११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु : क्षति ६० करोडभन्दा बढी, बजेट छ २ करोड

करिब ६ लाख पन्छी, १० लाख अण्डा र २ लाख किलो दाना नष्ट, किसानलाई सरकारले ७५ प्रतिशत राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएनन्।

असार ११, २०८३

उपेन्द्रराज पाण्डेय

Bird flu in 87 places in 11 districts: Damage exceeds Rs 600 million, budget is Rs 20 million

What you should know

काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका दमाईटारका दीपेन्द्र अश्रुमालीको फार्ममा बर्डफ्लुका कारण ५७ सय कुखुरा गत साता नष्ट गरियो । दीपेन्द्रले आफ्नो फार्ममा रहेको ३५ क्विन्टल दाना र १ हजारजति अन्डासमेत नष्ट गरे । तर पनि सरकारले राहत दिने भनेकाले उनले हरेस खाएका छैनन् । ‘झन्डै ६० लाख जतिको क्षति भयो होला, तर सरकारले ७५ प्रतिशत क्षतिपूर्ति दिने भनेकाले राहत मिल्ने ठानेको छु,’ उनले भने ।

यतिखेर नेपालका ११ जिल्लामा पन्छीमा लाग्ने बर्डफ्लु (एच फाइभ एन वान) फैलिएको छ । चैत ४ मा मोरङको सुन्दरहरैंचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लुको ‘हटस्पट’ बनिरहेको छ, अहिले काठमाडौं उपत्यका । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बुधबार मात्र काठमाडौं उपत्यकाका ५ ठाउँमा बर्डफ्लु देखिएको छ । अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु पुष्टि भएको छ । 

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र ‘सक्रिय केस’ रहेको विभागले जनाएको छ । बर्डफ्लुबाट प्रभावित करिब ६ लाख पन्छी नष्ट गरिएको विभागको तथ्यांक छ । त्यस्तै ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दानासमेत नष्ट गरिएको छ । 

केही दिनअघि जावलाखेलस्थित सदर चिडियाखानामा रहेका पन्छीमा समेत बर्डफ्लु पुष्टि भएपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ । हालसम्म चिडियाखानामा साना–ठूला गरी ३७ पशुपन्छी मरिसकेका छन् भने २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो पटक चाँगुनारायणमा ३, सूर्यविनायक र टोखामा १/१ ठाउँमा संक्रमण पुष्टि भएको छ । 

चाँगुनारायण नगरपालिकाको वडा २, ८ र ९ मा पालिएका ३८ हजार ७ सय ९५ कुखुरा नष्ट गरिएका छन् भने सूर्यविनायक नगरपालिकाको १, ४ र ८ मा ९ हजार ३ सय ७८ कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालय, ललितपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए । सूर्यविनायक नगरपालिकामा रोगका कारण धेरै कुखुरा पहिले नै मरिसकेको उनले बताए । अहिले लोकल तथा लेयर्स कुखुरामा यो रोग देखिएको र ब्रोइलरमा भने कम सरेको डा. श्रेष्ठको भनाइ छ ।

बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड २०७९ अनुसार किसानले सरकारबाट क्षतिपूर्ति पाउनेछन् । क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुने उल्लेख छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई राहत दिइने व्यवस्था छ ।

तर यस पटक अनुमान गरिएभन्दा बढी संक्रमण फैलिएकाले बजेट अभाव रहेको विभागका महानिर्देशक डा. दाहाल बताउँछन् । ‘यस पटक अनुमान गरिएभन्दा धेरै क्षति भयो, त्यसैले बजेट पुगेन,’ उनले भने, ‘हामीले राहतका लागि रकमान्तर गरेर रकम उपलब्ध गराउन कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेका छौं ।’

चैतमा मोरङबाट सुरु संक्रमणले ६० करोड रुपैयाँबराबरको प्रत्यक्ष क्षति भएको विभागको अनुमान छ । महानिर्देशक डा. दाहाल भन्छन्, ‘यो प्रत्यक्षतर्फको क्षतिको अनुमान मात्र हो, किसानहरू धेरै मर्कामा पर्नु भएको छ । बर्डफ्लु देखिएपछि कम्तीमा पनि दुई महिना फार्म बन्द हुन्छ, उहाँहरूको आम्दानीको चक्र नै खलबलिन्छ ।’

चालु आर्थिक वर्षमा किसानलाई राहत उपलब्ध गराउने शीर्षकमा जम्मा २ करोड रुपैयाँ मात्र विनियोजन भएको महानिर्देशक दाहालले जानकारी दिए । बर्डफ्लु प्रभावित किसानलाई राहत दिन थप ५० करोड मागिएको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा भने किसानलाई राहत दिन ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले विपद्बाट हुने पशुपन्छीको क्षतिका लागि बजेट छुट्याउने गरेको छ । तर यस्तो राहत रकम नदोहोरिने गरी बाँड्नुपर्ने कानुनी प्रावधान छ । एच–नाइन, रानीखेत र इकोलाइ लगायतका रोगबाट पशुपन्छी मरेको अवस्थामा भने सरकारले राहत उपलब्ध गराउँदैन । यी रोगबाट पशुपन्छीलाई बचाउन सरसफाइ र व्यवस्थापनमा ध्यान दिन किसानलाई विभागले आग्रह गरेको छ ।

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी बाली विकास अधिकृत आविष्कार पौडेलले गत चैतसम्मको क्षतिपूर्ति दिइसकेको बताए । ‘विपद्बाट किसानलाई पशुपन्छीमा भएको क्षतिको राहतका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ छुट्याएको थियो, हामीले चैतसम्म भएका विभिन्न क्षतिको राहत दिइसकेका छौं,’ उनले भने, ‘चैतयताको भने आगामी आर्थिक वर्षको बजेटबाट राहत उपलब्ध गराइनेछ ।’

चैतदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु (एच५एन१) का कारण ठूलो क्षति व्यहोरेका कुखुरा किसानले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । गत चैत ४ मा मोरङको उर्लाबारी नगरपालिका–७ स्थित अठियाबारी कृषि फार्ममा अचानक कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो ।

सोही दिन सुन्दरहरैंचा नगरपालिका–४ स्थित हलेसी महादेव कृषि फार्ममा पालिएका कुखुरामा पनि संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि, चैत ६ मा सुनसरीको इटहरी उपमहानगरपालिका–१४ स्थित ओको कृषि फार्ममा बर्डफ्लु पुष्टि भयो । चैत ७ मा झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्ममा पनि संक्रमण भेटियो । 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार २०८२ चैतयता सुनसरीका २३, मोरङका १४ र झापाका ४ कृषि फार्ममा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार तीन जिल्लामा गरी ४ लाख १२ हजार ९ सय ५४ वटा कुखुरा, ६ लाख २ हजार १ सय ५५ वटा अन्डा र १ लाख ५७ हजार ७८ किलोग्राम दाना नष्ट गरिएको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी पशु चिकित्सक देवकुमार दर्लामीले बर्डफ्लुबाट भएको क्षतिको विवरण टिपोट गरेर पशु सेवा विभाग पठाए पनि रकम नआएको बताए । 

सहायक मत्स्य विकास अधिकृत महेश कटुवालका अनुसार सुनसरीमा सबैभन्दा बढी २ लाख ८६ हजार ९ सय २१ वटा कुखुरा, ३ लाख ७७ हजार ८० वटा अन्डा र १ लाख २१ हजार ७ सय ७५ किलोग्राम दाना नष्ट हुँदा करिब २९ करोड २३ लाख ९३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मोरङमा १ लाख २ हजार ९ सय ४३ वटा कुखुरा, १ लाख २७ हजार ६ सय २५ वटा अन्डा र २४ हजार ८ सय ३८ किलोग्राम दाना नष्ट गरियो ।

झापामा २० हजार ९० वटा कुखुरा, ९७ हजार ४ सय ५० वटा अन्डा र १० हजार ४ सय ६५ किलोग्राम दाना नष्ट गरिएको छ । यसबाट करिब २ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको निर्देशनालयले जनाएको छ । तीन जिल्लामा गरी कुल ५० करोड ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको निर्देशनालयले जनाएको छ । 

तर किसानको क्षतिको विवरण पशु सेवा विभागमा पठाइए पनि हालसम्म राहत रकम उपलब्ध हुन सकेको छैन । ‘हामीले क्षतिको विवरण संकलन गरेर सिफारिससहित विभागमा पठाइसकेका छौं,’ सहायक मत्स्य विकास अधिकृत कटुवालले भने, ‘तर, किसानले अझै क्षतिपूर्ति पाएका छैनन् ।’ 

किसानहरूले क्षतिपूर्ति वितरणमा भएको ढिलाइले पुनः व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । इटहरीस्थित ओको कृषि फार्मका सञ्चालक धनप्रसाद राईले तीन महिना बितिसक्दा पनि सरकारले क्षतिपूर्ति उपलब्ध नगराएको गुनासो गरे । ‘करिब अढाई करोड रुपैयाँ बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेका थिए,’ उनले भने, ‘बर्डफ्लुले सबै डुबाइदियो ।’

काभ्रेमा बनेपा नगरपालिका–१३ साँगा र पनौती नगरपालिका–७ स्थित सुकुमवासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ । पशु सेवा कार्यालय काभ्रेका प्रमुख ब्रजकिशोर ठाकुरका अनुसार साँगास्थित एक लेयर्स कुखुरा फार्ममा करिब १६ सयदेखि १७ सय कुखुरा तथा पनौतीमा करिब ७ सय ५० वटा हाँस र लोकल कुखुरा प्रभावित भएका छन् । ती स्थानमा संक्रमित पन्छी नष्ट गर्ने (डिस्पोजल) कार्य भइरहेको उनले बताए । पर्वत पोर्तेल (विराटनगर), ज्योती श्रेष्ठ (काभ्रे), र सुन्दर शिल्पकार (भक्तपुर)

समयमै बर्डफ्लु चिनौं, समस्या निदान गरौं

डा. मनोजकुमार शाही 

वरिष्ठ पशु चिकित्सक, कृषि, वन तथा पर्यावरण मन्त्रालय

बर्डफ्लुको खबर फैलिनेबित्तिकै धेरै उपभोक्तामा एउटा डर पैदा हुन्छ— कुखुराको मासु र अन्डा खान हुन्छ कि हुँदैन ? तर स्वास्थ्य तथा पशु स्वास्थ्य विज्ञहरूका अनुसार मासु र अन्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा बर्डफ्लुको भाइरस नष्ट हुने भएकाले यसमा डराइहाल्नुपर्दैन । तसर्थ बजारमा पाइने मासु र अन्डा राम्रोसँग पकाएर खाने बानी बसाल्नु नै सबैभन्दा सुरक्षित उपाय हो । 

कुखुरा फार्ममा काम गर्ने, मासु काट्ने वा बेच्ने व्यक्तिहरूले मास्क, पन्जा र बुट प्रयोग गर्ने तथा कामपछि साबुनपानीले राम्रोसँग हातखुट्टा धुने गरे संक्रमणको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ । बर्डफ्लुबाट बच्न किसान र व्यवसायीले पनि विशेष सावधानी अपनाउन आवश्यक छ । कुखुरा फार्ममा जंगली चरा आउन नदिन जाली लगाउने, फार्ममा प्रवेश गर्ने मानिस र सवारीसाधनलाई निसंक्रमण गर्ने तथा सरसफाइमा ध्यान दिने कामले रोग फैलिनबाट रोक्छ । 

कुखुरा, चल्ला, दाना वा अन्डा ओसारपसार गर्ने सवारीलाई नियमित रूपमा सफा र निसंक्रमण गर्नुपर्छ । कुनै फार्ममा बर्डफ्लु देखियो भने हतारमा फेरि नयाँ कुखुरा थप्नुहुँदैन । रोग नियन्त्रण भएको कम्तीमा ४२ दिनसम्म कुनै नयाँ संक्रमण नदेखिएपछि मात्र पुनः पालन सुरु गर्नु सुरक्षित मानिन्छ । बर्डफ्लु किसान वा कुखुरा व्यवसायीको समस्या मात्र होइन । यो जनस्वास्थ्य, पशु स्वास्थ्य र देशको अर्थतन्त्रसँग जोडिएको विषय पनि हो । त्यसैले अफवाह र डरका आधारमा होइन, सही जानकारी र सावधानीका आधारमा व्यवहार गर्नु आवश्यक छ । समयमै जानकारी दिने, शंका लागेमा सम्बन्धित निकायलाई खबर गर्ने र आवश्यक सुरक्षा उपाय अपनाउने हो भने बर्डफ्लुको जोखिम नियन्त्रण गर्न सकिन्छ ।

विश्वव्यापी तथ्यांकअनुसार २० वर्ष (सन् २००४ देखि २०२३) को तुलनामा कुखुराको मासु र अन्डा उत्पादनमा करिब ९० प्रतिशतले वृद्धि भई कुल मासु उत्पादनमा कुखुराको मासुको हिस्सा सोही अवधिमा ३० बाट बढेर ४० प्रतिशत पुगेको छ । सोही अवधिमा नेपालमा अन्डाको उत्पादन ५८ करोड गोटा प्रतिवर्षदेखि एक अर्ब ६४ करोड गोटा र मासुको उत्पादन करिब १५ हजार टनबाट बढेर करिब २ लाख टन पुगेको छ । कुखुरा उद्योगले पोषण सुरक्षा मात्र नभई रोजगारी र न्यून आयस्तर भएका किसानको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका छ ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार सन् १९७८ मा पन्छीमा मात्र देखिएको बर्डफ्लु पछि सन् १९९७ मा मानिसमा पहिलो पटक देखापरेको थियो । अहिले मानिस र पन्छीबाहेक गाई, बिरालो, कुकुर, बाघ, सिंह, स्याल, चिल, सुँगुरलगायत पशुमा पनि यो रोग देखिन थालेपछि झन् चासो र चिन्ता बढेको छ । महामारीबाट बच्ने मुख्य उपाय भनेको भाइरसलाई छिटो नियन्त्रणको विधिमार्फत पन्छीमा सीमित राख्ने र अन्य पशु र मानिसमा संक्रमण हुन नदिई म्युटेसन वा स्वरूप परिवर्तनलाई न्यूनीकरण गर्ने नै हो । 

पन्छीमा बर्डफ्लुका कारण करिब शतप्रतिशत मृत्युदर छ । हालसम्म पशुपन्छीबाट मात्र मानिसमा यो रोग सरेको र सर्ने दर एकदमै न्यून पाइएको छ । मानिसबाट मानिसमा बर्डफ्लु संक्रमण भएको प्रमाण भेटिएको छैन । हालसम्म विश्वभर करिब ९ सय जनामा बर्डफ्लुको संक्रमण भएको र तीमध्ये करिब ५० प्रतिशतको मृत्यु भएको देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

बर्डफ्लुका कारण हालसम्म नेपालमा एक जनाको मृत्यु भएको छ । बर्डफ्लु रोग नियन्त्रण नियमावली, २०७८ अनुसार नेपालमा यो रोग फैलिएपछि नियन्त्रणको काम गरिन्छ । यसका लागि संक्रमित पन्छी मात्र मारिँदैन, वरिपरिको संक्रमित पन्छीसँग लसपस भएका वा हुन सक्ने सबै पन्छी, अन्डा, दाना, सोत्तरलगायत वस्तु नष्ट गरी निसंक्रमण गरिन्छ । जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य मन्त्रालय र वन्यजन्तुसँग सम्बन्धित निकायसँग समन्वयमा मानिस, वन्यजन्तु र पन्छीमा रोग अन्वेषणका कार्यक्रम सञ्चालन गर्ने र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसारमा रोक लगाउने काम पनि गरिन्छ ।

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully