यस रोगको प्रकोप भोग्दै आएको छ, जसमा लाखौं कुखुरा ,पंक्षी र ठूलो परिमाणमा पोल्ट्री नष्ट गरिएका छन् । क्षतिपूर्तिको अभावका कारण धेरै किसानहरूले कुखुरा पालन व्यवसाय नै छोडेका छन् । अधिकारीहरूका अनुसार बर्डफ्लुको प्रकोप र किसानहरूको ठूलो नोक्सानी व्यहोरेको भए पनि सरकारले अहिले चलिरहेको बर्डफ्लु प्रकोपबाट प्रभावित कुनै पनि कुखुरा व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराएको छैन ।

नेपालमा सन् २०१९ मा यस भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको थियो । पेसाले ट्रक ड्राइभर रहेका काभ्रेका २१ वर्षीय एक युवकको स्वासप्रश्वासमा संक्रमण देखिएपछि मृत्यु भएको थियो ।  उनी कुखुरा, अण्डालगायत पोल्ट्री उत्पादनहरु ओसारपसार गर्थें । जापानस्थित डब्ल्युएचओको सहकार्यमा सञ्चालित इन्फुएन्जा सेन्टरले यी व्यक्तिमा ए(एच५एन१) संक्रमण देखिएको पुष्टि गरेको थियो । 

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully